शरच्चन्द्र वस्तीहत्याराको छनोट
तिमीहरूको विवेक अनुसार गिरफ्तार गरे हुन्छ भन्ने मर्जी भएको छ । जो बढी ट्यालेन्टेड छ, सोधेको कुराको पत्यारलाग्दो किसिमले फटाफट जवाफ दिन सक्छ, त्यसैलाई गिरफ्तार गर्दा पछिसम्मका लागि फाइदा हुन्छ । त्यही गर्ने ।

शरच्चन्द्र वस्ती :
(सन्दर्भ : कोरोनाको भ्याक्सिन ल्याउन शक्तिकेन्द्रबाट पोषित बिचौलियाहरूले भाँजो हालेको खबर बाहिर आएपछि गत हप्ता एउटा सरकारी विभागका प्रवक्ताले फुत्त टाउको उठाएर वक्तव्य दिए— हामी छँदाछँदै यसमा अरूलाई दोष दिन मिल्दैन । यसले दुई दशक पुरानो त्यो घटना सम्झायो, जब कुनै शक्तिकेन्द्रको पात्रले कसैलाई गाडीले किचेर मारेपछि हत्याराका रूपमा अर्कैलाई प्रकट गराइएको थियो । यो आलेख त्यही मेसोमा लेखिएको हो ।)
अकस्मात् एउटा जगटे प्रकट भयो प्रहरी कार्यालयमा, र टेबुल ठोक्दै दाबी गर्यो , ‘अस्ति आइतवार राति मोटरले मान्छे किचेर मार्ने मै हुँ, मलाई गिरफ्तार गर्नोस् ।’
प्रहरी इन्स्पेक्टर जिल्ल प¥यो । हत्यारा अर्कै हो भन्ने उसलाई राम्ररी थाहा थियो, किनभने ऊ त्यसलाई चिन्दथ्यो । त्यो रात घटनास्थलमा उसैको ड्यूटी थियो । तीव्र गतिमा बेतोडले हुइँकिएर आएको गाडीले मान्छे किचेपछि ऊ पिर्र सिटी बजाउँदै त्यसतर्फ दौडेको थियो र गाडी चलाउनेको अनुहार देखेको थियो । त्यसवेला त त्यो मान्छे गाडी हुइँक्याएर भाग्यो तर करीब एक घण्टा पछि प्रहरी कार्यालयमै आएर, उसको छातीमा रिभल्वर तेर्स्याएर धम्की दिएको थियो, ‘मैले मान्छे किचेको कसैलाई भनिस् भने तँलाई सिध्याइदिन्छु ।’ उसले लगलग काम्दै जम्लाहात गरेर भनेको थियो, ‘जो हुकुम सरकार, म कसैलाई भन्दिनँ ।’
तर, हाकिमलाई त रिपोर्ट गर्नैपर्थ्यो, डराई–डराई उसले रिपोर्ट गर्योत । मान्छे किच्नेको हुलिया पनि बतायो, नाम पनि बतायो, गाडीको मोडल र नम्बर पनि बतायो अनि प्रहरी कार्यालयबाट निस्केर ऊ कहाँ गयो भन्ने पनि बतायो । सबै कुरा सुनेपछि हाकिमलाई पसीना आयो । उसले भकभकाउँदै भनेको थियो, ‘ल ठीक छ, अरू कसैलाई पनि नभन्नू ।’
त्यहाँसम्म त ठीकै थियो तर पर्सिपल्ट अखबारमा सबै कुरा छापियो, खुटका–खुट । खैलाबैला भयो प्रहरीहरूबीच, अनि गोप्य खोजीनिती शुरू भयो— कसले चुहायो त्यो समाचार भनेर । छातीमा रिभल्वर तेर्स्याउने त फर्केर आएन, तर उतातिरबाट भयानक धम्की आउन थाले । सानालाई भन्दा बढी ठूलठूला हाकिमलाई । प्रहरी मात्र प्रत्यक्षदर्शी भएको यो घटनालाई कसरी किनारा लगाउने, उनीहरूलाई सुझिरहेको थिएन । जनतामा आक्रोश बढ्दो थियो, हत्यारालाई सजाय दिनुपर्ने माग दिनदिनै चर्किंदो ।
यस्तो वेला एक्कासि प्रकट भएको जगटेले त्यसो भन्दा पहिले त इन्स्पेक्टरलाई पत्यारै लागेन । लगातारको ड्यूटीले दुई दिनदेखि सुत्न नपाएको हुँदा कतै कुर्सीमै सपना त देखिरहेको छैनँ भनेर उसले आफैंलाई चिमोट्यो र खुट्टा भुईंमा बजार्यो । जगटेको उपस्थिति सपना होइन, विपना नै हो भन्ने पक्का भएपछि उसले सोध्यो, ‘कसलाई किचेर मारेको ?’
‘उही संगीतकार भनाउँदोलाई क्या त, मोटरसाइकलमा चढेको थियो नि ।’ जगटेले जवाफ दियो ।
यति सुनेपछि इन्स्पेक्टरलाई ढुक्क भयो र उसले त्यो सुखद समाचार हाकिमलाई दिन भनेर टेलिफोनतर्फ हात बढायो । ठीक त्यही बेला टेलिफोनको घण्टी बज्यो । उताबाट बोल्ने मानिस भनिरहेको थियो, ‘म लुमडी डिस्कोको मालिक बोल्दैछु । अस्ति आइतवार राति तपाईंहरूको अफिस नजीकै एउटा संगीतकारलाई मैले गाडीले किचेर मारेको इन्फर्मेशन दिऊँ भनेर फोन गरेको । अरू कसैलाई गिरफ्तार नगर्नुहोला । म गाडी लिएर तुरुन्तै त्यहीं आउँदैछु ।’
इन्स्पेक्टरको आश्चर्यको सीमा थिएन । उसले जगटेलाई एक छिन अलमल्याउन भनेर चिया मगायो । तर, चिया आइपुग्न नपाउँदै अरू दुई जना मानिस त्यहाँ आइपुगे । एउटाले भन्यो, ‘म फलानो सांसदको सालोको आफ्नै साथी । अस्ति राति संगीतकारलाई किचेर मारेको अभियोगमा मलाई गिरफ्तार गर्नोस् भन्न आएको । त्यसलाई मार्ने मान्छे मै हुँ । नपत्याए डीएसपी साहेबलाई फोन गरी हेर्नोस्, माननीयज्यूले उहाँलाई भनिसक्नुभा छ ।’
उसको कुरा सुनेर जगटे जुरुक्कै उठ्यो र ‘बढ्ता सोर्सफोर्सको कुरा होइन है, म पनि सोर्स देखाइदिन्छु नि…’ भन्दै ऊतिर आक्रामक मुद्रामा अघि बढ्यो । स्थिति बिग्रन लागेको देखेर इन्स्पेक्टरले हत्तपत्त उसलाई समातेर कुर्सीमा बसाउँदै भन्यो, ‘किन यसरी हतारिनुहन्छ ? एक छिन त पख्नोस् ।’
जगटेले भन्यो, ‘तर अन्याय गर्न चाहिं पाइँदैन नि । म पहिले आएको, मलाई नै गिरफ्तार गर्नुपर्छ । बरु, तपाईंलाई चाहिन्छ भने म माथिबाटै फोन गराइदिन सक्छु ।’
यत्तिकैमा लुमडी डिस्कोको मालिक पनि त्यहाँ आइपुग्यो । तर, उसले धेरै कुरा गर्न नपाउँदै ऊभन्दा अघि आइपुगेको तेस्रो व्यक्तिले ‘गोप्य कुरा गर्नु छ’ भनेर इन्स्पेक्टरलाई कोठाबाहिर लग्यो र हजार–हजार रुपियाँको मोटो क्याँट उसको हातमा हालिदिंदै नेहोरा गर्योे, ‘यो केसमा मलाई गिरफ्तार गरिबक्स्योस् हजूर, बिन्ती छ । बरु, हजूरले चाहे जति म टक्य्राउँला ।’
आफूलाई हत्यारा बताउनेहरूको हानथाप देखेर इन्स्पेक्टरलाई रिंगटा चल्न थाल्यो । यो के हुन लागेको हो, उसले बुझ्न सकेन । अनि ‘होइन, यसरी हुँदैन’ भनेर उसले त्यो क्याँट उसैको कोटको बगलीमा फिर्ता हालिदियो । त्यसपछि आफ्नो कुर्सीमा फर्केर हाकिमलाई फोन गर्योा र वस्तुस्थितिको यथार्थ जानकारी दियो । हाकिम खुशीले चिच्याउला र ‘तीनै जनालाई समातेर थुनिराख्, म तुरुन्तै आउँदैछु’ भन्ला भन्ने उसको आशा थियो ।
तर, हाकिमले त्यस्तो कुनै आवेग वा उत्तेजना देखाएन । ‘ए, आइपुगे ?’ मात्र भन्यो र आदेश दियो, ‘उनीहरूको फोन नम्बर टिप्नू र घर जान दिनू । कसलाई गिरफ्तार गर्ने भन्ने टुंगो भोलि गरौंला । मूल ठाउँमै नसोधी निर्णय गर्न हुँदैन ।’
‘जय नेपाल साप,’ भनेर इन्स्पेक्टरले फोन राख्यो र आदेश बमोजिम फोन नम्बर टिपेर उनीहरूलाई ससम्मान बिदा गर्यो’ ।
भोलिपल्ट ठूला हाकिमसँग साना हाकिमहरूको बैठक बस्यो । ठूला हाकिमले भने, ‘मैले सबै कुरा बिहानै जाहेर गरिसकें । ती चारै जना बफादारै हुन् अरे । सके दुई जना सम्मलाई, नत्र एक जना जोसुकैलाई भए पनि तिमीहरूको विवेक अनुसार गिरफ्तार गरे हुन्छ भन्ने मर्जी भएको छ । जो बढी ट्यालेन्टेड छ, सोधेको कुराको पत्यारलाग्दो किसिमले फटाफट जवाफ दिन सक्छ, त्यसैलाई गिरफ्तार गर्दा पछिसम्मका लागि फाइदा हुन्छ । त्यही गर्ने ।’
त्यस दिन साँझ चारै जनालाई प्रहरी कार्यालयमा बोलाइयो र अन्तर्वार्ता मार्फत तिनको ट्यालेन्टको जाँच गरियो । त्यसमा जगटेले अब्बल स्थान प्राप्त गर्यो् । मोटरसाइकल वालालाई आफ्नो गाडीले कसरी किच्यो र गाडी दुईपल्ट ब्याक गरी गरी त्यसलाई कसरी मारियो भन्ने कुराको कति त्रुटिहीन र पत्यारिलो वर्णन उसले गर्यो भने, एक छिन त इन्स्पेक्टरलाई आफैंमाथि शंका लाग्यो, ‘आइतवार राति मैले कतै भाङ त खाएको थिइनँ ?’
डीएसपीले जगटेलाई केर्न खोजे, ‘तर भाइ, आइतवार राति मोटरसाइकल वालालाई अर्कै मान्छेले किचेको देख्ने प्रत्यक्षदर्शी इन्स्पेक्टर त यहीं छ नि ?
जगटेले भन्यो, ‘एउटाले देखेर के हुन्छ सर ? त्यो घटना नदेख्ने म १० जना साक्षी उभ्याइदिन सक्छु ।’
‘अनि तिमीले किचेर मारेको देख्ने चाहिं को छ नि ?’
‘त्यस्ता त सर, म भोलि फस्र्ट आवरमै २० जना ल्याइदिउँला, भएन ?’
जगटेको आत्मविश्वास र ट्यालेन्ट देखेर हत्याराका रूपमा गिरफ्तार हुने मौका उसैलाई दिने निर्णय गरियो । अरू तीन जना दावेदार निराश भएर जगटेलाई बधाई दिंदै बिदा भए ।
जगटे हिरासतमा विराजमान भयो । टीभी, मोबाइल लगायत सबै सुविधाका साथ ।
नभन्दै भोलिपल्ट बिहान ठीक दश बजे प्रहरी कार्यालयमा २० जना त्यस्ता मानिस आइपुगे, जो जगटेले मोटरसाइकल वालालाई गाडीले किचेर मारेको घटनाका ‘प्रत्यक्षदर्शी’ थिए ।
इन्स्पेक्टरले देख्यो— तीमध्ये एउटा प्रत्यक्षदर्शी त उही थियो, जसले आइतवार साँझ उसको छातीमा रिभल्वर तेर्स्याएको थियो ।
०००
सत्याग्रह (२०५७ साउन ३० गते सोमवार)








































दमदार