साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जालको जञ्जाल

यही सञ्जाल हो चोरलाई साधुको फुली पनि लाइदिन्छ । साधुलाई चोरको शुलीको पनि चढाइदिन्छ । विहान एउटी केटीलाई देवी बनाई नचाउँछ । बेलुकी उसैलाई बोक्सीको बात लगाई ताता पुनिउले गाला डाम्दछ ।

Nepal Telecom ad

पुन्य कार्की :

मान्छे दिनदिनै सामाजिक सञ्जालको जञ्जालमा बेरिँदो छ । अनन्त उकुस–मुकुस र अईंअईं हुनेगरी थरिथरिका अन्तरजालको फन्दामा घेरिँदो छ । औँलाको टुप्पाबाट चालित् यो सामाजिक सञ्जाल हो कि असामाजिक गन्जागोल हो, मैले यकिन गर्न सकेको छुइन । एकातिरबाट हेर्दा यसले मान्छेका दिल दिमागलाई सामाजिक सरोकारका झिनामसिना विषयवस्तुसित जोडेर चेतनाको काम गरेको जस्तो पनि देखिन्छ । सामाजिक मुद्धाकै कुराहरू उठान गरी बोलेको–लेखेको पनि देखिन्छ । यसरी हेर्दा यो सामाजिक सञ्जाल जस्तो पनि देखिन्छ । अर्कोतिरबाट हेर्दा नितान्त असामाजिक विधि, व्यवहार र क्रियाकलापलाई यसले बढवा दिइरहेको पनि पाइन्छ । लाजभाँड, घृणा र चौतफी नकारात्मकताको खेती गर्न सञ्जाल उद्दत छ । यसले समाजका शालीन मूल्यहरू भत्काउँदैछ । समाजलाई विद्रुप विध्वंसको अराजक परिपथमा भसाउन कुनै भँडाहाले खडा गरेको माकुरीजाल पो हो कि सन्देहहरू उठ्ने गर्छन् ।

समाजको नीति–नैतिकता, चिन्तन–प्रणाली र चरित्रलाई च्यूत गर्दै, मानव सभ्यताले आर्जन गरेको सामाजिक पद्धतिलाई धराशायी पार्दै आममान्छेलाई क्रमशः यसले मूल समस्या र कर्मबाट विमुख पार्दै घोर असामाजिक बाटोतिर धकेलिरहेको दृश्य स्पष्टसित देख्नसकिन्छ । पर्दापछाडिका हुण्डरीवाजले समाजलाई अश्लील अराजकताको भुवँरीमा फसाएको देख्ता कतिपय बेला यो सामाजिक जञ्जाल नभएर असामाजिक जञ्जाल हो कि भन्ने आभास मिल्दछ ।

यो छोटो लेखनीमा सञ्जालको करामत कति छ ? त्यसको सानो चर्चा गरिहालूँ– सञ्जालले कुनै अमुक पात्र र व्यक्तिलाई बिहान ओछ्यानबाट उठ्ता नउठ्तै मान्छेबाट देउता बनाइदिन्छ । सामान्य मान्छे एक्कासी देवता बनेपछि छिनभरमै मान्छेहरू उसको आरती उतार्न थाल्छन् । उसको जयगानमा सिङ्गो सञ्जाल रङ्गिन्छ । उसको आराधना र अभ्यर्थनामा सिङ्गो समाज उद्वैलित हुन्छ । नव–देवताको उदयमा मान्छेहरू भावविभोर बन्छन् । तर दःुखको कुरा सोही मान्छे साँझ पर्दा नपर्दै सञ्जालमै देवताबाट दानवमा रुपान्तरण भैसक्छ । बिहान ईश्वरीय ताज पहिर्‍याएर भगवान बनाएको मान्छे बेलुका भीमकाय स्वरुपको राक्षसमा परिणत हुन्छ । सञ्जालले उसको शिरमा ताज उडाएर सिङ उमारी दिन्छ । मुखमा दैत्यका दाह्रा जडिदिन्छ । बिहान भक्तिगानमा सरिक भक्तजन बेलुका घृणा र तिरष्कारको छुरी चलाउने भैसक्छन् । एउटै मान्छे छिनमा देउता छिनमा दानव ! यो अकिञ्चनका आँखा तिर्मिराउँछ ।

सञ्जालै हो त्यही मान्छेलाई कहिले मुक्तिदाता पर्वरिसको उपल्लो शिखर टेकाउँछ । कहिले लुसिफरको कृष्णगर्तमा भसाउँछ । अब मान्छेले लुसिफरको कुन स्वरुपलाई पत्याउने हो ! स्वर्गमा चमचम चम्किरहेको प्रभाती तारा स्वरुपमा कि नर्क गिरेर गुहुको दलदलमा भासिएको पिशाच रुपमा । एकछिन अगाडि ईश्वर, एकछिन पछाडि लुसिफर, अझ त्यसभन्दा पछि सिसीचोर ! सञ्जालको बबुरो पाठक साँच्चै रनभुल्लमा परेको पर्दछ ।

यही सञ्जाल हो– पहिले पित्तलमा स्वर्ण–जलप चढाउँछ र स्वर्णगानको नादमा मान्छेलाई लठ्ठ पार्छ । अलिबारमा बाना कहाँ खुस्किन्छ कुन्नि ! त्यही पित्तल खुइल्याएर अँगार बनाइदिन्छ । मनपर्दा पित्तललाई सुन र मन नपर्दा पित्तललाई अँगार बनाउने शक्ति सञ्जालको हातमा पूरापूर देख्नसकिन्छ । के अचम्म ! एकैछिन अघि हिरो भएको मानिस एकछिनपछि गुहेकिरोमा अनुदित हुन्छ ।

यही सञ्जाल हो चोरलाई साधुको फुली पनि लाइदिन्छ । साधुलाई चोरको शुलीको पनि चढाइदिन्छ । विहान एउटी केटीलाई देवी बनाई नचाउँछ । बेलुकी उसैलाई बोक्सीको बात लगाई ताता पुनिउले गाला डाम्दछ ।

यतिमात्र कहाँ हो र ! यसले कोइलालाई हिरा बनाउँछ । साँच्चैको कोहिनूरलाई कालो अँगारमा परिणत गरिदिन्छ । सञ्जाल नियन्ताले आफ्नो स्वार्थ र उपयोगको नीतिअनुसार एउटै वस्तुलाई फरक फरक विषय सन्दर्भमा उपयोग अनि दुरुपयोग गरी भ्याउँछ । यसले कहिलेकाहीँ कोइला होइन कि हिरालाई जिरामा पनि रुपान्तरण गर्दछ । र, यसको प्रयोग तरकारीमा गर्दछ । फेरि जिरालाई तिउनमा उपयोग गर्नुमा लाभ नदेखेमा त्यही जिरामा किरा फलाइदिन्छ । अब भन्नुस् हिरालाई जिरा र जिरालाई किरा पार्ने कति ठूलो तागत यसभित्र सन्निहित छ ।

अक्सर सञ्जालले निर्गन्ध कागजी फूलमा गुलाफी सुवासको अत्तर छिट्कन्छ । हेर्दाहेर्दै सक्कली गुलाफलाई गन्धहीन पँलासमा परिणत गरी त्यसको असली सौरभ खँलास गर्दछ । सञ्जालको शक्ति साँच्चै अपरम्पार छ ।

आज सञ्जालको जञ्जालमा फुक्काफाल विचरण गर्न पाएपछि मान्छे छाडा भयो । गुरुदेखि शिष्य टाढा भयो । मोबाइलको लत गाढा भयो । मान्छेले सम्बन्धका सूत्र भुल्यो । पिताले पुत्र पुल्यो । पुत्रले माता पिता भुल्यो । बटुवाले ओता लाग्ने छाता भुल्यो । सहोदर नाता भुल्यो । सनातन परम्पराका हितकारी मूल्य बिर्स्यो । समाजबाट सद्भाव र प्रेमको गाथा खस्क्यो । इज्जत, इमान र अस्मिताको भाका खस्क्यो । आफ्ना स्व–वैभवका विरासतमा आगो झोस्यो । आगो लाउनै पर्ने पत्कर पतिङ्गर ठाउँका ठाउँ चोखै छोड्यो । आज सञ्जाल आफ्नो निधारमा त्यही ध्वंशको खरानी दलेर गौरवको सगरमाथा उक्लन खोज्दछ । मान्छेको दिमाग चिल्नु, भ्रम छर्नु सञ्जालको सनातन धर्मजस्तो बनिरहेछ । मान्छेलाई विवेकहीन भेडीधसानको भासमा जाक्नु यसको कर्मजस्तो बनिरहेछ ।

हुन त सञ्जालले दिएको सुमधुर उज्यालो पनि छ हामीसित । त्यो आलोकले भन्दा अर्कै अन्धमुस्ली अल्गोरिदमले हामीलाई डरलाग्दो ज्ञान र संज्ञानको दुर्भिक्षतिर डोर्‍याइरहेछ । यसकै प्रतापले विश्वभरका मानवचरी एकआपसमा जादुमयी रुपमा जोडिन पाए । सूचना, ज्ञान र नवीन जानकारीको अथाह महासागरमा पौडी खेल्न पाए । विज्ञान प्रविधिको दुनियाँमा सीमान्तकृत अवस्थामा रहेका हामीले पनि त्यसको मिठो स्पर्श अवलोकन गर्न पायौँ । यसैबाट असंख्य जनलाई नाम, दाम र काम मिल्यो । आराम र मनोरञ्जन मिल्यो । तर, दुःखको कुरा यसले हाम्रो गीत र गोप्यता चोर्दैछ । मीत र मितव्ययिताको मास्दैछ । जोड्न भन्दा फोड्न आतुर छन् यसका क्रियाकलाप ।

यसले हाम्रा शालीन सौन्दर्यका वस्त्र–परिधान फुकालेर हामीलाई नै नङ्ग्याउदैछ । हाम्रो त्याग, बलिदान र निष्ठाको कथालाई कुरुप लयमा बङ्ग्याउँदैछ । यसले नजानिँदो गरी हाम्रा नवयुवालाई नहुने कुरा र नचाहिँदो बाटोेमा लतार्न उद्दिप्त गर्दैछ । सञ्जालको व्यसनीमा बेरिँदैजाँदा अनगिन्ती जीवन बर्वादीको खाडलमा झरेका दृश्यहरू पनि हाम्रा आँखासामु ताजा छन् । समग्रमा सञ्जालको सृजनात्मक प्रयोग र सदुपयोग कम, यसको दुर्व्यसन र दुरुपयोग बढ्दै गैरहेको दृश्य चौतर्फी देख्न सकिन्छ । यसरी नै सञ्जालको जञ्जालमा मान्छे बेरिँदै जाने हो भने यसकै सुर्केनी डोरीको गलपासोमा हाम्रो घाँटी कसिन कुनै बेर लाग्ने छैन, बेलैमा चेतना भया ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चोरका चर्तिकला

चोरका चर्तिकला

पुन्य कार्की
गालीलाई ताली

गालीलाई ताली

पुन्य कार्की
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x