सीताराम नेपाल राजनीतिक लुतो
तपाईंको सचेतनामा जुन धक्का लाग्छ त्यसको असर तपाईंको छाला चिलाउने, पोल्ने हुन्छ। अब त तपाईंले राजनीति छोडे पनि यो लुतोले तपाईंलाई छाड्दैन ।

सीताराम नेपाल :
वर्षभरिको लुतो फालेँ । लुतो बिनाको आनन्दको कल्पना गरेँ । आहा सायद स्वर्गीय आनन्द भनेको त्यही होला !…..
तर भोलिपल्ट देखि फेरि चिलाउन थाल्यो। तर हल्का र फरक खालको अनुभुति भयो। पर्सीपल्ट अलि बढ्यो। केही दिनमा फेरि उस्तै भयो।
मलाई मात्र हो कि अरुलाई पनि आउँछ यो कन्याउने रोग! भन्ठानेर डाक्टर देखाइयो।
-“यो एलर्जी हो ! कम हुन्छ तर निको चाहिँ हुदैन! काठमाडौंको बासिन्दामा एलर्जी ज्यादै हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।” भन्दै डाक्टरले दिएको औषधि सेवन गरेको पनि बर्षौ भयो। तर निको भएजस्तो हुन्छ। ए ! औषधिले कमाल गर्छ कि क्या हो भन्ठान्यो फेरि उस्तै !
चर्मरोग विशेषज्ञले मनोरोग विशेषज्ञको सल्लाह लिने सुझाब दिए । जाबो लुतो फाल्न के मनोरोग विशेषज्ञकोमा जानु भन्ठानेँ । तर सल्लाह मानेँ ।
मनोरोग विशेषज्ञले अनेक कोणबाट परामर्श गरे । अन्त्यमा उनले निष्कर्ष सुनाए -“तपाईं राजनीति मनपराउने मान्छेलाई लुतो लाग्नु स्वाभाविक हो। आफूभन्दा माथिका नेता आफूजस्तै आदर्शवादी नभएको देख्दा तपाईंको सचेतनामा जुन धक्का लाग्छ त्यसको असर तपाईंको छाला चिलाउने, पोल्ने हुन्छ। अब त तपाईंले राजनीति छोडे पनि यो लुतोले तपाईंलाई छाड्दैन । किनकि तपाईंमा राजनीतिक सचेतना त रहिरहन्छ । तर देश विदेशका राजनीतिक घट्नाको बारेमा जति चिन्ता कम गर्नुहुन्छ त्यति लुतो बिसेक नभए पनि कम हुँदै जान्छ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































