साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भजन मण्डलीको पुनर्गठन

लौ आउनुहोस् , यो भजन मण्डलीलाई साथ दिनुहोस् र भजनकीर्तनमा मस्त हुनुहोस् ! आउनुहोस् स्वरमा स्वर मिलाएर गाउनुहोस् – ‘राधे श्याम राधे श्याम, श्याम श्याम राधे राधे !!

Nepal Telecom ad

काशीनाथ मिश्रित :

यो सत्य समाचार होइन । नत झुटो कथा नै हो । लम्फुदासको लफङ्गो लेखन माने पनि मान्नोस्, नास्तिकबाट आस्तिक बन्न थालेछ भन्ने ठान्नुहुन्छ भने पनि ठान्नुहोस् । तर आजकल मजस्तो लम्फुदास पनि भजन मण्डलीमा लागेर भजन गाउने कार्य गर्न थालेको कुरा चाहिँ सोह्रै आना साँचो हो ।

‘जपौँ हरिलाई जपौँ हरिलाई यो जिन्दगीभरिलाई जपौँ हरिलाई !….. ’यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको !’ यस्ता कीर्तन गाउनमा आजकल निकै आनन्द आउने गर्छ । वास्तवमा कली जुगमा भजन कीर्तन नै मुक्तिको एक मात्र बाटो हो भनेर हाम्रा दाह्रीवाल व्यास बाजेले उहिले नै लेखिदिएका थिए । अहिले जपतप गरेर, पूजाआजा गरेर र तीर्थब्रत गरेर कोही पार तर्दैन । केबल आफूले मानेका परमेश्वरको भजन गरे सबै दुःख चट हुन्छ । त्यसैले आउनुहोस्, तपाईँले मान्दै आएका प्रभुको कीर्तन गाउनुहोस् ।

तपाईँले ककसलाई ईश्वर मान्नुभएको छ भन्ने पनि आफै जान्नुहोस् । एउटै भगवान मान्नुहुन्छ कि मुस्लिम वा क्रिस्चियनले जस्तो! अथवा हिन्दुले जस्तो ३३ कोटीलाई मान्नुहुन्छ कि? त्यो तपाईँकै छनोट । मैले त कथामा वर्णन गरिएका अदृश्य ईश्वरभन्दा देखिएकै ईश्वरलाई मान्न थालेको छु । तिनकै भजन गाउन थालेको छु । अमूर्त ईश्वरले के वर देलान् र खै! भगवानका नयाँ अवतारहरूको भजन गरे बरु केही मिल्ला भन्ने आशा गरौँ न । कि होइन र?।

पहिले पहिले बुढा बाजेहरूसित भजन गाउन हिँडियो । रामको राग अलाप्दा पनि केही हात लागेन । कृष्णका चर्तिकलाको चर्चा गर्दा पनि केही झरेन । राधाकृष्णका रसिला र रङ्गिला भजन गाउँदा पनि गाउन्जेल त मनोरञ्जन भयो तर त्यसपछि जिन्दगीको दुर्दशा उस्तै । त्यसैले आजकल पुरानो भजन मण्डलीमा जान छोडिदिएको छु । एक ताकाका भगवानहरू आफै त महादेव उत्तानो पर कसले दिने वर भन्ने अवस्थामा पुगेर उत्तानजरा लाएपछि उनकै कीर्तन गाएर स्वर्गको बाटो भेटिँदैन भन्ने ठान्यो क्या लम्फुदासले । समयमै भजन मण्डलीको पुनर्गठन गरेर औतारी पुरुषको गानबजान गरिएन भने खैरियत नहोला जस्तो भएर भजन मण्डलीलाई पुनर्गठन गरेको हुँ । आउनुहोस्, तपाईँहरू पनि हाम्रा नयाँ ईश्वरको भजन गाउन यही मण्डलीमा मिसिनुहोस् ।

हामी मान्छेहरू कहाँ ईश्वरको कृपाविना बाँच्न सक्छौँ र? ईश्वर नमान्ने जैरे नास्तिकहरूको कुरो बेग्लै हो । म जस्ता हरिलठ्ठक लम्फुदासहरूको त ईश्वरप्रति गहिरो आस्था छ । नित्सेले ईश्वरको मृत्यु भयो भनेर हुन्छ र? ईश्वरले त झन् नयाँ नयाँ रूप लिएर प्रकट हुनुभएको छ । त्यसैले आउनुहोस् यो भानुभक्तकालीन भक्तिधारालाई टुट्न नदिनुहोस् । अब पनि देशमा रावणहरूको राज्य चलेर कहाँ हुन्छ र? अब त राम राज्य हुनुपर्छ । कंसको रजाइँ सकिएर अब भगवान कृष्णले पुनर्जन्म लिनुभएको छ। कृष्णभक्तिमा लीन हुनुहोस् । उहाँमा सुदामाप्रति असाध्यै करुणा छ । सधै गरीवीले पिल्सिएर झुप्रोमा कति बस्नुहुन्छ? भव्य महलमा सुखका साथ अयस गर्नुहोस् । त्यसैले आउनुहोस् कीर्तन गाउन थाल्नुहोस् – हरे राम हरे राम, राम राम हरे हरे! हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे !!

तपाईँ हामी खाँटी नेपाली हौँ। नेपालीहरू ईश्वरभक्त छन् भन्ने सबैलाई थाहा छँदै छ । छैन भने पनि हुनुपर्छ अबदेखि । भगवानको कीर्तन गाउनु र राक्षसको उछितो काढ्नु हामी नेपाली मात्रको सच्चा चरित्र हो । हामीले रामायण, महाभारत पढेसुनेका छौँ । श्वस्थानी ब्रतकथा पढेका छौँ । श्वस्थानी माताको व्रत पनि बसेका छौँ । ती शास्त्रहरूले हामीलाई आस्तिक बन्न सिकाएका छन् । शङ्करको शक्ति हावी हुँदा जय भोले! जय शम्भो!! भन्दै उनकै पछि लाग्नु र विष्णु शक्तिमा आउँदा नारायण! नारायण!! भन्दै उनकै पछि लाग्नु हाम्रो कर्तव्य पनि त हो । भगवानको भक्ति श्रद्धापूर्वक गर्ने हो भने यज्ञमा बली दिएको बोकाको टाउको जोडेर पनि प्रभुले बचाउनुहुन्छ क्या चिन्ता नगरी तन्मयताका साथ भजन गाउनुहोस् । आउनुहोस्, हाम्रो भजन मण्डलीमा समावेश हुनुहोस् । त्यसरी नरुनुहोस् ।

गुमनाम भएको भजन कीर्तन संस्कृति आजकल आएर व्युँतिएको देख्दा प्रभु बरु के प्रसन्न हुनुभएको होला र म जत्तिको । मलाई चौपट्टै खुशी लागेको छ यस्ता नयाँ नयाँ भजन मण्डलीहरू देख्दा । मेरा परम मित्र तल्लारे माहिलाले पनि साँझमा दुई घन्टा जति भजन गाउन थालेको छु भन्दै थिए फोन गरेका बेला । होइन भन्या! प्रसाद पञ्चामृत पनि खाँदा हुन् कि त्यत्तिकै गाउँदा हुन् तिनीहरूले! सोध्न पनि भुसुक्कै बिर्सेँछु । एउटा कुन चाहिँ उट्पट्याङले भन्दै थियो, ‘प्रभुको आचीलाई प्रसाद मानेर खाइन्छ आफूले त! गाईको मात्र गहुँत खानुपर्छ भन्ने के जरुरी छ र प्रभुकै पञ्चगव्य खान सके कति पवित्र होइन्छ!! तिमी लम्फुदासलाई के थाहा ?’

सत्य, त्रेता र द्वापर युगको कुरा बेग्लै थियो । यो कली युग हो । यो कलीमा प्रभुको कीर्तन नै मुक्तिको बाटो भएकाले मैले पनि पुरानो भजन मण्डलीलाई विघटन गरी नयाँ भजन मण्डली पुनर्गठन गरेको छु । पुराना मण्डलीका कतिपय बुढाहरूले त प्रभुको आरती पनि राम्ररी सम्झन छोडिसकेछन् । बुढेसकाल लागेर स्वर पनि भित्रभित्रै पसाल्छन् गाउँदा । खुलेर गाउन पनि नसक्ने त्यस्ता बाजेहरूको मण्डलीमा अब के बसिरहनु जस्तो लागेर पुनर्गठन गरेको छु । लौ आउनुहोस् , यो भजन मण्डलीलाई साथ दिनुहोस् र भजनकीर्तनमा मस्त हुनुहोस् ! आउनुहोस् स्वरमा स्वर मिलाएर गाउनुहोस् – ‘राधे श्याम राधे श्याम, श्याम श्याम राधे राधे !!

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x