फित्काैली डटकममातापिताको स्वर्ण विवाह उत्सवमा स्रष्टा डा. शुभेच्छुका आठ कृति लोकार्पित
वरिष्ठ हास्यव्यङ्ग्य स्रष्टा एवं फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाली साहित्य तथा समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्रा.डा. वासुदेव त्रिपाठीले गर्नुभएको थियो।

काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन काठमाडौँको बानेश्वरमा एक भव्य समारोहका बीच पण्डित सूर्यनाथ लुइटेल र पुण्यमाता लुइटेलको स्वर्ण विवाह उत्सव सम्पन्न भएको छ।
लुइटेल परिवारद्वारा बानेश्वर बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित उक्त विशेष समारोहमा स्वर्ण विवाहको उल्लाससँगै स्रष्टा, समालोचक एवं प्राध्यापक डा. रमेश शुभेच्छुका आठ साहित्यिक कृतिहरूको सामूहिक लोकार्पण गरिएको छ। संयोगवश सोही दिन स्रष्टा शुभेच्छुको जन्मोत्सवसमेत परेकाले कार्यक्रम एकातिर पारिवारिक उत्सव र अर्कोतिर साहित्यिक सुगन्धको त्रिवेणी नै बनेको थियो।
वरिष्ठ हास्यव्यङ्ग्य स्रष्टा एवं फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाली साहित्य तथा समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्रा.डा. वासुदेव त्रिपाठीले गर्नुभएको थियो।
समारोहमा बानेश्वर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख डा. केदार न्यौपाने, पशुपति बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रयागराज वाशिष्ठ, रत्नराज्य माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक डा. गीता शिवाकोटी खरेल, स्रष्टा डम्बर घिमिरेलगायतका विशिष्ट व्यक्तित्वहरू विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको उक्त कार्यक्रममा लुइटेल परिवारकी जेठी बुहारी गीता सापकोटाले स्वागत मन्तव्य राख्दै आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियो।
स्वर्ण विवाह उत्सवको मुख्य आकर्षणका रूपमा रहेका बर–वधु पण्डित सूर्यमणि र पुण्यमाताले एक–अर्कालाई दुबोको माला पहिर्याइदिएपछि समारोह भावुक र हर्षोल्लासमय बनेको थियो। सो अवसरमा परिवारका सदस्यहरूले मातापिताको सम्मानमा तयार पारिएको प्रार्थना-पत्र वाचन गरी समर्पण गर्नुका साथै दोसल्ला ओढाएर उपहारसहित शुभकामना अर्पण गरेका थिए।
समारोहमा शुभकामना मन्तव्य राख्दै सूर्यमणिका भानिज उपप्रा. हरिप्रसाद काफ्लेले लुइटेल दम्पतीको पारिवारिक एवं सामाजिक योगदानको चर्चा गर्नुभएको थियो भने प्राध्यापक प्रयागराज वाशिष्ठले सुयोग्य सन्ततिले आफ्ना सुयोग्य मातापिताको सम्मानमा यस्तो भव्य कार्यक्रम आयोजना गर्नु आफैमा अनुकरणीय कार्य भएको बताउनुभयो।
त्यसैगरी डा. केदार न्यौपानेले संस्कृतका अध्येता पण्डित सूर्यमणिले आर्जन गर्नुभएको सत्कर्मकै कारण आज असल सन्तान र सुखद पारिवारिक माहोल प्राप्त भएको धारणा राख्नुभयो।
कार्यक्रमको दोस्रो चरणमा स्रष्टा डा. रमेश शुभेच्छुद्वारा लिखित आठवटा कृतिहरूको लोकार्पण गरिएको थियो। जसमा २०५७ सालमा प्रकाशित गजल सङ्ग्रह ‘आँसु नदेऊ मलाई’, २०५८ को शोक काव्य ‘हजुरबा’ र २०७२ को कविता सङ्ग्रह ‘आमा…’ को दोस्रो संस्करणका साथै नयाँ कृतिका रूपमा ‘आमा जन्मभूमिलाई’ (गीत), ‘ढुङ्गा बन्न पाए’ (गजल), ‘आफ्नो बाटो आफै खन्दै’ (गजल), ‘राधेय–कौन्तेय’ (गजलगाथा) र ‘मेरो गीत मेरै धुन’ (गजल) रहेका छन्।
यी कृतिहरू प्रमुख अतिथि त्रिपाठीलगायत मञ्चासीन व्यक्तित्वहरूले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो। लोकार्पणको क्रममा उद्घोषकले सार्वजनिक कृतिहरूबाट केही अंश वाचन गरी उपस्थित श्रोताहरूलाई कृतिको कथ्य र भावसँग साक्षात्कार गराउनुभएको थियो।
स्रष्टा डा. रमेश शुभेच्छुले आफ्नो जन्मोत्सवको अवसरमा मातापिताको स्वर्ण विवाह उत्सव र आफ्ना कृतिहरूको लोकार्पण एकैसाथ हुन पाउनुलाई जीवनकै सुखद संयोगका रूपमा व्याख्या गर्नुभयो। उहाँले उपस्थित सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि मातापिताको सम्मानमा रचनात्मक र सामाजिक कार्यहरू गर्ने सोच परिवारले बनाइरहेको जानकारी दिनुभयो।
प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले स्वर्ण विवाह उत्सवका बर–वधुलाई आशीर्वाद दिँदै लोकार्पित कृतिहरूको संक्षिप्त समीक्षा गर्नुभयो साथै डा. शुभेच्छुको बहुआयामिक व्यक्तित्वले नेपाली साहित्यमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। पण्डित सूर्यनाथ उपाध्यायले आफूलाई श्रद्धा गर्ने परिवार, ममता प्रकट गर्ने इष्टमित्र तथा कुलकुटुम्ब एवं स्नेह प्रकट गर्न उपस्थित हुनुहुने अन्य सम्पूर्ण आमन्त्रित व्यक्तित्वहरूप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो।
समारोहको समापन गर्दै सभापति नरनाथ लुइटेलले पारिवारिक उत्सवमा लुइटेल इतर प्रबुद्ध व्यक्तित्वहरूको समेत उपस्थिति हुनुले कार्यक्रमको गरिमा बढाएको चर्चा गर्नुभयो। उहाँले मातापिताप्रति अगाध श्रद्धा राखेर यस्तो भव्य कार्यक्रमको व्यवस्थापन गर्ने छोराछोरी, ज्वाइँ, नाति–नातिना लगायत सम्पूर्ण लुइटेल परिवारलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।
कार्यक्रमको सञ्चालन सूर्यनाथपुत्री देबु लुइटेलले गर्नुभएको थियो। औपचारिक सत्रको समापनपछि उपस्थित पाहुनाहरू मनोरञ्जनात्मक गायन तथा नृत्यमा रमाएका थिए भने सामूहिक तस्बिर तथा रात्रिभोजपश्चात् समारोह विसर्जन भएको थियो।
०००
भावकेशर बरालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































