वासुदेव गुरागाईंपर्दाभित्रको बुढ्यौली
यस किसिमका विधिको अवलम्बनपछि व्यक्तिको अनुहार हँसिलो हुन्छ । परिवारको अनुहार हँसिलो हुन्छ । र, अन्त्यमा समग्र राष्ट्रकै अनुहार हँसिलो हुन्छ ।

वासुदेव गुरागाईं :
आँखाभरि आँसु पार्दै बुढा भनिरहेका थिए– तपाईंहरूका अगाडि कुराले ठिक्क पार्छ नि । छोरो भनेर के गर्नू ! यहाँ कोही नभएको बेला होस् त, कस्तो गर्छ यसले ? भोग्ने त म छु नि । यसले गर्ने व्यवहार र मैले भोग्ने पीडा मलाई थाहा छ । यसले गरेका सबै कर्तुतको वर्णन गर्यो भने म नै उल्लू हुन्छु अरूका अगाडि, साखुल्ले उही ठहरिन्छ । ऊ यतिखेर अरू कसैले केही नगरी आजको अवस्थामा पुगे जस्तो व्यवहार गर्छ मसँग । त्यसो भएर बोल्नुभन्दा नबोल्नु ठिक छ नानी ।
एकातिर बाउहरू छोराका विषयमा यसरी सिकायत गरिरहेका हुन्छन् भने अर्कातिर सासूहरूको गुनासो पनि कम हुन्न । सासूहरू भनिरहेका हुन्छन्– हाम्री बुहारीको पनि के कुरा गर्नू ? अरूका अगाडि कुरामा चिप्लो घसेर बुहारी त यस्तो ज्ञानी पो हुनुपर्ने ! कति लच्छिनकी बुहारी ! कति सज्जन बुहारी ! घर व्यवहारका कुरामा कति सिपालु ! कति जान्ने ! कति व्यावहारिक ! भन्ने बनाइदिन्छे यसले । पछाडि परोस् त मलाई नै दाह्रा किटेर मुखमा हालेको गाँस पनि थुकौँ–थुकौँ जस्तो बनाइदिन्छे । सबै पहिलाकाले बिगारेको, केही नगरेको भन्या छ, घुर्या छ, आँखा बटारेको छ । खुट्टा बजारेको छ । भाँडाकुँडा ठटाएको छ । केटाकेटीलाई गाली गरे जस्तो गरेर बुढाबुढीलाई थर्काएको छ । यसका लागि हात गोडा चलुन्जेल मैले कति गरेँ, गरेँ । त्यो त मलाई थाहा छ नि । अहिले मप्रतिको यसले गरेको व्यवहार हेर्यो भने कुरा गरी साध्य छैन बाबू । कसलाई के भन्नूँ । आफ्नै भाग्य उस्तो भन्यो, बस्यो । म त अरू कसैलाई केही भन्दिन । भनेर के हुन्छ ! आप्mनै कुरा गर्यो, आफैँ हलुको बन्यो, बस्यो । इः यसलाई त यस्तो भएछ भनेर जोरीपारी हँसाउनु मात्र ।
छोरो अर्कातिर फनफनिदै भन्न थाल्छ– हाम्रा बाउ बुढाको गनगन सुन्न थाल्नु भयो भने तपाईं त एक्कैछिनमा छटपटिन थाल्नुहुन्छ । कहाँकहाँका कुरा ल्याउने हुन्, हुन् । सुन्दासुन्दा दिक्क लाग्छ । अस्ति पनि त्यही कुरो, हिजो पनि त्यही कुरो, आज पनि त्यही कुरो । अनि, यो पनि पक्का छ, बाँचुन्जेल भोलि पनि त्यही कुरो । एउटै कुरो सधैँ कति दोहोर्याउन सकेको । कति भट्याउन सकेको ? कति सुन्नु ! पट्यार लाग्दो । यता फर्के पनि त्यही कुरा उता फर्के पनि त्यही कुरा । सबै आफैँले गरेको । सबै आफैँले धानेको । आफूभन्दा जान्ने कोही छैनन् जस्तो । त्यति मात्र हो र ! न खाने कुरामा सन्तुष्टि छ, न लाउने कुरामा । न यताउति घर व्यवहारका कुरामा सन्तुष्टि छ, न अरूसँगको आपसी व्यवहार र आम्दानीका कुरामा ।
एक दुई पटक कुरा सुन्नेलाई त हो जस्तै पारिदिन्छन् यी बुढाले । जब तीन चार दिन हुन थाल्छ अनि सुन्नेले बल्ल यो बुढो त यस्तो रहेछ भन्दै बुढाको आनीबानी थाहा पाउँछ । म त दिक्क भइसकेँ । कहिले कोसँग झर्केको छ, कहिले कोसँग । कसैलाई जस दिन जानेका छैनन् बुढाले । दिएको खानु, लाउनु अनि चुप लागेर बस्नु नि । जति भन्दा पनि हुँदैन । अरू घरका बुढाबुढी पनि यस्तै हुन्छन् कि हाम्रा मात्र हुन् ? अचम्म लाग्छ मलाई त !
एकातर्फ बाबुप्रति छोराको यस्तो गुनासो हुन्छ भने अर्कातिर सासूप्रति बुहारीको गुनासो पनि कम हुन्न । सासूको दैनन्दिनको झर्को लाग्दा कुरा सुन्दासुन्दा दिक्क भएकी बुहारी भनिरहेकी हुन्छे– हाम्रा सासूआमाको पाइलापाइलाका यस्ता कुरा सुने भने अरू वरपरकाले पनि के भन्लान् ? जहिले पनि मेरी बुहारी यस्ती, उस्ती भन्यो चारैतिर गीत गायो । जहिले पनि नकारात्मक कुरा मात्रै । आफूचाहिँ कत्ति न बुहारी नै नभईकन एकैचोटि सासू भएर जन्मे जस्तो । यता फर्क्यो यस्तो ढङ्ग छैन भन्यो उता फर्क्यो उस्तो ढङ्ग छैन भन्यो । सासू ससुरालाई अलिक मर्यादा गरेर बोल्न पनि जान्या छैन भन्यो फतफतायो । कतिखेर त के बोलेको पनि थाहा हुन्न । मेरो अनुहार हेरेको छ, गुनगुन गरेर फतफताएको छ, छ । के भनेको, भनेको ?
खाएका कुरामा पनि कुरा काटेकै छ, लाएका कुरामा पनि कुरा काटेकै छ । कामका कुरामा पनि कुरा काटेकै छ, पकाइतुल्याइका कुरामा पनि कुरा काटेकै छ । कहिले नुन चर्को भन्या छ, कहिले पिरो बढी भो भन्या छ । कहिले काँचो मसला गनायो भन्या छ, कहिले बेसार बढी भो भन्या छ । कहिले बढी पाक्यो भन्या छ, कहिले काँचै र’छ भन्या छ । कहिले चिल्लो बढी भो भन्या छ, कहिले कम । कहिले झोल बढी भो भन्या छ, कहिले बढी फ्राइ । कहिले यता फोहोर भो भन्या छ, कहिले उता फोहोर भो भन्या छ । कहिले पूजाआजाका भाँडा सफा भएनन् भन्या छ, कहिले लुगाफाटा । गनगनको पाटो कतिकति ? पानी परे पनि गनगन, घाम लागे पनि गनगन । बादल लागे पनि गनगन, कुहिरो लागे पनि गनगन । साँझ बिहान जतिखेर पनि गनगन । हामीले त केही बुझेकै छैन जस्तो यता फर्के पनि गनगन, उता फर्के पनि गनगन । यो ऊ भन्नु छैन, जसका अगाडि पनि गनगन । काममा एउटा माखो मार्ने होइन, कुराले चार डाँडा हल्लायो, बस्यो ।
आफ्नै सासूका कुरा अरूसँग के गर्नु भन्यो तर नसकिने । रक्तचाप बढेको बढ्यै । अनि मनका कुरा यसरी नबिसाईकन त जिउ नै हलुङ्गो नहुने । हुन पनि हिँडेका कुरामा पनि कुरा काटेकै छ, बोलेका कुरामा पनि कुरा काटेकै छ । टिभी हेरे पनि कुरा काटेकै छ, रेडियो सुने पनि कुरा काटेकै छ । आएको फोन उठाए पनि कुरा काटेकै छ, कतै फोन गरे पनि कुरा काटेकै छ । केमा कुरा काट्ने, केमा कुरा नकाट्ने भन्ने छैन । नातिनातिनाका कुरामा पनि कुरा काटेकै छ, सम्धी सम्धीनीका कुरामा पनि कुरा काटेकै छ । आफ्नै छोरो राम्रो, आफ्नै छोरी राम्री । आफैँले गरेको राम्रो, अरूले गरेको सबै भताभुङ्ग । उहिले आफूले गरेको सबै राम्रो, अहिले अरूले गरेको त्यही कुरो सबै नराम्रो । कस्तो हुँदो रहेछ यो सासू भन्ने जात ! कहिलेकाहीँ त अनौठै लाग्छ मलाई । डाँडाको घाम जस्तो भइसकेकी बुढी मान्छेसँग के मुखमुखै लाग्नु भन्यो, साध्यै नहुने । जति चुप लाग्यो उति हेप्ने । जति सह्यो उति सन्किने । तैपनि बुढाबुढी यस्तै हुन् भन्यो सह्यो, बस्यो । भोलि आफ्नो पनि त्यस्तै गति हुने होला भन्यो चुप लाग्यो । तर एक दिन होइन, दुई दिन होइन । दिक्कै लागिसक्यो मलाई त ।
हाम्रो जस्तो अल्पविकसित, अल्पशिक्षित, सामान्य आर्थिक अवस्था र संयुक्त पारिवारिक संरचना भएको समाजमा बाक्लै सुनिने यस्ता कुरा सुन्दासुन्दा अब त सामान्य जस्तै लाग्नु स्वाभाविक भइसक्यो । खाली दिमाग सैतानका घर भन्ने सुनिन्थ्यो पहिलापहिला । तर अहिले मान्छे जति कामविहीन हुन्छ, त्यति कुराको थुप्रो हुन्छ भन्दा फरक नपर्ने भइसक्यो । समाजभित्रका हर कुनाका यस्ता कुरा सुन्दा लाग्छ– कतिपय कुरा पिढीगत भिन्नताले ल्याउँदो रहेछ, कतिपय कुरा पुरानो संस्कार र आनीबानीले । कतिपय कुरा जिद्दीपनले ल्याउँदो रहेछ, कतिपय कुरा डाढ र आप्mनै अहङ्कारले । कतिपय कुरा वंशीय परम्परा हुँदो रहेछ, कतिपय कुरा नयाँ उपज । कतिपय कुरा एक अर्काप्रतिको विश्वास, अविश्वास र सांसारिक मोहका कारण पनि हुँदो रहेछ ।
हुन पनि माथि भने जस्तै यो घरमा जाऊ केही न केही गुनासो छ, ऊ घरमा जाऊ केही न केही गुनासै छ । यो टोलमा जाऊ त्यस्तै छ, ऊ टोलमा जाऊ त्यस्तै छ । प्रत्येक घरपरिवार, प्रत्येक टोल, प्रत्येक गाउँबस्ती सबैतिर यो रोगले छोएकै छ । जहाँजहाँ मानिसको बस्ती छ, त्यहाँत्यहाँ यस्ता गुनासाका भकारी नै भकारी भेटिन्छन् । गुनासोको स्वरूप र प्रकृति फरक होला । मात्रा फरक होला । व्यक्त्याइको तौरतरिका फरक होला । गुनासोको भाषिक रूप भनूँ वा बोलीचालीको ढङ्ग फरक होला । गुनासो व्यक्त गर्ने ठाउँ र परिवेश फरक होला । तर सबैतिर यी र यस्तै प्रकृतिका गुनासो सुनिन्छन् । कतै बाबुको गुनासो, कतै छोराको गुनासो । कतै सासूको गुनासो, कतै बुहारीको गुनासो । कतै आमाजूको गुनासो, कतै नन्दको गुनासो । कतै भाइको गुनासो, कतै दाइको गुनासो । कतै बहिनीको गुनासो कतै दिदीको गुनासो । हुँदाहुँदा कतै फुपूको गुनासो, कतै फुपाजुको पनि गुनासो । सम्झेर ल्याउँदा अचम्म छैन त कुरो !
यहाँ लिपिबद्ध भइरहेका यी अक्षर कुनै काल्पनिक गनथन होइनन् । यी त अधिकांश सामाजिक परिवेशभित्रका तीता यथार्थ हुन् । जस्ताको तस्तै हुबहु उतारिएका चित्र हुन् । अरू त कुरा छाडौँ कतिपय ठाउँमा बाबुआमाका सामाजिक सुरक्षा भत्ता तिनैलाई छुन नदिने छोरा बुहारी छन्, सगोलका छोरी छन् । कतिपय ठाउँमा छोरा/बुहारीले कमाएर ल्याएको श्रीसम्पत्ति कुनै न कुनै उपायले उडाइदिने बाबुआमा पनि छन् । सत्य कुरा बोल्नुपर्छ । कसैप्रति पूर्वाग्रह राखेर बोलिनु पक्षपातको पोषण गरिनु हो । विनापक्षपात देखेका कुरा बोल्नु, ओकल्नु यथार्थ हो । त्यो यथास्थितिको यथार्थ सामाजिक चित्र हो ।
कुनै पनि व्यक्ति र समग्र समाजलाई सुधारिएर अघि बढ्न यस्ता अभिव्यक्तिको खरो आवश्यकता पर्छ, जो सत्यतथ्यमा आधारित छन् । जसले सतही रूपमा समाजभित्र विचरण र त्यसको चित्रण गर्छ उसलाई यस्ता मसिना कुराको याद हुन्न । हेक्का हुन्न । हेक्का भए पनि यस्ता कुरा त्यस्ता व्यक्तिका मनमा घुस्दैन । सतहमै दौडिन्छ । उसका दिमागले यस्ता मसिना कुरालाई टिप्नै सक्तैन । जसले समाजप्रति संवेदनशील भएर चासो दिइरहेका हुन्छन्, अध्ययन गरिरहेका हुन्छन् त्यस्ताका दिमागमा यस्ता झिनामसिना सबै कुरा अटाएका हुन्छन् । विनाअक्षर पनि लिपिबद्ध भएका हुन्छन् । यो यसको सकारात्मक पक्ष हो । किनकि, समस्या कहाँ छ त्यो पहिचान नगरी त्यसको उपचार असम्भव छ । त्यसैले यस्ता समस्याको विनाहिच्किचाहट उजागर गर्नु जो कसैको पहिलो कर्तव्य हुन्छ । कुनै पनि पक्षको मुखमा राम राम बगलीमा छुरा प्रवृत्ति बास होउन्जेल सुधारको मार्ग प्रशस्त हुन सक्तैन ।
मेलमिलापविना न व्यक्ति अघि बढ्न सक्छ, न परिवार । न समाज अघि बढ्न सक्छ, न समग्र सामाजिक परिवेश । न राष्ट्र अघि बढ्न सक्छ, न अन्तर्राष्ट्र । किनकि, मेलमिलाप प्रगतिका लागि पहिलो कदम हो । अपरिहार्य सर्त हो । छुटाउनै नहुने सूत्र र मन्त्र दुवै हो । अलिकति उसले सहने, अलिकति उसले सहने गर्दा आपसी समझदारीमा अभिवृद्धि हुन्छ । ‘मेरा गोरुको बाह्रै टक्का’ ले आपसी समझदारी भाँडिन सक्छ । आपसी प्रगतिका मार्गमा अवरोध आउन सक्छ । बुढाबुढी प्रत्येक घर परिवारमा छन् । युवा प्रत्येक घर परिवारमा छन् । केटाकेटी प्रत्येक घर परिवारमा छन् । एउटा एकातिर, अर्को अर्कातिर फर्किन र झर्किन थाले भने परिवारका लागि त्योभन्दा बढी दुर्भाग्य अरू केही हुँदैन ।
यस्ता दुर्भाग्यै दुर्भाग्यको थुप्रो लाग्न थाल्यो भने समाजको गति के होला ? राष्ट्रको गति के होला ? त्यस्ता कुरामा सरोकारवाला सबैले बेलैमा ध्यान दिनु जरुरी हुन्छ । समयमै सचेत हुनु आवश्यक हुन्छ । यो कोरा उपदेश मात्र होइन, सबैका लागि आवश्यकताको विषय हो । बुढ्यौलीको यो सन्दर्भ कतिलाई प्रिय लाग्छ, कतिलाई अप्रिय पनि लाग्न सक्छ । बुढ्यौलीको सन्दर्भ बनाएर उठाइएका यी यावत् बहस बहसका लागि बहस नभएर पारिवारिक मेलमिलाप र आपसी समझदारीको विकासका लागि सुझाव गरिएका सामान्य उपचारका विधि हुन् । यस किसिमका विधिको अवलम्बनपछि व्यक्तिको अनुहार हँसिलो हुन्छ । परिवारको अनुहार हँसिलो हुन्छ । र, अन्त्यमा समग्र राष्ट्रकै अनुहार हँसिलो हुन्छ । यसमा कुनै सन्देह छैन ।
०००
२०८३/३/३२
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































