साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिटायर पछिको दैनिकी

चिन्तै छैन । गर्ने कामहरू धेरै छन् । सामाजिक सेवामा काम गरेर नाम कमाउने बेलै यही हो । धर्म कमाउने बेलै यही हो । अब अफिस जानु छैन । दस पाँचको झमेला छैन । केको हतार । रिटायर्ड भइयो भनेर चिन्ता गर्नु पर्दैन ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

बिहान सधैँभन्दा अलि ढिलोे उठ्ने । ओछ्यानमा एकछिन बस्ने । आङ तान्ने । हाइ गर्ने । हाइ पनि अलि लामो तान्ने, दुईतीन पकटै तान्ने, बल गरी गरी । पहिला पहिला भन्दा ढिलो गरी मर्निडवाकमा निस्कने । सधैँ जस्तो छिटोछिटोे नहिँड्ने । बिस्तारै हिँड्ने । पहिला पहिला जस्तो हतार हतार कसैले देखेर बोलाउला कि, अफिस जान ढिलो होला कि भनेर घोसे मुन्टो लगाएर नदौडिने, दायाँ वायाँ हर्दै हेर्दै बडा सानका साथ हिँड्ने । कोही साथीभाइ भेटिए बोलाई हाल्ने । उभिएर एकछिन गफ गर्ने । सकभर उसलाई चिया खाउँ भन्दै कर गरेर छेउकोे छाप्रे दोकानतिर तान्ने । चिया पनि सेलाएर बिस्तारै बिस्तारै पिउने । साथीले हतार गर्‍योे भने कुनै रमाइलो गफ निकालेर उसलाई अलमल्याउने । उसलाई रुचि लाग्ने विषय के हो पत्ता लगाइ राख्यो भने पछि पछिका लागि पनि राम्रो हुन्छ । मर्निङवाकबाट फर्केर पनि घर बाहिर यसो वरपर निरीक्षण गर्ने । घर वरिपरि फोहोर, प्लास्टिकहरू छन् भने टिप्ने । खरेटो खोजेर अलिकित बढारकुँढार गर्‍यो भने एकसाथ तीन फाइदा हुन्छ, घर सफा हुन्छ, स्वास्थ्य बलियो हुन्छ, समयको सदुपयोग हुन्छ ।

एउटा कुरा भन्न छुटाएँछु, प्रातः भ्रमणमा जाँदा दाँत ब्रश नगरी जाँदा पछिलाई फाइदा हुन्छ । भ्रमण सकेर आए पछि बिस्तारै बिस्तारै ब्रश गर्दा दाँत सफा र सुन्दर हुन्छन् । अब तपाईँले आफ्‌ना दाँतकोे राम्रो केयर गर्नुपर्छ । त्यसकारण दाँत एकदम टिलिक्क टल्कने गरी धेरैबेर लगाएर सफा गर्नुहोस् । समाजमा बाहिर निस्कँदा कसैले पनि तपाईँलाई फोहोरी बूढो नभनून् । सिन्का, धागो लगाएर भित्रभित्रसम्मका फोहोर निकाल्नुहोस्, ता कि मान्छेहरूका अगाडि कुराकानी गर्दा आफ्‌नो मुख नगनाओस् । अब पहिला पहिला जस्तो खर्‍याङ खुुरुङ पारेर दरफर्‍याउँदै राँटा छाडेर दाह्री काट्नु पर्ने कुनै दरकार छैन । दाह्री पनि हतार गरेर एकाबिहानै किन काट्नु पर्‍यो ?

बिहानको खानापिना सकेर अबेला काट्ता राम्रो हुन्छ । एकदम बिस्तारै काट्नुस् । एकदम मजाले सेभिङ क्रिम लगाएर पटक पटक रेजर घुमाई घुमाई पूरापूर सफाचट पारेर काट्नुहोस् । घर बाहिर उज्यालोमा गएर ऐना घुमाई घुमाई हेर्नुहोस् ता कि अनुहार पूरा चिल्लो भएको होस् । तपाईँका चिल्लो र एकदमै सफाचट अनुहार देखेर सबै लोभियून् । भर्खरका युवतीहरू पनि झलक्क तपाईँलाई देख्दा झुक्किउन् । घर बाहिर निस्कँदा जहिले पनि चिटिक्क परेर निस्कनुपर्छ । आजभन्दा अगाडिजो भयो सो भयो, अब एकदम आकर्शक बन्नुहोस् । त्यसका लागि बिहानभरि मिहिनेत गर्नुहोस् ।

तपाईँलाई खाना बनाउन आउँछ कि आउँदैन ? आउँदैन भने सिक्नुहोस्, मौका यही हो । बिहान बेलुकापत्नीलाई बुहारीलाई खाना बनाउन सघाउनुहोस् । सघाउने मात्रै कन ? के खाना बनाउने आइमाइको मात्रै ठेक्कामा परेको काम हो र ? तपाईँ खटिनुहोस् । दत्तचित्त भएर खाना बनाउनुहोस् । तपाइँले खाना बनाएको देखेर घरका मानिसहरू पनि खु….शी हुन्छन् । बेलुकाको खाना चार बजेदेखि नै बनाउन थाल्नुहोस् न तपाईँको के जान्छ । छिट्टैदेखि खाना बनाउन थालेर एकदमै सानो आगोमा धेरैबेर लगाएर खाना बनाउनुहोस् । रातकोे आठ बजाइदिनुहोस् खाना खाने बेला । यसो गर्दा तपाईँलाई समय गएको पनि पत्तो हुँदैन र सबैले तपाईँका खानाको प्रशंसा पनि गर्छन् ।

खाना जति सानो आगोमा जति लामो समय लगाएर पकायो उत्ति नै मिठो र स्वस्थ्यकर पनि हुन्छ, थाहा पाइराख्नुस् । बिहानको खाना पनि अब साढे आठै बजे केलाई खानुपर्‍यो । जहान परिवारका सदस्यहरूलाई खुवाएर आआफ्‌नो काममा पठाउनोस् । तपाईँ आफ्‌नो भागको खाना एउटा हटपटमा खाँदेर राख्नुहोस् र नुहाइधुवाई सकेर, पत्रिका पढिसकेर ११ बजेतिर मजाले खानुहोस् । भात खाँदा पनि अब पहिला जस्तो कपाकप कपाकप नखानुहोस्, सप्र्‍याँङ सप्र्‍याँङ पारेर मस्तले खानुहोस् । थाल चाटी चाटी चिल्लो पार्नुहोस् ।

त्यतिकै बसेर पटक्कै समय खेर नफाल्नुहोस् । केही न केही गरिरहनुहोस, कमशील बन्नुहोस्‌् । इन्टरनेटमा समाचारहरू हेर्नुहोस्, फेसबुक चलाउनुहोस् । इन्टरनेटहरूमा एकदमै अपडेट रहुनहोस् । छिनछिनमा समाचारहर हेर्नुहोस्, फेसबुकमा नयाँ नयाँ स्टाटसहरू पोष्ट गनुृोस ् । आफूले पोष्ट गरेका स्टाटसमा कसकसले के के भने भनेर एकछिन एकछिमा हेरिरहनुहोस् । जवाफ दिनुहोस्, धन्यवाद दिनुहोस्, मुखमुखै लाग्नुहोस् । एकदमै आनन्द आउँछ र त्यसले तपाइँलाई समाजसँग जोडिराख्छ । तपाईँ केही न केही गरिरहनुभएको सबैलाई थाहा हुन्छ र तपाईँलाई पनित्यही अनुभूति हुन्छ ।

घर सफा गर्नुहोस् । भ्याकुम लगाउनुहोस् । कितावहरू मिलाउनुहोस् । हल्लिएका सर्टका टाँकहरू सिलाउनुहोस् । साहित्यिक सामाजिक कार्यहरूमा रुचि छ भने फेसबुकहरूमा विभिन्न कार्यक्रमहरूका सूचनाहरू आइराखेका हुन्छन् । त्यस्ता कार्यक्रममा जान अब पटक्कै हिचकिचाउनु पर्दैन । आयोजकलाई तपाईँ हामी जस्ता दर्शकहरूको जहिल्यै खाँचो भरहेकोे हुन्छ । त्यस्ता कार्यक्रमहरूमा जाँदा सधैँ जस्तो हस्याङफस्याङ गरेर कार्यक्रम शुरु भएको आधा घण्टा पछि पुग्ने र कार्यक्रम नसकिँदै समोसा टिपेर कुद्ने बानी अब छाड्नुहोस् । अलि परिपक्वता, धैर्य र संयमी बन्नुहोस् । ज्यादै टाढा भए मात्र सवारी साधनमा नत्र पैदलै हिँडेर बोलाएकोे समयभन्दा आधा घण्टा, १५ मिनेट छिटै कार्यक्रस्थल पुग्नुहोस् । आयोजकहरूलाई समयको महत्वका बारेमा प्रवचन दिनुुहोस् । उनीहरूलाई ब्यानर टाँङ्न सघाए पनि हुन्छ । कार्यक्रम सकिएपछि पनि जलपान सकेर सबै हिँडेपछि बिस्तारैै निस्कनुहोस् । आयोजकहरू सबैसँग हात मिलाएर बिदा हुनुहोस् । यसो गर्दा तपाईँलाई दोहोरो फाइदा हुनसक्छ । दिन त सजिलै बितिहाल्छ, आयोजकहरूले कुनै पुरस्कार सुरस्कार राखोका रहेछन् भने तपाईँलाई नै दिन पनि सक्छन् ।

साहित्यिक सामाजिक समारोहरूबाट बाहिर निस्केपछि पनि अलि टहलिँदै सडकमा आउनुहोस् र एकछिन ट्याम्पो वा बस पर्खेजस्तो गर्नुहोस् तर वास्तवमा बस वा टेम्पो नपर्खनुहोस् । सिट खालि नै आए पनि त्यसमा नचड्नुहोस् । बस ट्याक्सी वा टेम्पु चढ्दा एक त पैसा पनि खर्च हुन्छ, दोश्रो धुवाँधुलो धेरै खाइन्छ, उकुसमुक हुन्छ र सबैभन्दा खराव कुरा छिट्टै घर पुगिन्छ । दिउँसै घर पुग्दा छरछिमेकीले भन्लान्, यो बूढाको काम छैन कि क्या हो । दिनभरि घरमै थेच्चिरहेो दखिन्छ भनेर कुरा काट्छन् । बेफाइदै बेफाइदा । हिँड्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । आधा घण्टा एकघण्टाको यात्रा हिँडेरै तय गर्नुहोस् । हतारै के छ त तपाईँलाई । जति हतार अस्तिसम्म गर्नुभयो । वर्षौ वर्षसम्म गरेका हतारको क्षतिपूर्ति हुनेगरी ढिलोे गर्नुहोस् ।

फोनबाटै हुने कामका लागि पनि किन फोनमा समय र पैसा खर्च गर्ने ? हिँडेरै गन्तव्यमा पुग्नुहोस् । फोनबाट गरेको भन्दा आफैँ पुगेर गरेको काम पक्का हुन्छ । कुनै कुरा थाहा पाइसकेको भए पनि राम्ररी क्लियर हुन सशरीर उपस्थितिको महत्वै बेग्लै हुन्छ । अब लटरपटर गरेर काम चल्दैन पक्का गनुपर्छ, जे गरे पनि ।

आफन्त, छरछिमेकी, गाउँलेहरू कोही बिरामी भएको सुन्नुभयो भने हेर्न अवस्य जानुहोस् । यसबाट तपाईँको समाजिक सेवाको भावना बारे उनीहरूले थाहा पाउने छन् । अस्पतालमा त्यस्ता विरामी राखेको भए त झन् गइ नै हाल्नुहोस् । जाँदा फलफूल नलिई जानुहोस् र भन्नुहोस् कि बिरामीले के खान हुन्छ के हुँदैन् थाहा नभएकोले केही पोे नलिई आएँ त । विरामी र विरामीका आफन्तलाई भेट्नुहोस् । सहानुभूति प्रकट गर्नुहोस् । औषधी किनेर ल्याउनु पर्ने भए ल्याइदिनुहोस । कुरुवालाई खाना खान जान पालो दिनुपर्ने छ कि सोध्नुहोस् । साह्रै अप्ठ्यारो स्थिति परेको छ भने रात बस्नु परे पनि एक रात दुई रात बस्नुभयो भने तपाईंको कति जय जय हुनेछ थाहा पाउनुहोस् ।

त्यही बिरामी होस् वा अरु कोही चिनेजानेका वा सुनेजानेका मानिस मर्दा अनिवार्य घाट जानुहोस् । घाट जानुभन्दा अगाडि प्रज्ञा प्रतिष्ठान वा पार्टी कार्यालय कतै श्रद्धाञ्जलीका लागि राखिएको भए त्यहाँ पनि अवस्य पुग्नुहोस्‌् । त्यहाँबाट उसै दिन लाशलाई घाट लैजाने कार्यक्रम रहेछ भने मलामी पनि जानु राम्रो हुनेछ । घाटमा लगेपछि पनि धेरै हतार गरेर घर नफर्किनु राम्रो हुन्छ । परिवारका मानिसलाई कति अप्ठ्याराहरू परेका हुन सक्छन्, सोधखोज गरेर पत्ता लगाई सहयोग गर्न खोजे झैँ गर्नुहोस् । मुखले वा शरिरले मात्र सहयोग गर्दा पुग्ने कुरामा पूरापूर सहयोग गरिदिनुहोस् । पैसाको कुरा आयो भने चाहिँ खल्ती बिचार गरेर तपाईँको इच्छा अनुसार निर्णय गर्न सक्नुहुन्छ । लाश जलेर नसकिउन्जेल बस्नुहोस् । त्यसपछि पनि कृयापुत्रीहरूलाई बस्ने ठाउँको बन्दोबस्त गर्न सघाउन सकिन्छ । धर्म हुन्छ । धर्म कमाउनुहोस् ।

चिन्तै छैन । गर्ने कामहरू धेरै छन् । सामाजिक सेवामा काम गरेर नाम कमाउने बेलै यही हो । धर्म कमाउने बेलै यही हो । अब अफिस जानु छैन । दस पाँचको झमेला छैन । केको हतार । रिटायर्ड भइयो भनेर चिन्ता गर्नु पर्दैन ।

हामी थुप्रै साथीहरू एक्कैचोटी काम गरिरहेको संस्थाबाट अबकास भयौँ । धेरैल भन्थे जागिरबाट अवकास भए पछि समय बिताउन गाह्रो हुन्छ । के गरेर समय कटाउने ? तास खेल्ने बानी भएकाले तास खेल्लान् । पैसा टन्न भए देश विदेश घुुमर समय बिताउलान् । कुनै व्यापार व्यवसाय भएकाहरू त्यसैमा लाग्लान् । साहित्य कलामा लागेका मानिसहरूलाई पनि कामको खाँचो नहोला, झन् बढी सकृय होलान् । तर ती केही पनि नभएका डुकुलण्ठुहरूले कसरी समय बिताउने, के गर्ने साह्रै गाह्रो पर्दोरहेछ तपाईँ त समाजिक काममा पनि लागेको मान्छे केही टिप्स् छन् भने दिनु पर्‍यो भने पछि म पनि निकै घोरिएँ । अगाडि देखि अवकास भएका साथीहरूसँगको अन्तरर्वार्ता, आफ्‌नै अनुभव र केही अनुसन्धान पछि मैले मेरा ती साथी र दुनियाँका लागि पनि सहज होस् भनेर केही टिप्सहरू प्रस्तुत गरेको छु । कसैको जीवनसँग मिल्न गएमा यो संयोग मात्र हुनेछ ।

अन्तिममा सबैले ख्याल गर्नुपर्ने कुरा के भने जहिले पनि जोसँग भेट्दा पनि बारम्बार घडी हेर्न र हतार छ, काम छ, साह्रै व्यस्त छु भन्न चाहिँ नबिर्सनु होला । धन्यवाद ।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x