लक्ष्मण गाम्नागेअगस्ती आराधना
खान पाइन्छ भने राष्ट्राध्यक्षको के कुरा वडाध्यक्षतिरै भए पनि फिरौँ फिरौँ लाग्दो रहेछ मगमग वासना चलिरहेको भान्साकोठा छाडेर सार्वजनिक शौचालयतिर छिरौँ छिरौँ लाग्दो रहेछ ।

लक्ष्मण गाम्नागे :
निदाएर आज दिउँसै सपनामा 
म नेता भएँछु,
फटाफट मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिकै
शपथ खाएँछु
सवारी, सेना, स्यालुट, सलामी
भक्तजनहरुको ताँती
रानीहरु छन् अगलबगल
राजकुमार जस्ता छोरा नाति
सिंहदरबार, बालुवाटार,
शीतल निवासको बास
सासै नफेरी हसुर्न थालेँछु
चौरासी व्यन्जनको रास ।
कस्तो अचम्म हुँदो रहेछ
सत्ताको दरबारमा पसेपछि
भस्मासुर नै भएँ जस्तो लाग्दोरहेछ
सिंहासनमा बसेपछि
जति पाए पनि पाए जस्तै नहुने
जति खाए पनि अघाए जस्तै नहुने
लुगामाथि लुगा थोपर्दा पनि
नाङ्गै छु जस्तो लाग्ने
जति छोप्न खोज्यो लाज
उति ह्वाङ्गै छु जस्तो लाग्ने ।
हत्तेरिका !
आफ्नै भुँडी भुँडी होइन
इलास्टिकको धोक्रो लाग्ने रहेछ
आफ्नै छाला छाला होइन
गैंडाको बोक्रो लाग्ने रहेछ
पद र शक्तिको मात लागेपछि
सय तोपको सलामीभन्दा
आफ्नै पुतलाको मलामी हेर्न
मन लाग्दो रहेछ
मान्छेबाट च्वाँचेमा चोला फेर्न
इच्छा जाग्दो रहेछ
मखमलको माला फ्याँकेर
पाउपोसको माला भिरौँ भिरौँ
लाग्दो रहेछ
खान पाइन्छ भने राष्ट्राध्यक्षको के कुरा
वडाध्यक्षतिरै भए पनि
फिरौँ फिरौँ लाग्दो रहेछ
मगमग वासना चलिरहेको
भान्साकोठा छाडेर
सार्वजनिक शौचालयतिर
छिरौँ छिरौँ लाग्दो रहेछ ।
यति ला….मो सपना देखेँछु कि
सपनाको पनि मध्यान्तर भएछ
मध्यान्तरमै दौडेर म
कविता सुनाउन आएको छु
कवितासँगै एउटा अठोट पनि ल्याएको छु
फेरि सुतेर म बाँकी सपना
पूरा गरेरै छाड्नेछु
आफूसँगै शहिदका सपनालाई पनि
ससम्मान सेफ्टी ट्याङ्कीमा
गाड्नेछु, गाड्नेछु ।
०००
कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest







































