लक्ष्मण गाम्नागेविशिष्ट राष्ट्रसेवकको एकदिन
पाँच बजेदेखि राति आठ-नौ बजेसम्म पनि भट्टीहरूमा हाकिम, व्यापारी, नेताजस्ता विशिष्ट राष्ट्रसेवकसँग अङ्ग्रेजी र हिन्दी भाषामा चर्काे-चर्को आवाजमा मुलुकको हितका लागि अनेक तर्क-वितर्क गर्छु र घर फर्कन्छु ।

लक्ष्मण गाम्नागे :
बिहान आङ तान्दै आठ बजेतिर ओछ्यानमा आइपुगेको तातो चिया र फर्स्टक्लास ब्रेकफास्टसँगै दैनिक पत्रिकाका हेडलाइन हेरेपछि वाथरुम पस्छु । त्यतिन्जेलमा भुँडीमा ढिँडो हालेर हतार-हतार ड्राइभर आइपुग्छ । म पौने नौ बजे अफिस पुग्दा मेरो पिए आइसक्या हुन्छ । नौ बजेर पाँच मिनेट जाँदा हाजिरी खाता मेरो कोठामा पुगिसक्नुपर्ने कानुन मैले लगाएको छु । भाते स्टाफहरू तछाडमछाड् गर्दै हाजिर गर्न मेरो कोठामा पस्छन् । म मान्छे हेरीहेरी झपार्छु । प्रायः सबैले ट्राफिकजाम भएको वेहोरा सुनाउँछन् । युनियनतिर लागेका केटाहरूलाई चाहिँ म हप्काइहाल्न सक्तिन । तिनीहरू त ठाडै बाझ्न पो आउँछन् । फेरि बेलाबेलामा आफूलाई पनि तिनीहरूको सहयोग चाहिरहन्छ ।
पौनेदस बजेसम्म हाजिरीमा कर्मचारीलाई थर्काएपछि म मिटिङ छ भन्दै बाहिर निस्कन्छु । म बाहिर निस्कँदा हिजोस्तिदेखि नै देखिने गरेका अनुहार मलाई हात जोड्दै केही भन्ने बल गरिरहेका हुन्छन् । म तिनीहरूतिर हेर्दै नहेरी गएर गाडीमा बस्छु । ड्राइभरले सोझै मन्त्रालयमा लगेर गाडी रोक्छ । म सकेसम्म सचिवज्यूको कोठामा नत्र सहसचिवज्यूको कोठामा पस्छु । म कफी पिउँदै कसरी मुलुकलाई अझ अगाडि बढाउन सकिन्छ, जनताका काम कसरी छिटो छरितोसँग गर्न सकिन्छ, मुलुकलाई कसरी भ्रष्टाचाररहित बनाउन सकिन्छ भन्नेजस्ता महत्त्वपूर्ण विषयमा छलफल गर्छु । सरकारले गरेका निर्णयलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि म ज्यादै गम्भीर तर्क राख्छु ।
अनेक किसिमका तर्क वितर्क गरेर म सहसचिवको कुर्सीलाई ईर्ष्यालु आँखाले हेर्छु र उठेर धनुष्टड्कार नमस्कार टक्क्याएर अफिस फर्कन्छु । अफिसमा आउँदा टेबलमा एकचाङ कागज थुप्रिएका हुन्छन् मेरो सहीको प्रतिक्षामा । कोठामा जुनियर अफिसर वा चाकडीवाजहरू घुमिरहेका पनि हुन सक्छन् । उनीहरूका कुरा सुन्छु र कुन-कुन कागजबाट के के झर्छ वा झर्दैन, त्यो पत्ता लगाएर सही गर्ने र नगर्ने कागजात छुट्याउँछु । केही मान्छेले आफूलाई भेट्न ज्यादै जरुरी भएको भनेर बाहिर पिएलाई भनिरहेको बेलामा टेलिफोनको घण्टी बज्छ । उताबाट आवाज आउँछ, ‘भुजा तयार भयो, छिटो आइस्यो न । दही लिएर आइस्यो है राजा ।”
म रानीको आग्रहअनुसार दुध डेरीको फेरो मारेर घर पुग्छु र भूजा ज्यूनार गर्छु । एकछिन आराम गर्छु र पुनः कार्यालय फर्कन्छु । कार्यालयको काम भनेपछि म हुरुक्कै हुन्छु, दिनमा ३-४ पटक आफ्नो कार्यालय जान्छु । कार्यालयमा पुग्दा हिजो-अस्ति वा विहानदेखि मलाई कुरेर बसेका जनता मेरो पीएलाई खप्लक्कै खाउँलाजस्तो गरेर घेरेर हप्काइरहेका हुन्छन् । म थाहा नपाएझैं गरी भित्र पस्छु । म जम्मा पाँचजनासँग मात्र भेट्छु दैनिक । यो कानुन मैले नै बनाएको हुँ। मलाई भेट्न आउनेको लवाइ, लवज र अनुहार हेरेर म समय दिन्छु । जिल्ला वाहिरबाट आएकाहरू तुरुन्तै काम गरिदिनुपर्यो भनेर किच्किच् गर्छन् । त्यसमा पनि शुक्रवारको दिन त रुनै खोज्छन् । त्यस्तालाई म ठाडै भनिदिन्छु –
शनिवार, आइतवार दुई दिन छुट्टी मैले गर्द्या हो र ? आइतवार छुट्टी हुन्छ भन्दैमा मैले तिमेर्को काम आजै गर्नुपर्छ भन्ने के छ ?’ यसो भनेपछि तिनीहरू भिजेको मुसोजस्तो भएर फर्किन्छन् ।
यति काम गरिसक्दा झण्डै पाँच बजिसकेको हुन्छ । प्रायः हरेकदिन चार बजेतिर म सिट छड्के लिने गर्छु । पाँच बजे सबै कर्मचारीलाई हाजिर खातामा सही गर्न अनिवार्य नियम लगाएकाे छु । म यसप्रकार नौदेखि पाँचसम्म अफिसमा बसेर काम गर्नेमात्र होइन, पाँच बजेदेखि राति आठ-नौ बजेसम्म पनि भट्टीहरूमा हाकिम, व्यापारी, नेताजस्ता विशिष्ट राष्ट्रसेवकसँग अङ्ग्रेजी र हिन्दी भाषामा चर्काे-चर्को आवाजमा मुलुकको हितका लागि अनेक तर्क-वितर्क गर्छु र घर फर्कन्छु । मजस्तो सच्चा राष्ट्रसेवक हाकिम अर्को होलाजस्तो मलाई लाग्दैन ।
०००
कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest
































