साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई हप्ताको उपलब्धि

विपक्षले हाँस्तै टेबुल ठोक्यो र सभामुखसँगै सत्तापक्ष पनि मुस्कुरायो । विपक्ष मन्त्रीलाई सदनमा उपस्थित हुन बाध्य गराउन सफल भएकोमा कृतकृत्य थियो भने सत्तापक्ष सदनमा चौबीसौं माफी माग्नु नपरेकोमा गदगद ।

Nepal Telecom ad

शरच्चन्द्र वस्ती :

सोह्रौं संसदीय अधिवेशनको बत्तीसौं दिन ।
सभामुखले ‘अब आजको बैठकको कार्वाही शुरू हुन्छ’ भनिसक्ता नसक्तै विपक्षी बेन्चबाट एकैचोटि चार जना सांसदले हावामा मुड्की उचाले, ‘नियमापत्ति सभामुख महोदय !’

‘बैठकको कार्वाही नै शुरू नभई केको नियमापत्ति माननीयज्यू, तपाईंको ?’ ईषत् हास्यका साथ सभामुखले तीमध्ये एक जनातिर औंलो तेर्स्याए ।

‘सभामुख महोदय, श्रममन्त्री सदनमा उपस्थित नभएर बैठकको कार्वाही अवरुद्ध भएको आज तीन दिन भैसक्यो । तर आज पनि म उहाँलाई यहाँ देखिरहेको छैन । यो गरिमामय संसदको ठाडो अपमान हो । उहाँलाई उपस्थित नगराइएसम्म बैठकको कार्वाही अघि बढ्न सक्तैन सभामुख महोदय !’ उनले चर्को स्वरमा भने ।

विपक्षी सांसदले टेबुल ठटाएर उनको समर्थन गरे । तर एक जनाले अझ पनि हात उठाइरहेकै थिए ।
‘तपाईं के भन्न चाहनुहुन्छ माननीयज्यू ?’ सभामुखले प्रश्न गरे ।

‘सभामुख महोदय, गत वर्ष मुलुकभरि कार्वाहीमा परेका श्रमिकहरूको कुल संख्या सरकारले प्रकाशित गरेको एउटा किताबमा ९३५ छ, अर्कोमा ९३६ छ । तीमध्ये कुन आधिकारिक हो, सरकारले बताउनुपर्छ र सदन समक्ष माफी माग्नुपर्छ । गरिमामय संसदलाई यसरी गुमराह बनाउन पाइँदैन ।’
विपक्षी बेन्चले झन् जोडले टेबुल ठोक्यो ।

‘यसबारे सदनलाई स्पष्ट पारिदिनुहुन म माननीय गृहमन्त्रीलाई अनुमति दिन्छु ।’ सभामुख मुस्कुराए ।
सत्तापक्षको अघिल्लो बेञ्चमा बसिरहेका गृहमन्त्री अल्छी मान्दै उभिए र प्रतिवाद गरे, ‘यो विषय प्रत्यक्षतः श्रममन्त्रीकै अधिकार क्षेत्रभित्र पर्ने भएकाले उहाँको तर्फबाट जवाफ दिन म असमर्थ छु, जुन कुरा मैले अस्ति र हिजो समेत निवेदन गरिसकेको छु, सभामुख महोदय !’

बोल्नासाथ एउटा अंक गलत हो भनेर क्षमा माग्नुपर्ने भएकाले त्यसो गर्न उनी तयार नभएको स्पष्ट थियो ।
‘सरकारले माफी नमागेसम्म सदन चल्न सक्तैन ।’ विपक्षी बेन्चबाट एकैचोटि सामूहिक स्वर निस्कियो र टेबुलहरू लगातार ठोकिन थाले । १५ मिनेटसम्म त्यो टेबुल–राग नटुंगिएपछि सभामुखले एक घण्टाका निम्ति बैठक स्थगित गरे र सांसदहरू हाँस्तै क्यान्टिनतिर लागे ।

बैठक दुई घण्टा पछि शुरू भयो । पहिलेको तुलनामा एक–तिहाइ मात्र सांसद बाँकी थिए । सभामुखले भने, ’माननीय श्रममन्त्रीज्यू सुत्केरी व्यथा लागेर हिजो बिहान प्रसूतिगृहमा भर्ना हुनुभएको थियो र साँझ उहाँलाई पुत्रलाभ भएको छ । त्यसैले उहाँ हाललाई संसदमा उपस्थित हुन असमर्थ हुनुहुन्छ ।’

उनको कुरो टुंगिन नपाउँदै देब्रेतिरको बेञ्चबाट धेरैले नियमापत्ति गरिसकेका थिए । एकजना चिच्याए, ‘लेबर मिनिष्टरलाई लेबर पेन (सुत्केरी व्यथा) ? योभन्दा ठूलो विडम्बना के हुन सक्छ सभामुख महोदय ?’
सदनमा अट्टहास गुन्जियो, जसलाई सत्तापक्षले पनि साथ दिएको थियो ।

एउटी महिला सांसद जुरुक्क उठिन् र घाँटी चिरिने गरी चिच्याइन्, ‘एक जना महिला विरुद्ध पुरुषप्रधान समाजको घृणित पूर्वाग्रह प्रतिबिम्बित भएको छ यहाँ, सभामुख महोदय ! म सम्पूर्ण महिला सांसदहरूलाई पार्टीगत पूर्वाग्रह भन्दा माथि उठेर यसको सशक्त विरोध गर्न आग्रह गर्दछु ।’

भए जति महिला सांसदहरू दुवै हातले टेबुल ठटाउन थाले । सभामुखको श्रीमुखबाट गम्भीर वाणी प्रस्फुटित भयो, ‘माननीय सांसदहरूलाई यस्तो संवेदनशील विषयमा ठट्टा नगर्न अनुरोध गर्दछु ।’

अघिदेखि बीचबीचमा हात उठाइरहेका अर्का सांसदले स–सानो भाषण दिंदै भने, ‘श्रममन्त्रीलाई पुत्रलाभ भएको जस्तो अति संवेदनशील विषयबारे बैठकको शुरूमै जानकारी नदिएर सरकारले गरिमामय संसदको घोर अपमान गरेको छ सभामुख महोदय ! एउटा बहालवाला मन्त्रीसँग सम्बन्धित यति महत्वपूर्ण सूचना, त्यो पनि संसद चलिरहेको बेला त सरकारले यसरी लुकाउँछ भने लाखौं–करोडौं भोका–नांगा आम जनताको अवस्था कस्तो होला ? सरकारको नालायकी र गैरजिम्मेदारीको योभन्दा ज्वलन्त उदाहरण अरू केही हुन सक्दैन । यस्तो सरकार सिंगै प्रसूतिगृहमा भर्ना भए पनि मुलुकलाई केही फरक पर्नेवाला छैन ।’
सदनमा अर्को अट्टहास थर्कियो ।

‘सरकारले यसबारे पनि सदन समक्ष माफी माग्नुपर्छ ।’ बायाँतिर पछिल्लो लहरमा बसेका एक जना सांसद माइक समातेर च्याँट्ठिए ।

‘अरू कुरा थाहा छैन, श्रममन्त्री सदनमा आएर माफी नमागेसम्म संसद चल्न सक्तैन ।’ प्रमुख प्रतिपक्षका तर्फबाट अर्का सांसदले अडान प्रस्तुत गरे । विपक्षी बेञ्चले फेरि जोडदार ढंगले टेबुल ठोक्यो ।

सत्तापक्ष यी सब होहल्लासँग निस्पृह भएर आपसमा साउती गर्दैथियो । एक–दुई जना, विपक्षी बेञ्चमा नजीकै बसेकाहरूसँग ठट्टा गरिरहेका थिए । एक जना मन्त्रीले निकै अघिदेखि जुम्रा सर्ने गरी टाउको जोरेर खासखुस गरिरहेका सांसदलाई आश्वस्त तुल्याए, ‘त्यसो भए हुन्छ, उसलाई लिएर मन्त्रालय आउनुहोला, म भोलि नै काम टुंग्याइदिन्छु ।’

‘अर्को बैठक भोलि बिहान ११ बजे शुरू हुनेछ ।’ सभामुखले भनेपछि त्यस दिनको बैठक टुगियो ।
भोलि, पर्सि, निपर्सि हुँदै अरू ११ दिनसम्म बैठक त्यसैगरी शुरू हुँदै, स्थगित हुँदै रह्यो । त्यसपछि बल्ल, छोराको न्वारन सकेर जसैतसै सदनमा उपस्थित भएकी श्रममन्त्रीले स्पष्टीकरण दिइन् —

‘गत वर्ष कार्वाहीमा परेका श्रमिकहरूको कुल संख्या ९३५ नै हो, जुन तथ्य दुवै किताबमा दिइएको महीनाबारी लगत जोड्दा स्वतः स्पष्ट हुन्छ । एउटा किताबको कुल संख्यामा प्रूफको गल्ती छुटेको मात्र हो । यस्ता महत्वहीन स–साना गडबडी प्रमुख प्रतिपक्ष सरकारमा छँदा पनि हुँदै आएका हुन्, यसमा सरकारले माफी माग्नुपर्ने सवाल उठ्तैन ।’

विपक्षले हाँस्तै टेबुल ठोक्यो र सभामुखसँगै सत्तापक्ष पनि मुस्कुरायो । विपक्ष मन्त्रीलाई सदनमा उपस्थित हुन बाध्य गराउन सफल भएकोमा कृतकृत्य थियो भने सत्तापक्ष सदनमा चौबीसौं माफी माग्नु नपरेकोमा गदगद ।

दुई हप्ता लामो अवरोध टुंगिएकोमा खुशी हुँदै सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेर क्यान्टिनको चियापानपछि सदनमा अर्को विषय प्रस्तुत गर्न खोजे । उनको वाक्य पूरा नहुँदै देब्रेतिरको बेन्चबाट चिरपरिचित शब्दावली गुञ्जियो, ‘नियमापत्ति सभामुख महोदय !’
अर्थात्, संसदले अर्को महत्वपूर्ण विषयमा प्रवेश गरिसकेको थियो ।

०००
सत्याग्रह, (२०५६ भदौ ७ गते सोमवार ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
घोर आपत्तिजनक

घोर आपत्तिजनक

शरच्चन्द्र वस्ती
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
अवतारको प्रतीक्षामा

अवतारको प्रतीक्षामा

शरच्चन्द्र वस्ती
कडा सुरक्षा व्यवस्था

कडा सुरक्षा व्यवस्था

शरच्चन्द्र वस्ती
गर्ने–गराउने उनै हुन् !

गर्ने–गराउने उनै हुन् !

शरच्चन्द्र वस्ती
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x