लक्ष्मण नेवटियामुटुको ढुकढुकी हुन्थ्यो चिट्ठी
मसी मै माया मिसिएर मनका गीत गुनगुनाउँछ, शब्द-शब्द सम्झनाको सुनौलो संसार सजाउँछ। समय संगै प्रविधि फेरियो,तर यो सत्य-तथ्य छ चिट्ठी केवल शब्द होइन्, यो आत्माको कथ्य छ।

लक्ष्मण नेवटिया :
त्यस जमानामा चिट्ठीको, ठूलो सम्मान थियो
कागजको टुक्रा आफैमा सिङ्गो ज्यान थियो
आँसु पखालिएका अक्षरमा भाव पोखिन्थ्यो
प्रत्येक हरफमा मुटुको, जवाफ लेखिन्थ्यो।
चिट्ठी भित्र हुन्थ्यो सुगन्ध र मायाको आभास
पढ्दा लाग्थ्यो,प्रियतमको चिट्ठी मैं छ निवास
दिनभरि आँखा तिर्मिर हुलाकीलाई पर्खदैमा,
नीलो खाम पाएपछि, हाँस्थ्यो आँखा हर्खैमा
विरहको लामो रातमा, चिट्ठी हुन्थ्यो ओखती
अँध्यारो मनको कुनामा, जस्तै बलेको ज्योति
अहिले डिजिटल युगमा, खबर तुरुन्तै आउँछ
तर त्यो पर्खाइको मिठास, खै कता हराउँछ।
त्यो एक चिट्ठीमा,सिङ्गो यो संसार अटाउँथ्यो,
विरहले बासुरिएको घाउमा मलहम लाउँथ्यो
अबका झट्टका सन्देशमा, विरही तड्प कता?
अब प्रेमी जाओस जता भइरहन्छ हेलो यता।
मसी मै माया मिसिएर मनका गीत गुनगुनाउँछ,
शब्द-शब्द सम्झनाको सुनौलो संसार सजाउँछ।
समय संगै प्रविधि फेरियो,तर यो सत्य-तथ्य छ
चिट्ठी केवल शब्द होइन्, यो आत्माको कथ्य छ।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest






































