पुन्य कार्कीकौडी जिन्दगी
रेसको घोडाजस्तो एकोहोरो कुदिरहेछ जिन्दगी समयले चाबुक ठोकिरहेछ जिलकाँटी कसले कस्यो ? त्योपनि थाहा छैन लगाम कसको हातमा छ ? त्योपनि थाहा छैन केवल दौडिनुको लागि दौडिनुको नियतिमा दौडिरहेछ जिन्दगी ।

पुण्य कार्की :
अहो ! कति हतारमा बगिरहेछ जिन्दगी
मानौँ प्रशान्त महासागरको छाल छुन
वेलगाम दगुरेको मेरो सप्तकोशीको पानीजस्तो
क्षणक्षणमा छल्किरहेछ जिन्दगी
पलपलमा बल्किरहेछ जिन्दगी
केही पाउनुको हतारोमा
केही लाउनुको चटारोमा
आफैँ समयको झटारो बनी
यताबाट उता फ्याकिँदो छ जिन्दगी
उताबाट यता हुर्रिँदो छ जिन्दगी
न विश्रामको सानो अवकाश छ
न आश्रमको सानो आनन्द छ
कुन खालको ताउतीमा तड्पिरहेछ जिन्दगी
कुन खालको साउतीमा कानेखुशी बोलिरहेछ जिन्दगी
दौडिनुको कुनै सुधबुध छैन
विना पानीको दहमा पौडिनुको कुनै अनुभूति छैन
रेसको घोडाजस्तो एकोहोरो कुदिरहेछ जिन्दगी
समयले चाबुक ठोकिरहेछ
जिलकाँटी कसले कस्यो ? त्योपनि थाहा छैन
लगाम कसको हातमा छ ? त्योपनि थाहा छैन
केवल दौडिनुको लागि दौडिनुको नियतिमा
दौडिरहेछ जिन्दगी
आखिरमा कसैको भाग्य बल्झाइदिने
अनि कसैको चाहिँ भाग्य अल्झाइदिने
जुवाको कौडी रहेछ जिन्दगी !
जुवाको कौडी रहेछ जिन्दगी !
०००
Subscribe
Login
0 Comments
Oldest






































