साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाल्नु भयो त लुतो ?

बाटोमा बिष्टाउने र लुतो फाल्ने कुरा मात्र हैन कि देशको शाशन सत्तामा पुगेर बारम्बार बिष्टाउने बानी परेका लुतेहरुलाई उछिट्टाउने काम होस् ।

Nepal Telecom ad

भोज अर्याल :

लुतो फाल्ने सक्रान्ति भनौं कि साउने सक्रान्ति भनौं त्यो पनि सकियो हैन त हजुर ! तर कानो गोरुलाई औंसी न पुर्ने बहाल मतलब भयो र हामीलाई ? विदेश बस्नेलाइ खास अरु केही आउँदैन । आउँछ त केवल संझना मात्र । बास् कुरा यतिमै सकियो खास् । लुतो फालेसँगै लाखे नाँचेको तिजमा ढाड भाँच्ने गरी दिदी बहिनी उफ्रेको पनि बारबार यता झल्को आउँने नै गर्यो । सात-समुन्द्र पारी पुगेका म जस्ता अरु हरुको पनि त मन उही नेपाली न पर्यो ।

यति बेला यता केनाडातिर पनि चर्को गर्मी चढेको छ । लौ न नि के कुरा होला यस्तो ? केनाडामा पनि के को गर्मी होला र ? बाह्र महिनामा एघार महिना त चानचुन चिसो नै हुन्छ । तर यो जुलाई महिनामा भने यतातिर पनि छाती फुलाई हिँड्न पाइन्छ क्या । आफूलाई चिसो खान मन लाग्दा पानीमा बरफ घोलेर खाइन्छ क्या । यति भएपछि कसलाई के नै चाहिन्छ । पुस माघ महिनातिर चिच्याउँन मन लाग्ने हिउँ र चिसो हुन्छ । यस्तोमा कामको खास के नै मेसो हुन्छ ? यति बेला वर्षातको समयमा पनि यता कहीँ पानी पर्दो छैन । असिनाको डल्ला डल्ली झर्दो पनि त छैन । बरु सधै झैं डढेलोले वन सखाफै पारेको कुरा छ । झरी र वादल संम्झेर उता मादल बजाउँदै गरेको गाउँको यादमा मन भने सम्झिएर लजाउँदै छ ।

यता झरी वादलसँगै सिक-सिक लाग्ने बाटो र हिँड्दा डुल्दा खुट्टै घिन घिनाउँने माटो देख्न नपरेर के नै भो र ? विदेशमा बस्नेलाइ रात दिन कि त कामको रटान लाउन परेकै छ । कि त साहुको कि त घरवाली बुढीमाउको लुतो कन्हाउन पनि त परेकै छ ! कि कसो विदेशी मित्रगणहरु ? लुतोको कुरा गर्न पर्दा यो जात नै ठाउॅं न कु ठाउँमा आएर हैरानी गर्छ । अझै बाल्यकालको कुरा सम्झिंदा धन्नै ले मेरो त आशु नै झर्छ । शरिरमा महिना दिनसम्म पानीको छिटो नपारे पछि लुतो नआएर के नै आउला र ? उता पिउनको लागि पानी नपाउने त्यो समयमा नुहाउने कुराको लेठो कसले गर्दो होला र ? तर लुतो आए पनि सधैंभरी पाल्ने कुरा पनि त भएन । साउन महिनामा आगोको अगुल्टोसँगै लुतो नफाल्ने कुरा पनि त भएन नि ?

गाउँघरतिर वर्षा यामको समयमा बाटो हिँड्दा, बाटाको छेउकुनामा बसेर बिष्टाउने चलन पुरानै हो । कुनै एक आद गाउँको कुरा हैन, यो त हरेक ठाउँको कुरा पो हो त । वन पाखा हिँड्दा डुल्दा बाटोदेखि पाटो हुँदै खोला खोल्सा पुरै गन्हाएर बसि खानु कहाँ हुन्थ्यो र ? अहिले जस्तै बनि-बनाउ पाइखाना नभएसी गर्ने नै के ? मानिसका विवशता पनि कति हो कति ? कोही बाटोमा हगेर भागिजान्थे । उता गएर के गर्नु फेरि कसैले देखेमा पाँडेगाली पनि त खान्थे ।

घरको माथिपट्टीकै बाटोमा फोहोर गरेको देखेर गैह्राघरे जेठिया ले सराप्नु हुन्थ्यो ! “कसका भुँडीमा चरर्रर चिर्को नाचेछ कुन्नी ? बाटोमा हगेरै हिँडिसक्नु छैन ।” चट्याङलाइ गाउँमा चिर्को भनेर बोलिन्थ्यो । यसरी गाली दिनु आफैमा राम्रो कुरा त हैन ! तर नदिएर अरु उपाय पनि त केही छैन । बाटोमा हग्नेलाइ गाली नदिएर के ताली दिने त ? “ स्याबास् तिमीले ठिक गरेछौ । बाटोमा हगेरै मरेछौ !“ कसले भन्दो होला ? मने गाउँमा बग्ने ठाडो खोला । अनि यस किसिमको बाटो हिँड्दा कसको पो हात खुट्टा घिन घिनाउदैन होला ?

गाउँघरको यो पारा त संसार साराले बुझेको कुरा न हो । पहाडको कुरा मात्र हैन कि तराइमा पनि त बाटोमा बिष्टाउने सबालमा के कमी थियो र ? बिहान बिहानै कि त बाटोमा कि त खेतको आलीमा बसेर लादी फाली रहेका मानिसहरुको दृष्य पनि कम रोचक थिएनन् । आज फेरि यसो संझिन्छु ! यस्तो काम कुरा नगरौं है, भनेर किन कसैलाई सचेतना तालिम नै दिइएन ? सायद जुग- जमाना नै अलि लाटो हो वा त्यही नै जीवनको मुल बाटो ? यो कुरा गरेर अलि साध्य पनि त छैन । अहिले समाज अलि फरक भए होला ! त्यसैले कोही बाटोमा हग्न बाध्य पनि त हुँदैन । यो कुरा बाहेक केही अपवाद पनि त होला । कसैलाई फेरि जंगल जाने बेला नभै नहुने फेरि उही शिव शंकर भोला ।

गाउँको कुरासँगै काठमाण्डौं शहरमा रहर गरेर बस्नेको पनि हालत उही हो । बाटोघाटो हिँड्दा वा यात्रा गर्दा मिल्काउने ठाउँनै कहाँ पाउनु ? कि त घरमै बोकेर जानी हो । कि त दिशा पिसाब गर्ने निहुले होटेलाँ पसेर केही खानी हो । जानी-जानी बाटोको कुना कानीमा पुगेर छुल्काउने त नानीदेखिकै वानी न परो । सायद अहिले के कसो हुँदै छ ? नयाँ सरकारले केही गर्दै पो छ कि ? वा ऊ पनि आफ्नो ओरालो यात्रा तय गरी तलतल झर्दै छ । यदि कोही जानकार रहेमा मेरो कानमा पुर्याई दिनु होला । जे जसो होस् पुरानो वानी अब सबै हटोस् । गाउँशहर मात्र हैन देशै बदल्न यो बालेन बाबुको सरखार रात दिन खटोस् ।

बाटोमा बिष्टाउने र लुतो फाल्ने कुरा मात्र हैन कि देशको शाशन सत्तामा पुगेर बारम्बार बिष्टाउने बानी परेका लुतेहरुलाई उछिट्टाउने काम होस् । देश समाज र शाशन सत्तामा रहेका घिनघिनाउदा चरित्र र गन्धकीहरुको मनमा ढ्याङ्ग्रो पसोस् । साउने सक्रान्तिको शुभकाना नै हरियो ! हामी पनि त यता बसेर उताको लुतो फाल्ने वाला नै परियो ।

अन्तमा, देश लुटेर भुँडी भर्नेलाई स्याबास् राम्रो काम गरेछौ भनेर ताली दिन सकिँदैन । बरु माथि भने झैं “यिनका भुँडीमा चिर्को धस्नेले देशै लुटेर खाए ।” भन्दै गाली दिनै पर्ने हुन्छ । सबैको जय होस् ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
अप्जसिया कुर्सी

अप्जसिया कुर्सी

खग प्रसाद नेपाल
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
समय

समय

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x