चन्द्रप्रसाद न्याैपानेलुताे
लुतो कथा हो न कथा लुतो हो कन्याउँथेँ मै कुन कुत्कुतो हो पानी र पौडीसँग बढ्दथ्यो त्यो नुहाउँदा थोर हराउँथ्यो जो ।

चन्द्रप्रसाद न्याैपाने :
यता कन्यायो त ! उता चिलायो
झन् दर्फरायो छ मजा मजा पो
खुट्टा कन्यायो खुब दर्फरायो
तिघ्रा चिलायो अझ माथि आयो
कतै चिलायो न त भन्न मिल्ने
कन्याउँदामा पनि लाज लाग्ने
यता चिलायो र उता कन्यायो
उता कन्यायो त यता चिलायो
यता उता वा तलमाथि सारा
लौ चारतर्फै चिरिरी छ पारा
यी हात लाने अब चैँ कता हो ?
खाँचो भयो लौ दश हातको पो
बग्दै गरेको छ नि ! पीप रक्त
अझै उसैको म छु शुद्ध भक्त
न भोक हो त्यो न त शोक हो त्यो
उल्का अनौठो छ कथा लुतोको
अझै चिलायो नि पछाडि ढाड
भेट्दैन खोस्रूँ छ अगाडि हात
औँलाहरूका पनि काप काप
लुतो बढेको अझ खात खात
भन्दैन रोगी अझ चर्चरायो
आनन्द लाग्ने जति दर्फरायो
खोया मकैका छ मजा दराल्दा
छेस्का र छेस्की पनि छन् चिथर्दा
लुते मजाले अझ झन् करायो
कन्याउँदामै छ लिँदो मजा त्यो
छाला दराल्दा पनि मोजमस्ती
छ सम्झनाभित्र हिजो र अस्ति
आनन्द लाग्ने जति नै कन्यायो
उल्ले मलाई नजिकै बनायो
मेरोबिना ऊ किन बस्न सक्थ्यो ?
मैले कन्याएपछि दङ्ग पर्थ्यो
चुनाव आएपछि भोट माग्दा
छ टाँसिएको सरि लाग्छ नेता
भन्थे लुते ओ ! खटिरे उता जा !
सर्ला यता ए ! नमजा कुरा क्या !
लुतो कथा हो न कथा लुतो हो
कन्याउँथेँ मै कुन कुत्कुतो हो
पानी र पौडीसँग बढ्दथ्यो त्यो
नुहाउँदा थोर हराउँथ्यो जो ।
०००
सिन्धुपाल्चाेक
Subscribe
Login
0 Comments
Oldest






































