साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेकेण्ड ह्याण्ड

“तिमीलाई मिल्ने केटी त बढुवा भएर आइमाई भइसकी । अब त केटी हैन, तिमीलाई त घर सम्हाल्ने आइमाईको खाँचो छ, बुझ्यौ ?”

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

“भाइ ! भिनाजु रोगी हुनुहुन्छ, देखेकै छस् । मलाई खेतीपाती र वस्तुभाउ सम्हाल्दै भ्याइनभ्याई छ । छोरीहरू त एक डोकै भए पनि सप्पै राम्रा र खाइलादा भकाले एकेक वटा लोभी आए, टप टप टिपे लगे । सजिलै भो । यो पिउसाको पीरले पो मलाई गालिसक्यो । यसो एउटा जागिरमा पनि झुण्डिई हाल्यो । आफ्नी स्वास्नी पालिहाल्छ । अब त बूढो हुन पनि आँटिसक्यो । यो लिखुरे भान्जोलाई एउटी राम्री जन्तर लाइदिनु पर्‍यो । लुन भाइ, अल्लि जाँगर लाएर खोज्‌– खोज् !”

आ… ! दिदी, तपाईंका नाकनिके छोरालाई सक्तिनँ म केटी खोज्न । कतै डल्ली भई भन्या छन् । कतै खल्ली रैछे भन्या छन् । कतै काली त कतै सेती भन्या छन् । कतै कम पढेकी, कतै धेर पढेकी रैछे, मलाई हेप्छे भन्छन् । कतै स्याउली जस्तै, कतै उत्ताउली जस्तै भन्याछन् । हुनेखानेको देखाउन लग्यो, यस्ता धनीमानीका घरमा मानमनितो गर्दैनन् भन्छन् । हुँदा खानेकामा लग्यो, ससुराली जाँदा मीठोमसिनो पनि आफैले बोकेर जानुपर्ला जस्तो अरे ! यस्ता नमूना लोग्नेमान्छे त यो दुनियाँमा हत्पती अन्त भेटिदैनन् पनि होला ! यिनका केटी खोज्न थाल्या बेलाँ भर्ना भाको भए म ऐलेसम्म केजाती हो सकिवरी डाक्टर भैसक्थेँ । एकचोटी त तपाईंकै छोरीज्वाइँले भाँजो हालेर हुन दिएनन् । भो म सक्तिनँ अब । मैले हर्दा बोलेँ ।”

मैले आफ्नी दिदीलाई त्यस्तो निर्मम जवाफ दिएर हिँडेको अस्ति जस्तै लाग्छ तर बीस वर्ष भइसकेछ ।
भिनाजु पहिलै बित्नु भो, दिदी परार । इम्प्रेसन र डिप्रेसनको चक्करले भान्जी भनाउँदोको जागिर पनि टुट्यो । पेवादाइजो भनेजति पाइएन भनेर भान्जाका दिदीबैनीका खालले पनि मारीमेटी गरेर आउनै छाडे । तिहारमा पनि सम्झिन छाडेछन् । नजिकका दाजुभाइ र गाउँले पनि अक्कडो र अपुत्रो भनेर वास्ताव्यास्ता गर्दैनन् । घरको दैलो खोल्ने र लाइदिने पनि कोही भएनन् ।

पैँतालीस वर्षे पाङ्दुरे भान्जाको एक्कासी माया लागेर आयो मलाई । उनको घर र मेरो घर पैदल आधा घण्टाको दूरीमा । लकडाउन भए पनि शहर हैन, गाउँ नै हो भनेर म एकदिन दिउँसो चोरबाटो समातेर भान्जाको घर गएँ । ऊ दिउँसै गाँजा तानेर बस्या रैछन् । मलाई देख्ने बित्तिकै क्वाँक्वाँ रून थाले । मैले पनि मन थाम्न सकिनँ । अङ्गालो हालेर एकछिन दुवैजना रोयौँ । आँसु थामिएपछि छ्याङ्ग भो ।

“अब यसरी सधैँ चल्दैन भान्जा ।”
“के गर्नॅ त मैले अब ?” भान्जाको रून्चे स्वर निस्क्यो ।
“बिहे गर्नैपर्छ नि !” पुरानै कुरोको पोको फुकाएँ मैले ।
“मेरो भाग्यमै नभाको कुरो, अब झन् के हुन्थ्यो ?” उनी तर्किन खोजे ।
“तिमी अक्कडाको डरले तिम्रै भाग्य बस्न नसकेको हो । अझै केही बिग्रेको छैन, गरीखाने खेतबारी छँदैछ । लोग्नेमान्छे रोगले नच्यापुन्जेल बूढो भैहाल्दैन । भनेको मान्छौ भने अझै उमेर गाको छैन ।” भान्जाको मनको ढुकुरलाई पासो थापेँ मैले ।

पैलोपटक हिमाल देखेको पर्यटका जस्तै मुसुक्क हाँसे उनी, म चैँ पग्लिएँ घाम देखेर ।
त्यो रात म त्यहीँ बसेँ । फर्‍याकफुरूक गरेर भान्सा पनि उनैले तयार गरे । त्यतिन्जेल मैले पनि एकादुई ठाउँमा फोन गर्न भ्याएँ । भान्साको मेलो सकेर हामी कामकुरोतिर लाग्यौँ ।
“अनि केटीचैं कहाँकी नि ? मामा ।”
“तिमीलाई मिल्ने केटी त बढुवा भएर आइमाई भइसकी । अब त केटी हैन, तिमीलाई त घर सम्हाल्ने आइमाईको खाँचो छ, बुझ्यौ ?”
“मान्यौ भने तिम्रो जिन्दगी बन्छ, नत्र उही हो । बाङ्गालाई तताएरै सोझ्याउनु पर्छ भन्ने मैले लोहारेसँग सिकेको थिएँ ।”
“मामाले जे भने पनि मान्छु म ।”

सोझ्याएरै ठाउँ मैले भने– “यो फोटो हेर त ।” फेसबुकमा एउटीको फोटो देखाएँ ।
“हैन, यिनलाई त मैले पैले पनि देखे जस्तो लाग्छ त ।” भान्जाले घुटुक्क थुक निलेको चाल पाएँ मैले ।
“मन पर्‍यो कि परेन ? पैले त्यो चैँ भनन ।” मैले उनको पुच्छर निमोठेँ ।
“मन परेरै त भनेको नि । को हुन् त यिनी ? भन्नू न त भान्जा तातिएको मलाई मन पर्‍यो ।
“हो, बल्ल तिमी ठाउँमा आयौ ।” तातेको फलाम पिटेँ मैले ।
“यो मान्छे मेरी जेठीसासूकी भान्जी हो, तिमीलाई पैले देखाको । मान्छे त राम्री हो नि, तिम्रा आँखामा फुलो परेर नराम्री देख्यौ त्यो बेला !”
“बिहे भैसक्यो होला नि त ?”
“बिहे भाको हो तर लोग्ने मुर्दारले हेला गरेर नि !”
“ए !”

“अनि, बिजोग भएर माइतीमै रैछे । दाजुले बस बिसौनीमा पानपसल खोल्देको रैछ । एउटा दलालको फन्दामा परेर झन्नैले इण्डिया पुगिन छ । कसोकसो उम्केर आइछ । अहिले उसैको मामाकाँ सिलाइबुनाईको काम गरेर बसेकी छ । मैले पनि उसको आनीबानी थापाको छु, शङ्का फिटिक्कै गर्नॅपर्दैन ।”
“बूढी भैसकी होली ?”
“तिमीभन्दा दुईचार वर्ष कान्छी नै होली । आइमाई महिनावारी हुन्जेल तरूनी नै हुन्छन् । अब यसपाली बिहे गरे, आघौँ बाउ भैहाल्छौ नि !”
“उसले चैँ मान्छे त मामा ?”
“त्यो कुराको टेन्सन नलेउन, म मनाइहाल्छु नि ।”
“खै !”

“अब पनि खै र खुई गर्‍यौ भने म पनि फर्केर आउँदिन ।
“लकडाउन पो खै कैले खुल्ने हो पो भन्या त !”
“खुल्ला नि त ! यो खुल्ने बित्तिकै कामकुरो छिनिहाल्नु पर्छ, बुझ्यौ ?”

“बरू, अम्मलसम्मल चैँ छोडी हाल है भोलिदेखि नै । अँ, अनि सफासुग्घर भएर बस्ने गर । यो पाराले हुँदैन ।”
“हस् मामा ।” भान्जा फेरि निर्दोष बालक भए ।

बाङ्गा भान्जालाई यसरी तताएर पिटेर कोदाली बनाएँ, अब उनको जिन्दगी पक्कै आवाद हुन्छ ।

०००
२०७७/०२/०३ शनिवार ।
जङ्गबहादुरकाे फ्रेन्डरिक्वेस्ट (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x