पुन्य कार्कीपद–बिक्री केन्द्रको कथा
कसैको सुपर मार्केटमा लगानी छ त, कसैको हाइड्रो र टिस्टेटमा शेयर छ । कोही शेयर मार्केटका कारोबारी छन् त कोही अदृश्य ई–बिजनेसका अधिकारी छन् । कसैका जग्गा प्लटिङमा लगानी छ त कसैको रियल स्टेटमा लगानी छ ।

पुण्य कार्की :
उहिल्यैको कुरा हो– झण्डै साढे तीनदशक अगाडिको घटना, कुनै खैरेको मुलुकमा गोरेको गोठालो बसिरहेको गोब्रे बुद्धिको गोर्खे नेतो प्रजातन्त्रको छिर्के घाम लाग्नासाथ लोकतन्त्रको वीरप्पन मसिहा बनेर स्वदेश छिर्यो । प्रजातन्त्रको नयाँ बिहानीमा उसको उधुम् जय !! जयकार !! एअरपोर्टबाटै सुरु भयो । प्रजातन्त्रका मसिहा ! वीरपुरुष !!
बलिदानीपूर्ण सङ्घर्षका आदिम अभियन्ता !! त्यागी इमानी प्रजावत्सल !!! उसलाई फुर्कोमा पुर्याउने फूलजडी शब्दको कुनै दुःख भएन । आसेपासे अनुचरहरूले शब्दकोशमा भएजति सबै शब्दको प्रयोग गरी आरति उतारे, जयगान गरे ।
गोर्खे नेतो पार्टी र शासनसत्ताका लोभलाग्दा सिँढी उक्लिदै गो । हिजोसम्मको सुकिटाट गोबे्र बुद्धिको गोर्खेलाई बेलामा बासी भुटिभात पाउन पनि धौधौ थियो । तर, अब ऊ सत्ताका सिँढी उक्लिँदै गो, उसको रजगज, मोजमस्ती र विलासी जीवनले उपल्लो आकाश छुइसकको थियो । यसरी सुकुम्बासी गोर्खे रातारात हुकुमवासीमात्र होइन, पराले झोपडीबाट आलिशान हबेलीमा राज गर्ने भयो ।
साँझ बिहान कर्पोरेट हाउसका मालिकसित मन्त्रणा गर्ने मात्र होइन– उच्चासिन ब्यूरोक्र्याट, टेक्नोक्र्याट, व्यापारी, विचौलिया, ठेक्केदार, बैंकर, स्मगलर र दुई नम्बरी धन्धा चलाउने माफियाबाट ऊ दिनदिनै बेरिन थाल्यो । चौवीसै घण्टा तिनैबाटै घेरिन थाल्यो ।
गोर्खे बुद्धिको गोर्खे नेतो ! घरिघरि छक्क पनि पर्छ ! किनभने सत्तामा छउँन्जेल अनेकन् नामका यी नन्दीभृङ्गीगणबाट ऊ घेरिन्छ, पुजिन्छ । साँझ बिहान नित्य आरती उतार्न कोठामै आँउछन् । जबजब ऊ सत्ताबाट ओर्लेर प्रतिपक्षको बेन्चमा पुग्छ, त्यतिखेर मुर्दालाई जुम्राले छोडेजस्तो एक्लो पारेर उनीहरू कता पुग्छन् ? उसैलाई थाहा हुन्न ।
गोर्खेका जीवनमा अचम्म अचम्मका काकताली–संयोगहरू जुर्दै आएका छन् । जनमत भन्दा ज्योतिष विद्याप्रति औधि भरोसा छ गोर्खेलाई । लामो समयसम्म बिहे नगरी बसेको गोर्खेलाई खोई ! कतातिरबाट हो, अधबैँशे उमेरमा एक चपरचण्डाल बूढीकन्येसित लगनगाँठो कस्ने सुयोग मिल्यो ।
केहीवर्ष सत्ताविहीन उत्तानो टाङ लाइबसेको गोर्खे, खोई !! कताकता कुन कुन समीकरण मिलाएर फेरि सत्ताको सुस्वादु भोजन डकार्न पुग्यो । एकरात गोर्खेसित प्राण–पियारी पत्नीले खुसुक्क कानमा मन्त्रणा गरी– “सुनिस्यो न ! होइन यो गठबन्धन सत्ताको कुनै भर हुन्न ! हाम्रो मूलधन्दा राजनीति भएपनि छोराछोरीको भविष्यका लागि यहीबेला कुनै साइड–जब सुरु गर्नुपर्छ । कमाइको विकल्प कुनै धन्दा गरिएन भने यत्रो राजसी ठाँटबाँठ कसरी धान्न सकिएला र बूढो !!”
बूढीका कुराले गोर्खे लामो निन्द्राबाट ब्यूँझेजस्तो भयो । वाचाल बुद्धिकी गोर्खेपत्नी ऊभन्दा सातबाउ बाठी थिई । राजसी घरानाको पोज बजार्नदेखि अनेक तरेलीका मोज हसुर्न माहिर थिई । उसले गोर्खेका दिमागमा अरु कुरा भरी–“हेरिस्यो राजा ! यो सत्ताको शक्ति दुईदिनको घामछायाँ हो दुईदिनको ! यसको कुनै भर हुन्न । मौकामा हिरा फोर्नु, बेमौकामा कौडी नछाड्नु भन्ने आहान छ । यो सत्तासिन भएकै बखतमा यसो दुईपैसा कमाई हुने थप आयआर्जनको बाटो नबनाउने हो भने भोलि छोरानातीका पुस्ताले हामीलाई सराप्छन् । भोलि यै छोराले धारे हात लाउँछ– यत्रो पदमा पुगेर पनि बाबाले हामलाई केही कमाइदिनु भएन भन्छ ।”
बूढीका कुराले गोर्खे छिनभरिमै कन्भिन्स भो । साइड–जब के गर्ने, कसरी सुरुवात गर्ने ? सबै योजना बनाउन र कामधन्दा चलाउन बूढीलाई नै जिम्मेवारी सुम्प्यो । उसले जिब्रो लपलपाउँदै स्वीकृति जनायो–“ गर ! गर !! जे धन्दा सुरु गर्ने हो, तिमीले नै गर । तिमीलाई नै जिम्मा मलाई त राजनीतिबाटै फुर्सद छैन । जे गर्नुपर्छ तिमी नै गर । आखिर तिमी फुर्सदै छ्यौ ।”
पतिदेवबाट स्वीकृतिको संकेत बत्ती बलेपछि गोर्खेपत्नीका दिमागमा नानाथरि विचारका झिल्काहरू उठ्न थाले । उसले अरुले नगरेको धन्दा सुरु गर्दा त्यसले मार्केट लिन्छ भन्ने कुरा बुझेकी थिई । त्यो मार्केटमा आफ्नो एकाधिकार साम्राज्य कायम हुन्छ भन्ने जानेकी थिई । किनभने ऊ व्यापार शास्त्रकी माहिर मर्मज्ञ थिई । उसले सानी छँदादेखि नै ब्यापारबाटै अपार बन्ने सपना सँगाली आएकी थिई ।
संयोगवश गोर्खे–नेतोसँग लगनगाँठो कसिएपछि व्यापारबाट अपार हुने सोच स्थगनमा परेको थियो । उसले आफ्नै पार्टी र अन्य पार्टीका उच्च नेताहरूका गुप्ती धन्दा र गुप्ती कारोबारप्रति सरसर्ती नजर लगाई । उसले हेरी– कुनै नेताको निजी स्कूल र कलेजमा भारीभरकम लगानी छ । कसैका अस्पताल र नर्सिङ होमहरू छन् । कसैको वैदेशिक मुद्राको हुण्डी कारोबार छ त, कसैको फलामे डण्डीदेखि जाडाको मण्डीसम्मको कारोबार छ ।
भाँतीभाँतीका भित्री धन्दा हेर्दै जाँदा कसैको हर्बो व्यवसाय छ, कसैको कार्गो व्यवसाय छ । कसैको म्यानपावर कम्पनी छ । कसैको डन–पावर कम्पनी छ । कसैको नेटवर्किङ विजनेस छ त, कसैका निजी बैंकहरू छन् । कसैका फाइनान्स र सहकारी व्यवसायहरू छन् । कसैको सुपर मार्केटमा लगानी छ त, कसैको हाइड्रो र टिस्टेटमा शेयर छ । कोही शेयर मार्केटका कारोबारी छन् त कोही अदृश्य ई–बिजनेसका अधिकारी छन् । कसैका जग्गा प्लटिङमा लगानी छ त कसैको रियल स्टेटमा लगानी छ । कोही डाइपरदेखि स्नाइपरसम्मको खरिद व्यापारमा जोडिएका छन् । यसरी होटलदेखि हुण्डाईसम्म, ठेक्कापट्टा कोटेसन देखि आयात–निर्यातका अन्तर्राष्ट्रिय धन्दासम्म नेताकै श्रीमती, आफन्त, इष्टमित्रहरू जोडिएका छन् ।
गोर्खेपत्नीले अधिकाँश चण्डाल नेताका भित्रीधन्दा उपर आँखा दौडाउँदा दौडाउँदै यो निष्कर्षमा पुगी कि अब गर्न लायक अछुतो धन्दा केही बाँकी छैन । उसले सोची– फेरि कुरुस्त कमाउने धन्दा गर्नु नै परेपछि अरुले गरिआएकै धन्दा किन गर्ने ? बेकारमा अस्वस्थ प्रतिस्पर्धा र मनमुटावमात्र सिर्जना हुन जान्छ । ऊ एकदुई रात गहन चिन्तनको दहमा पौडी खेली र आफ्नो लागि उपयुक्त धन्दाको निर्क्यौलमा पुगी ।
उसले सोची– आखिर आफ्नो पति पार्टी प्रोटोकल हाइरार्कीमा सबभन्दा उँचो स्थानमा विराजमान छ । गोर्खे नेतो नाममात्रको नेता छ । उसको भित्री कमाण्ड आफ्नै हातमा छ । जतिपनि हुकुम आदेश आफ्नै मर्जीमा चल्छ । त्यसैले अब आफ्नै घरको गुप्तीकोठामा पद बिक्रीको दोकान खोल्छु ।
पद बिक्रीको गुप्ती धन्दा सञ्चालन गर्न दोकानका लागि उपयुक्त कोठाको बन्दोबस्त आफ्नै घरमा तयार भयो । सुरुमा विभिन्न पदहरूको रेट निर्धारण गरी मूल्यसूची तयार पार्न उसलाई हम्मेहम्मे पर्यो । त्यसका लागि उसले आफ्ना आसेपासेहरूको माध्यमबाट विचौलिया विज्ञहरूको टिम झिकाई । पदको रेट निर्धारणका लागि त्यो टिमले राम्रै कसरत गर्यो ।
गोर्खेपत्नी र विचौलिया विज्ञको टिमले आखिरमा कालिमाटी तरकारी बजारको मूल्य–सूचीलाई सिरानी बनाएर पद–बिक्रीको बजार रेट निर्धारण गर्यो । कालीमाटीको तरकारी मूल्यसूचीबाट पहिलो चरणमा राजदूतको रेट निर्धारण गरियो । करेलाको दामबाट कोरियाको राजदूतको रेट यसरी फिक्स गरियो । जस्तै– प्रतिकेजी करेलाको दाम पाचास रुपैयाँ छ भने त्यही पचासमा छवटा सुन्ना थपेर कोरियाको राजदूतको मूल्य पाँच करोड निर्धारण भयो । अर्थात् कोरियाको राजदूत हुन इच्छुक उम्मेदवारले पद बिक्री केन्द्रमा हाताहाती नखत बुझाएर गोर्खे पत्नीको हातबाट कुपन लिएपछिमात्र नियुक्तिपत्र हाता लागी हुने भयो ।
एवम् रीतले बरेलाको मूल्यबाट बहराइनको राजदूतको मूल्य, अदुवा–कागतीको मूल्यबाट अमेरिकाको राजदूतको मूल्य निर्धारण गरियो । आलु–गोलभेँडाको मूल्यबाट इन्डियाको राजदूतको मूल्य मिलान भयो । चुकन्दर–फर्सीको मूल्य हेरेर चीनको राजदूतको मूल्य निश्चित गरियो । प्याजको मूल्यबाट प्राज्ञको मूल्य कायम गरियो । गाजर–बन्दाको मूल्यसूची हेरेर कुलपति र रेक्टरको मूल्य निकालियो ।
भोलि हुने चुनावमा साँसद, मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख आदिआदिको टिकट रेटपनि भाण्टा, भिण्डी, मटरकोसा, बोडीको मूल्यकै सापेक्षतामा निकालियो । यसैगरी घिउसिमीबाट जिएमको मूल्य, रातोमूला सेतो मूलाबाट संस्थानको चेयरमेनको मूल्य, तिते करेलाको मूल्यबाट संवैधानिक आयोगका अध्यक्ष र आयुक्तको मूल्य कायम गरियो । भटमास कोसाको मूल्यबाट अदालतको न्यायाधीशको मूल्य कायम गरियो भने लौका–परबलको मूल्यबाट प्रहरीका इन्स्पेक्टरको मूल्य सूची तयार गरियो ।
फर्सी, चिचिण्डो, रामतोरिया र भेँडे खोर्सानीको मूल्य हेरेर प्रहरीका बढुवा पद डिएस्पी, एस्पी, एसेस्पी डिआजी, एआइजी, आइजीसम्मका रेटहरू निकालियो । साग, धनियाँ, गान्टेमुला र काउलीको मूल्यसूचीबाट भन्सार, कर, राजस्वमा हुने सरुवाका रेटहरू तयार गरियो । उनीहरूलाई तरकारी बजारको मूल्य सूचीले पदका नियुक्ति, सरुवा, बढुवा आदित्यादिका बजार रेट कायम गर्न ठूलो सघाउ पुग्यो । तर, तरकारीको मूल्यमा अनिवार्य पाँचदेखि छवटा शून्य थपेर रेट मिलान गरियो ।
सबै पदको थोक मूल्य र खुद्रा मूल्य कायम गरिसकेपछि पद बिक्री, सरुवा, बढुवाको एकमुष्ट मूल्य–सूचीमुनि एक नोटिस थप गरियो–
१. कुनैपनि पदको बिक्री पद बिक्री केन्द्रको अति गोप्य शाखाबाट गरिने छ । पद खरिद र सरुवा–बढुवाको भुक्तानी गर्दा चेक, क्यूआर कोडबाट होइन हाताहाती नखत बुझाउनुपर्ने छ, त्यो खुल्ला होइन अटेचीमा प्याक गरिएको हुनुपर्नेछ ।
२. परम्परागत ठेकी कोसेली, घिउका हर्पे, महका बोतल, कुराउनीका पेरुङ्गा, बँदेलको सिकुटी, स्कच वाइनका बोटलजस्ता भौतिक खाद्यपदार्थमा पूर्णतः बन्देज गरिएकोछ, यी कोसेलीको शोधभर्ना नगदमै गर्नुपर्नेछ ।
३. पद बिक्री केन्द्रमा नियुक्त गरिएका आधिकारिक गरिएको विचौलिया मध्यस्थ कर्ताको माध्यमबाट कारोबार गरिएको हुनुपर्नेछ ।
यति सूचना जारी भएपछि गोर्खे नेताको घरमा ग्याँठवाला उम्मेदवारहरूको चहलपहल ह्वात्तै बढ्यो । योग्यता, इमान र मिहेनतको बलमा उभिएका उम्मेदवारको चाप स्वात्तै घट्यो ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































