चेवनचन्द्र बस्नेतछिः मेरा बा
ती तीता क्षणहरूलाई, र ती बाका तिखा वाणहरूलाई, जो म भित्र कहिल्यै ‘बा’ हुन सकेनन् धिक्कार छ, मरणोपरान्त पनि बा हुन नसकेका बालाई ।

चेवन बस्नेत ठूलाघरे :
मेरा बा मक्कार हुन्, धिक्कार हुन्
सिँढीमा फालिएका खकार हुन्
जो कहिल्यै उदाउँदो घाम बनेनन्,
मेरो अँध्यारो कोठामा पस्ने बाटो बनेनन्।
तिनी त केवल एक धुमिल चित्र हुन्,
जसलाई मैले कहिल्यै पूरा गर्न सकिनँ,
र जसले मलाई कहिल्यै पढ्न चाहेनन् ।
उनी त समाजका तिरस्कार हुन्
परिवारका व्यभिचार हुन् ।
बा: एउटा यस्तो शब्द,
जुन मेरो जिब्रोमा सधैँ तीतो भएर बस्यो ।
उनका पाइलाहरू मेरो बाटोमा त थिए,
तर मलाई अगाडि बढाउने सहारा बनेनन्,
बरु मेरो गन्तव्यलाई छेक्ने पर्खाल बने ।
म धिक्कार गर्छु त्यो सम्बन्धलाई,
जहाँ रगतको साइनो त छ,
तर आत्मीयताको रङ छैन ।
जहाँ प्रेम हुनुपर्ने थियो,
त्यहाँ केवल अपेक्षाको बोझ मात्र छ
र जहाँ बुझाइ हुनुपर्ने थियो,
त्यहाँ मौनताको कठोर पर्खाल मात्र छ ।
धिक्कार छ त्यो बीजलाई,
जसबाट मेरो उत्पत्ति भयो,
धिक्कार छ त्यो संस्कारलाई,
जसले उनलाई ‘बा’ भन्न सिकायो ।
उनी त केवल एउटा भग्नावशेष हुन्,
जसले न त कहिल्यै आश्रय दिए,
न त कहिल्यै प्रकाशको बाटो देखाए ।
तिनै बा हुन् जसले मेरो मृत्यु हैन
तड्पाउने साङ्लो बुनेर
कहिल्यै न खुल्ने गरी चाबी लगाए ।
आज म ती बालाई कप्दै छु, सराप्दै छु
ती यादहरूलाई मेटाउँदै छु,
जुन म भित्र एउटा घाउ बनेर बसेका छन् ।
मेरा बा भन्न लायकको नाम होइनन्,
बरु मेरो अस्मितामाथि राखिएको
एउटा कालो दाग हुन् ।
उनको अस्तित्व एउटा यस्तो घाउ हो,
जुन कहिल्यै नसुक्ने र सधैँ पिप बगिरहने
पिलो हो, खिल हो ।
हो, म उनलाई सम्झिनुलाई नै अपमान ठान्छु,
र उनको रगत मेरो नसामा बग्नुलाई
म एउटा दुर्भाग्य मान्छु ।
साँच्चै उनी मक्कार हुन्,
किनकि उनी भित्रैबाट मरिसकेका
नैतिकता, प्रेम र
मानवीयताको हिसाब
गुमाइसकेका
एउटा जिउँदो लास हुन्,
जसलाई जलाउन, अब मेरो घृणा पनि पुग्दैन।
सपनाको चित्कार पनि पुग्दैन ।
र पछाडि फर्किएका
मेरा हात र खुट्टा पनि पुग्दैनन् ।
हो, मेरा बा मक्कार हुन्, अन्धकार हुन्
मेरो जीवनको अँध्यारो अध्याय हुन्,
जसलाई नपढे पनि हुन्थ्यो,
जसलाई नलेखे पनि हुन्थ्यो ।
इतिहासको पानाबाट
फालिदिए पनि हुन्थ्यो ।
म धिक्कार्छु ती पापी सोचलाई,
ती तीता क्षणहरूलाई,
र ती बाका तिखा वाणहरूलाई,
जो म भित्र कहिल्यै ‘बा’ हुन सकेनन्
धिक्कार छ, मरणोपरान्त पनि
बा हुन नसकेका बालाई ।
कुहिएर गनाइरहेका
सिनो जस्तै फ्यातफ्यात
भुईँमा खसिरहेका बालाई ।
०००
धर्मदेवी न.पा. ९, पुपाँगु, सङ्खुवासभा
२०८३।०४।०१, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































