हाेमनाथ घिमिरेको भन्छ तिम्रो जय !
ढोकासम्म कुनै नहुन् दल यहाँ भन्दैछ सारा जन । धोकामात्र दियौ हिजो कति यहाँ गर्छन् अरे चिन्तन । "आँफै छैन यहाँ सुरक्षित भने को भन्छ तिम्रो जय" ! आशङ्का किन छन् सबैतिर यहाँ बढ्दैछ झन् शंसय !

होमनाथ घिमिरे :
छैनौँ दास कदापि मानिस यहाँ आत्मा स्वयं बोल्दछ !
सम्झ्यो; कर्तुत राजनीति दलको छाती सधैँ पोल्दछ !
भन्छौ चित्त बुझेन कत्ति मनमा सङ्कोच राख्छौ कति !
गर्छौ काम उही अझै अबुझ झैँ सुध्रेन तिम्रो मति !१।
भुत्तेधार समाजवाद अहिले खोक्रो सबै देखियो ।
पत्रेझार छ साम्यवाद पहिले बोक्रो भयो फालियो !
आफ्नै स्वार्थ लिएर शासन हिजो सत्ता बन्यो लाजको !
आए आज युवा यहाँ सडकमा विद्रोह हो वादको !२।
“छैनौ बन्धनमा विकल्प नहुँदा चल्थ्यो हिजो धार यो !
हैनौँ दास सँधै कदापि यसरी बोक्नू अझै भार हो ” !
सारा आज बुझे बन्यो दल नयाँ जानेर बेकार यो !
भन्दैछन् जनता यहाँ विमतिमा सम्पूर्ण धिक्कार हो !३।
गर्थे जो दलको प्रशिक्षण हिजो छैनन् कुनै ती गए !
छेपारो जसरी यहाँ दिनदिनै झन् रङ्ग फेर्ने भए ।
खोज्छौ बाँध्न तिमी सदैव जनता बाँडेर आशा सब !
दिन्नन् भोट किमार्थ व्यर्थ सपना ; स्वीकार छैनन् अब !४।
कोही चिन्तन फासिवादतिरका सामन्तवादी पनि !
कोही छन् अधिनायकै दल यहाँ विस्तारवादी अनि ।
कोही भन्छ उदारवाद अबको साम्राज्यवादी कति !
सत्तावाद सबै भए गजबले खाए अघाए जति !५।
देख्दैनौ दल राजनीति अहिले विश्वास बोक्छौ कति !
लेख्दैनौ छल राजनीति अहिले सिद्धान्त घोक्छौ कति !
राजाले जसरी हिजो मुलुकको दायित्व सुम्पे जब,
के के कर्म भयो यहाँ र गतिलो सम्मान ठोक्छौ कति !६।
ढोकासम्म कुनै नहुन् दल यहाँ भन्दैछ सारा जन ।
धोकामात्र दियौ हिजो कति यहाँ गर्छन् अरे चिन्तन ।
“आँफै छैन यहाँ सुरक्षित भने को भन्छ तिम्रो जय” !
आशङ्का किन छन् सबैतिर यहाँ बढ्दैछ झन् शंसय !७।
०००
भरतपुर चितवन
११ पौष, २०८२
Subscribe
Login
0 Comments
Oldest








































