लक्ष्मण गाम्नागेकमरेड सामन्त बिरूद्ध कमरेड सर्वहारा
अरू कसकसले गरिब मारेर थैलो भरेका छन्, सो कुरा सर्वहारा कमरेडहरुलाई थाहै छ । वर्तमान सामन्तका खुट्टा भविष्यका सामन्तले नदेख्ने कुरै भएन । त्यहाँ पनि झण्डा गाडिने भए ।

लक्ष्मण गामनागे :
तत्कालीन सर्वहारा कमरेडहरु हिजोका बखत काँग्रेसी जमिन्दारहरुका साथै एमाले सामन्तहरुका घर जग्गामा झण्डा गाडेर नाचेका थिए । त्यो बेला कमरेडहरुले कमरेडहरुकै खुट्टा पनि भाँचेका थिए । कमरेडहरुले सगोत्री भनेर कमरेडहरुलाई छाडेनन् । कमरेडहरुले कमरेडहरुकै धोती तानेका थिए । कमरेडहरुले कमरेडहरुकै सुुराल फुकालेका थिए । कमरेडहरुले कमरेडहरुलाई हिलोमा पछारेका थिए । कमरेडहरुले कमरेडहरुलाई ढुङ्गामा बजारेका थिए । कमरेडहरुले कमरेडहरुकै करङ खुस्काएका थिए । कमरेडहरुले कमरेडहरुकै छाला तासेका थिए । कमरेडहरुले कमरेडहरुकै घरबास मासेका थिए । सर्वहारा कमरेडहरुले एमाले लगायत विभिन्न पार्टीका कमरेडहरुलाई सामन्त र दलालको उपाधीले विभुषित गरेका थिए । यस्तो डरलाग्दो भाइचारा कायम थियो त्यो बेला सर्वहारा कमरेडहरु र सामन्त कमरेडहरुबीच ।
लोकतन्त्र आएपछि त्यस्तो भाइचारा समाप्त होला कि भन्ने डर थियो, तर भएन । त्यो सम्बन्ध अझ रोचक ढङ्गले विकसित भयो । तपाईँंले थाहा पाइसक्नुभएकै छ, एमाओवादीका नेता र तिनका आफन्तहरुका घर–जग्गामा ड्यास माओवादीका नेता कार्यकर्ताले कब्जा गरेर झण्डा गाड्ने अभियान शुरू गरिसकेका छन् । एकातिर हिजोसम्मका सर्वहारा वर्गका नेता रातारात सामन्त र किसानमारा भएका छन्, अर्कातिर हिजो सामन्तहरुको जग्गा कब्जा गर्न एक हातमा ठण्ठा, अर्को हातमा झण्डा, कम्मरमा एकातिर खुकुरी र अर्कोतिर पेस्तोल भिरेर सँगसँगै भिडेका कमरेडहरु आज त्यही सहकर्मीको जमिन कब्जा गर्न आइपुगेका छन् । कमरेडहरुले भन्ने गरेको चमत्कार छर्लङ्गै देखिँदैछ ।
चमत्कार अनुसार पार्टी फुट्नासाथ एउटा पक्ष क्रान्तिकारी, अर्को पक्ष फ्याट्टै दक्षिणपन्थी, सामन्तवादी हुँदो रहेछ । हिजो एउटै मोर्चामा सँगसँगै लडेको सहयोद्धाले आज आफैँलाई गरिबमारा, जनताको शत्रु भन्दै आफ्नै घरको धुरीमा झण्डा गाड्दा नयाँ सामन्त कमरेड चकित भएका होलान् । वर्तमान क्रान्तिकारी कमरेडहरुले भूतपूर्व क्रान्तिकारी कमरेडलाई कालो मोसो दलेर गाउँ घुमाएको दृश्य हेर्न काँग्रेस–एमालेहरु पनि आँखा तन्काएर हेर्दै होलान् ।
कमरेड निनू चापागाईंलाई चिन्नुहुन्छ नि ! सामन्तवाद बिरूद्ध हलिगोठाला र श्रमिक किसानको पक्षमा लेख्दालेख्दै बूढा हुन लागेका बबुरा निनू अचानक गरिबमारा सामन्त ठहर भए । ती नवसामन्तको जग्गा उनैका भूतपूर्व कमरेडहरुले कब्जा गरे । निनु जस्ता ‘गरिबको पेटमा लात हान्ने’ अरू सामन्तहरुका जमिन पनि कब्जा गर्दै जाने र गरिबहरुलाई बाँड्दै जाने भावी सामन्त कमरेड वैद्यले घोषणा गरेका छन् ।
चमत्कारको सिलसिला अध्ययन गर्दा सामन्त कमरेड निनु जस्तै सामन्त कमरेडहरु नारायणकाजी, बाबुराम वा पुष्पकमलहरुका घर, घडेरी वा गाडीहरुमा पनि झण्डा गाडिने सम्भावना छ । अरू कसकसले गरिब मारेर थैलो भरेका छन्, सो कुरा सर्वहारा कमरेडहरुलाई थाहै छ । वर्तमान सामन्तका खुट्टा भविष्यका सामन्तले नदेख्ने कुरै भएन । त्यहाँ पनि झण्डा गाडिने भए ।
कमरेड सर्वहारा र कमरेड सामन्तहरुको आन्तरिक हिसावको चासो हामी सर्वसाधारणले लिइराख्नु हाम्रो स्वास्थ्यका हिसावले उपयुक्त थिएन । तर, इतिहासमा पनि नमिलेको र अब पनि मिल्ने सम्भावना नभएको यो हिसाव कितावको गोलचक्करले देशमा कहिल्यै शान्ति र स्थीरता नहुने भो भन्ने चिन्ताले सताएर मात्रै यसरी चिन्तन गर्नुपरेको हो । नत्र त बज्जे कमरेडहरु कुटाकुट गरून् कि मोसो दलादल गरून्, तपाईँं हाम्रा बाको के जान्थ्यो र ! हात बाँधेर मजाले रमिता हेर्दा भाकै थियो ! कि कसो ?
०००
दलालशाला (२०८२)
Subscribe
Login
0 Comments
Oldest


































