साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोर आपत्तिजनक

यस्तो गैरजिम्मेदार र खराब मनसायबाट अभिप्रेरित रचनाप्रति यो संघ घोर विरोध प्रकट गर्छ । हामी यसबारे पत्रकार सम्मेलनको आयोजना गर्दैछौं ।’

Nepal Telecom ad

शरच्चन्द्र वस्ती :

(तीन दशक अघिको ‘आपत्ति’, जस्ताको तस्तै)

“जितपुर गाउँमा चम्चाराम नाम गरेको ठेकेदार थियो । ऊ छिर्केमिर्के सर्ट र ह्वार्ल्याङे पाइन्ट लगाउँथ्यो । चम्चाराम अरूलाई ठग्न र ढाँट्न खप्पिस थियो । ऊ बाहिर–बाहिर आदर्श र नैतिकताको भाषण खूब छाँट्थ्यो तर भित्र–भित्र आफ्नो स्वार्थका लागि जे गर्न पनि पछि हट्तैनथ्यो । उसकी श्रीमती काम पट्याउने कलामा उसभन्दा बढी निपुण थिई । जहाँ चम्चाराम आफ्नो बुताले काम पट्याउन सक्तैनथ्यो, त्यहाँ श्रीमतीलाई पठाउँथ्यो र ऊ काम फत्ते गरेर भोलिपल्ट बिहानको चिया खान घरमै आइपुग्थी । गरीब–गुरुवालाई ठगेर उनीहरूको धेरै घर–खेत उसले आफ्नो पारिसकेको थियो । गरीबहरूका नाममा चन्दा मागेर रकम हजम पार्न पनि उसको जोडा थिएन । तर, यसरी जोडेको सम्पत्ति उसलाई केही काम लागेन । एक दिन घरमा आगलागी भएर उसको सम्पूर्ण श्रीसम्पत्ति स्वाहा भयो । भोलिपल्ट स्वास्नी अर्कैसँग हिंडी । चम्चाराम त्यसै पीरले रोगायो, थला पर्योभ र एक दिन मास छर्न गयो ।”

दैनिक समाचारपत्र ‘बाँजागरापत्र’ को हप्तामा एकपल्ट छापिने ‘साहित्यिक पृष्ठ’ अन्तर्गत ‘बाल कथा’ स्तम्भमा छापिएको कथा यही थियो । कथा सामान्य नै थियो । कथाकारलाई उसका साथीहरूले ‘धत्, के लेखेको यस्तो फ्यान्तु कुरा, हजारौंपल्ट हजारौं व्यक्तिले लेखिसकेको !’ भनेर गिल्ला पनि गरेका थिए । तर कथा छापिएपछि समाचारपत्रका सम्पादकले जुन आशंका, खप्की, प्रश्न र आक्षेप बेहोर्नुपर्यो, त्यसको कथा भने चम्चारामको कथा भन्दा बेग्लै र बढी रोमाञ्चक रह्यो । म अहिले त्यही कथा सुनाउन खोज्दैछु ।
००
कथा छापिएकै दिन दिउसो दुई जना भुस्तिघ्रेहरू सम्पादकको कार्यालयमा आइपुगे । ती एक जना मन्त्रीका नामी धुपौरे हुन् भन्ने सबैलाई थाहा थियो । उनीहरू सम्पादकमाथि खनिए :
‘क्या हो, अखबार चलाउन मन छ कि छैन ? कसलाई चम्चाराम भनेको ?’
‘मान्छे चिनेर लेख्ने गर्नोस्, बुझ्नुभो ?’
सम्पादकले नम्र भएर भने, ‘त्यो त एउटा काल्पनिक कथा हो । त्यसमाथि बाल कथा …’
धुपौरेहरूले कुरा सुन्ने धैर्य गर्न सकेनन् । जागे, ‘हामीलाई सिकाउनु पर्दैन, बुझ्नुभो ? चम्चा कसलाई भनेको, सब थाहा छ । हामीलाई चम्चा भन्ने ?’
‘हामीलाई मात्र होइन, चम्चाराम भनेपछि मन्त्रीज्यूलाई पनि पर्छ ।’
‘मन्त्रीज्यूलाई मात्र किन ? उहाँ भन्दा माथि पनि पर्छ ।’

अब सम्पादक झस्के । भने, ‘के भन्नुभएको ? मन्त्री भन्दा माथि भनेको के ?’
‘प्रधानमन्त्री नि । उहाँका काकाले एकताका स्टीलका भाँडाकुँडाको पसल खोल्नुभएको थियो । हाई स्कूल पढ्दा प्रधानमन्त्रीज्यू स्कूलबाट फर्केर त्यही पसलमा बस्नुहुन्थ्यो रे । पसलमा बसेपछि स्टीलका भाँडा सँगसँगै चम्चा पनि नबेच्ने कुरै भएन । अब, चम्चाराम भनेपछि उहाँलाई परेन ?’
‘तपाईहरू साह्रै छाडा भइसक्नुभो । बुझ्नुभो ? …’

सम्पादकलाई मन्त्रीज्यूको र त्यसभन्दा पनि बढी ती धुपौरेहरूको बानीबेहोरा थाहा थियो । उनीहरू दिमाग र छलफलमा भन्दा बढी लात र मुक्कामा विश्वास गर्थे । त्यसो हुँदा उनले चीसो पेय मगाएर सत्कार गरे र नम्र स्वरमा भने, ‘हेर्नोस्, त्यो साँच्चै बाल कथा हो । मैले लेखेको पनि होइन । त्यसमा त्यस्तो अर्थ निकाल्नुपर्ने कुनै कुरा छैन । म छक्क परेको छु, तपाईंहरूले त्यस्तो अर्थ कसरी निकाल्नुभो ?’

चीसो पेय आधा पारेर एउटा धुपौरेले भन्यो, ‘हामी मात्र होइन, सबले यही भन्न थालेका छन् । आज बिहान तपाईंकै अखबारका एक जना मान्छे मन्त्रीज्यूकहाँ आएका थिए । उनले भनेपछि त हामीले कथा पढेर अर्थ बुझेको नि । नत्र कसले पढ्छ तपाईंको झ्याउ अखबार ?’

सम्पादकले केही नलागेर तिनीहरूलाई ‘अबदेखि यस्तो हुने छैन, मन्त्रीज्यूलाई पनि भनिदिनुहोला’ भनेर हात जोडी बिदा मात्र के गरेका थिए, फोनको घण्टी बज्यो । उतातिरबाट एक जना महाप्रबन्धक बोल्दै रहेछन् । उनले नाके स्वरमा भने, ‘होइन सम्पादकज्यू, मैले तपाईंको के बिगारेको छु ? किन सधैं मेरो मात्र खोइरो खन्नुहुन्छ ?’
‘किन, के भयो र ? मैले त केही बुझिनँ !’ सम्पादकको स्वर थियो ।

‘तपाईंले आज छापिएको बाल कथामा श्रीमतीलाई पठाएर काम पट्याउने कुरा छाप्नुभएको छ । अरू पनि कुरा छ …। किन मलाई यसरी छेड हान्नुहुन्छ ?’
‘तपाईंलाई कसले छेड हानेको छ र ?’
‘कसरी हानेको छैन ? श्रीमतीलाई काम पट्याउन पठाउने म बाहेक अरू को छ र ? यसरी हाम्रो घरायसी मामिला नउठाइदिनुस् न !’
‘त्यो तपाईंलाई छेड हानेको होइन भन्या । त्यो कथा नै काल्पनिक हो ।’
‘त्यसो भनेर म कहाँ अलमलिन्छु ? श्रीमतीका कुरा छोडिदिए पनि आखिर चम्चाराम कसलाई भनेको त ? हेर्नोस्, त्यो कथाकार मप्रति व्यक्तिगत रीस गर्छ । पोहोर पनि, पञ्चतन्त्रको अनुवाद भनेर बाल कथा स्तम्भमै मेरो चरित्रहत्या हुने खालको कथा लेखेको थियो ।’

उनलाई कुनै किसिमले सम्झाएर सम्पादकले फोन राखे । त्यसैबेला पियनले दुइटा चिठी ल्याएर टेबुलमा राख्यो । उनले कफी ल्याउन अह्राए र चिठी हेर्न थाले ।

पहिलो चिठी ‘नागरिक आत्मसम्मान संरक्षण मञ्च’ का महासचिवले पठाएका रहेछन् । चिठीमा लेखिएको थियो, ‘तपाईंको अखबारमा आज छापिएको कथाप्रति यस मञ्चको ध्यान आकृष्ट भएको छ । बाल कथा भन्दैमा त्यसमा अन्तर्निहित दुर्भावनालाई कम गरेर आँक्न सकिंदैन । कथामा जितपुर गाउँको नाम छ । यो नामका एक्काइस वटा गाउँहरू हाम्रो देशका अठार वटा जिल्लामा छन् । यस कथाले ती सबै जितपुरहरूप्रति नराम्रो आक्षेप लगाएको छ । यसैगरी एक जना ठेकेदारलाई अनैतिक, ढोंगी र शोषक बताएर जितपुरका मात्र होइन, सम्पूर्ण ठेकेदारकै चरित्रहत्या गर्न खोजिएको छ । उसको नाम चम्चाराम राखिनाले पनि यही कुरा जनाउँछ । यसले ठेकेदारहरूप्रतिको विश्वसनीयतामा कमी आई उनीहरूका हातबाट कतिवटा ठेक्काहरू खुस्के र कुल कति नोक्सान भयो भन्नेबारे एउटा सर्वेक्षण नै गर्नुपर्ने हाम्रो विचार छ । तपाईंले भोलिको अंकमा नै यो कथा छापेको बारे क्षमायाचना गर्नुभएन भने हामी एक्काइसवटै जितपुरका ठेकेदारहरूको तर्फबाट तपाईंको अखबारमाथि तुरुन्तै मुद्दा दायर गर्नेछौं र ठेकेदार समुदायप्रति जातिवादी आक्षेप लगाएको विरोधमा व्यापक हस्ताक्षर संकलन अभियान चलाउनेछौं ।’

यतिन्जेलमा पियनले कफी ल्याइपुर्यायो । सम्पादकले लामो सास फेरेर कफी घुड्क्याए र अर्को चिठी हेरे । त्यो ‘राष्ट्रिय मनोवैज्ञानिक संघ’ बाट आएको रहेछ । संघका अध्यक्षले लेखेका थिए, ‘यस संघले व्यापक अनुसन्धान पश्चात् हालै प्रकाशित गरेको मनोविज्ञान सम्बन्धी पुस्तकमा कपडाको रंग, डिजाइन र मानिसको मनोविज्ञानका बीच रहेको अन्तरसम्बन्धबारे गहन तथ्य प्रस्तुत गरिएको यहाँलाई विदितै हुनुपर्छ, किन भने त्यसको समीक्षा तपाईंकै अखबारमा छापिएको हो । तर, आज प्रकाशित बाल कथामा उक्त तथ्यको विपरीत हुने गरी, हाम्रो अनुसन्धानलाई नै नकार्ने मनसायले कपडाको रंग, डिजाइन र ठेकेदारको मनोवृत्तिको गलत चित्र उतारिएको छ । यस्तो गैरजिम्मेदार र खराब मनसायबाट अभिप्रेरित रचनाप्रति यो संघ घोर विरोध प्रकट गर्छ । हामी यसबारे पत्रकार सम्मेलनको आयोजना गर्दैछौं ।’

त्यस दिन सम्पादकलाई अरू तीन ठाउँबाट पनि फोन आयो । ‘गरीब सहयोग विभाग’ का महानिर्देशकले ‘गरीबका नाममा चन्दा लिने कामलाई यस विभागले फलानो मितिमा फलानो नम्बरको निर्णयले प्रतिबन्धित गरी परिपत्र जारी गरिसकेकाले कथाहरूमा गरीबका नाममा चन्दा लिएको कुरा राखी प्रकाशित नगरिदिन अनुरोध’ गर्दै ‘भूलसुधार’ छाप्न आग्रह गरे । ‘राष्ट्रिय अबला सम्मेलन’ की सभापतिले ‘पुरुषप्रधान समाजको सडेगलेको परम्परा अनुरूप नै तपाईंले पनि बाल कथाको आडमा महिलावर्गमाथि दुर्भावनायुक्त आक्षेप लगाएकाले त्यसको घोर भर्त्सना गर्दै हामी सम्पूर्ण महिलाहरूको मानहानि भएको बारे कानूनी कदम चाल्ने तयारी गर्दैछौं’ भनिन् । ‘सुशील विधवा सम्मेलन’ की संयोजकले चाहिं ‘पतिको सम्पत्ति सकिनासाथ पत्नी पोइल गएको कुरा लेखेर सुशील विधवाहरूको चरित्र–हत्या गरेको’ आरोप लगाइन् ।

त्यस दिन साँझ एक ठाउँमा भोज थियो । त्यहाँ पनि एक जना सचिवले सम्पादकलाई समातेर कुनामा लगी साउती गरे, ‘त्यो कथा तपाईंले नहेरी छाप्नुभएको हो कि क्या हो ? घोर आपत्तिजनक छ नि । होश गर्नोस् है, मैले त त्यति राम्रो कुरा सुनेको छैन ।’

भोज सकेर राति घर फर्कंदा सम्पादककी श्रीमती रीसले गजधुम्म फुलेर बसेकी थिइन् । देख्नासाथ भनिहालिन्, ‘खूब गर्नुभो ! बिचरा हरि बाबु साँझ–बिहान नभनी हाम्रो यत्रो काम गरिदिन्छन्, एक–दुई दिन बिराएर मासु, तेल, मट्टीतेल, तर्कारी बोकेर आइरहन्छन्, भर–अभरमा नाइँ नभनी पैसा सापट दिइरहन्छन्, फेरि कहिल्यै फिर्ता मागेको पनि होइन… त्यस्तो गुनी मान्छेलाई छेड हानेर खूब गरें भन्ने ठान्नुभएको होला, होइन ? गुन गर्दो हलो, टाउको छेडिमाग्दो…’

‘होइन, के भन्या तिमीले ? हरि बाबुलाई कसले के छेड हान्यो ?’
‘के हो त त्यो आजको बाल कथा ? अरूले त चम्चा भने भने, तपाईं आफैं पनि उनलाई चम्चाराम भनेर छपाइदिने ? को छ तपाईंको अफिसमा अर्को मान्छे, त्यसरी मरिमेटेर हाम्रो काम गरिदिने ?’
‘के भन्छे यो ? त्यो त एउटा ठेकेदारको कथा नि !’
‘सब थाहा छ मलाई । हरि बाबुले अघि साँझ आएर सब भनिसके । कति चित्त दुखाउँदै थिए बिचरा !’

श्रीमतीलाई थामथुम पारेर उनी सुते । भोलिपल्ट अफिस पुगेको एक घण्टा भित्रै अखबारका प्रकाशक अर्थात् प्रकाशनगृहका अध्यक्षले उनलाई बोलाएर भने, ‘भर्खरै मन्त्रीज्यूको फोन आएको थियो । हिजोको बाल कथा पढेर उहाँ साह्रै रिसाउनुभएको रहेछ । तुरुन्त एक्शन लिनोस्, नत्र राम्रो हुनेछैन भन्नुहुन्थ्यो । …हेर्नोस्, हुन त हाम्रो अखबार स्वतन्त्र अखबार नै हो तर मन्त्रीज्यूलाई यति सानो कुरामा किन रीस उठाउने ? फेरि ठेकेदार जस्ता शब्द आउन थालेपछि उनीहरूले हामीलाई दिने विज्ञापनमा पनि किचकिच गर्न सक्छन् । त्यसैले, ‘प्राविधिक कारणले’ भनेर त्यो साहित्यिक पृष्ठ छाप्नै बन्द गरिदिऊँ । बाँसै नरहेपछि बाँसुरी बज्ने कुरै आउँदैन ।’
सम्पादक भन्थे, ‘त्यसबेला म बडो धर्मसंकटमा परें । आखिर जागीरको सवाल थियो ।’

०००
गोरखापत्र (२०४७ वैशाख ३ गते सोमवार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दुई हप्ताको उपलब्धि

दुई हप्ताको उपलब्धि

शरच्चन्द्र वस्ती
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
अवतारको प्रतीक्षामा

अवतारको प्रतीक्षामा

शरच्चन्द्र वस्ती
कडा सुरक्षा व्यवस्था

कडा सुरक्षा व्यवस्था

शरच्चन्द्र वस्ती
गर्ने–गराउने उनै हुन् !

गर्ने–गराउने उनै हुन् !

शरच्चन्द्र वस्ती
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x