साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदिकवि भानुभक्तप्रति भक्तिमाला

यही नै हुनेछ तिमीप्रतिको साँचो श्रद्धाञ्जली। जय नेपाली भाषा ! जय नेपाली साहित्य ! जय श्रम ! जय घाँसी ! जय आदिकवि भानुभक्त ! जय रम्घा !

Nepal Telecom ad

ई. रमेश थापा क्षेत्री :

हे आदिकवि भानुभक्त,
नेपाली भाषाका उज्याला दीप,
तिमी जन्मिएको दिन
आज पनि नेपाली मनमा
श्रद्धाको फूल फुलिरहन्छ।

समय बित्यो,
युग फेरियो,
सत्ता फेरिए,
व्यवस्था फेरिए,
तर फेरिएन
तिमीले बालेको ज्ञानको दियो।

तिमीले हामीलाई
केवल कविता दिएनौ,
तिमीले आत्मा दियौ,
पहिचान दियौ,
भाषाको स्वाभिमान दियौ,
र नेपाली भएर बाँच्ने गौरव दियौ।

तिमीले देखेको त्यो घाँसी,
साधारण मानिस थिए।
न कुनै राजगद्दी,
न त कुनै पद,
न कुनै शक्ति,
न त कुनै सम्पत्ति।
तर उसले एउटा कुवा खनेर
आफ्नो अस्तित्वलाई
समाजको सेवासँग जोड्यो।

त्यही दृश्यले
तिम्रो हृदयलाई छोयो,
कलमलाई जागृत गरायो,
र संसारले
घाँसीलाई पनि चिन्यो।
हे भानु,
यदि तिमीले
त्यो घाँसीलाई नदेखेको भए,
सायद हामीले
श्रमको सम्मान गर्न
यति ठूलो पाठ नै पाउने थिएनौँ।

आज पनि
हामीलाई घाँसी चाहिएको छ,
कुवा खन्ने हात चाहिएको छ,
समाजका लागि
निस्वार्थ पसिना बगाउने
मनहरू चाहिएका छन्।
आज धेरैले
झण्डा बोक्छन्,
नारा लगाउँछन्,
एक-अर्कालाई गाली गर्छन्,
तर समाजका लागि
एउटा कुवा पनि खन्दैनन्,
एउटा पुस्तक पनि लेख्दैनन्,
एउटा बालकलाई
सही शिक्षा पनि दिँदैनन्।

हे भानु,
हामीलाई
झण्डा बोक्नेभन्दा
कलम बोक्ने शक्ति देऊ।
घृणा फैलाउनेभन्दा
माया बाँड्ने भाषा देऊ।
हल्ला गर्नेभन्दा
सत्य बोल्ने साहस देऊ।

हाम्रो समाजमा
सूचनाभन्दा अफवाह धेरै छ,
ज्ञानभन्दा भ्रम धेरै छ,
कर्तव्यभन्दा अधिकारको माग धेरै छ,
आलोचनाभन्दा
आत्मसमीक्षा कम छ।
यस्तो समयमा
तिम्रो रामायणको शिक्षा,
तिम्रो सरल भाषा,
तिम्रो लोकप्रेम,
हाम्रो मार्गदर्शन बनोस्।
प्रत्येक विद्यालयमा
भानुको सुगन्ध फैलियोस्।
प्रत्येक घरमा
नेपाली भाषाको सम्मान बढोस्।
प्रत्येक बालकले
सिर्जना गर्न सिकून्।
प्रत्येक युवाले
समाज बदल्ने सपना देखून्।

हे आदिकवि,
हामीलाई यति वरदान देऊ—
हामी पदका लागि होइन,
परोपकारका लागि बाँचौँ।
हामी प्रसिद्धिका लागि होइन,
सार्थक जीवनका लागि लेखौँ।
हामी विभाजनका लागि होइन,
एकताको गीत गाउँ।
हाम्रा हातहरू
सही सूचना बाँड्ने बनून्।
हाम्रा कलमहरू
सत्यका पक्षमा उठून्।
हाम्रा विचारहरू
मानवताका पक्षमा उभिऊन्।
हाम्रा कर्महरू
आउँदा पुस्ताका लागि
प्रेरणा बनून्।

हे भानु,
तिमीले जस्तै
हामी पनि केही छोडेर जाऔँ—
धन होइन,
मानवता;
सत्ता होइन,
सदाचार;
अहङ्कार होइन,
आदर्श;

स्वार्थ होइन,
सेवाको इतिहास।

भौतिक रूपमा
तिमी हामीसँग छैनौ,
तर हरेक असार २९ मा,
हरेक नेपाली अक्षरमा,
हरेक रामायणको श्लोकमा,
हरेक सिर्जनशील मनमा,
हरेक सत्यको खोजीमा
तिमी अमर छौ।

तिम्रो प्रेरणाले
नेपाली भाषा अझ समृद्ध बनोस्।
नेपाली साहित्य अझ उन्नत बनोस्।
नेपाली समाज अझ सभ्य बनोस्।
नेपाली चेतना अझ जागृत बनोस्।
हामी सबै
आफ्नो जीवनको एउटा “कुवा” खनौँ—
कसैले ज्ञानको,
कसैले सेवाको,
कसैले इमानदारीको,
कसैले अनुसन्धानको,
कसैले न्यायको,
कसैले प्रेमको।
यही नै हुनेछ
तिमीप्रतिको साँचो श्रद्धाञ्जली।
जय नेपाली भाषा !
जय नेपाली साहित्य !
जय श्रम !
जय घाँसी !
जय आदिकवि भानुभक्त !
जय रम्घा !

०००
सुनिलस्मृति गा.पा.- ०६,
गजुल, रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x