साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हसुर्ने दिवस

हामी बिहेमा खान्छौँ, व्रतबन्धमा, पास्नीमा, सराद्धेमा, पूजामा, पुराणमा खान्छौँ । बढुवामा, नियुक्तिमा, कमिशनमा, घूसमा, हजारौं बहानामा हामी हाब्रो चलाइरहेका हुन्छौँ ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे

तीज सँगसँगै हाम्रो देशमा चाडपर्वहरू शुरू हुन्छन् । त्यसपछि धमाधम आउँछन् सोह्र श्राद्ध, दशैं, तिहार, छठ, ल्होसार, गौरा र अरूअरू । कुरो बुझ्दै जाँदा धर्म, संस्कृति परम्परा, के जाति ऊ जाति भन्नु त बहाना मात्रै रहेछन् । चाडपर्वको खास अभिप्रायः त हसुर्नु पो रहेछ ।

एक वा दुई दिन मनाइने तीज शुरू भएको एक महिना भइसक्यो । अझै सकिएको छैन । दिदीबहिनीहरू भेला भएर जिब्रो फट्‌कारी-फट्‌कारी खाएका खायै छन् । समान अधिकारको खोजीमा उनीहरू अचेल रेष्टुराँमा भेला भएर पनि तीज मनाउन थालेका छन् । लोग्ने बज्याको खुट्टाको पानी खाने आइमाईहरूको प्रतिरोधमा बिजुली पानीमा रम्ने महिलाहरू मनग्गेको सङ्ख्यामा उत्पादन गरिसकेको छ यो देशले ।

‘के निहुँ पाऊँ, कनिका बुकाऊँ’ भनेझै खानाका लागि नयाँनयाँ चाडपर्वहरू थपिरहेका छौं हामी । ठूलाठूला होटल बुक गरेर लाखौं रूपैयाँ खर्च गरेर वर्थ डे’ का नाममा कोदाको मोई खानेदेखि भ्यालेन्टाइन डेहरू जस्ता प्रेमिकाको म्वाइँ खानेसम्मका अनेकै नयाँ पर्वहरू भित्रिइरहेका छन् वर्षेनि ।

सराद्धेमा हामी आफू मात्रै खाँदैनौँ, मरिसकेका पितृलाई पनि पिण्ड कोच्याउँछौँ । दशैंमा हामी हप्तादिनसम्म छेरुन्जेल घिच्छौँ । खसी, बोका, कुखुरा, राँगा, सुंगुरहरू स्वाहा पार्छ । तिहारमा खान्छौँ । हामीसँग साउने सक्रान्ति, माघ एक, असार पन्ध्र, साउन पन्ध्र, आमाबाउको मुख हेर्ने आदि कयाँ दिवसहरू छन् हसुर्नलाई । अरू त अरू, बाउआमाको किरिया सकेको उपलक्ष्यमा पनि भतेर लगाउँछौं हामी ।

भट्टीमा बग्ने जाँडका खोलाको कल्पना गर्दा पनि मेरो आङ जिरिङ हुन्छ । नेपालैभरि हरेक साँझ लाखौँको सङ्ख्यामा जँड्याहाहरू हड्डी, कलेजो, कान, आन्द्राभुँडी, ह्याकुलो र फिलो निलेर सेफ्टी ट्याङ्‌की भरिरहेका हुन्छन् । हजारौं लिटर रक्सी पिएर ढललाई प्रदूषित बनाइरहेका हुन्छन् । अथाह परिमाणमा समय र सम्पत्तिको सत्यानाश गरिरहेका हुन्छन् । हामी बिहेमा खान्छौँ, व्रतबन्धमा, पास्नीमा, सराद्धेमा, पूजामा, पुराणमा खान्छौँ । बढुवामा, नियुक्तिमा, कमिशनमा, घूसमा, हजारौं बहानामा हामी हाब्रो चलाइरहेका हुन्छौँ ।

हसुर्ने दिवस हरेक दिन आउँछ, तर यो देशमा ३६५ दिनमा एक दिन पनि निर्माण दिवस छैन, जुन दिन नेपाली युवाहरू स्कुल, सडक वा अस्पतालहरूको निर्माण कार्यमा जुटून् । ढुङ्गा बोकून्, माटो खनून् । ३६५ दिनमा एक दिन पनि ‘सदाचार दिवस’ छैन जुन दिन मुलुकभरिका सबै भट्टीहरू बन्द होऊन्, कसैले पनि एक पैसा घूस नखाओस्, भ्रष्टाचार नगरोस् । एक वर्षमा एक दिन पनि ‘कर्तव्य दिवस छैन, जुन दिन कर्मचारीले दशदेखि पाँच बजेसम्म पूरा समय कार्यालयको काम गरून्, डाक्टरले पूरा एक दिन अस्पतालमै बिताओस्, पुलिसले एउटै अपराधीलाई नभगाओस्, भन्सारले शतप्रतिशत राजश्वको रसिद काटोस्, नेताहरूले झूट नबोलून् । अरू पनि धेरै दिवसहरू छैनन् ।

पढ्नुस् है, भान्साबाट हरररर्र बास्ना आयो मासुको, म दुई थाल मासुभात दन्काएर आउँछु, अनि निद्रा लागेनछ भने सोचौँला नि अरूअरू दिवसका बारेमा, हुन्न ?

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x