पुन्य कार्कीसञ्जालको जञ्जाल
यही सञ्जाल हो चोरलाई साधुको फुली पनि लाइदिन्छ । साधुलाई चोरको शुलीको पनि चढाइदिन्छ । विहान एउटी केटीलाई देवी बनाई नचाउँछ । बेलुकी उसैलाई बोक्सीको बात लगाई ताता पुनिउले गाला डाम्दछ ।

पुन्य कार्की :
मान्छे दिनदिनै सामाजिक सञ्जालको जञ्जालमा बेरिँदो छ । अनन्त उकुस–मुकुस र अईंअईं हुनेगरी थरिथरिका अन्तरजालको फन्दामा घेरिँदो छ । औँलाको टुप्पाबाट चालित् यो सामाजिक सञ्जाल हो कि असामाजिक गन्जागोल हो, मैले यकिन गर्न सकेको छुइन । एकातिरबाट हेर्दा यसले मान्छेका दिल दिमागलाई सामाजिक सरोकारका झिनामसिना विषयवस्तुसित जोडेर चेतनाको काम गरेको जस्तो पनि देखिन्छ । सामाजिक मुद्धाकै कुराहरू उठान गरी बोलेको–लेखेको पनि देखिन्छ । यसरी हेर्दा यो सामाजिक सञ्जाल जस्तो पनि देखिन्छ । अर्कोतिरबाट हेर्दा नितान्त असामाजिक विधि, व्यवहार र क्रियाकलापलाई यसले बढवा दिइरहेको पनि पाइन्छ । लाजभाँड, घृणा र चौतफी नकारात्मकताको खेती गर्न सञ्जाल उद्दत छ । यसले समाजका शालीन मूल्यहरू भत्काउँदैछ । समाजलाई विद्रुप विध्वंसको अराजक परिपथमा भसाउन कुनै भँडाहाले खडा गरेको माकुरीजाल पो हो कि सन्देहहरू उठ्ने गर्छन् ।
समाजको नीति–नैतिकता, चिन्तन–प्रणाली र चरित्रलाई च्यूत गर्दै, मानव सभ्यताले आर्जन गरेको सामाजिक पद्धतिलाई धराशायी पार्दै आममान्छेलाई क्रमशः यसले मूल समस्या र कर्मबाट विमुख पार्दै घोर असामाजिक बाटोतिर धकेलिरहेको दृश्य स्पष्टसित देख्नसकिन्छ । पर्दापछाडिका हुण्डरीवाजले समाजलाई अश्लील अराजकताको भुवँरीमा फसाएको देख्ता कतिपय बेला यो सामाजिक जञ्जाल नभएर असामाजिक जञ्जाल हो कि भन्ने आभास मिल्दछ ।
यो छोटो लेखनीमा सञ्जालको करामत कति छ ? त्यसको सानो चर्चा गरिहालूँ– सञ्जालले कुनै अमुक पात्र र व्यक्तिलाई बिहान ओछ्यानबाट उठ्ता नउठ्तै मान्छेबाट देउता बनाइदिन्छ । सामान्य मान्छे एक्कासी देवता बनेपछि छिनभरमै मान्छेहरू उसको आरती उतार्न थाल्छन् । उसको जयगानमा सिङ्गो सञ्जाल रङ्गिन्छ । उसको आराधना र अभ्यर्थनामा सिङ्गो समाज उद्वैलित हुन्छ । नव–देवताको उदयमा मान्छेहरू भावविभोर बन्छन् । तर दःुखको कुरा सोही मान्छे साँझ पर्दा नपर्दै सञ्जालमै देवताबाट दानवमा रुपान्तरण भैसक्छ । बिहान ईश्वरीय ताज पहिर्याएर भगवान बनाएको मान्छे बेलुका भीमकाय स्वरुपको राक्षसमा परिणत हुन्छ । सञ्जालले उसको शिरमा ताज उडाएर सिङ उमारी दिन्छ । मुखमा दैत्यका दाह्रा जडिदिन्छ । बिहान भक्तिगानमा सरिक भक्तजन बेलुका घृणा र तिरष्कारको छुरी चलाउने भैसक्छन् । एउटै मान्छे छिनमा देउता छिनमा दानव ! यो अकिञ्चनका आँखा तिर्मिराउँछ ।
सञ्जालै हो त्यही मान्छेलाई कहिले मुक्तिदाता पर्वरिसको उपल्लो शिखर टेकाउँछ । कहिले लुसिफरको कृष्णगर्तमा भसाउँछ । अब मान्छेले लुसिफरको कुन स्वरुपलाई पत्याउने हो ! स्वर्गमा चमचम चम्किरहेको प्रभाती तारा स्वरुपमा कि नर्क गिरेर गुहुको दलदलमा भासिएको पिशाच रुपमा । एकछिन अगाडि ईश्वर, एकछिन पछाडि लुसिफर, अझ त्यसभन्दा पछि सिसीचोर ! सञ्जालको बबुरो पाठक साँच्चै रनभुल्लमा परेको पर्दछ ।
यही सञ्जाल हो– पहिले पित्तलमा स्वर्ण–जलप चढाउँछ र स्वर्णगानको नादमा मान्छेलाई लठ्ठ पार्छ । अलिबारमा बाना कहाँ खुस्किन्छ कुन्नि ! त्यही पित्तल खुइल्याएर अँगार बनाइदिन्छ । मनपर्दा पित्तललाई सुन र मन नपर्दा पित्तललाई अँगार बनाउने शक्ति सञ्जालको हातमा पूरापूर देख्नसकिन्छ । के अचम्म ! एकैछिन अघि हिरो भएको मानिस एकछिनपछि गुहेकिरोमा अनुदित हुन्छ ।
यही सञ्जाल हो चोरलाई साधुको फुली पनि लाइदिन्छ । साधुलाई चोरको शुलीको पनि चढाइदिन्छ । विहान एउटी केटीलाई देवी बनाई नचाउँछ । बेलुकी उसैलाई बोक्सीको बात लगाई ताता पुनिउले गाला डाम्दछ ।
यतिमात्र कहाँ हो र ! यसले कोइलालाई हिरा बनाउँछ । साँच्चैको कोहिनूरलाई कालो अँगारमा परिणत गरिदिन्छ । सञ्जाल नियन्ताले आफ्नो स्वार्थ र उपयोगको नीतिअनुसार एउटै वस्तुलाई फरक फरक विषय सन्दर्भमा उपयोग अनि दुरुपयोग गरी भ्याउँछ । यसले कहिलेकाहीँ कोइला होइन कि हिरालाई जिरामा पनि रुपान्तरण गर्दछ । र, यसको प्रयोग तरकारीमा गर्दछ । फेरि जिरालाई तिउनमा उपयोग गर्नुमा लाभ नदेखेमा त्यही जिरामा किरा फलाइदिन्छ । अब भन्नुस् हिरालाई जिरा र जिरालाई किरा पार्ने कति ठूलो तागत यसभित्र सन्निहित छ ।
अक्सर सञ्जालले निर्गन्ध कागजी फूलमा गुलाफी सुवासको अत्तर छिट्कन्छ । हेर्दाहेर्दै सक्कली गुलाफलाई गन्धहीन पँलासमा परिणत गरी त्यसको असली सौरभ खँलास गर्दछ । सञ्जालको शक्ति साँच्चै अपरम्पार छ ।
आज सञ्जालको जञ्जालमा फुक्काफाल विचरण गर्न पाएपछि मान्छे छाडा भयो । गुरुदेखि शिष्य टाढा भयो । मोबाइलको लत गाढा भयो । मान्छेले सम्बन्धका सूत्र भुल्यो । पिताले पुत्र पुल्यो । पुत्रले माता पिता भुल्यो । बटुवाले ओता लाग्ने छाता भुल्यो । सहोदर नाता भुल्यो । सनातन परम्पराका हितकारी मूल्य बिर्स्यो । समाजबाट सद्भाव र प्रेमको गाथा खस्क्यो । इज्जत, इमान र अस्मिताको भाका खस्क्यो । आफ्ना स्व–वैभवका विरासतमा आगो झोस्यो । आगो लाउनै पर्ने पत्कर पतिङ्गर ठाउँका ठाउँ चोखै छोड्यो । आज सञ्जाल आफ्नो निधारमा त्यही ध्वंशको खरानी दलेर गौरवको सगरमाथा उक्लन खोज्दछ । मान्छेको दिमाग चिल्नु, भ्रम छर्नु सञ्जालको सनातन धर्मजस्तो बनिरहेछ । मान्छेलाई विवेकहीन भेडीधसानको भासमा जाक्नु यसको कर्मजस्तो बनिरहेछ ।
हुन त सञ्जालले दिएको सुमधुर उज्यालो पनि छ हामीसित । त्यो आलोकले भन्दा अर्कै अन्धमुस्ली अल्गोरिदमले हामीलाई डरलाग्दो ज्ञान र संज्ञानको दुर्भिक्षतिर डोर्याइरहेछ । यसकै प्रतापले विश्वभरका मानवचरी एकआपसमा जादुमयी रुपमा जोडिन पाए । सूचना, ज्ञान र नवीन जानकारीको अथाह महासागरमा पौडी खेल्न पाए । विज्ञान प्रविधिको दुनियाँमा सीमान्तकृत अवस्थामा रहेका हामीले पनि त्यसको मिठो स्पर्श अवलोकन गर्न पायौँ । यसैबाट असंख्य जनलाई नाम, दाम र काम मिल्यो । आराम र मनोरञ्जन मिल्यो । तर, दुःखको कुरा यसले हाम्रो गीत र गोप्यता चोर्दैछ । मीत र मितव्ययिताको मास्दैछ । जोड्न भन्दा फोड्न आतुर छन् यसका क्रियाकलाप ।
यसले हाम्रा शालीन सौन्दर्यका वस्त्र–परिधान फुकालेर हामीलाई नै नङ्ग्याउदैछ । हाम्रो त्याग, बलिदान र निष्ठाको कथालाई कुरुप लयमा बङ्ग्याउँदैछ । यसले नजानिँदो गरी हाम्रा नवयुवालाई नहुने कुरा र नचाहिँदो बाटोेमा लतार्न उद्दिप्त गर्दैछ । सञ्जालको व्यसनीमा बेरिँदैजाँदा अनगिन्ती जीवन बर्वादीको खाडलमा झरेका दृश्यहरू पनि हाम्रा आँखासामु ताजा छन् । समग्रमा सञ्जालको सृजनात्मक प्रयोग र सदुपयोग कम, यसको दुर्व्यसन र दुरुपयोग बढ्दै गैरहेको दृश्य चौतर्फी देख्न सकिन्छ । यसरी नै सञ्जालको जञ्जालमा मान्छे बेरिँदै जाने हो भने यसकै सुर्केनी डोरीको गलपासोमा हाम्रो घाँटी कसिन कुनै बेर लाग्ने छैन, बेलैमा चेतना भया ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































