काशीनाथ मिश्रितभजन मण्डलीको पुनर्गठन
लौ आउनुहोस् , यो भजन मण्डलीलाई साथ दिनुहोस् र भजनकीर्तनमा मस्त हुनुहोस् ! आउनुहोस् स्वरमा स्वर मिलाएर गाउनुहोस् – ‘राधे श्याम राधे श्याम, श्याम श्याम राधे राधे !!

काशीनाथ मिश्रित :
यो सत्य समाचार होइन । नत झुटो कथा नै हो । लम्फुदासको लफङ्गो लेखन माने पनि मान्नोस्, नास्तिकबाट आस्तिक बन्न थालेछ भन्ने ठान्नुहुन्छ भने पनि ठान्नुहोस् । तर आजकल मजस्तो लम्फुदास पनि भजन मण्डलीमा लागेर भजन गाउने कार्य गर्न थालेको कुरा चाहिँ सोह्रै आना साँचो हो ।
‘जपौँ हरिलाई जपौँ हरिलाई यो जिन्दगीभरिलाई जपौँ हरिलाई !….. ’यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको !’ यस्ता कीर्तन गाउनमा आजकल निकै आनन्द आउने गर्छ । वास्तवमा कली जुगमा भजन कीर्तन नै मुक्तिको एक मात्र बाटो हो भनेर हाम्रा दाह्रीवाल व्यास बाजेले उहिले नै लेखिदिएका थिए । अहिले जपतप गरेर, पूजाआजा गरेर र तीर्थब्रत गरेर कोही पार तर्दैन । केबल आफूले मानेका परमेश्वरको भजन गरे सबै दुःख चट हुन्छ । त्यसैले आउनुहोस्, तपाईँले मान्दै आएका प्रभुको कीर्तन गाउनुहोस् ।
तपाईँले ककसलाई ईश्वर मान्नुभएको छ भन्ने पनि आफै जान्नुहोस् । एउटै भगवान मान्नुहुन्छ कि मुस्लिम वा क्रिस्चियनले जस्तो! अथवा हिन्दुले जस्तो ३३ कोटीलाई मान्नुहुन्छ कि? त्यो तपाईँकै छनोट । मैले त कथामा वर्णन गरिएका अदृश्य ईश्वरभन्दा देखिएकै ईश्वरलाई मान्न थालेको छु । तिनकै भजन गाउन थालेको छु । अमूर्त ईश्वरले के वर देलान् र खै! भगवानका नयाँ अवतारहरूको भजन गरे बरु केही मिल्ला भन्ने आशा गरौँ न । कि होइन र?।
पहिले पहिले बुढा बाजेहरूसित भजन गाउन हिँडियो । रामको राग अलाप्दा पनि केही हात लागेन । कृष्णका चर्तिकलाको चर्चा गर्दा पनि केही झरेन । राधाकृष्णका रसिला र रङ्गिला भजन गाउँदा पनि गाउन्जेल त मनोरञ्जन भयो तर त्यसपछि जिन्दगीको दुर्दशा उस्तै । त्यसैले आजकल पुरानो भजन मण्डलीमा जान छोडिदिएको छु । एक ताकाका भगवानहरू आफै त महादेव उत्तानो पर कसले दिने वर भन्ने अवस्थामा पुगेर उत्तानजरा लाएपछि उनकै कीर्तन गाएर स्वर्गको बाटो भेटिँदैन भन्ने ठान्यो क्या लम्फुदासले । समयमै भजन मण्डलीको पुनर्गठन गरेर औतारी पुरुषको गानबजान गरिएन भने खैरियत नहोला जस्तो भएर भजन मण्डलीलाई पुनर्गठन गरेको हुँ । आउनुहोस्, तपाईँहरू पनि हाम्रा नयाँ ईश्वरको भजन गाउन यही मण्डलीमा मिसिनुहोस् ।
हामी मान्छेहरू कहाँ ईश्वरको कृपाविना बाँच्न सक्छौँ र? ईश्वर नमान्ने जैरे नास्तिकहरूको कुरो बेग्लै हो । म जस्ता हरिलठ्ठक लम्फुदासहरूको त ईश्वरप्रति गहिरो आस्था छ । नित्सेले ईश्वरको मृत्यु भयो भनेर हुन्छ र? ईश्वरले त झन् नयाँ नयाँ रूप लिएर प्रकट हुनुभएको छ । त्यसैले आउनुहोस् यो भानुभक्तकालीन भक्तिधारालाई टुट्न नदिनुहोस् । अब पनि देशमा रावणहरूको राज्य चलेर कहाँ हुन्छ र? अब त राम राज्य हुनुपर्छ । कंसको रजाइँ सकिएर अब भगवान कृष्णले पुनर्जन्म लिनुभएको छ। कृष्णभक्तिमा लीन हुनुहोस् । उहाँमा सुदामाप्रति असाध्यै करुणा छ । सधै गरीवीले पिल्सिएर झुप्रोमा कति बस्नुहुन्छ? भव्य महलमा सुखका साथ अयस गर्नुहोस् । त्यसैले आउनुहोस् कीर्तन गाउन थाल्नुहोस् – हरे राम हरे राम, राम राम हरे हरे! हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे !!
तपाईँ हामी खाँटी नेपाली हौँ। नेपालीहरू ईश्वरभक्त छन् भन्ने सबैलाई थाहा छँदै छ । छैन भने पनि हुनुपर्छ अबदेखि । भगवानको कीर्तन गाउनु र राक्षसको उछितो काढ्नु हामी नेपाली मात्रको सच्चा चरित्र हो । हामीले रामायण, महाभारत पढेसुनेका छौँ । श्वस्थानी ब्रतकथा पढेका छौँ । श्वस्थानी माताको व्रत पनि बसेका छौँ । ती शास्त्रहरूले हामीलाई आस्तिक बन्न सिकाएका छन् । शङ्करको शक्ति हावी हुँदा जय भोले! जय शम्भो!! भन्दै उनकै पछि लाग्नु र विष्णु शक्तिमा आउँदा नारायण! नारायण!! भन्दै उनकै पछि लाग्नु हाम्रो कर्तव्य पनि त हो । भगवानको भक्ति श्रद्धापूर्वक गर्ने हो भने यज्ञमा बली दिएको बोकाको टाउको जोडेर पनि प्रभुले बचाउनुहुन्छ क्या चिन्ता नगरी तन्मयताका साथ भजन गाउनुहोस् । आउनुहोस्, हाम्रो भजन मण्डलीमा समावेश हुनुहोस् । त्यसरी नरुनुहोस् ।
गुमनाम भएको भजन कीर्तन संस्कृति आजकल आएर व्युँतिएको देख्दा प्रभु बरु के प्रसन्न हुनुभएको होला र म जत्तिको । मलाई चौपट्टै खुशी लागेको छ यस्ता नयाँ नयाँ भजन मण्डलीहरू देख्दा । मेरा परम मित्र तल्लारे माहिलाले पनि साँझमा दुई घन्टा जति भजन गाउन थालेको छु भन्दै थिए फोन गरेका बेला । होइन भन्या! प्रसाद पञ्चामृत पनि खाँदा हुन् कि त्यत्तिकै गाउँदा हुन् तिनीहरूले! सोध्न पनि भुसुक्कै बिर्सेँछु । एउटा कुन चाहिँ उट्पट्याङले भन्दै थियो, ‘प्रभुको आचीलाई प्रसाद मानेर खाइन्छ आफूले त! गाईको मात्र गहुँत खानुपर्छ भन्ने के जरुरी छ र प्रभुकै पञ्चगव्य खान सके कति पवित्र होइन्छ!! तिमी लम्फुदासलाई के थाहा ?’
सत्य, त्रेता र द्वापर युगको कुरा बेग्लै थियो । यो कली युग हो । यो कलीमा प्रभुको कीर्तन नै मुक्तिको बाटो भएकाले मैले पनि पुरानो भजन मण्डलीलाई विघटन गरी नयाँ भजन मण्डली पुनर्गठन गरेको छु । पुराना मण्डलीका कतिपय बुढाहरूले त प्रभुको आरती पनि राम्ररी सम्झन छोडिसकेछन् । बुढेसकाल लागेर स्वर पनि भित्रभित्रै पसाल्छन् गाउँदा । खुलेर गाउन पनि नसक्ने त्यस्ता बाजेहरूको मण्डलीमा अब के बसिरहनु जस्तो लागेर पुनर्गठन गरेको छु । लौ आउनुहोस् , यो भजन मण्डलीलाई साथ दिनुहोस् र भजनकीर्तनमा मस्त हुनुहोस् ! आउनुहोस् स्वरमा स्वर मिलाएर गाउनुहोस् – ‘राधे श्याम राधे श्याम, श्याम श्याम राधे राधे !!
०००
गुल्मी
Subscribe
Login
0 Comments
Oldest







































