साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कान्छाबाका तीन दारी

अब यहाँ (१) समझदारी (२) इमानदारी र (३) बफादारीको खाँचो भएको छ बाबु । जबसम्म देशमा समझदारी, इमानदारी र बफादारी हुँदैन, देशमा अझ डरलाग्दा हत्या, आतङ्क हुन्छन्, भइरहन्छन् ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

कान्छाबा अर्थात्, कुन्छाली काका, जसको नाम लिनासाथ मुसुक्क हास्छन् मान्छेहरू । बूढा वैँसा त खतर्नाकै थिए रे । उनका बेलाका मायालु मैयाहरू कताकति छन रे अझै तर कतिका दाँत एउटै छैनन् कति आँखै देख्दैनन् रे । यस्ता भए पनि कम्न्छाबासँग भेट भयो भने नी मैयाहरू वैँसा स्वाद सम्झेर मुख मिठ्याउने गर्छन् रे, कान्छाबा नै भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ- “बाबु । करापु बजारमा गएर झोला ओच्छ्याई अरुभन्दा अलिकति अग्लो भई खैँजडी ठोकेर भजन रन्काउँदा तरुनीहरू त तँछाडमछाड गरी आउँथे । कतिले गाला सुम्सुम्याए कतिले गाला जोडेर साउती मार, हिसाबकिताबै छैन ।” बूढाको यस्तो कुरा सुनेपछि म सोध्थेँ- “अनि त कान्छी आमाहरू धेरै नै होलान्, हैन कान्छाबा ?” बूढा जोसिँदै भन्नुहुन्थ्यो- “भो बाबु, यस्ता कुरा नसोध्नोस् ।” तिनै कान्छाबा अहिले गाउँमा बस्न नसकेर यहाँ आउनुभएको रहेछ । हिजो भेट भयो । बूढालाई देख्नासाथ पहिले त मलाई पनि हाँसो उठ्यो । बूढाको मुखबाट गाउँघरका खबर सुनेपछि भने विरक्त लागेर आयो ।

कान्छाबा भन्नुहुन्छ- “गाउँघराँ त बाबु अब बस्नै नसकिने भयो । त्यहाँ कुनै थिति नै रहेन । दिउँसो एकथरीको शासन हुन्छ राति अर्कैथरीको । दुवैथरीको शासन भए हुन्थ्यो तर कुशासन हुन्छ । त्यसकारण सबैभन्दा बढी डर छ मान्छेकै । कोही मान्छे नौलो देखियो भने नलुकी हुँदैन, लुक्नैपर्दछ । घरमा लुकेर हुँदैन, काँक्राको झ्याङभित्र वा कर्कलोबारीभित्र लुक्नुपर्दछ । एक-दुईपटक त म बगैँचाको रूखाँ टुप्पोमा गएर बसेको हुनाले बाँचेको हुँ । नत्र बन्दुकेले भेटेर सिध्याई नै दिन्थ्यो ।” कान्छाबाले यस्ता दर्दनाक कुरा भन्दा मैले उहाँको अनुहार हेरेको थिएँ । बूढाका आँखामा टिलपिल टिलपिल आँसु छचल्किएका देखेको हुँ । बडो दयनीय अनुहार थियो बूढाको ।

कान्छा बा मेरो घरमा आउनुभयो । पहिले त रमाइलो लागेको हो । पछि गाउँघरतिरका खबर सुनेपछि डर लाग्ने, पीर लाग्ने र रिस उठ्ने समेत भएको हो । त्यसैले भूमिका नबाँधिकन मैले कान्छाबासँग प्रश्न राखे । “अब यस्तो भएपछि देश कसले बचाउला त कान्छाबा ?” उहाँ त हाजिरजवाफ मुखमै भएको मान्छे, सजिलै भन्नुभयो – “यहाँ अब तीन दारीको जरुरी भयो बाबु !”

कुरा गम्भीरै हो तापनि मलाई भने जस्तालाई तस्तै जस्तो भएछ । मुखवाट फुत्त निस्क्यो – “लाखु दारी बोके दारी कि मगर दारी कान्छाबा ।” कान्छाबाले भन्नुभयो – “त्यस्तो दारी होइन बाबु । अरू नै दारीको खाँचो छ ।”

मैले मनमनै गुने सायद उहाँले एउटा महामन्त्री जो दारी पाल्ने गर्नुहुन्छ उहाँलाई सम्झनु भएको होला । दोस्रो हुनसक्छ सञ्चारमन्त्रीज्यू र तेस्रो हुनुपर्छ पूर्वअर्थमन्त्री किनभने यी तीनैजना दारी पाल्ने नेता हुन् । फेरि तीनैजनाका दारीको रूप फरक फरक छ । त्यसैले कान्छाबाले तिनै दारीलाई अघि सार्न खोज्नुभएको हो । मैले प्रकट पनि गरे यो कुरा तर कान्छोबाले मेरा कुरालाई स्वीकार्नु भएन । उहाँले भन्नुभयो- अब देशलाई त्यस्ता दारीले केही गर्न सक्दैन बाबु । देशको पुनर्निर्माण गर्न र शान्ति बनाई राख्न अर्कै खालका तीन दारीको खाँचो छ ।”

म आफूलाई कुरा बुझ्ने बुझक्कडका रूपमा सम्झने गर्थे तर कान्छाबासँग कुरा गर्दा त कुराको चुरो भेट्नै मुस्किल भयो । तसर्थ मैले उहाँसँग विनम्र भएर भने- “कान्छाबा मैले हजुरको कुरो खुलस्तसँग बुझ्न सकिनँ । कृपया मलाई बुझाई दिनुहोस् ।” कान्छाबाले लामो सास फेरेर भन्नुभयो – “बाबुजस्ताले यसै गरी नबुझ्नाले देशको शासन सत्ता डगमगाएको हो । हिंसा, आतङ्क, अन्याय, अत्याचार, अनाचार बढेको हो । हाम्रा पवित्र हिमाल, पहाड, खेत, पाखा जताततै मान्छेका लास गनाएका छन् । नदीहरू नररक्त लिएर बहन बाध्य भएका छन् । यसरी कान्छाबाको धारा प्रवाह निक्कै गएपछि फेरि अलिकति भावुक भएर उहाँले भन्नुभयो “अब यहाँ (१) समझदारी (२) इमानदारी र (३) बफादारीको खाँचो भएको छ बाबु । जबसम्म देशमा समझदारी, इमानदारी र बफादारी हुँदैन, देशमा अझ डरलाग्दा हत्या, आतङ्क हुन्छन्, भइरहन्छन् ।”

कान्छाबाका यी तीन दारी देशमा कसरी बहाल गर्न-गराउन सकिन्छ, त्यतातर्फ चिन्तन मनन गर्दैछु ।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x