माधव पोखरेल गोज्याङ्ग्रेनेपाल कछुवा दल
कछुवा भनेर के गर्नु व्यहोरा भने पछुवाको भन्दा पनि घटिया स्वभाव र व्यहोरा देखाएको छ समाजमा । नाक विनाको कछुवा आफैँ सबैबाट दलिएर दल दले बनेको छ ।

माधव पोखरेल गोज्याङ्ग्रे :
मतदान गर्ने समय नजिकिदै छ त्यसैले सबै मतदाताहरु पछुवा भएर कछुवा दलमा समाहित हुनु होला । यो दल नेपालको सबैभन्दा पछिको र अरुभन्दा धेरै वर्ष टिक्ने कसैगरी पनि नबिक्ने, चिडियाखानामा सजाउन मिल्ने भएकोले विश्वासिलो र भरपर्दो छ । विश्वासै गर्न नसकिने भरपर्दो कठोर हारजितको कुनै मतलब नराख्ने आफ्नो बाटोमा सबैभन्दा पछुवा भएर निरन्तर हिडिरहने दल नै कछुवा दल हो । केही कसैसँग झगड नगर्ने सबैको प्रिय दल कछुवा दलको पानी चिन्हमा मतदान गरी आफ्नो भविष्य बिगार्न अनुरोध छ ।
कछुवा दल दलहरूको दलदलमा नफसेको, जी हजुरी गर्न नजानको, जो कोहीसँग नफस्ने, परी आएको बेलामा मुन्टो लुकाएर पछि हट्दै डट्ने दल हो । पानीमा लुकेर आफ्नो बर्चस्वको आन्दोलनमा निरन्तर लडिरहने स्वाभिमानी अनि आफ्नो जात वर्गसँग पनि छायाँमा पर्ने दल हो । यो दल महत्वपूर्ण र सम्मानका साथ बस्ने यो दललाई बल पूर्वक होस्टेमा हैंसे गरेर जितायौँ भने हाम्रो हार हुने भएकोले मतदानकालागि अनुरोध छ ।
हाम्रो कछुवा दलको विशेषता भनेको चाँडो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ भन्ने हो । आखिरी खरायो जति सुकै चाँडो दौडेर गए पनि पुग्ने भनेको त्यही हो जहाँ कछुवा ढिलो गए पनि पुग्छ । तर एउटा कुरामा भने मलाई अचम्म लागेर आउँछ । त्यो के हो भने हाम्रा दलहरू पुर्ग्नै नसक्ने ठाउँको यात्रा गर्ने भनेर कोकोहोलो मच्चाउँछन । यो मलाई साह्रै मन पर्ने कुरा र मेरो दल कछुवालाई पनि औधी मन पर्ने विषय हो । यो कुरा ऐतिहासिक भएकोले मैले जल्दी आउँ, तातै खाउँ, केही नपाए पोइला जाउँ, पोइ मन नपरे अन्तै माया लाउँ भन्ने नयाँ निर्वाचने उखानको प्रादुर्भाव गरेको हुँ । यो कुरा यहाँहरूलाई तीनपाने को प्रभावमा अभाव पुरा गर्न कछुवा दलमा मत हाल्ने दवावमा खसीको कवाव खाएर आनन्दले बसेर भन्दै छु ।
कछुवा दल सबैभन्दा स्वच्छ तटस्थ, अप्रगतिशील, पछाडि फर्केर हेर्न जानेको, अगाडि कोही देखिए टाउको लुकाउन सक्ने खालको हो । खरायोभन्दा प्रतिभाशाली भएकोले ढिलै हिडेर भए पनि गन्तव्यमा पुग्न सक्ने लक्ष्य लिएर हिडेको दल हो । पानीमा बस्ने भएकोले अरु दलभन्दा पखालिएर, दिनहुँ नुहाएर स्वच्छ सफा, लेऊ, काई रहित मनमा चा्ट, खाट भए पनि पवित्र शरीरको छ । अहिलेसम्म कुनै पनि दलले खोट देखाउन नसकेका, पानीमा बसेर अनुशासन इमान जमान कायम राख्न सकेको दल भनेकै कछुवा दल हो । अरु भन्दा पनि विकासको पूर्वाधारका रूपमा मानिएको सिंचाई, कुलो, पोखरी वा जलसुरुङ मार्ग बनाउन अत्यन्त सिपालु कर्मीका रूपमा रहेको कछुवाको पछुवा भएर हिड्ने हो भने ढिलै भए पनि मन्तव्य विनाको गन्तव्यमा पुग्न सकिने कुरामा ढुक्क र विश्वस्त हुन सकिन्छ ।
नेपालका नेताहरूको स्वभाव, बानी, व्यहोरा तथा कार्यशैली सुहाउँदो खालको कछुवा दल नेपालीहरूद्धारा नै विना दर्ता गठन भएको हो । यस दलले भविष्यमा दलको दलबललाई सपार्ने छ । आचीको मलमा फलेका मुला झैँ सप्रिने र पुँडी सुँगुर मोटाए झै गरी मोटाउने भएकोले यस दलमा लाग्न भनिएको हो । सबै महामुर्ख, मुर्ख पट्मुर्ख लगायतका बुद्धि विनाका गोज्याङहरूलाई रमाइलो हेर्न आउन अनुरोध गरिएको छ । चिया, खाजा, खाना खुवाउ भने मतदाताहरू सबै अत्यन्त ज्ञानी भएकोले आ आफ्नै घरमा खाएर आउने गरेका छन् । घर फर्कन ढिला हुने संम्भावना भएमा खाजा सामल बोकेर दलका सबैलाई पुग्ने गरी लिएरु आउने गरेको अवस्था छ । मतदाताले पालेको दल भएकोले दलले मतदातालाई दल्न कुनै कसर बाँकी नराखी सहयोग माग्ने छ । दलले कुनै पनि आर्थिक दायित्व व्यहोर्न नसक्ने र मतदाताका थाप्लोमा थापर्न पछि नपर्ने गरी पारदर्शिता कायम गरेर दलको काम अघि बढाइने छ । यसैले मतदाताहरूलाई यस दलले सर्वेसर्वा बनाएर मतदाताको मन जितेर आर्थिक घोटालामा देश कै नम्बर एक दल बन्ने छ । र विशेष तयारीका साथ यो निर्वाचनमा मतदाता विहीन भएर सहभागिता जनाएको कुरा यहाँ जानकारी गराउन चाहन्छु ।
नेपाल कछुवा दल मछुवाहरूको पछुवा हुने दलभन्दा पनि नेपाल कै घटिया र सधै घटुवा भै रहने अभागी दल हो । दलका रूपमा चिनिएर प्रख्यात भएकोले पनि यस दललाई हराएर अग्रगामी छलाङ मार्न पछि फर्कने घोषणा गरेको छ । नेपालको राजनीतिमा कछुवा दललाई मछुवाहरूले पनि पत्याउन छाडेको अवस्था छ । यस्तो अवस्थामा निर्वाचनमा अघि सरेर पानीमा हेलिएर, नुहाएर, पौडिएर, स्वच्छ बन्न सकेकोमा धेरै दलहरूले स्वच्छ भनेका छन । यही कारण भित्र आन्द्राभुँडी फोहरी भए पनि पानी पिएर बाँच्ने भएकोले त्यो फोहर पनि पखालिएर सफा भएको हुँदा छल भएको दल भनिएको हो । दलमा छल बल ढल नल छैन भने त्यो दल नै नहुने संस्कार नेपालमा जन्मिएको छ । दलहरू संस्कार र परम्परा जोगाउनकालागि र भ्रष्टाचारमा नयाँ रेकर्ड राखेर विश्वका सामु नयाँ परिणाम देखाउन सक्ने हुनु पर्दछ ।
अहिले नेपालमा यो दलको सदस्यता लिनकालागि देश विदेशबाट पाहुनाहरू आउन थालेका छन् । सदस्यता सिट सिमीत भएकोले लिमिट व्यक्तिहरूले खोक्न पाउने गरी टोकनको व्यवस्था सहित रकम लिएर सदस्यता पाउने छन् । अर्को भन्ने पर्ने महत्वपूणृ कुरा त के हो भने कछुवा विष्णु भगवानको अवतार भएकोले पनि यस दलमा फस्न धेरैले इच्छा जाहेर गरेका छन् । यो दलमा बस्नुको अर्थ नेताहरूले गरेको गल्ती वा वद्मासीको स्वामित्व लिन,े अरुले गरेको कमिकमजोरी गल्ती लुटपाट आगजनी सबै जिम्मा लिने प्रचलन रहेको छ । यस्तो राम्रो दल जहाँ जसले जे जे गर्दा पनि छुट हुन्छ । आफू खुसी मनपरी बोल्दा पनि दललाई आपति विमती वा कुनै पनि प्रकारको रोकटोक हुने छैन । तर यसका विरुद्धमा जाने पस्ने बस्नेलाई ठोकठाक गरी मर्मत सम्भार भने हुने जानकारी गराइन्छ ।
नेपाली राजनीतिमा विकृति, विसंगति, आर्थिक अनियमितता, भकारी फोर अभियानमा यो दलले सहयोग गर्ने छ । नमिठा र नराम्रा हल्ला चलाउँदै जनतालाई विकृतियुक्त काममा प्रोत्साहन गर्न सक्ने दल नै कछुवा दल हो । भए गरेका राम्रा कामहरुलाई ओझेलमा पारेर जनतालाई गुमराहमा पार्ने झुठा कुरा प्रचारमा ल्याएर अरु दलका नेताहरुको मान मर्दन गर्न सक्ने साहसिलो दल भनेकै कछुवा दल हो । काले काले मिलेर खाउ भाले भनेझैँ यो दलका दलेहरुले देशको सम्पति छले ।
शरीरभरी टाटै टाटा भएको कालो, खैरो, सेतो लगायतको विभिन्न रङ्ग र साइजको कछुवा दलको दल भने विदेशबाट आयात हो भन्दा फरक पर्दैन । कुरा भने तिखा र लखिा परेको गर्ने कछुवा दलका नेताको स्वभाव भने तलतिर बगाएर मास्तिर खोज्नु पर्ने खालको छ भन्ने कुरा अन्य दलका बल भएका कछुवालाई जालमा पार्न सक्ने मछुवारहरूले बताएका छन् । कछुवा दलको पछुवा हुनेहरू भोलि गएर घसुवा नहोलान् भन्न सकिन्न । चिल्ला राम्रा र गहकिला कुरा गरेर मतदाताको मन लोभ्याएर शोषण गर्ने प्रवृति र भकारीमा मुख गाड्ने बानी परेकोले भोलि त्यसको परिणाम के होला भन्ने अनुमान गर्न नसक्ने हनुमानले कछुवा दल चलाउनु कुनै नौलो कुरा भने होइन ।
र अन्त्यमा म के भन्न चाहन्छु भने कछुवा दलका दलेहरूको दलदलमा फसेर जीवनलाई गहिरो कँुवामा नफाल्नु , जात फाल्यो गुन्द्रुकको झोलमा भने झै नहोस् । बरु गहतको झोलमा जात फाल्यो भने शरीरमा आइरन बढ्छ, पत्थरी रोगबाट जोगिन सकिन्छ । रुघा खोकी ज्वरोमा फाइदा हुन्छ । जाडोमा शरीरलाई चिसोबाट जोगाउन पनि गहतको झोलले मद्दत गर्दछ । त्यसैले कछुवाको पछि लागेर जात फाल्नु भनेको जीवनलाई अँध्यारोमा जाक्नु हो । गहतको झोल भनेको आयुर्वेदिक औषधी भएकोले र जीवनलाई वा शरीरलाई मजबुत बनाउन कछुवा दलबाट अलग रहेर सुरक्षित रहन गहतको झोल सबैमा अनुरोध गर्दछ ।
कछुवा दल विश्वकै यस्तो दल हो जसको दल बल नै हुँदैन । दल बल बिनाको दल भएकोले समाजमा पनि यसको अलग्गै पहिचान छ । नेपाली जनतालाई चाहिएको खरायो दलले झोला भरेको भनेर कछुवाले मछुवासँग मिलेर अनावश्यक हल्ला फैलाउने गरेको उखान पनि चलेको छ । बखानलाई भन्दा चखानलाई बढी प्राथमिकता दिने र चखानपछि थकानमा परेर निदाउने कछुवा दलको राम्रो बानी प्रति श्रद्धाञ्जली दिन मन लाग्छ । कछुवा दलको यति राम्रो बानी छ कि आफू बसेको ठाउँमा अरुलाई आची गर्न लगाएर आफैँ चाटेर मीठो स्वादिलो भन्दै हिड्छ ।
पानीमा पौडिएर स्वच्छ, सफा भएर बस्नु पर्ने कछुवा फोहरी गल्लीमा आचीमा लडिबुडी खेल्छ । जुम्रा, मच्छर, झिंगा, उपियाको शिकार गरेर दिन काटेको पनि देखिएकै हो । कछुवा भनेर के गर्नु व्यहोरा भने पछुवाको भन्दा पनि घटिया स्वभाव र व्यहोरा देखाएको छ समाजमा । नाक विनाको कछुवा आफैँ सबैबाट दलिएर दल दले बनेको छ । ठुला कुरा गरेर नथाक्ने कछुवाको बुद्धि भने मछुवाको जतिको पनि छैन भन्ने कुरा प्रमाणित भएको छ । जय कछुवा, सधै हुनु अरुको पछुवा ।
दौडेको जलमा म जन्तु कछुवा आत्मा छ मैलो सदा
लोभीने मन यो शिकार जलमा खोज्दै हिँडेको सदा
आफैँ पागल भै बकेर फतुरा बन्दै हिडेको कति
पानीमा घर हो र नाम कछुवा विद्धान ठान्ने अति ।
जालो बुन्छ अनेक रूप रङका फस्दै छ आफैँ पनि
अर्थोपार्जन नै ठगी हो कछुवा आफैँ नबुझ्ने अनि
गाईको अपमान गर्छ जसले बन्यो गदाहा सरी
अर्को लोक गएर पाउँछ बुझौँ सम्मान मर्ने गरी ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































