साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्ने–गराउने उनै हुन् !

कसैलाई पनि आफ्नो लक्ष्य र उद्देश्यबारे थाहा छैन, ऊ किन कार्यालय जान्छ भन्ने पत्तो छैन, उसले गर्नुपर्ने के हो र कहिलेसम्ममा कुन कुरो गर्नुपर्छ भन्ने कुनै अत्तोपत्तो छैन । तर देश बडो मजासँग चलिरहेछ ।

Nepal Telecom ad

शरच्चन्द्र वस्ती :

‘सुब्बा साहेब खोइ ?’
‘बैंक जानुभा’छ । पैसा झिक्न ।’
‘खरदार साहेब नि ?’
‘बिजुलीको पैसा तिर्न भनेर भर्खर निस्कनुभो ।’
‘लेखापाल साहेब पनि देखिनुहुन्न नि । उहाँ खोइ ?’
‘उहाँ ? उहाँ पनि बाहिर जानुभा’छ । टेलिफोनको पैसा तिरेर आउने रे !’
‘अनि नरेश ?’
‘पानीको पैसा तिर्न ढीलो भो, जरिमाना लाग्ने भो भनेर हतारिंदै जानुभा’छ ।’
‘सहायक लेखापाल नि ?’
‘उहाँ पनि हाजिर गरेर निस्कनुभो । हुलाकमा काम छ रे ।’
‘हाकिम साहेबको पी.ए. चाहिं आइपुग्नुभएकै छैन कि ?’
‘होइन, उहाँ चाहिं बच्चाहरूको फीस तिरेर चाँडै आउँछु भनेर जानुभो ।’
‘किन, आज हाकिम साहेब आउनुहुन्न र ?’
‘आज बजारमा किनमेल छ रे । त्यो सकेर तीन बजेतिर आउँछु भन्नुभा’छ ।’
‘हो र ? तर गाडी त यहीं बाहिरै छ नि ?’
‘ड्राइभर लाइसेन्स नवीकरण गर्न भनेर ट्राफिक प्रहरीको अफिसमा ग’को छ । त्यसैले ।’

बडो रमाइलो संवाद थियो त्यो । तर सोध्नेले सोधेपछि जवाफ दिनेले त्यति सजिलै जवाफ दिन थालेको चाहिं थिएन । पहिले ऊ कतैबाट कोही छड्के लिन पो आएको हो कि भनेर तर्सेको थियो । पछि सोध्ने मानिस पत्रकार हो भन्ने थाहा पाएपछि छापिएला कि भनेर डराएको थियो । अन्त्यमा ‘नछाप्ने’ भनेर विश्वास दिलाएपछि मात्र उसको मुख खुलेको थियो ।

सोध्ने व्यक्तिले प्रश्न थप्यो, ‘यसरी कार्यालय समयमा आ–आफ्नो व्यक्तिगत काम लिएर मानिसहरू बाहिर जाँदा कसैले केही भन्दैन ?’

‘के भन्नु हजूर ! सबै कार्यालय १० बजे नै खुल्छन् । कार्यालय समयमा नगएर कति वेला जाने त ? आखिर बिजुली, पानी, टेलिफोन आदिको पैसा तिर्न, बच्चाहरूको फीस बुझाउन, लाइसेन्स नवीकरण गर्न त जानैपर्यो ! अरू त अरू, बजार पनि शनिवारै बन्द हुन्छ, अनि त किनमेल पनि कार्यालय खुल्ने दिनमै नगरी सुख्ख ?’
‘तर कसैले केही भन्दैन त ?’
‘सबैले जानुपर्छ । कसले के भन्ने ? कहिलेकाहीं छड्के आउँछ कि भन्ने डर हो । त्यो पनि छड्के आउनु भन्दा एक दिन अघि नै हाकिम साहेबलाई फोन आउँछ । अनि उहाँले हामीलाई सतर्क गराइहाल्नुहुन्छ । भोलिपल्ट हामी सबै दिनभरि कार्यालयमै बस्छौं ।’
‘कुनै दिन फोन नगरी झुक्याएर आयो भने नि ?’
‘त्यसवेला त आपत पर्छ । मेरो एक जना साथीको पोहोर जागिरै गयो । तर गर्ने के ? यस्ता कार्यालयहरू डेढ–दुई घण्टा अगावै खुल्ने व्यवस्था भए पो ! हाजिर भएर टाप नकसी सुखै छैन । हामी मात्र हो र, हरेक कार्यालयको गति उही त हो नि !’
‘साँच्चि, त्यो कोठामा अर्का सुब्बा साहेब पनि बस्नुहुन्थ्यो । उहाँ चाहिं कता जानुभयो ?’
‘उहाँ सञ्चय कोषको हिसाब–किताब मिलाउन भनेर जानुभ’को छ । खोइ के–के मिलेन भनेर हिजो चिठी आ’को थियो ।’
‘अनि उहाँसँगैको कुर्सीमा बस्ने अर्का खरदार साहेब नि ?’
‘उहाँ पनि बीमा संस्थान जानुभ’को छ । बीमाको कागजपत्रमा के हो कुन्नि, गडबडी भ’को छ रे !’
‘होइन, कर्मचारीको सञ्चय कोष र बीमाको काम त कार्यालयकै कर्मचारी प्रशासनले गर्ने होइन र ?’
‘हुन त हो, तर हिजो कर्मचारी प्रशासनकै हाकिमले ‘आफैं गएर मिलाएर आउनोस्, कार्यालयबाट गर्दा ढीलो हुन्छ’ भन्नुभ’को थियो । त्यसैले उहाँहरू दुवै जना हाजिर गरेर हिंड्नुभो ।’

‘यसरी कार्यालयको काम कसरी चल्छ ?’
‘खास कामै के छ र हजूर ! आजसम्म चलेर आ’कै छ । पछि पनि चलिहाल्ला नि ! अस्ति पुराण भन्दा पण्डित बाजे भन्नुहुन्थ्यो— मानिसले गर्छु भनेर केही हुँदैन । सब भगवानको लीला हो । गर्ने–गराउने उनै हुन् !’
‘तपाईं पनि त राम्रै पदमा हुनुहुन्छ । तपाईंलाई के कति काम गर्न भनेर खटाइएको छ ? यस वर्षभरिमा तपाईंले कति काम गरिसक्नुपर्ने हो ?’
‘त्यस्तो त आजसम्म मैले केही थाहा पा’को छैन । कार्यालय आयो, हाजिर गर्यो, अगाडि आएको काम गर्यो, सकियो । आए जति काम मन लाग्दा गरिएकै छ, अरू के गर्नु ? अरू कार्यालयमा काम गर्ने साथीहरू पनि त यस्तै गर्छन् । काम जिम्मा दिइएको भए बिहान–बेलुका किन यसरी बोर हुनुपर्थ्यो ?’
‘किन ? बिहान–बेलुका कुनै काम हुँदैन र ?’
‘के हुनु ? कार्यालयको काम घर लगेर गर्ने कुरो आएन, अरू काम गर्न पाइने नियम छैन । अरू काममा त ‘साहित्यिक गतिविधिमा भाग लिन’ मात्र पाइने रे ! कविता, कथा लेख्न आफूलाई आउँदैन । त्यसो हुँदा बिहान–बेलुका पप्लु खेल्यो, नर्सिङट्वाँक लगायो, बितायो । सबैको ताल यही त हो नि !’
‘सधैं यसरी बस्नु राम्रो हो त ?’
‘होइन नि । तर अरू उपाय नै के छ ? उही डेविडले भन्थ्यो नि… !’
‘को डेविड भनेको ? के भन्थ्यो उसले ?’
‘डेविड पूर्व जर्मनीबाट नेपाल आ’को थियो । छ महीना बसेर गयो । मसँग खूब मिल्थ्यो । कट्टर कम्युनिस्ट हुँ भन्थ्यो । छ महीना नेपाल घुमेर फर्कन लाग्दा उसलाई पुर्याउन म विमानस्थल ग’को थिएँ । मैले सोधें— डेविड, तिमीलाई नेपालमा सबै भन्दा बढी कुन कुराले प्रभावित पार्यो ?’
‘उसले के भन्यो त ?’
‘उसले भन्यो— भगवानले । म पहिले पूरै नास्तिक थिएँ । भगवान, ईश्वर जस्ता कुरामा मेरो पटक्कै विश्वास थिएन । तर मैले यहाँ आएर जुन जुन कार्यालयमा हेरें, त्यहाँ सब तिमी जस्तै मानिस मात्र पाएँ । अर्थात्, कसैलाई पनि आफ्नो लक्ष्य र उद्देश्यबारे थाहा छैन, ऊ किन कार्यालय जान्छ भन्ने पत्तो छैन, उसले गर्नुपर्ने के हो र कहिलेसम्ममा कुन कुरो गर्नुपर्छ भन्ने कुनै अत्तोपत्तो छैन । तर देश बडो मजासँग चलिरहेछ ।’
‘यसले के भयो अरे त ?’
‘डेविड भन्थ्यो— यो देखेर मलाई ईश्वरको सत्तामाथि विश्वास जाग्यो । ओहो ! ईश्वर नभए र ईश्वरले नै सञ्चालन गर्ने नभए तिमीहरूको देश कसरी चल्थ्यो ? मान्छेले गर्दा मात्र केही हुने भए त तिमीहरूको जस्तो तालले धेरै अघि नै सारा कामकुरो भताभुंग भइहाल्थ्यो नि ! त्यसो हुँदा हेर भाइ, म अब पूरै बदलिएर आस्तिक भएको छु । आफ्नो देशमा गएर नास्तिक साथीभाइहरूलाई ईश्वरको सत्ताबारे आत्मविश्वासका साथ, उदाहरण सहित बताउनेछु ।’
‘हो र ? त्यसले साँच्चै त्यसो भनेकै हो ?’
‘किन होइन त ? पत्यार लाग्दैन भने ऊसँग पत्र–व्यवहार गरी हेर्नोस् न ! भागेर पश्चिम जर्मनीतिर गएको रहेनछ भने जवाफ पाइहाल्नुहुन्छ नि । यी ठेगाना… !’

०००
गोरखापत्र २०४६ कात्तिक २८ गते सोमवार
………………………………
पूर्वस्मृति :
पञ्चायतकालमा, त्यो पनि गोरखापत्रमै यति लेखेपछि के चाहियो र ! ‘राजाले केही गर्न सकेन भनेर श्री ५ महाराजाधिराज सरकारमाथि ठाडै व्यंग्य गर्यो’ भनेर मेरो त के, झन्डै प्रधान सम्पादक (बालमुकुन्ददेव पाण्डे) कै समेत जागीर खाइदिएका !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
घोर आपत्तिजनक

घोर आपत्तिजनक

शरच्चन्द्र वस्ती
दुई हप्ताको उपलब्धि

दुई हप्ताको उपलब्धि

शरच्चन्द्र वस्ती
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
अवतारको प्रतीक्षामा

अवतारको प्रतीक्षामा

शरच्चन्द्र वस्ती
कडा सुरक्षा व्यवस्था

कडा सुरक्षा व्यवस्था

शरच्चन्द्र वस्ती
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x