साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार भुवनहरि सिग्देललाई आदिकवि भानुभक्त पुरस्कार अर्पण

रमा शर्माको सभापतित्व तथा साहित्यकार प्रा. मुकुन्दशरण उपाध्यायको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देललाई आदिकवि भानुभक्त पुरस्कार अर्पण गरियाे ।

Nepal Telecom ad

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१३ औँ जयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्को आयोजना तथा भानु माध्यमिक विद्यालयको सह–आयोजनामा बिहान भानु माध्यमिक विद्यालय, दरबार हाईस्कूल अगाडि रहेको नेपालकै पहिलो आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको छ ।

माननीय परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्य तथा परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा सम्पन्न समारोहमा माननीय परराष्ट्रमन्त्री तथा अध्यक्षले प्रतिमामा माल्यार्पण गर्नुभएपछि माध्यमिक विद्यालयका प्रधान अध्यापक शारदादेवी पौडेल, परिषद्का कोषाध्यक्ष शङ्करप्रसाद पाण्डे, सदस्य दिव्यचन्द्र आचार्य, साहित्यकार, समाजसेवी, बुद्धिजीवि लगायत सर्वसाधारणले भानुको प्रतिमामा माल्यार्पण गर्नुभयो ।

प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्रीले आफू पनि भानुभक्तकै जिल्ला तनहुँमा जन्मेकोमा गौरव गर्नुहुँदै २००८ सालमा स्थापित नेपाली शिक्षा परिषद्ले यसरी कार्यक्रममा निमन्त्रणा गरेकोमा खुशी प्रकट गर्नुभयो साथै आदिकविप्रति श्रद्धा अर्पण गर्नुभयो ।

अपरान्ह लेखनाथ साहित्य सदनको सभाकक्षमा परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्व तथा साहित्यकार प्रा. मुकुन्दशरण उपाध्यायको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देललाई आदिकवि भानुभक्त पुरस्कार अर्पण गरिने समारोहमा राष्ट्रिय गानपछि हिन्दु विद्यापीठ, बालकुमारीका बालबालिकाद्वारा आदिकवि विरचित कविता चपला अवला… को सुमधुर तथा आकर्षक साङ्गीतिक गायन प्रस्तुत गरियो ।

परिषद्का सदस्य डा. इन्दिरा शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएपछि छन्दसारथि रमेश खकुरेलले आदिकविप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्तको योगदानको स्मरण गर्नुभयो । सभापतिले पुरस्कृत व्यक्तित्व भुवनहरि सिग्देललाई माल्यार्पणका साथै रु.१,२५,०००/– राशिको आदिकवि भानुभक्त पुरस्कार तथा प्रमुख अतिथिज्यूले सम्मानपत्र अर्पण गर्नुभयो ।

पुरस्कृत व्यक्तित्वको परिचय कोषराज न्यौपानेले प्रस्तुत गर्नुभयो भने पुरस्कृत व्यक्तिले पुरस्कार प्राप्त भएकोमा हर्षित हुँदै आफूलाई नेपाली भाषा साहित्यको उत्थानमा थप उर्जा प्राप्त भएको बताउनुभयो । प्रमुख अतिथि मुकुन्दशरण उपाध्यायले नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्तको प्रतिमा स्थापनाका साथै उहाँको नाममा पुरस्कार स्थापना गरेर सराहनीय कार्य गरेको उल्लेख गर्नुभयो ।
कवि दिव्यचन्द्र आचार्यले भानुभक्त बारे कविता सुमधुर स्वरले प्रस्तुत गर्नुभयो ।

अन्त्यमा, सभापतिज्यूले आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै परिषद्ले २०१० सालदेखि निरन्तर रुपमा भानुजयन्ती मनाउँदै आएकोमा हाल विभिन्न संघ संस्थाले पनि भानु जयन्ती मनाउन थालेकोमा खुशी प्रकट गर्नुभयो । उहाँले भानु जयन्ती मनाउने परम्पराको शुरुवात गरेको परिषद्ले २०१६ सालमा भानुभक्तको पहिलो प्रतिमा स्थापना गरेको उल्लेख गर्दै २०५१ सालदेखि नियमित रूपमा नेपाली साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वलाई आदिकवि भानुभक्त पुरस्कार अर्पण गर्ने गरेको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन परिषद्का सदस्य कवि प्रह्लाद पोख्रेलले गर्नुभएको थियो ।

०००
शब्दपथकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x