सीताराम नेपाल राजनीतिक पीडित
अर्का थरी विद्यार्थीहरूले टिप्पणी गरे- 'तिनीहरू नेताहरूका छोराछोरी हुन् त्यसैले राजनीतिबाट तर्सेका छन् ।

सीताराम नेपाल :
काठमाडौँको एक प्रतिष्ठित कलेजको विज्ञान र व्यवस्थापनको स्नातकका केही विद्यार्थीहरू क्यान्टिनमा गफ गर्न थाले । अघिपछि गफका लागि गफ गर्ने तिनीहरूले त्यो दिन बडो गम्भीर कुरा गरे ।
‘भविष्यमा को के बन्ने ?’ गफको विषय थियो ।
‘म त नर्स बन्छु र मदर टेरेसाको पदचिन्हमा हिँड्छु । दीनदुःखीको सेवा नै परमोधर्म ।’
‘आफू त पाइलट बनिन्छ । जेटको कान समातेर विश्व फन्को मार्नुलाई पानी पँधेरो पारिन्छ । कालै नआई मरिनुमा डराइन्न ।’
‘यो ज्यान जीव विज्ञानको नयाँ प्लटमा रिसर्च गरी एड्स लाग्दै नलाग्ने औषधीको अनुसन्धानमा घोत्लिनेछ ।’
‘म ठूलो चार्टर एकाउन्टेन्ट बनेर विश्वका मल्टी मेघा कम्पनीका कर छली, घोटाला तथा कालो धन पत्ता लगाई उदिङ्ग्याउने काम गर्छु ।’
‘यो ब्रो त टप हाइड्रो इन्जिनियर बन्छ । जलश्रोतको धनी देशमा मौलाएको लोड सेडिङ सदाका लागि अन्त्य गर्ने कार्यमा लाग्ने छ ।’
‘आफू त विश्व सुन्दरी बनी रङ्गीन दुनियाँमा धमाका मच्चाइन्छ, देशको नाम राखिन्छ ।’
‘मेरो ध्यान – वायुमण्डलमा पातलिँदै गएको ओजोनको प्वाल नेपालबाटै टाल्नुमा जाने छ । नेपालीको शान सगरमाथा वरपर शुद्ध हावा र प्राकृतिक बादलको संरक्षण गरी ग्लोबल वार्मिडलाई चुनौती दिनुपर्छ ।’
तिनीहरू निस्केपछि छेउको टेबुलमा बसेर तिनीहरूको कुरा सुनिरहेका अर्का थरी विद्यार्थीहरूले टिप्पणी गरे- ‘तिनीहरू नेताहरूका छोराछोरी हुन् त्यसैले राजनीतिबाट तर्सेका छन् । हाम्रो जीवन न विवादको धराप हो न त सकुनीको दाउपेच नै हो भन्छन् ।’
‘जनतामा छुल्याइँ र फट्टयाइँ गर्ने राजनेताहरूले घर भित्र पनि बाँकी नराखेको प्रमाण हो यो’- अर्को टेबुलमा चिया पिउँदै एक प्राध्यापकले टिप्पणी गरे ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































