रामकृष्ण ढकालपरिणाम यहि त होला ?!
बजेटको मात्र सत्यानाश गर्दा पनि आफ्नै समूहभित्र नै अपार असन्तुष्टि सिर्जना गर्नसक्नु सायद यो अत्याधुनिक युगका स्वघोषित महामूर्धन्यहरूको उत्कृष्टतम महानता अनि सफलता होला ।

रामकृष्ण ढकाल :
हाम्रा पूर्खाहरू कति दूरद्रष्टा थिए भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो- काठमाडौ हाँडिगाउँको गहना पोखरीमा गहना खोज्ने जात्रा । आजको अत्याधुनिक समाज, चन्द्रलोकको यात्रापछि चार पाँचवटा त पन्ध्र वर्ष नै गैसके पनि उहीँ ढुङ्गेयुगको गन्तव्यमा अग्रगामी देखिएको छ । आजकलको समयमा टोलटोलमा विद्यालयहरू छन्, घरघरमा भनेजस्तै शिक्षकहरू छन् तैपनि महान विद्वान अतिशय घागडान हुँ भन्नेहरू संस्कृत भाषाका आदिकवि कालिदासको बालापन भन्दा माथि आफ्मो चालामाला पुर्याउन सकेका छैनन् । अझ कहिलेकाहीँ उनीहरूकै कुरो सुन्दा लाग्छ उनीहरूजस्ता सिद्धहस्तको बीचमा एक्लो गिद्धहस्त बनिएको छ ।
नैबन्धिकमात्र होइन अन्य लेखनमा पनि कहिलेकाहीँ हाम्रा महान नाटककार बालकृष्ण समको नियमित आकस्मिकता नामक निबन्ध सङ्ग्रहको एउटा पङ्क्ति याद आउँछ- यो विश्वको सृष्टिमा मानिसमात्र एउटा त्यस्तो बुद्धिमान प्राणी हो जसलाई जति बुद्धि दिए पनि कहिल्यै पुग्दैन । हो यहि वाक्यको वर्तमान कालिन चरितार्थ्य हाम्रा शेरोफेरोका केही महामूर्धन्य विद्वानहरूको सायद जीवनको एकमात्र ध्येय हो । जसरी हुन्छ जे गरेर हुन्छ महामूर्धन्यको स्वघोषित पगरीको भित्रपट्टी अतिशय मूढताको अपार पारदर्शी नर्तन वर्षको सबै महिनामा कुनै न कुनै तरिकाले समाजका अगाडि देखाउनु उनीहरूको आफ्नै महानता र विशेषताको समावेशी सजावट हो ।
दुई चारवटा पुस्तक त कुनै विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने बटुकले पनि पढेको हुन्छ । आजकलको जमानामा पढ्नको लागि भए चामल नभए गुन्द्रुक पिठोको सामल बोकेर दक्षिणको दुष्टकोमा धाउनु पर्दैन । आ आफ्नो स्तरका सबै विद्वान छन् । अहिलेको हाते सञ्चार संयन्त्र पाकालेभन्दा पुछरकाले बढी राम्रोसँग चलाउन जान्दछन् । त्यसैले न कोहि कसैले आफूलाई महान विद्वानको स्वघोषित पगरी लगाउनुपर्छ न अरू कसैले भनिदिनेछ ।
पढेको हुँ विद्वान हुँ भन्दैमा कसले पो टेर्छ र करोडको गाडीलाई कुकुरले त खुट्टो उचालिदिन्छ भने अरूको कुरै के गर्नु ?! फेरि संसारले पढेकोलाई भन्दा नपढेकोलाई बढी मान्छ भनेर हाम्रा वर्णमाला र बुद्धको जीवनीले अहोरात्र बोलेकै छन् । यति पनि नबुझेको व्यवहार देखाउने चाहिँ फेरि कसरी विद्वानमा गनिनु ! कुनै झोल वा डाँवाडोलले त कोही विद्वान बन्दैन होला । समाजको अमूक सत्पात्रले यो कार्यमा यसरी गल्ती भयो भनेर भनिदिँदा ओहो हो र अब त सुध्रिनुपर्छ भन्ने विवेक कोदोको झोलमा बगाएर उल्टै सम्झाउनेका बिरुद्ध अनेक जालझेल अन्यायका शृङ्खला निर्माण गरेर विद्वान भइन्छ भनेर सुनाउने हो भने त्योभन्दा महान चुट्किला अर्को बन्दैन होला ।
संसारमा न कोहि राजनीतिक दुर्गन्ध लेपनबाट विद्वान बनेकाछन् न कोहि आफन्तवाद, चाकरीवाद , चाप्लुसीवाद, हलिगोठाला हरुवाचरुवा झोले झाम्टे जुम्रे जगल्टेका साथ रमाएर । विद्वत्ताकी जननी सरस्वती भगवती कहिल्यै कुनै चाटुकारी मोलाहिजामा दुइचार सुर्को चियामा दुई चार पैसोको गहतको झोलमा फसेको कुनै कथाकहानी किम्बदन्ती भेटिन्छ । तर तिनकै अनुगामी हुँ भनेर डङ्का पिट्नेहरू त्यस्तै फोहोरमा धेरैवटा पोहोरदेखी डुबिरहेको प्रष्टै देखिएको छ ।
वर्षमा एउटा अङ्क साहित्यिक पत्रिका प्रकाशन गर्दा दर्जनभन्दा बढी सम्पादक हुनु शुरूमै उठान गरिएको हाँडिगाउँको जात्रा नभएर के होला ?! फेरि जाबो एउटा पत्रिका जसको कुनै स्तर वर्गीकरण नै हुन सकेको छैन उसैको आँगनमा स्वार्थ, पूर्वाग्रह र अनेक नीचताका दर्जनौं दृश्य अदृश्य नौटङ्की भएको देखेपछि स्वघोषित महामूर्धन्यहरूको माथि हावामा लहराएको धोती कसको नजरबाट लुक्छ र ? साहित्यिक पत्रिका प्रकाशन गरेको भनेर साहित्यको नाममा कपुरी क नलेखेकाहरूको जीवनीको आवरणमा भजन कीर्तन कुन महानताको लक्षण हो ? आफ्नै ठाउँकालाई राम्रो गराउने स्थान दिने भन्ने गफ चारचौरासकालाई बढी प्राथमिकता दिएर आफ्नै गृहनगरकालाई छानी छानी स्थान कमिको नाटक मञ्चन गर्दा साँच्चिकै नाटक लेख्नेले बालवयमा लुकामारी खेल्दा झैं आँखा छोपेर बस्छ र ?
अर्कोतिर अतिशय क्षमतावान हुँ भन्ने तर आफूलाई अन्याय भएको महशूश हुँदा विगतका खै केकस्ता रहस्यले गर्दा हो वाक्य गलाबाट माथिल्लो तलामा नआउने ? अर्कासँग मुख सापटी माग्नुपर्ने अचम्म देख्ने दिन पनि अगाडि नै आयो । अरूबेलामा मेरा अन्नदाता धाता बिधाता सर्वशक्तिमान भनेर दैनिकजस्तो पाउमा हाजिरी दर्ता नगराए एकगाँस पनि पच्दैन जस्तो गर्नेले उही महाप्रभुलाई जड लागेको कुरो बिन्ती बिसाउन केले छेकेको हो कुन्नी ?
बाँकी रह्यो स्तर गुणस्तरको मामिला उल्टोपाल्टो भएको गुनासो । सङ्गत कस्तोको गरियो भनेर दशकौंसम्म पनि नचिन्ने वा चिनाइपचाउने आइपरे उनै भगवानका परोक्ष पक्ष लिइ सत्मार्गीसँग नकच्चरो सवालजवाफ गर्न तम्सिने त्यो आँट आज आफ्नै मन एउटा पत्रिकाको प्रकाशनसँग सम्बन्धित गुम्स्याई ठाउँमै ओकल्न पर्ने बेलामा कुन झाडीमा केसँग मायाप्रीति लाउन गएकाले स्तर नमिलेको हो बुझिएन !? स्तर हुनका लागि समाजले खोज्ने विशेषता पूरा गरियो कि गरिएन, पहिले त्यता पो हेर्ने हो कि ? किनकी आफ्नै हातको औंलाले पनि दोष देखाउने बेलामा धोका दिन्छन् । स्तरको नाममा असन्तुष्टि आउनुभन्दा पहिले सङ्गत स्तरको गरियो कि गरिएन भन्ने विचार हुनुपर्छ कि पर्दैन ? मणि हुँ भन्नेले भिल्लको पोल्टामा बसेर पूजा आराधना कहिले पाउँछ र ?!
एउटा निष्पक्ष मानसपटल व्यक्ति होइन प्रवृतिका पछि जता पनि जान्छ । त्यसले न कुनै चिप्लो चिल्लोलाई मान्छ न विद्वान भनाउँदाहरूको असभ्य हर्कतलाई । भाषाका भाग्यविधाता भनेर आफूलाई भनाउन चाहनेहरूको विद्वता शीर्षकमै बिग्रतामा झरेको देखिएको अनि दशठाउँमा कीराले लागेको फलजस्तो कर्म गरेर बजेटको मात्र सत्यानाश गर्दा पनि आफ्नै समूहभित्र नै अपार असन्तुष्टि सिर्जना गर्नसक्नु सायद यो अत्याधुनिक युगका स्वघोषित महामूर्धन्यहरूको उत्कृष्टतम महानता अनि सफलता होला । सद्देलाई जहिलेसुकै अति उपेक्षा गरेर खत्तमहरूको झुण्डलाई महान पवित्रतम कुण्ड मानि त्यसैमा पौडिरहनुको मजाले ल्याएको एक सुन्दर परिणाम यहि त होला !!??
०००
२०८३ असार १५
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































