साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री बिलौना

नीति राम्रो भएर चुनाव जितिन्छ भन्ने त कुरो मात्र हो । जनताको भलाइ र विकास गर्ने भन्ने थेगो हो, अर्थ नभए पनि भन्न नछाड्‌ने र यसको अर्थ खोज्न पनि नपर्ने !

Nepal Telecom ad

ध्रुव नेपाल :

पृथ्वीनारायण शाहले ठुलो दुःख गरेर नेपाल मुलुक आर्जेको हुँ भनी पोखेको दुखेसो उनको दिव्योपदेशका रूपमा खुब रटी रटी पढ्नुपऱ्याथ्यो सानो छँदा। त्यो बेला लाग्या थियो साँच्चै दुःख नै भयो होला साना साना राज्य जितेर विशाल नेपाल बनाउन । तर राजनीतिमा लागेपछि थाहा भयो मन्त्री पदसम्म पुग्न गर्नुपर्ने धामाका अगाडि उनले गरेको दुःख त केही होइन रहेछ । उनले त दुःख गरेअनुसार राम्रो प्रतिफल पाएका रहेछन्, भुरेटाकुरे राज्य गोरखाका राजा नेपालजस्तो ठुलो राज्यको राजा हुन पाए, ख्याति कमाए राष्ट्रनिर्माताको रूपमा । उनको वंशका १० जना राजा भए ।

आफू भने यति ठुलो धामा गरेर हुन पाएको छु बल्लतल्ल चारपाँच महिने मन्त्री; त्यो बेला राम्रै हैकम र मानसम्मान होला, अश्वमेध यज्ञको घोडा गएको दिशाका राजारजौटाले चक्रवर्ती महाराजालाई झै सबैले खातिर गर्लान् भनेको त सेक्युरिटी गार्डले समेत लाइन बसी आफ्नो पालोमा जानोस् भन्छ बा। अनि पारो तात्दैन ।

यति दुःख गरेर मन्त्री भइएको छ अनि मन्त्री हुँ भन्या पनि छु, यति भन्दाभन्दै नटेरेर “लाइन लाग” भनेको सुन्दा पारो तात्यो र सिडिओलाई आदेश दिएँ, “त्यसलाई ठेगान लगाइदेऊ, जाकिदेऊ कालकोठरीमा जतिसम्म सकिन्छ त्यतिसम्म ।” तुरुन्त आदेश तामेल गरे सिडिओ र पुलिसले । सेक्युरिटी गार्डलाई पो थाहा भएन मन्त्रीको शक्ति, उनीहरूलाई त छ नि । त्यो गार्डको सेखी झारियो, अरूले पनि देखे मन्त्रीको शक्ति !

तर यी पत्रकार भन्ने छन् नि, अरूले लाएखाएको, मानसम्मान पाएको देखी नसहने जात, यिनले “मन्त्रीले आफूलाई पालो मिच्न रोक्ने सेक्युरिटी गार्डलाई थुनाए” भनेर पो लेख्छन् बा । कन्पारा तात्ने, यिनको चाला देख्दा ! कति जान्ने हुनुपरेको यी पत्रकारलाई । हातमा कलम छ, अगाडि क्यामरा छ भनेर जे पनि लेख्ने, जे पनि फलाक्ने क्यामराअगाडि !

मन्त्रीको इज्जत रहे पो जनताको पनि इज्जत हुन्छ, मन्त्रीको इज्जत नै जनताको इज्जत हो। जनताको इज्जतका लागि नै मैले त्यो मात्तिएको र चढेको सेक्युरिटी गार्डलाई थुन्न लगाएको हुँ। कुरो बुझ्नु छैन त्यसै विरोध गर्यो, बुरुकबुरुक उफ्रियो- बस भैगो ! पहिले कुरो पो बुझ्नुपर्छ !

मन्त्री हुँदा पनि मानसम्मान, विशेष खातिरदारी नपाउनु ? मन्त्री हुन कति दुःख गर्नुपर्छ, कति खर्च गर्नुपर्छ तिनलाई के मेसो ! पञ्चायतकालीन एक जना मन्त्रीको गाईले अरूको बाली खाइदिँदा “मन्त्रीको गाईले बाली मास्यो” भनेको सुन्दा उनी मक्ख पर्थे रे – मेरो गाईसमेत मन्त्रीको गाई भनी चिनियो भनेर । त्यस्तो मान पो पाउनु पर्यो। मन्त्री हुनु चानचुने कुरा त होइन नि !

त्यसैले त प्रेम गरेर भित्र्याएकी बुढीले समेत अचेल “मन्त्रीज्यू, भुजा ज्युनार हुन आइ”स्यो” भन्न थालेकी छ, “ए केशु, भात खाऊ है झिकेर” भन्थी पहिले ।

सर्वसाधारण नै हुनुपर्ने हो भने किन दुःख गरी गरी मन्त्री हुनुपर्यो ? आखिर राजनीति गर्नेको मुख्य उद्देश्य प्रधानमन्त्री, मन्त्री हुने त हो, जोगी हुन त गरेको होइन नि राजनीति !

अनि हामीजस्ता कोही पनि मन्त्री नहुने हो भने देश कसरी चल्छ ? मन्त्री नहुने हो भने सिंहदरबारभित्र रहेका त्यति धेरै मन्त्रालयको के काम ? मन्त्री नभएपछि सचिव, सहसचिव तथा अन्य कर्मचारीको के काम ? यसो भएमा कति धेरै मानिस बेरोजगार हुने भए; कति धेरै मोटर, कम्प्युटर, मोबाइल, फर्निचर त्यतिकै रहने भए, नकिनिने भए। नकिनिए व्यवसायीको व्यवसाय नचल्ने भयो अनि देश कसरी चल्छ ? जागिर खान खोज्नेले जागिर पाउने, व्यवसायीले व्यवसाय गर्न पाएर नै देश चल्ने होइन र भन्या । सूर्य भएर नै सृष्टि चल्छ, मन्त्री भएर नै देश चल्छ। अनि त्यस्तो मन्त्रीलाई उचित मानमनितो नगरी सामान्य मानिसलाई झै लाइन लाग्नुपर्छ भन्ने जिकिर गर्दै मन्त्रीलाई लाइनमा बसी पालो पर्ख भन्नु मन्त्रीको महत्त्व नबुझेको होइन त ? मन्त्रीले कतिओटा बैठक र कार्यक्रममा जानुपर्छ, मान्छेले पर्खिरहेका हुन्छन् अनि त्यस्तो व्यस्त मन्त्रीलाई सबैले बाटो छाड्नु पर्दैन ?

समय फेरियो भन्दैमा आफ्नो चलन र संस्कार चटक्क छाड्न मिल्छ त ? यो त पुर्खाको धरोहर हो, यसलाई बचाएर पो राख्नुपर्छ। हेरौं त हामीले शाहकाल, राणाकाल बेहोरेर आयौँ । त्यसबेला शासन तथा शक्तिमा हुनेको कति मानसम्मान थियो। जसरी पुर्खा, बाबुआमा तथा देवीदेवतालाई श्रद्धा तथा मानसम्मान गर्ने हाम्रो संस्कार हो, त्यसै गरी ठुलो ओहोदामा बस्ने प्रधानमन्त्री, मन्त्रीको पनि मानसम्मान गर्ने हाम्रो संस्कार हो । त्यसलाई बिर्सेर सर्वसाधारण भुसेमुसे किसान, व्यापारी, सानोतिनो पेसाकर्मी, शिक्षक, विद्यार्थीसरह मन्त्रीलाई मान्ने र व्यवहार गर्ने हो भने यो देशको इतिहास र संस्कृति कहाँ पुग्छ ? एकातिर इतिहास, संस्कृति जोगाउनुपर्छ भन्ने अर्कोतर्फ ठुलाबडालाई मान, इज्जत दिने संस्कार छाड्ने – कसरी हुन सक्छ ? मन्त्री भएर पनि अरू मानिसजस्तै हुनुपर्ने हो भने मन्त्री नै किन हुने ? मन्त्रीको पद त हर दृष्टिकोणबाट आकर्षक पो हुनुपर्छ।

मन्त्रीको पदमा पुग्न ज्यास्तै धामा गर्नुपर्छ। फेरि धामा गर्दैमा मन्त्री पद पाइने ठेगान पनि केही हुँदैन। भाग्य बलियो भए, शिरमा राखिदिने आशीर्वादको हात दलका ठुला नेताको भए मात्र मन्त्री बन्न पाइने हो नत्र त “दिनभरि करायो, दक्षिणा हरायो” नै हो।

राजनीतिमा नलागी मन्त्री बन्न सकिने कुरा भएन। राजनीतिमा लागेर राम्रो ओहोदा पाए त ठिकै हो भन्छन् बाआमा, स्वास्नी, छोराछोरीले तर राजनीतिमा लाग्न थाल्दा दुःख पाइने भयो, (यो) बिग्रने भयो भनेर डराउँछन् । राजनीतिमा त पढ्न नसकेका, दिमागभन्दा बढी हात र मुख चल्नेले लाग्ने हो भनी ठान्छन् अभिभावकहरू । हुन पनि राजनीतिमा लागेर आकर्षक पदमा पुग्ने, मानसम्मान पाउने र कमाउने सम्भावना हुन्न; जस्तो कि जागिर खाने र व्यवसाय गर्नेको निश्चित हुन्छ । जीवनभर राजनीतिमा लागेर पनि राम्रो पद पाउन नसक्नेहरू कति छन् कति ! दुःखको कुरा त आफू सबै छाडेर सानैदेखि राजनीति गरियो, अहिले नेताको रजाइमा पढेर वा कमाएर एकैपटक फुत्त राजनीतिमा खुट्टा टेक्नेले पद र अवसर भेटेको देख्दा कम झोक चल्दैन । राजनीति भनेर जीवन अर्पिनेले नपाउने तर जस्केलोबाट पसेका भुइँफुट्टाले अवसर लिने ।

मन्त्री बन्ने मेरो सपना भने बल्ल पूरा भयो बडो मुस्किलले। मेरै दलका साथीहरूले मन्त्रीको पद छाड्न नमानेका बेलामा अनेक धम्की दिएर र छिर्के हानेर बल्ल मन्त्री बन्ने मौका मिल्यो। अहिले यो मौका लिन नसकेको भए म जिन्दगीभर मन्त्री बन्न नसक्ने अवस्था आउन सक्थ्यो किनकि राजनीति गर्ने व्यक्तिको दल सत्तामा पुगेन भने वा पुग्यो भने पनि दलभित्रको भिंगेदाउ खेलेर अरूलाई पछार्न सकिएन भने मन्त्री बन्न नसकिने रहेछ ।

राजनीतिलाई जुवा भन्छन् धेरैले । राजनीतिमा लाग्ने दाउ जुवाको भन्दा बढ्ता हुन्छ। राजनीतिमा लागेर मन्त्रीको पदसम्म पुग्न नसक्दा घरपरिवारले दुःख पाउँछन् ।

राणाकाल र पञ्चायतमा व्यवस्थाविरोधी राजनीति गरे जेलसमेत परिन्थ्यो। बहुदलपछि भएको माओवादी द्वन्द्वकालमा माओवादी कार्यकर्तासमेत जेल पर्ने, मारिने, अङ्गभङ्ग हुनेमा परेका थिए। अचेल राजनीतिमा लाग्दैमा जेल पर्नुपर्ने त छैन तर मन्त्री कसरी बन्ने भन्ने आधार भने खल्बलिएको छ। पैसा र गुन्डागर्दीलाई आधार बनाउने सजिलै र चाँडै मन्त्री भएका छन् । लामो समय राजनीति गरेर आउने हेरेको हेयै हुन्छन् । पदका लागि राजनीति गर्नेले जता काफल पाक्यो, उतै चरी नाच्यो गरिरहन्छन् । शक्ति देखाएर र लिलाम बढाबढमा भाग लिएर मन्त्री बन्छन् ।

हामीकहाँ राजनीति गर्नु भनेको हड्ताल गर्नु, कालोमोसो दल्नु, विपक्षीलाई केही गरी अगाडि जान नदिनु, नचाहिँदो बखेडा झिक्नु र काम रोक्नु जस्ता सबै खाले तिकडम गरी मौका आफ्नो पक्षमा पार्नु हो। जनताको सेवा गर्नुलाई राजनीति भन्नुचाहिँ झुठको खेती नै हो। राजनीति गर्दा जनताको नाम लिनुपर्ने र उनैको नाममा केही गरेको भन्नुपर्ने, गरेझै देखाउनुपर्ने भएकाले मात्र हो। वास्तवमा राजनीति गर्ने आफ्ना लागि हो, नत्र राजनीतिलाई पेसा कसले भन्छ ? सबैले राजनीति मेरो पेसा हो भन्ने गरेकै छन् । पेसा भनेको त साधन जोडेर आफ्नो र परिवारको जीवन चलाउने आधार हो। मैले त सधैं राजनीति मेरो पेसा हो भन्दै आइरहेको छु। यसो भन्न थालेको पनि दसकौं भइसक्यो। त्यसैले त मेरो औलादौला भएको छ।

राजनीति गर्न के के गरिएन । अरूले खुब ध्यान दिएर पढ्दा आफूलाई पहिले राजनीतिको चस्का लागेर अलि बलियो, बाङ्‌गो र हाहा हुहु गर्नेको पछि लागियो । विपक्षीलाई कुटियो, हेडमास्टर तथा फुर्ती गर्ने शिक्षकलाई कालो मोसो दल्ने, जुत्ताको माला लगाउने, हड्‌ताल गर्ने काम गरियो। विद्यार्थी, शिक्षक तथा सञ्चालक समितिको आँखामा पर्न सकियो। एसएलसीमा चिट चोरेर अनि शिक्षकलाई उत्तर लेख्न लगाई त्यही सारेर पास भइयो । त्यसपछि कलेज पढ्न थालियो। त्यहाँ पढ्न थालेपछि एउटा प्रभावशाली दलको भ्रातृ सङ्गठनको सदस्यता लिई कलेज तहको राजनीति गर्न थालियो । ठुलो मानिस बन्छु भन्ने रहर त लागेको हो तर पढेर होइन राजनीति गरेर !

नेपालको विद्यार्थी सङ्गठनको राजनीति भनेको के नै रहेछ र ? भातृ सङ्गठन भएकाले मूल दलको राजनीतिक अजेन्डा बोकेर हिँड्ने, सानो निहुँ निकालेर बखेडा गर्ने, अनेक थरी तिकडम गरेर विपक्षी सिध्याउने वा ठेगान लाउने अनि आफ्नो हालीमुहाली बढाउने ! जसको नाममा राजनीति गरेको भन्यो, उसको नामसम्म लियो तर काम आफ्नो मन लागेको गर्यो। विद्यार्थीका लागि राजनीति गरेको भन्यो, आफ्नो मूल दलको आह्वानअनुसारको काम गर्यो जाँच चल्या छ भने पनि सानो निहुँमा कक्षा बन्द गराउन पछि नहट्यो, आफूले हडताल र बखेडा गरेर खुरुखुरु कक्षा हुन रोक्यो अनि गुणस्तरीय शिक्षा दिएन भनेर बखेडा निकाल्यो। यसो भनौं बोक्सी पनि आफै बन्यो, झाँक्री पनि आफै बन्यो। यसै गर्दै विद्यार्थी नेता बनें, कक्षा उक्लिन, क्याम्पस भर्ना भइरहें लामो अवधिसम्म, विद्यार्थी नेता बनिरहें बसौंसम्म ।

यसो गर्दागर्दै विद्यार्थी राजनीतिबाट मूल धारको राजनीतिमा आइयो, स्थानीय तहको निर्वाचन जितियो, काम गरियो र अर्कोपटक प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाइयो । चुनाव कसरी जितिन्छ भन्ने थाहा छँदै थियो, जितियो । चुनाव जित्न कहिले गठबन्धन गर्ने, कहिले बुथ कब्जा गर्ने, कहिले हुलद‌ङ्गाको डर देखाई विपक्षी मतदातालाई दुरुत्साहन गर्ने त कहिले मतगणना गर्दागर्दै मतपत्र च्यात्ने काम गरेर आफ्ना दलका उम्मेदवारलाई जिताउने काम गर्दै आइएकै थियो भने आफ्नै पालामा झन् त्यसो नगर्ने कुरै थिएन। पार्टीले चुनाव जित्न सक्छ भनेर टिकट दिएको थियो, त्यो आशा पूरा गरेर देखाइयो। समर्थक थोरै हुँदा पनि चुनाव कसरी जित्न सकिन्छ भन्नेमा यति वर्ष राजनीति गरेपछि पारङ्गत हुने नै भइयो। घमन्ड गरेरै भन्न सक्छु -चुनाव जित्न गर्नुपर्ने तिकडमबारे कसैलाई सिक्नु र जान्नु छ भने मलाई गुरु थापे हुन्छ ।

नीति राम्रो भएर चुनाव जितिन्छ भन्ने त कुरो मात्र हो । जनताको भलाइ र विकास गर्ने भन्ने थेगो हो, अर्थ नभए पनि भन्न नछाड्‌ने र यसको अर्थ खोज्न पनि नपर्ने !

उम्मेदवार बन्न दलको टिकट पाउनु चुनाव जित्नुभन्दा कठिन भयो मलाई। अरू दलसँग गठबन्धन गरी चुनावमा भाग लिने निर्णय दलले गर्दा आफ्ना समर्थनका दलको बहुमत हुने भयो संसद्मा भनेर मक्ख परेको त आफूले टिकट पाउने भनेको निर्वाचन क्षेत्र अर्को दलको भागमा पर्न लागेको रहेछ आफू अगाडिको खानाको थाल अरूले खोस्न लागेझै । दलका निर्णायक नेताहरूलाई भेटेर लोभ र धम्की दुवै दिएँ। “आँ .. ऊँ ..” गर्न नसक्ने गरी बेसरी अँचेटेपछि बल्लतल्ल आफ्नो निर्वाचन क्षेत्र आफ्नो दलको भागमा पार्न सकियो ।

आफ्नो दलको भागमा निर्वाचन क्षेत्र पर्दैमा आफूले नै टिकट पाउने निश्चित कहाँ हुनु ! कोही वृद्ध भइसकेका, मन्त्री, प्रधानमन्त्री बन्ने घिडकिसो रहेका छन्, कोही पैसाको बिटो चढाउने बढाबढमा अरूलाई पछार्न सक्ने खालका छन् । तिनलाई उछिनेर आफूले टिकट पाउन परेको मुस्किलको त कुरै नगरौं । अघिल्लो दुईपटक चुनाव जितेर देखाएको हुँदा जित्ने क्षमता भएको भन्ने त छँदै छ, टिकट नपाए बागी ( विद्रोही) उम्मेदवार बनी चुनाव जितेर देखाइदिने धम्की दिई बल्लतल्ल टिकट पाइयो। वृद्ध र अर्को प्रतिस्पर्धी नेतालाई पैसा धेरै खर्च गर्नुपर्ने र त्यति गर्दा पनि म विपक्षमा उठें भने चुनाव जित्न नसक्ने धम्की दिई समानुपातिक वा प्रदेश सभातिर धकेलें । आफूलाई समानुपातिकतर्फको सांसद बन्न त्यति मन नै लागेन, कुनै ठाउँमा जाँदा जनताले आफ्नो प्रतिनिधिझै नै नगर्ने, झुरूपप घेर्ने नै नहुने भएकाले; दुधसँग भात खाँदा निस्तो भएझै – न त नुनिलो न त अमिलो ट्वाक्क पुगेको ।

मैले चुनाव नजित्ने त कुरै थिएन। गठबन्धन भएको र आफूले पनि सबै हतकन्डा अपनाएकाले चुनाव त जितियो तर मन्त्री नै बनाउन्नन् बा ! आफ्नो कत्रो ठुलो सपना छ मन्त्री बन्ने । सपना तुहिन दिन त भएन; राजनीतिमा लाग्नेको एकपटक मौका गुमेपछि फेरि अर्को मौका आउँछ नै भन्न सकिन्न ।

त्यसैले मन्त्री बन्न सक्ने उपाय खोजियो, ठुलो दल फुटेका बेला सानोतिर लागियो भाइ छुट्टिए बाक्लो दाल खान पाइन्छ भनेर किनकि साना दल गठबन्धन बनाई सरकारमा जानेवाला थियो। साना दलका नेतालाई एक एक जना सांसदको ठुलो महत्त्व र डर दुवै थियो कतै यिनले छाडेर ठुलो भङ्गालोपट्टि नै नफर्कियुन् । यसैले दबाब दियौं अग्रणी नेतामाथि मलगायत अरूले पालो गरेर मन्त्री बनाउनुपर्छ सबैलाई। उनले माने। सर्तबमोजिम तोकिएको अवधिपछि दबाब दिइयो क्युमा रहेकालाई मन्त्री बनाउन । काम गरिरहेका मन्त्रीले छाड्न मानेका थिएनन् हामीले राम्रोसँग काम गरिरहेका छौं भनेर तर गलहत्याइयो। राजनीतिमा राम्रो काम गरेर मन्त्री हुने, टिकिरहने हो र ? दल र प्रधानमन्त्रीले सत्तामा पुग्न र टिक्न मन्त्री बनाउने, पदमा अड्याइरहने हो। यति सजिलो कुरा पनि नबुझेको देख्दा हाँसो र टिठ दुवै लाग्यो भन्या आफ्नै दलका साथीहरूमाथि ।

यति भाँती गरेर बल्ल मन्त्री हुनु छ तैपनि रवाफ र मानसम्मान कसैले दिँदैन भने कन्पारो तात्दैन । राजतन्त्र त गयो, राजा भएनन् रे तर मन्त्रीको रवाफ र जगजगी उस्तै उस्तै हुनुपरेन । राजतन्त्र नहुनु भनेको राजा हुन्नन् पो भनेको हो त, राजाको जस्तो रवाफ र मानसम्मान कसैको हुन्न भनेको कहाँ हो र ?

मन्त्री बन्न यति हिरिक्क नहुनुपर्ने छँदै छैन; मन्त्रालयअन्तर्गतको स्रोतसाधनमाथिको अधिकार र निर्णयमा एकछत्र अधिकार हुन्छ। चाहेको मानिसलाई ठेक्का दिन पाइने, चाहेको मानिसलाई सचिव, सहसचिवमा मन्त्रालयमा राख्न पाइने । मन परेका कर्मचारी अन्यत्रबाट ल्यायो र मन नपरेकोलाई अरूतिर पठायो गर्न सकिने । आफ्नालाई प्रोजेक्ट, काम दिन सकिने ।

एक जना राजाले मुलुक हाँकेझै मन्त्रालयको त राजा नै पो भइने रहेछ । राजनीति गर्ने र सांसद हुनेलाई राजासरह हैकमशाली मन्त्री पद दिएर सत्ता हासिल गर्न, टिकाउन सक्दा रहेछन् प्रधानमन्त्रीले । एउटा दल वा प्रधानमन्त्री धेरै समय टिके पो देशमा राजनीतिक स्थायित्व हुन्छ, नत्र कहाँ स्थायित्व हुन्छ र । मन्त्रीमा भाग पुऱ्याउन नसक्दा प्रधानमन्त्री नै ढल्छन्, अर्को प्रधानमन्त्री हुन्छन् भने सङ्घीय सरकारमा २५ जनाभन्दा धेरै मन्त्री बन्न नपाइने प्रावधान संविधानमा के खाएर राख्नुपरेको होला ? एकातर्फ सरकार चाँडो चाँडो नफेरियोस्, राजनीतिक स्थिरता आओस् भन्ने चाहना राख्ने, यसकै लागि सरकार बनेको एक वर्ष नहुँदै अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान राख्ने अर्कोतर्फ सरकार टिकाउने उपाय भनेको धेरैभन्दा धेरै मन्त्री पद बाँडेर हो भन्ने बिर्सेर २५ जनाभन्दा बढी मन्त्री बन्न पाइन्न भन्नु नमिल्दो कुरा भयो अलिनो पनि नखाऊँ, नुनढिकी पनि नफोरूँ जस्तो। अलिनो नखाने भए नुनढिकी त फोर्नै पर्छ नि । सरकारको स्थायित्व चाहने हो भने सत्ता जोगाउन आवश्यक पर्ने जतिलाई मन्त्री बनाउन पाउने अधिकार प्रधानमन्त्रीलाई दिनै पर्छ ।

सम्झौं न, एकपटक ५९ जनासम्मको मन्त्रिपरिषद् बनाएर भए पनि सरकार टिकाएका थिए एक जना प्रधानमन्त्रीले। प्रदेशका मुख्य मन्त्रीले मन्त्रालय थप्दै, पालो पालो मन्त्री बनाउँदै आफ्नो पद जोगाएका छन् र आफू मुख्य मन्त्री बनेका छन् । सांसद हुने व्यक्ति नै प्रायः मन्त्री हुने भएपछि सांसद हुँदा पाउनेभन्दा अलिकति बढी पारिश्रमिक पाउने त हुन् मन्त्रीले अनि मन्त्री बढ्‌दैमा राज्यकोषबाट मन्त्रीकै लागि भनेर व्ययभार कति नै थपिने हो र ! त्यसो भएपछि प्रधानमन्त्रीलाई दिनुपर्छ नि तजबिजी अधिकार – कति मन्त्रालय र मन्त्री बनाउने भनेर। प्रधानमन्त्री नै बनाएपछि पद टिकाउने उपाय गर्न पाउने अधिकार पनि त दिनुपर्यो नि ।

कुरा खेलाउँदाखेलाउँदै कता पो पुगेछु । भिसा लिन मन्त्रीलाई लाइनमा बस्न लगाउने सेक्युरिटी गार्डलाई थुनाएकोमा कुकुरको पुच्छर बा‌ङ्गो देखे पनि के के न देखें भनेर समाचार बनाउने पत्रकारले समाचार बनाएछन् । त्यसैले जताततै मैले के के न नचाहिने काम गरेछु भनी टीकाटिप्पणी, आलोचना, गाली समेत पो गरेछन् । यो भनेको स्वतन्त्रताको अभ्यास गर्न नजान्नेको काम हो। यस्तै गर्नेलाई त भन्ने हो -कुकुरलाई घिउ नपचेको ! एक जना मन्त्री, जो जनताको प्रतिनिधि हो, उसको इज्जत, रवाफ र मानसम्मान भएन भने जनताको मानसम्मान र इज्जत कसरी हुन्छ ? जनप्रतिनिधिले जे गर्छन्, जे पाउँछन् त्यो जनताकै त हो !

जन्मले राजा हुनेले पाएको अधिकार र मानसम्मान अब जनतामा जानुपर्छ भनेर गणतन्त्र ल्याएको होइन ? जसरी जनप्रतिनिधिमार्फत जनताले राज्यसञ्चालनमा भाग लिने व्यवस्था हो भने जनप्रतिनिधि र मन्त्रीमार्फत जनताले इज्जत, मानप्रतिष्ठा र रवाफको भोग गर्ने व्यवस्था होइन र गणतन्त्र भनेको ? जसरी राजाको जस्तो मान र चालढाल राष्ट्रपतिको छ, त्यस्तै मानसम्मान मन्त्रीको पनि त हुनुपर्छ। गणतन्त्र भनेको राजाको पालो गयो, अब जनताको पालो आयो भनेको पो हो। मन्त्री भएपछि पनि सर्वसाधारण सरह हुने भनेको होइन नि। मन्त्री पनि सडकछाप मानिसजस्तै हुनुपर्ने, लाइन लागेर पालो पर्खिनुपर्ने, गाडी चढेर सडकमा हिँड्दा ट्राफिक लाइटमा पर्खनुपर्ने, लेनभित्र रहेर गाडी चलाउनुपर्ने त पक्कै होइन। जनता जस्तै भए ऊ प्रतिनिधि कसरी भयो ? ऊ त विशेष हुनै पर्यो नि। गणतन्त्रका मन्त्रीले इज्जत र प्राथमिकता नपाउनु भनेको गणतन्त्रको नै अपमान हो।

त्यसकारण गणतन्त्रका मन्त्रीले श्रीपेच नलगाए पनि राजासरह उसको मानसम्मान हुनुपर्छ। अबको क्याबिनेट बैठकमा मन्त्रीले कुनै पनि ठाउँमा लाइन लाग्नु नपर्ने, पालो पर्खनु नपर्ने, मन्दिर जाँदा होस् वा सार्वजनिक शौचालय जाँदा विशेष हैसियत पाउनुपर्छ भनेर नलेख्ने हो भने कुर्सीमा बस्न मात्र बनाएको मर्यादाक्रमको के काम ? जनताले आफूले भोट हालेका मानिस राजासरह हुन सकेको देख्न र अनुभूति गर्न पाए भने पो गणतन्त्रको स्वाद चाख्न पाउँछन् । नत्र गणतन्त्र आएको महसुस कसरी गर्नु !

०००
सिके पाे ! (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
अप्जसिया कुर्सी

अप्जसिया कुर्सी

खग प्रसाद नेपाल
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
समय

समय

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x