साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगेकाजीको उर्दी र गाईजात्रे निम्तो

आफ्नै पार्टीको अध्यक्षले खुस्काउन खोजेको, मल आयात र डिडिसीमा चरम भ्रष्टाचार गरेको विषयमा धुँवादार व्यङ्ग्यवाण वर्षाउन थालेपछि मन्त्रीजुलाई खपिनसक्नु भो ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

केही वर्षदेखि आरामको सौता हरामपूर्वक गाईजात्रे जिन्दगी चलाइरहेको मुखाले मोराको मुटुको धड्कन बढाउने गरी सामाजिक संजालमा हल्ला मच्चाउँदै गाँडू गाईजात्रा भ्रान्तिपुरी नगरीमा नगरा बजाउँदै आइपुग्यो ।

ब्रह्माण्डभरिकै एक्लो उपनाम “मुखाले” राखेर केही वर्षदेखि लिखितम र बकितममै मुखाले काम गरिआएको भए पनि “अरुणको कत्लेमाछो सभाखोला धाउँछ, बूढो पोइको ओछ्यान लाउन जाँगर मरी आउँछ” भन्ने पूर्वेली लोकगीत सम्झाउने यो मुन्छेको लोसे पारा देखेर फित्कौलीका मुखिया जुँगेकाजी दाइको कन्पाराे धेरैपटक तातेको भए पनि सेलाउन बानी बसाएको खसोखास हो भनी साछीकिनारामा फित्कौली भित्तोका भैरवबाजे र भूतको भिनाजुको रोहबरमा लबस्तरो ल्याप्चेसही गर्नु पर्ने चूरो कुरो चाहिँ अर्कै छ ।
पचासवर्षे ज्यानको भूगोलकी, मेरो एकासगोलकी साख्ये स्वास्नीलाई जस्ताको तस्तै पोल सुनाए पनि केही तातोपानी नलाग्ने गरी म आजैको मितितिथिमा एउटो गाँठी कुरो कहन लागेको छु ।

कुरो के हो भने केही समयदेखि म गज्याङ्गुजुङ डटकमको पर्धानसम्पादक र पर्काशक भएर नाकको पोरा फुलाउँंदै, उटाङ्गको बाला झुलाउँदै दिन काट्दै आएकोमा एक्कासी- जागिरे जिन्दगीमा दु:खले भ्रष्टाचार गरीगरी आर्जेका काठमाडौँका चार बङ्गलाको भाडा खाएर पाँचौँ महलको पाँचौँ तलाको भव्य बैठक कोठाको सुनौलो काउचमाथि उपर्खुट्टी लाएर कोसेली आएको कालो झोलपदार्थ ब्ल्याकलेबल चुस्की लाउँदै भान्सेकेटीसँग इत्तरिँदै गर्‍या बेलाँ अदुवाका पदुवाले तर्साएझैँ गरी जुँगेकाजी दाइले सातो खाए- “हैन , के पारा हो यो मुखालेको !? ह्याँ फित्कौलीमा गाईजात्रेहरूको जुलुस निस्केर मेरो “जिनिस” नै जखम पार्लान् जस्तो भैसक्यो, ह्वाँ तिमीचाहिँ जेठको आहालमा साँढेझैँ उग्राउँदै बस ! यै हो त तरिका ?” पहिलोपटक बाउले कुट्दा र तेश्रोचोटी स्वास्नीले हप्काउँदा पनि नगएको मेराे भाले सातो यसैपाली गयो । झन्नैले चुहेन भनेर दङ्ङ पर्‍या छु ।

यत्रो गाईजात्रामा पनि गयल हुने गोज्याङ्ग्रोले चोरभन्दा चतुर लेखनदासहरूको जमानामा केही गरीखान त भो ! मैले मुखालेको मुख लोप्य्राई दिएँ । लु खा !

मुख लोप्र्याएर पनि धर पाउने आधार नभेटेपछि आखिरमा मुखाले मोराले छिमेकी इण्ड्याभन्दा ठूलो र भरपर्दो आइड्या फुरायो ।
भूतका भिनाजुले उ: बेलाँ साहित्यका सर्दारदेखि हास्यबेङ्गेका भारदारसम्मलाई बक्सेको दिव्योपदेश “कनेर नलेख्नू , लेख्दा नढाँट्नू !” झल्झली सम्झिँदै आफ्नै ब्रम्हको ड्रोनक्यामेराले खिचेको काइदाको श्रव्यदृश्यचित्र यहाँ पस्केर यसपालिको गाईजात्राको गर्जो टार्ने आँट गरेको छु । आगे जो मर्जी !
००
मान्ये पशुमन्त्रीजूलाई गाईजात्रा हेर्ने पाससहितको निम्तो केही दिन अघि नै मन्त्रालयमै पुगेर आयोजकले टक्य्राइसकेका थिए ।
योभन्दा पहिले दुई/ तीन पटक नै मन्त्री भैसकेका भए पनि कलाकारहरूको गाईजात्रे कार्यक्रम प्रत्यक्ष हेर्ने सौभाग्य मन्त्रीजीलाई यस अघि कहिलै जुरेको थिएन । उसमाथि आयोजक संस्थाका मूली त मन्त्रीजीका बाजेको सम्धिका नातिको मीतसालो नै परेछन् । यस्तो नजीकको हितेरीमितेरी साइनोसम्बन्ध भएका आयोजक संस्थाका हास्यकलाकारको एउटो टोलीले मन्त्रीजीको उत्पातै खातिरदारी गरेर सपरिवार सवारी भैस्यो है भन्दै कर गरेर विदा भएका थिए ।

गाईजात्रे कार्यक्रमको पहिलो दिन ५ बजे नै प्रज्ञा प्रतिष्ठान पुग्नु पर्ने । मन्त्रीजीले आफ्नी कान्छी मन्त्राणी र टीनएजर छोरीलाई अघिल्लै दिन निम्तो सुनाइसकेका थिए ।

शुक्रबारको दिन । सक्कली झोलेहरूको नक्कली बिलभर्पाईको भुक्तानीमा “श्री सचिपजी, तु. आ. का. गर्ने” तोकादेश गर्ने एकादुई काम मात्र थियो । त्यो बाहेक नियमित काम आफैँले भर्ना गरेकी पिए बाटुली बरालसँग एकछिन छिल्लिएपछि मन्त्रीजीले मुडफ्रेस भएको महशूश गरे । त्यसपछि अट्याच रेष्टरुम छिरेर निस्केपछि वीरगन्जको नामूद ठेकेदार तकदीरलाल अग्रवालसँग कानेखुसी चल्यो । ठेकेदारको बहिर्गमनपछि सचिवलाई फोन गरेर आगामी विदेश भ्रमणको सूचीमा भाइ, भतिजो, भान्जो र सालोका दशजवान साथी र तिनका गर्लफ्रेन्डहरूको नामावली थप्ने आदेश दिए ।

यतिन्जेल तीनपटक कालो चिया, चारचोटी मिल्ककफी र सातप्लेट ताजा फलफूल मन्त्रीजी र उनका पाहुनाहरूले उदरस्थ गर्न भ्याइसकेका थिए । गर्दागर्दै तीन बजेर तेह्र मिनेट गइसकेछ । चोरबाख्राको पुच्छरझैँ पिएसओ फुर्फुर गरिरहेको थियो । च्याम्बरबाट मन्त्रीजी निस्के र क्वार्टरतिर जान झण्डावाल गाडीभित्र पसे ।

मन्त्रीजी सरकारी आवासमा पुग्दा कान्छी म्याम र छोरी टिकटकमा व्यस्त रहेछन् । मन्त्रीजी पौनेबूढी स्वास्नी र सवातरुनी छोरीको मस्ताना पोजतिर कर्के नजर लाउँदै शयनकक्षको सोफामा थच्चिए एकछिन । नयाँ आइफोनकि रिङ्टोनमैयांँ चिर्बिराई । मान्ये मन्त्रीजूले आईफोनको नाइटोको हरियोमा सोल्यात्त पारेर “हेल्लो” भनेँ ।

“हजुर मुन्त्रीजु , ह्याँ प्रोग्राम स्टाट हुनै लागो , हाम्रो बोसले हजुरको वेट गरिराखिसेको छ ।” – उताको अनुरोध यता पसारो पर्‍यो ।
आफ्नी पिएको गौँथली- चिरबिर सुनेका मन्त्रीजुले गाईजात्रे बोसकी मैनाको मोहनी बोली सुनेर मख्ख मात्रै परेनन्, बरु मौका पाए त्यो मैनालाई जागिरको मुहुनी लाएर स्वकिय सचिवको कुर्सीमा सजाएरै छाड्ने योजना बुने ।

यत्तिन्जेलमा मन्त्राणी र मन्त्रीजुकी “पापाकी परी” पूरै ठीकठाक परीवरी मन्त्रीजुका मुखेन्जी मुस्कानसहित दाखिल भए ।
पहाडे काँक्रोजस्तो पिएसओ र सप्रेको उखुको लाँक्रोजस्तो ड्राइभरको साथमा मान्येमुन्त्री किसनजी आफ्नी मुरली र कोरलीलाई लिएर सरकारी गाडीमा सररर सरकारी “टीकोटालो” अकादमी उर्फ पर्ग्या पर्तिस्ठानतिर रमाना भए ।

सातदिन अघि सर्लाहीको खडेरीलाई मध्यनजर गरी भण्टाबारी टोलमा भ्यागुताको बिहेको समुद्घाटन गरी फर्केकाले होला मन्त्रीजुको सम्मानमा साँझे झरी दर्क्यो । गाईजात्रे सभाकक्ष दर्शकले भरिभराउ भैसकेको थियो । पशुमन्त्रीजु ढिलो पुगेकाले अगाडि नै पुगेका उप पर्धानमन्त्री र उनकै पार्टीका जौडेमन्त्रीजुहरूको हुलले अग्रपंक्तिको आसन ओगटिसकेका थिए । घोर्लेनाकको टुप्पोमा भुँमरी पर्न लागेको मन्त्रीजुको रीसलाई मञ्चको कलात्मक हल्ला र दर्शकदीर्घाको हुटिङ्ले सर्लक्कै निल्दियो । स्वयंसेवक र आफ्नै गार्डले फकाएपछि दोश्रो लाइनको भित्तापट्टी दुईसीट छोडेर मन्त्रीजु थच्चिए । झम्केसाँझ भएको र कार्यक्रम शुरु भईसकेकोले दर्शकदीर्घाको बत्ती बन्द हुनु स्वाभाविक थियो ।

हास्यकलाकारको एकेक टीमले एकसे एक बेजोड कला प्रस्तुत गरिरहेको थियो । बालकलाकारको टोलीले प्रस्तुत गरेको बालकमेडीको टुक्काले मन्त्रीजुको हालत पनि हाँसेर हुरुक्क हुँदैथ्यो । करीब आधीघण्टाको अवधिमा अरू पार्टीका मुन्त्रीहरूलाई छेडखानी गरेकोले उनलाई पनि खुबै स्वाद परिरहेको थियो । उनी छमहिने मन्त्री भुँडीको लुँदासमेत दु:ख्ने गरि हाँस्दै थिए । यत्तिकैमा अर्को कलाकारले मुन्त्रीजुलाई नै थला पर्ने गरी उनलाई आफ्नै पार्टीको अध्यक्षले खुस्काउन खोजेको, मल आयात र डिडिसीमा चरम भ्रष्टाचार गरेको विषयमा धुँवादार व्यङ्ग्यवाण वर्षाउन थालेपछि मन्त्रीजुलाई खपिनसक्नु भो । रीसले आँखै नहेरी मन्त्रीजु हलबाट बाहिर निस्के । पछि बल्ल होश आयो र थाहा पाए- मन्त्राणी र छोरी पनि छैनन् । पिएसओ र ड्राइभर पनि छैनन् । मन्त्रीजु अग्घोर आश्चर्य र संतापमा परे ।

रातीको समयमा आफ्ना मान्छे हराएको कुरा कसैलाई कहने र कसैले सुनिदिने अवस्था पनि थिएन । आफ्नै मोबाइलको टर्चलाइट बाल्दै मन्त्रीजु वरपर हेर्न लागे । अल्लि पर्तिर रुखको आड लागेर पिसाब फेर्न खोज्दा झलक्क ईम्बोस्ड नम्बरमा आँखा पर्‍यो -No. 420
यकिन गर्न अल्लि नजिक पुगेर नियाले- “गाडी त आफ्नै हो तर किन यसरी हल्लिरहेको छ हँ ?” – मन्त्रीजुले अँध्यारो ओढेर उभिएका रूखलाई सोधेझैँ आफैँलाई सोधे ।

झल्याँस्स सम्झिएर मन्त्राणीजीलाई फोनडायल गरे । स्वीच अफ छ, भन्यो । यसैगरी गार्डलाई, ड्राइभरलाई र छोरीलाई पनि फोन गरे । सबैको उही हालत । उनी निरुपाय भए । नि:शब्द भए । र टाउकोमा हात राखेर खुइय गर्दै भुइँमा थचक्क बसे ।

यतिन्जेल कार्यक्रम पनि सकिएछ, क्यार, हलबाट मान्छेहरू हुरुरु निस्के र हल्ला गर्न थाले । मन्त्रीजुको गाडी नं. 420 ले उज्यालो मुख लाएर सिठ्ठी बजायो र घ्यार्र गर्दै मन्त्रीजुलाई बोलायो । गाडीको ढोका खुल्यो र एउटा बर्दीले मन्त्रीलाई सलाम ठोकेर भित्र हुल्यो र फेरि सलाम ठोक्यो ।
गाडीको शिशा लाउनै नभ्याई एउटा चुल्ठेले क्यामेरा तेर्स्याउँदै प्वाक्कै सोध्यो-“मन्त्रीजुलाई आजको गाईजात्रा कस्तो लाग्यो ?” मुन्तरीजुकाे घाेक्रै सुकिसकेकाे थियाे, के जवाफ दिउन् !

०००
सिनामङ्गल, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
मातृका प्र भट्टराई
मातृका प्र भट्टराई
8 months ago

दमदार लाग्यो

Nepal Telecom ad
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
धन्य होस् भौमान् !

धन्य होस् भौमान् !

भोजराज रेग्मी ‘मुखाले’
जो आशलाग्दो उही जेठाजु

जो आशलाग्दो उही जेठाजु

भोजराज रेग्मी ‘मुखाले’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x