लक्ष्मण गाम्नागेआमाको चिठी
चेतना अन्त नभई अन्त नहुने मनको तरङ्ग भैँसी बराबरका अक्षरमा नअटाउने यो पत्र कतै कसैलाई नपठाउने मनको खाम रातरातभरि खोलिरहन्छु, पढिरहन्छु तिमीहरूले जवाफ पठाए पनि नपठाए पनि दिनरात म चिठी लेखिरहन्छु, लेखिरहन्छु ।

लक्ष्मण गाम्नागे :
प्यारा छोराहरू, बुहारीहरू
छोरीहरू, ज्वाइँहरू
नाति नातिना, पनाति पनातिनाहरू
मलाई यहाँ सन्चै छ
तिमीहरूलाई कस्तो छ ?
देशमा छौ, कोही परदेशमा छौ
तिमीहरू कस्तो परिवेशमा छौ
सम्झेर तिमीहरूलाई चिन्ता लागिरहन्छ
भोक र निन्द्रा भागिरहन्छ
त्यो पनि ठिकै पो लाग्छ-
भोक नलागे अनिकालबाट बचिन्छ
निन्द्रा नलागे चोरचकारबाट जोगिइन्छ
म त पहिलाभन्दा झन् दह्री भएकी छु
जति दाम्री पर्योे उति चाम्री भएकी छु
तिमीहरू ढुक्कले किर्ती कमाउँदै जानू
दुनियाँका अगाडि धाक जमाउँदै जानू
मेरो कुनै सुर्ता गर्नु पर्दैन
भन्छन् माया ओरालो झर्छ-
झरोस्, फिर्ता गर्नु पर्दैन ।
अहिलेसम्म खासै दुख् बिमार केही छैन
अलिअलि जिउ चिलाउँछ
कनाउँदा कनाउँदै नङले घाउ बनाउँछ
घाउ भएपछि कनाउन सकिँदैन
अनि दाह्रा किटेर खप्नुपर्छ
भगवानको नाम जप्नुपर्छ
तर पनि म कडै छु
लड्खडाउँदै भए पनि चुलो सल्काउन खडै छु
मेरो पिर गर्नु पर्दैन, भर्खर नब्बेमा टेक्दैछु
यी अहिले पनि अगेनामा सुन्निएका गोडा सेक्दैछु ।
कान एकोहोरो कराइरहन्छ, बेलाबेला होस हराइरहन्छ
बाका बेसुरा कुरा सुनेर मन डराइरहन्छ
तर पनि केही छैन नानी हो,
आँखा नदेखे पनि बा अलिअलि कान सुन्नुहुन्छ
कान नसुने पनि म अलिअलि आँखा देख्छु
बालाई मेरो भर छ, मलाई बाको भर छ
यति भए पछि हामीलाई के को डर छ ?
तिमीहरूले बेलाबेला सन्चो बिसन्चो बोले पुग्छ
मातातीर्थे-कुशे औंसीमा भिडियो खोले पुग्छ
भाडा पिटाएर यता आइरहनु पर्दैन
बृद्ध भत्ता आएकै छ,
हामीलाई खर्च पठाइरहनु पर्दैन ।
बरु बाको बिसन्चोले पो मलाई अलि सन्च हुँदैन
सम्झाउँछु, हाम्रो बिमार अब नमरी अन्त हुँदैन
पोहोरदेखि सुन्निन थालेका हातगोडा बस्न जानेका छैनन्
मुखमा बाँकी दुइटा दाँत अझै खस्न मानेका छैनन्
बूढो हड्डी हो दुख्नु नौलो कुरा होइन भन्छु
पानी निख्रिएको शरीर हो-
कटकट खानु अचम्म होइन भन्छु !
आफैं रुनुहुन्छ, मलाई नरोऊ भन्नुहुन्छ
बेलाबेला मलाई नै ‘तिमी को हौ’ भन्नुहुन्छ ?
त्यता कस्तो छ, यता यस्तै छ
विसन्चो भनौँं विसन्चो केही छैन
सन्चो भनौँ सन्चो केही छैन
थाहा पनि पाउँदिन अचेल म
मुटु दुखेको हो कि मन
छाला चाउरिएको कि सम्वन्ध
हाड मकाएको हो कि सम्झना
आँखा धमिलिएको हो कि माया
कान कराएको हो कि शंख ?
शंखले सम्झाइरहन्छ तथ्य, सकिँदै गएका मेरा दौँतरीहरू
म मर्दा आउन भ्याउलान् कि नभ्याउलान्-
मेरा बबुरा सन्ततिहरू ?
भ्यायौ भने आउनू, एक थुँगो फूल ल्याउनू
नभ्याए उतैबाट श्रद्धान्जली पठाउनू
लौ त,
चेतना अन्त नभई अन्त नहुने मनको तरङ्ग
भैँसी बराबरका अक्षरमा नअटाउने यो पत्र
कतै कसैलाई नपठाउने मनको खाम
रातरातभरि खोलिरहन्छु, पढिरहन्छु
तिमीहरूले जवाफ पठाए पनि नपठाए पनि
दिनरात म चिठी लेखिरहन्छु, लेखिरहन्छु ।
०००
कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest







































