साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा र नेता उस्तैउस्तै

बाबाहरू आफ्ना प्रवचनमा ‘राजनीति फोहोरी खेल हो’ भन्छन् र त्यही फोहोरको आडमा मस्ती गर्छन् । नेताहरू ‘धर्म भनेको अफिम हो’ भन्दै तिनै बाबाहरूले बाँडेको अफिममा लठ्ठ परेर उनीहरूका खुट्टा वरिपरि लुटपुटिन्छन् ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

हाम्रा प्राय: सबै राजनीतिक दलका धेरै नेताहरूको साँठगाँठ र उठबस महन्त, बाबा वा महाराजाहरूसँग भएको देखेर अनेक शंका र टीकाटिप्पणी हुन्छन् । कतिपय सञ्चार माध्यमहरूले त खेदै खनेको पनि देखिन्छ । यसो गर्नु हाम्रो अज्ञानता मात्र हो । नेता र बाबाहरूको चरित्र निर्माण एकै प्रकारले हुने भएकाले उनीहरूको बेहोरा पनि उस्तै भएको हो भनेर एक अनुसन्धानले नै बताइसकेको छ । उस्तै–उस्तै बेहोरा भएकाहरूमा घनिष्टता हुनु प्राकृतिक कुरा हो, यसमा आलोचनाको कुनै अर्थ छैन ।

अनुसन्धानले भनेको छ, समय–समयमा अलि चर्कोसँग धर्तीमा प्रकट हुने गरेका बाबाहरू उहिले स्कुल पढ्दा एउटै कक्षामा केही वर्षसम्म पढाइ दोहोर्‍याएर किताबी ज्ञानमा परिपक्व भई गाउँमा कसैलाई ठगेर, कसैलाई थला बसालेर, कसैलाई खाडलमा खसालेर वा कुनै महिलालाई चारित्रिक संकटमा फसाएर फरार भएका हुँदा रहेछन् । घर छाडेर उनीहरू मसानघाट वा धामतिर पसेर वर्षौं भूमिगत भएर ज्ञान प्राप्त गरी बाबाको रूपमा फर्किंदा रहेछन् । हाम्रा धेरै नेताहरू पनि त्यस्तै केके गरेरै आएको हामी सबैलाई थाहै छ ।

विगतमा सधैँ कानुन उल्लंघन गरेर राज्यविरुद्ध लडेका नेताहरू आज कानुन बनाएर हामीमाथि लागू गरिरहेका छन् । वर्तमानमै कानुन, मर्यादा, जमिन, जंगल आदि धेरै थोक मिचेर सिंहासनमा पुगेका बाबा–महाराजाहरू हामीलाई धर्म र नैतिकताको पाठ पढाइरहेका छन् । एकथरी अनेक यज्ञादि लगाएर यसो गरे स्वर्ग पुगिन्छ, उसो गरे नर्क पुगिन्छ भनेर हामीलाई तर्साएर दान झार्छन् । अर्काथरी पनि उसलाई जिताए नर्क पुगौला, मलाई जिताए स्वर्ग पुगौला भनेर हामीलाई लोभ्याउँछन्, तर्साउँछन्, झुक्याउँछन् र भोट झार्छन् ।

सुकोमल शरीर, स्वादिष्ट खानपान, सुविधासम्पन्न महल वा आश्रमको बास, आरामदायी गाडी, जहाज वा हेलिकप्टरको सवारी, बिरामी हुँदा वा भएजस्तो गर्नुपर्दा पाँचतारे अस्पतालको सुविधा, यस्ता सबै सुख दुवैथरीलाई प्राप्त छ ।

उनीहरूबाट हुने सानाठूला गल्ती वरिपरिका सहयोगी, कार्यकर्ता वा भक्तजनले छोपछाप पार्छन्, बाहिर आउन दिँदैनन् । कहिलेकाहीँ अलि ठूलै विस्फोट हुँदा ठूलै भ्वाङ पर्छ र छोप्न सकिँदैन । जस्तै, यता सभामुखको घटना, उता सिद्धबाबा र महाराजाको घटना । भ्वाङ ठूलो परेकाले सभामुखले आफ्नो भीभीआईपी पद, मान, सम्मान र राजसी सुविधा छाडेर बलात्कार अभियोगमा जेल जानुपर्‍यो । बाबा–महाराजाहरूले बलात्कार र ठगी अभियोगमा लाखौँ भक्तजन, सुविधासम्पन्न आश्रम, गाडी, हेलिकप्टर, सुरक्षा व्यवस्था सबै छाडेर निधारमा चन्दनको साटो कलंकको टीका लगाएर फरार हुनुपर्‍यो । आक्कलझुक्कल यसरी छरपस्टिएका घटनाको प्रभाव पनि दुवैतिर उस्तै हुन्छ, लामो समय रहँदैन । अभियोग प्रमाणित भएर जेलै परे पनि निस्कँदा सय किलोको माला लगाएर निस्कन्छन्, दुवैथरी । दुवैथरीलाई भगवान्ले शरम भन्ने तत्त्व खासै दिएका हुँदैनन् ।

अत: यिनीहरूबीचको साँठगाँठमाथि प्रश्न उठाउनु बेकार छ । साँठगाँठ भनेकै चरित्र र स्वाथ्र्य मिल्नेहरूबीच हुने हो । त्यसैले उनीहरू एकअर्कालाई सघाउँदै अघि बढिरहेका हुन् । बाबाहरू आफ्ना प्रवचनमा ‘राजनीति फोहोरी खेल हो’ भन्छन् र त्यही फोहोरको आडमा मस्ती गर्छन् । नेताहरू ‘धर्म भनेको अफिम हो’ भन्दै तिनै बाबाहरूले बाँडेको अफिममा लठ्ठ परेर उनीहरूका खुट्टा वरिपरि लुटपुटिन्छन् ।

त्यसैले त बनेको हो नि, ‘नेताको भर बाबा, बाबाको भर नेता’ भन्ने उखान ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x