ध्रुव नेपालअप्जसिया कुर्सी
जे भए पनि अवगाल त भयो नि ! भएन ? भन्नुहोस् त। त्यसैले मैले भन्या, म त्यो अप्जसिया कुर्सीमा बसेर गृहमन्त्रीको जागिर त खाँदैखान्न।

खग प्रसाद नेपाल :
“मैतीदेवीमा ताजा फर्सीको मुन्टा पाइन्छ रे।” रुपाले भनिन्।
“ए !” उसले भन्यो।
रुपाले हाँस्दै भनिन्, “मैले त लिन जाने होला भनेर पो भनेकी त।”
उसले भन्यो, “हुन्छ। जाउ न।”
“छ्या, कस्तो मान्छे होला! साँझ एकछिन हिँडे हुँदैन? कति दिनरात त्यही फेसबुक चलाएर बस्न सक्या होला !”
उसले भन्यो, “तिमीले मलाई जानु भनेर अह्राएको हो ? स्पष्ट भनन त। किन कुरो चबाएर भन्नुपर्यो ?”
रुपाले भनिन् “मैले अह्राउने अरु को छन् र यहाँ ? अनि कसलाई भन्नु र मैले ?”
कुरो हिजो साँझको हो। ऊ तरकारी बोक्ने झोला बोकेर घरबाट निस्कियो।
ऊ मुलसडकमा पुगेको मात्र थियो, बागबजारतिरबाट होचा मोटा र पातला अग्ला बुढा गफ गर्दै टुप्लुक्क त्यहीँ आइपुगे र उसको अगाडि लागे। ऊ उनीहरुका कुरा सुन्दै उनीहरुकै पछि लाग्यो।
होचा मोटा बुढाले भने, “खान्न।”
“के खान्न भन्नुभएको हो ? अघिदेखि खान्न खान्न मात्र भनिरहनु भएको छ।” पातला अग्ला बुढाले भने।
पहिलोले भने, “ज्यान गए पनि खान्न। म जत्रै सुनको ठुन्को दिएर खा भने पनि खान्न। दुइटा कारणले खान्न।”
दोस्रोले भने, “नखानुहोस् कि त ! तर के खान्न खान्न भनेर ततर्किरहनु भएको हो ? हामी पनि बुझौं न।”
“गणतन्त्रको गृहमन्त्रीको कुरा गर्या मैले। अहिलेसम्म जे जति गृहमन्त्री भए एउटा न एउटा बात नलागेको कुन गृहमन्त्री छ भन्नुहोस् त ! एकाध बाहेक जेलको हावा नखाएको कुन गृहमन्त्री छ भन्नुहोस् त!” त्यही भएर त्यो अप्सजिया र अवगाल आउने कुर्सीको पदमा चाहिँ जति लोभ्याए पनि म जागिर खान जान्न भनेको हुँ।” पहिलोले भने।
दोस्रोले भने, “गृहमन्त्री हुन त सांसद हुनुपर्छ होइन र ! अनि तपाईंलाई किन लोभ्याउनु ?”
पहिलोले भने, “छ महिनाको लागि सांसद हुनु पर्दैन नि। त्यसैले।”
दोस्रोले सोधे, “किन अप्जसिया र अवगाल आउने कुर्सीको पद भन्नुभएको हो ?”
पहिलोले भने, “अगाडिसम्म जानै पर्दैन। त्यो कुर्सीमा बस्ने पछिल्ला तीनजना गृहमन्त्रीलाई नै हेर्नुहोस् न। एकजनालाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोप लाग्यो, अर्कालाई सहकारीको रकम हिनामिना गरेको दोष लाग्यो। अहिले अर्कोलाई भिसा प्रकरण भन्ने अप्जस लागेको छ। खोइ त्यो त के हो ! मैले राम्रोसँग बुझेको पनि छैन। जे भए पनि अवगाल त भयो नि ! भएन ? भन्नुहोस् त। त्यसैले मैले भन्या, म त्यो अप्जसिया कुर्सीमा बसेर गृहमन्त्रीको जागिर त खाँदैखान्न।”
दोस्रोले भने, “ल ठीक छ। यो पहिलो कारण भयो रे। मानें।” फेरि सोधे, “दोस्रो कारण चाहिँ के हो त ? अघि दुइटा कारणले गर्दा खान्न भन्नुहुन्थ्यो नि !”
पहिलोले भने, “दोस्रो कारण त टिभिमा अथवा पत्रिकामा खबर हेरेर तपाईंले पनि थाहा पाइसक्नुभएकै छ।”
दोस्रोले भने, “खबर त दिनहुँ कति हेरिन्छ, कति ! तर तपाईंले कुन खबर भन्नुभएको हो भनेर मैले कसरी बुझ्नु र !”
पहिलोले भने, “गृहमन्त्रीको काम त मुलुकमा शान्ति सुरक्षा कायम गराउने होइन ? भन्नुहोस् त।”
दोस्रोले भने, “हो। कसले होइन भन्यो र !”
पहिलोले भने, “प्रधानमन्त्रीले राजधानी शहरमा १५ गते एक दिनको पनि केही समय अर्थात दिउँसो ११ बजेदेखि २ बजेसम्म गृहमन्त्रीबाट शान्ति सुरक्षा गर्न नसक्ने ठहर गरि आफ्नो पार्टीलाई सुरक्षा कायम गर्न आह्वान गरेका छन्। प्रधानमन्त्रीकै नजरमा कमजोर र निरीह गृहमन्त्रीको त्यो कुर्सीमा बसेर मैले काम गर्ने भन्ने कुरै आएन नि ! त्यही भएर जतिसुकै लोभ्याए पनि म त्यो कुर्सीमा बसेर गृहमन्त्रीको जागिर खाँदै खान्न भनेको हुँ।”
दोस्रोले “त्यो अप्जसिया र अवगाल आउने साबिकको कुर्सीमा किन बस्नुपर्यो र ? त्यो हटाउन लगाएर अर्कै नयाँ कुर्सी ल्याउन लगाएर आनन्दले बस्ने नि। छ महिना गृह मन्त्री भइयो भने सात पुस्ता–” भन्दैथिए, “बा भर्खरै आजै टिपेको ताजा फर्सीको मुन्टा आइपुगेको छ। हारालुछ छ। आइपुगिहाल्नुभयो लगिहाल्नुस्। एक छिनमा सकिन्छ।” डोकोमा फर्सीको मुन्टा बेच्ने महिलाको आवाजले उसको ध्यान महिलातिर आकर्षित भयो।
उसले महिलाको आवाजले पातला अग्ला बुढाको पूरा कुरा सुन्न सकेन नै। होचा मोटा र पातला अग्ला बुढाहरू गफ गर्दै फटाफट अगाडि हिँडेकाले उनीहरुका बाँकी कुरा पनि सुन्न सकेन।
“एक मुठा दिनुहोस् न।” उसले महिलासँग मुन्टा माँग्यो र खल्तीबाट पैसा झिक्दै भन्यो, “कस्तो बोर भयो !”
“बालाई आफ्नो खल्तीबाट पैसा झिक्दा बोर लाग्छ हो ?” महिलाले सोधिन्।
“होइन, गफ सुन्न नपाएर भनेको हुँ ।” उसले भन्न खोजेको थियो। भनेन। सम्झियो मात्र।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest



































