शरच्चन्द्र वस्तीकडा सुरक्षा व्यवस्था
बाहिर निस्कँदा भर्नुपर्ने रजिष्टरमा पूरा विवरणहरू भरेछ । अनि पियनलाई नै पठाएर ट्याक्सी मगाएछ र त्यसमा सामान हालेर पियनलाई दुई रूपैयाँ बक्सिस दिई हिंडेछ ।

शरच्चन्द्र वस्ती :
मन्त्रालयबाट ‘सुरक्षा व्यवस्था कडा गर्नू’ भन्ने निर्देशन आएपछि जीएम साहेबले प्रशासन फाँटका प्रमुखलाई बोलाएर निर्देशन दिए । उनले सुरक्षा हेर्ने अधिकृतलाई, अधिकृतले सुरक्षा गार्डका नाइकेलाई र नाइकेले सुरक्षा गार्डहरूलाई त्यो निर्देशन यथोचित रूपमा सुनाए ।
त्यस संस्थानबाट पिन डिब्बा, एस्ट्रे, होल्डरमा राखेका कलमहरू, मार्कर, पेपरवेट, स्ट्यापलर आदि ससाना सरसामान त पहिले पनि हराउँदै आएका हुन् तर यसपल्ट भने एक दिन एउटा कोठामा भएभरका पर्दाहरू नै गायब देखिए । चोरको यस्तो दुस्साहस देखेपछि भोलिका दिनहरूमा अझ ठूलठूला सामान चोरी होलान् भनेर आत्तिंदै जीएम साहेबले यसबारे मन्त्रालयसँगै निर्देशन मागेका थिए ।
बाहिरका मान्छेहरूले रजिष्टरमा आफ्नो नाम, थर, ठेगाना, आउनाको कारण, भेट्ने व्यक्ति, शाखा र आएको समय उल्लेख गरेर मात्र संस्थानभित्र पस्न पाउने नियम त पहिलेदेखि नै थियो । अब बाहिर निस्कँदा उनीहरू र त्यहींका कर्मचारीले समेत त्यस्तै अर्को रजिष्टरमा विवरण भर्नुपर्ने भयो । यसमा बाहिर जाने मान्छेको नाम, थर, पद, वतन, बाहिर गएको समय र भित्रबाट लिएको सरसामानको उल्लेख गर्नुपर्थ्यो ।
निर्देशन प्राप्त भएपछि सुरक्षा गार्डहरू पूरा सतर्क भए । चौबीसै घण्टा चल्ने त्यस संस्थानका सबै गार्डहरू भूतपूर्व सैनिक भएकाले आफूलाई अह्राएको काम दायाँ–बायाँ नहेरी, तर्क नगरी, पूर्ण इमान्दारी र अनुशासनका साथ गर्न उनीहरू नमूना नै थिए । नयाँ रजिष्टर उनीहरूसँग रहन थाल्यो । बाहिर निस्कने प्रत्येक व्यक्तिको झोला, ब्याग आदि उनीहरू खानतलाशी गर्न थाले र रजिष्टरमा त्यसको विवरण भराउन थाले ।
यो व्यवस्था शुरू भएको दिन साँझ आठ बजेतिर दुई जना कर्मचारी बाहिर आए । काम धेरै भएकाले उनीहरूले त्यतिन्जेल भित्र बस्नुपरेको थियो । उनीहरूमध्ये एक जनाका हातमा त्यस दिनको अखबार थियो भने अर्काका हातमा छाता थियो । एक त काम गर्दा गर्दा थाकेर चूर भएका, त्यसमाथि त्यो झन्झट बेहोर्नुपर्दा उनीहरूलाई झर्को लाग्यो । तैपनि उनीहरू विवरण भरेरै बाहिर निस्के, किन भने त्यो अनुशासनको कुरो थियो ।
भोलिपल्ट पनि उनीहरू निस्कँदा ढीलो भइसकेको थियो । त्यस दिन छातावालले मात्र रजिष्टरमा विवरण भर्नुपर्यो किन भने अर्काले आफ्नो अखबार दोब्र्याएर पाइन्टको पछाडिको गोजीमा खाँदेको थियो । एक बित्ता जति अखबार गोजीबाट बाहिर च्याइरहेको भए पनि गार्डहरूले उसलाई केही भनेनन् किनभने ‘कसैले हात वा झोलामा बोकेर लगेको सामान खानतलाशी गर्ने’ मात्र उनीहरूले निर्देशन पाएका थिए ।
तर, त्यसको भोलिपल्टै उनीहरूले आफ्नो नाइकेलाई यो कुरा सुनाए । उसले सुरक्षा अधिकृतलाई, उसले प्रशासन–प्रमुखलाई र उसले जीएम साहेबलाई त्यो ‘समस्या’ सुनाएपछि ‘अबदेखि गोजी पनि खानतलाशी गर्ने’ निर्देशन आयो ।
यसरी गोजीको पनि खानतलाशी हुन थाल्यो । साथसाथै, रजिष्टरमा भरिने सामानको सूची पनि लम्बिन थाल्यो । गोजीको के कुरा भयो र; त्यसमा रुपियाँ हुन्थ्यो, पैसा हुन्थ्यो, चिट्ठा हुन्थ्यो, चुरोट हुन्थ्यो, चिठी हुन्थ्यो, प्रेमपत्र हुन्थ्यो, धोबीको बिल हुन्थ्यो, साँझ घर फर्कंदा लैजानुपर्ने सरसामानको सूची हुन्थ्यो… भन्न हुनेदेखि लिएर भन्न नहुनेसम्म के के हुन्थ्यो, हुन्थ्यो !
एक दिन गार्डहरू बेखामानको माथिल्लो गोजी खानतलाशी गर्दैथिए । गोजीमा भित्रपट्टि प्वाल परेको रहेछ । कसो–कसो गर्दा गोजीको कुनै वस्तु (शायद कलम) त्यस प्वालबाट सुत्त भित्र छिर्यो । गार्डहरूले उसको शर्टभित्र हात हाल्न खोजे । बेखामानले मानेन । उसका पछाडि खानतलाशी गराउन लाममा उभिएका रबिना र शीलाले पनि त्यसको विरोध गरे । सन्ड–मुसन्ड गार्डहरूले लुगा–कपडाभित्र हात हालेर खानतलाशी गर्न खोजेको उनीहरूलाई सह्य भएन । आफ्नै अगाडि त्यस्तो चलन थाल्न कसरी दिने ? त्यहाँ सानोतिनो झगडा नै भयो ।
यस झगडाले भोलिपल्ट संस्थानमा नयाँ व्यवस्था जन्मायो । एकातिर ‘केही दिनका लागि’ भनेर महिला कर्मचारीको जीउ खानतलाशी गर्न महिला प्रहरी मगाइयो भने अर्कातिर पुरुष र महिलाको खानतलाशीका लागि दुइटा अलग–अलग कोठा छुट्याइए । केही दिनपछि यस कामका लागि छुट्टै महिला कर्मचारी पनि भर्ना गरिए ।
यसले गर्दा संस्थानमा बाहिरका मान्छे प्रायः आउन छाडे । पेपरवेट र एस्ट्रे हराउन छाडे । पर्दा हराउने त झन् कुरै आएन । आखिर त्यो कडा सुरक्षा व्यवस्था न थियो !
यो तरीका सारै लामो र झर्कोलाग्दो थियो । दिनमा जतिपल्ट बाहिर निस्के पनि सारा जीउ छामछाम छुमछुम गराउनुपर्ने र रजिष्टरमा विवरण भर्नुपर्ने झन्झटले गर्दा कर्मचारीहरूले दिउसो चिया–खाजा खान बाहिर जानुपर्दा पनि आफ्ना दुवै खुट्टामा जाँताका दुई पाटा बाँधिए जस्तो अनुभव गर्न थाले । यसले ‘भगुवाहरू तह लागे’ भनेर जीएम साहेब खुशी थिए तर कर्मचारीको अनुहारबाट मुस्कान हराउँदै गएको थियो ।
यो असन्तोष खासखुस र गाइँगुइँका रूपमा बिस्तारै चर्कन थाल्यो तर कसैले जीएम साहेबका अगाडि मुख फोर्ने हिम्मत गर्न सकेन । बिरालाका घाँटीमा घण्टी कसले बाँधोस् ?
छ महीना पछि उनीहरूले एक दिन एक्कासि देखे— खानतलाशी गर्नेहरूका हातमा एक–एकवटा ‘मेटल डिटेक्टर’ (कसैले धातुको सामान लुकाएको भए बाहिरबाट सजिलै पत्ता लगाउने यन्त्र) छन् । यो देखेर कतिले ‘अब धातुका सामान बाहेक कागतपत्र चाहिं जति कुम्ल्याएर लगे पनि हुने भएछ’ भनेर तीतो मुस्कान छाडे भने कतिले चाहिं ‘यति हजार रुपैयाँ कमिशन पाइने भएकाले खास उपयोगी नभए पनि त्यो किनिएको’ भन्नेबारे सहकर्मीलाई ‘सूचना’ दिए । तर सजिलै, तुरुन्तातुरुन्तै खानतलाशी सकिने खुशीमा यी सब कुरा दबेर गए र कर्मचारीहरू फेरि केही मुस्कुराउँदै बाहिर निस्कन थाले ।
‘मेटल डिटेक्टर’ ल्याएको छैटौं दिन संस्थानमा ठूलो हल्लीखल्ली मच्चियो । त्यस संस्थानले सञ्चार सम्बन्धी काम गर्नुपर्ने भएकाले गाह्रो–अप्ठ्यारो पर्दा चाहिन्छ भनेर एक सेट टेलिभिजन र डेक जीएम साहेबका कोठामा राखिएको थियो । त्यस दिन बिहान कार्यालय पस्ता उनका पीएले देखे— अघिल्लो दिनसम्म आफ्नो ठाउँमा रहेका टेलिभिजन र डेक गायब छन् ।
त्यस्तो कडा सुरक्षा व्यवस्था हुँदाहुँदै त्यति महँगा र ठूला सामान हराएपछि हल्लीखल्ली नमच्चियोस् पनि किन ? दिनभरि सुरक्षा–गार्डहरूसँग बयान लिएपछि र दुवै रजिष्टरहरू अध्ययन गरेपछि साँझ साढे चार बजेतिर थाहा भयो, त्यस चोरको नाम अरुण उपाध्याय रहेछ । ऊ अघिल्लो दिन दिउसो साढे चार बजे विधिवत् रजिष्टर भरेर जीएम साहेबलाई नै भेट्ने भनेर संस्थानमा पसेको रहेछ । पाँच बजे जीएम हिंड्न लाग्दा गाडीसम्मै पुगेर सबैका सामु ‘हुन्छ हजूर, म लिएर आउँछु’ भन्दै नमस्कार गरेछ । अनि एक जना पियनलाई टेलिभिजन र डेक बोकाई ढोकामा ल्याएछ । त्यहाँ बडो शान्त, शिष्ट र सभ्य किसिमले आफ्नो खानतलाशी गराएछ र बाहिर निस्कँदा भर्नुपर्ने रजिष्टरमा पूरा विवरणहरू भरेछ । अनि पियनलाई नै पठाएर ट्याक्सी मगाएछ र त्यसमा सामान हालेर पियनलाई दुई रूपैयाँ बक्सिस दिई हिंडेछ ।
यस काण्डबारे निकै दिनसम्म अनुसन्धान चल्यो । उसले लेखेको ठेगानामा जाँदा त्यहाँ त्यस नामको मान्छे नभएको पत्तो लाग्यो । जीएम साहेबले त्यसलाई चिनेकै रहेनछन् । ऊ त जागीर माग्न आएको रहेछ र जीएमले ‘जागीर छैन’ भनेपछि मन्त्रीको धाक दिएछ । उनलाई पत्यार लागेनछ र ‘त्यसो भए मन्त्रीको चिठी लिएर आऊ न त’ भनेर हिंडेका रहेछन् । त्यसैको प्रत्युत्तरमा उसले गाडीसम्मै पुगेर ‘हुन्छ हजूर, म लिएर आउँछु’ भनेको रहेछ । गार्ड र पियनले भने टेलिभिजन र डेककै कुरो होला भन्ठानेछन् । त्यो मान्छे कता गयो, कतैबाट पत्तो लागेन ।
यस सम्बन्धमा कसलाई कार्वाही गर्ने भनेर बोर्डको बैठक बस्यो । तर कसैमाथि कुनै कार्वाही हुन सकेन । किनभने, सबैले आ–आफ्नो काम निर्देशन अनुसार, रिट्ठो नबिराई पूरा गरेका थिए । भित्र पस्ने ठाउँमा रजिष्टर भराउनेले सारा विवरण भराएकै थियो, बाहिर आउने व्यक्तिको सुरक्षा गार्डहरूले खानतलाशी लिएकै थिए, रजिष्टरमा सम्पूर्ण विवरण अंकित गराएकै थिए । अह्राइएकै यत्ति थियो । के–कस्ता सामान चाहिं रजिष्टरमा उल्लेख गरेर भए पनि कसैले बाहिर लैजान लाग्यो भने रोक्ने भन्ने चाहिं ‘निर्देशन’ मा परेकै रहेनछ !
आज मात्र मैले सुनें, अब त्यो ‘कडा सुरक्षा व्यवस्था’ खारेज गरेर पहिलेकै जस्तो साधारण सुरक्षा व्यवस्था शुरू गरिएको छ रे ! शायद अब पेपरवेट र पिन हाल्ने डिब्बा हराए पनि टेलिभिजन सेट र डेक त हराउँदैनन् कि !
०००
गोरखापत्र (२०४६ साउन २ गते सोमवार)
Subscribe
Login
0 Comments
Oldest






































