भोजराज रेग्मी ‘मुखाले’चङ्खे र नक्कली
नक्कलीका ब्वाइफ्रेण्डहरू आ–आफ्ना हवेलीबाटै चङ्खे नक्कली शिखरवार्ताको लाइभ हेरिरहेका थिए । रीसले चङ्खेको टोपीले छोपेको टुप्पी फिरिरी घुम्न थाल्यो । अन्तिमको नाके बुँदाले त झन् उग्रे बनायो ।

भोजराज रेग्मी ‘मुखाले’ :
बाह्रमासे गाईजात्राको रङ्गमन्चमा चङ्खे– बाउको ह्याकुलो र नक्कली आमाको नाडी छाम्ने गृहकार्य बुझाएर भुराहरूले भ्याएपछि वारिपारिका बिजुवा र धामीझाँक्रीहरूले ढ्याङ्ग्रो बजाउने र सेउलो हल्लाएर कुलपितृ मन्साउने काम सम्पन्न भयो ।
कथित इष्टमित्र, शुभचिन्तक र छिमेकीहरू पनि आ–आफ्ना स्वार्थ अनुसारको तानातानमा लागे । कोही चङ्खे र नक्कलीको पुनर्मिलन होस् भनेर भाकल गर्न थाले भने कोही चैँ यिनलाई कुनै पनि हालतमा मिल्नै दिनुहुँदैन भन्दै प्रभु पुकार्न थाले ।
भाकलमा पल्किएका प्रभुले निस्तो पुकारतिर नलागेर भाकलगुटकै पक्षमा लाग्ने निर्णय गरे । चङ्खे र नक्कलीका भुराभुरीहरूको दौडादौड फेरि शुरू भो । कानेखुसीहरूको चहलपहल बढ्यो ।
एकसाँझ आएको अघोरीबाबाले चामल मन्त्रेर चङ्खेलाई देको थ्यो, नक्कलीलाई लागेको ननिदाउने बेथा चड्खेलाई सरक्कै सर्यो । चारैतिरको चेपुवाले हो कि, नाइटोनिर चस्स चस्स दुख्न पनि थाल्यो । चङ्खेले सपना पनि अनपामरीका देखिरहने । चङ्खेको अन्तरात्माले सजग गरायो अहिलेसम्म त फुकफाक र ठोकठाकले चलेकै छ ।
कथंकदाचित् नक्कली आफ्नो लिकमा आइन् भने मेरो सपनाको रेल दुर्घटना हुन्छ । त्यो बेला राम राम !! भन्ने भन्दा खुच्चिङ्ग !! भन्नेहरूकै जमात बढ्ला जस्तो भइसक्यो । पछि हट् चङ्खे, पछि हट् । “एकदिन बिहानै चङ््खेले बिर्सेका देवीदेउताहरू सम्झ्यो । कहिलै नगरेको चण्डीपाठ पनि गर्यो । सोह्र वर्षअघि भात खाँदा पनि घोकेको हनुमानचालिसा पनि एक राउण्ड पाठ गर्यो । अनि भुराभुरीलाई बोलाएर ‘तिमेर्की आमासँग वार्ता गरेर मेलमिलाप गर्न म राजी छु ।’ भनेर तौलियाले मुख पुछ्यो ।
“चखेबाको जय होस् ! आँगनमा भुराभुरीहरूसँग भाँडाकुटी खेल्दै गरेको केटोले जुरूक्क उठेर मुष्ठी उचाल्यो ।
लैनचौरे लाहुरेसँग इत्तरिदै आइफोनमा बोल्दैरैछे नक्कली, देखिहालिछ । “उत्ताउलो मोराको ज्यान यता, हंस चैँ उतै छ । चूप लाग् बज्जे कौशीबाट नक्कलीले केटोलाई हप्काई । केटो लुरूक्क परेर ट्वाइलेट पस्यो ।
“लोडरे मोरो बल्ल लाइनमा आयो । चङ्खेको हवेलीतिर हेरेर नक्कलीले नाकको पोरा फुलाई । ग्रुपच्याटमा रैछे क्यारे, नक्कली “लगे रहो, डार्लिङ जित्ते रहो मेरी जान् मने बधाइ साथै शुभकामना छ है पियारी कामरेड । ब्वाइफ्रेण्डहरू पनि खप्नु खुशी भएनन् ।
नक्कलीले ब्वाइफ्रेण्डहरूलाई भिडियोकलमै मुख चुच्चो पारी अनि थ्याङ्क्यु । भनेर खितितिती गरेर हाँसी ।
नक्कलीकी काइँली छोरी गड्यामकुमारी अझै बुरूकबुरूक उफ्रिराकी छ । चखेका अगुवा भुराले वार्ताको टेबुल तयार पारे । उता, नक्कलीका तर्फबाट शर्तको मान्द्रो ओच्छ्याइयो ।
– ब्वाइफ्रेण्डहरूसँगको उठबसलाई निःशर्त मान्यता दिनु पर्ने ।
– लाहुरेसँगको लसपसलाई लाइसेन्स प्रदान गर्नॅ पर्ने ।
– अब आयन्दा चङ्खेको पोशाक नक्कलीले लाउने, नक्कलीको म्याक्सी र लेहेङ्गा चङ्खेले लाउनु पर्ने ।
– चङ्खेले नक्कलीको विरुद्ध चालेका कदमहरू सर्लक्कै फिर्ता लिनु पर्ने ।
– आजसम्म नक्कलीले गरेका सबै कर्तूतहरू यसै मेलमिलापको धारा अनुसार चड्खेले सहनु पर्ने ।
– चङ्खेले पाई आएको सुविधाहरू नक्कलीलाई निः शर्त हस्तान्तरण गर्नॅ पर्ने ।
– अब उप्रान्त नक्कलीको कुरा काटेर गुनासो, उजुरी कहींकतै गर्न नपाइने ।
– चखेको थुतुनोले नक्कलीको चित्त दुखाएकोले नक्कलीको अनुमतीबिना बोल्न नपाइने ।
– चङ्खेको चुच्चे नाक देख्दै रीसउठ्दो भएकोले कि थिचेर थेप्चो बनाउने कि ताछेर चेप्टो बनाउनु पर्ने ।
सम्झौताका सर्तहरू देखेपछी चखेको रीसको नेप्से ह्वात्तै बढ्यो । नक्कलीका ब्वाइफ्रेण्डहरू आ–आफ्ना हवेलीबाटै चङ्खे नक्कली शिखरवार्ताको लाइभ हेरिरहेका थिए । रीसले चङ्खेको टोपीले छोपेको टुप्पी फिरिरी घुम्न थाल्यो । अन्तिमको नाके बुँदाले त झन् उग्रे बनायो ।
चङ्खेले हत्त न पत्त नाक छाम्दा हातमा ल्यास्स लागेजस्तो भो । आँखाले नाकलाई सोध्यो । “नक्कली नगृता” ठुस्स गन्हायो । बहुराष्ट्रिय चमेरोको सुली रहेछ ।
०००
२०७८/२/२४
जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट (२०८२)
Subscribe
Login
0 Comments
Oldest






































