हाेमनाथ घिमिरेहाँसो !
हाँस्छन् मूर्ति समस्त देवल जहाँ देखेर ढोँगी बरु । भोग्दै व्यङ्ग तथा यथार्थ घटना संसार यो बाँच्दछ ! हेर्दै सौम्य धरा अहा प्रकृतिमा स्रष्टा स्वयं हाँस्दछ ।

हाेमनाथ घिमिरे :
छानाे हाँस्छ बलिन्द्र अश्रु दहमा बर्सादको रातमा ।
मानो हाँस्छ अभावका कहरमा सामर्थ्यको घातमा
भित्तो हाँस्छ बनौट रुग्ण घरको चर्केर गाह्रो जब ।
रित्तो हाँस्छ अघोर क्रन्दन सधैँ दर्केर पीडा सब ।
हाँस्यो हात यहाँ विना इलमका हाँस्छन् दुबै पाखुरा ।
हाँस्यो गाउँ समाज देश दुनियाँ हाँस्छन् हिमाली धरा ।
बाँझो खेत सदैव हाँस्छ मरुझैँ ढाकेर झाडी अब ।
हाँस्यो फाँट गरा विना श्रम हुँदा छैनन् कुनै उत्सव ।
ऐना हाँस्छ मुहार देख्छ धमिलो आयो बुढ्यौलीपन ।
हाँस्छन् वस्त्र; शरीर छैन कपडा सर्वाङ्ग नाङ्गो तन ।
जुत्ता हाँस्छ फुटेर रक्त बहँदा लाचार गोडाहरू ।
गोजी हाँस्छ सदैव रिक्त छ कठै हाँस्छन् भिखारी बरु !
हाँस्यो कानुनका किताब अहिले देखेर दोषी खल ।
हाँस्यो तर्क सुनेर विज्ञ जनको ढोँगी बिहोसी दल ।
हाँस्दैछन् जनता हरेक दलमा देखेर लोभीपन ।
हाँस्दैछन् दुनियाँ प्रपञ्च छलका भेटेर स्वार्थी जन ।
सीमा हाँस्छ हरेक रात कसरी सर्दैछ आँठो अब ।
पुर्खाका बलिदान रक्त पसिना हाँस्दैछ त्यो गौरव ।
हाँस्दैछन् इतिहास राष्ट्र गरिमा बेचेर खाएपछि ।
नेपाली जन देख्छ; हाँस्छ दुनियाँ आस्था गुमाएपछि ।
हाँस्छन् न्याय; निसाफ छैन अहिले निर्लज्ज दोषीहरू।
हाँस्छन् मूर्ति समस्त देवल जहाँ देखेर ढोँगी बरु ।
भोग्दै व्यङ्ग तथा यथार्थ घटना संसार यो बाँच्दछ !
हेर्दै सौम्य धरा अहा प्रकृतिमा स्रष्टा स्वयं हाँस्दछ !
०००
चितवन
असार १, २०८२
Subscribe
Login
0 Comments
Oldest








































