डा. पशुपति फुयालशीतल जल र तातो खुराक
तर यहाँ त सीधा उभिएका अहङ्कारहरू छायाँ नै खान खोज्छन् । जलले टाउको भिजाउँछ, व्यङ्ग्यले चेत भिजाउँछ- अनि प्रश्न गर्छ- “कहिले शीतल हुन्छ देश ?”

प्रा.डा. पशुपति फुयाल :
जुडशितल आयो-
टाउकोमा जल, मनमा हलचल,
तर राजनीतिज्ञको बोली अझै उस्तै तातो !
आमाको करुवाले झैँ
शीतल जल झर्छ निधारमा,
तर नेताको वाचा भने
मरुभूमिको मृगतृष्णा-
छुन खोज्दा झन् टाढा भाग्छ ।
हामी निहुरिन्छौँ- आशीर्वादका लागि,
उनीहरू निहुरिन्छन्- कुर्सीका लागि;
हाम्रो टाउकोमा जल,
उनीहरूको हातमा खेल !
जुडशितलको जल जस्तो
शुद्ध हुनुपर्ने थियो शासन,
तर यहाँ त पानीमै पनि
मिसिएको छ स्वार्थको रङ-
कुनै निलो, कुनै कालो,
कुनै अदृश्य धूलो जस्तो दलदल ।
बुबाको हातको शीतल स्पर्श
आशीषको आकाश हो,
तर मन्त्रीको हातको स्पर्श
करको करेन्ट !
“शीतल बन, शान्त बन,”
आमाको मन्द स्वर गुञ्जिन्छ,
तर मोबाइलको स्क्रीनमा
भाषणको तातो बाढी-
जुन सुनिरहँदा
कान पनि पसिनाले भिज्छ ।
हामी खेतका बोटझैँ
पानीको प्रतीक्षामा उभिएका,
उनीहरू बादलजस्ता-
गर्जन्छन् धेरै,
बरसिन्छन् कम ।
जुडशितलले सिकाउँछ-
निहुरेर मात्र शीतलता पाइन्छ;
तर यहाँ त सीधा उभिएका अहङ्कारहरू
छायाँ नै खान खोज्छन् ।
जलले टाउको भिजाउँछ,
व्यङ्ग्यले चेत भिजाउँछ-
अनि प्रश्न गर्छ-
“कहिले शीतल हुन्छ देश ?”
हामी हाँस्छौँ-
यो हाँसो आँसुको अर्को रूप हो,
जुन जुडशितलको जलसँग मिसिएर
बन्छ-
शीतल व्यथा,
तातो व्यङ्ग्य,
र मौन क्रान्तिको अङ्कुर ।
०००
२०८३/०१/०२
जुडशितल पर्व, सिरहा, मधेस प्रदेश, नेपाल ।
Subscribe
Login
0 Comments
Oldest






































