चेवनचन्द्र बस्नेतबुबाआमाका अनुभव सिकौँ
न ठानौँ वृद्धा यी, महल घरका, दुर्जन हठ । तिनैले सिर्जेथे, सकुल रहने, मन्दिर मठ ।। जगत्का ऊर्जा यी, सब जन मिली, आदर गरौँ । बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।
चेवनचन्द्र बस्नेत ठुलाघरे :
सुनौँला बस्तीका, सहर घरका, वृद्ध गुनिला ।
उनैका इच्छामा, मुखरित हुँदा, सिर्जित कला ।।
ब्युँताए जोगाए, अब मगजले, दुर्बिन खिपौँ ।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।१।।
बुबाले वर्षामा, अति रुझिभिजी, आर्जन गरे ।
हजारौँ पीडामा, नयन न रुझी, तागत भरे ।।
तपस्वी वृद्धाका, सिप गुण सुनी, तैरिन सिकौँ ।।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।२।।
परेरै भोगेरै, जब सब कुरा, जान्दछ भला ।
छ मान्छे बस्तीको, नव सृजनको, स्वर्णिम कला ।।
यिनै ती द्यौताका, प्रवचन मिठा, धारण गरौँ ।।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।३।।
न ठानौँ वृद्धा यी, महल घरका, दुर्जन हठ ।
तिनैले सिर्जेथे, सकुल रहने, मन्दिर मठ ।।
जगत्का ऊर्जा यी, सब जन मिली, आदर गरौँ ।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।४।।
न झर्कौँ बाबाका, वचन कसिला, देखिन गए ।
पचासौँ वासन्ती, मगमग रहे, उर्वर भए ।।
तिनैका ऊर्जा झन्, हतपत टिपी, सञ्चित गरौँ ।
बुबाका आमाका, अनुभव सिकी, सक्षम बनौँ ।।५।।
०००
धर्मदेवी नपा. ९, पुपाँगु, सङ्खुवासभा
हाल : काठमाडौँ
२०८३।०४।१९
Subscribe
Login
0 Comments
Oldest







































