चिरञ्जीवी दाहालजिब्रो
पचास ग्रामको छुसी, सयौँ किलो भए सरी नहिँड्नु धाक लाउँदै, म नाइके हुँ झैँ गरी नगर्नु काइते कुरा, निकै चलाक सम्झदै थुतेर फ्याँकिदिन्छु बुझ्, कुरा नकाट्नु रन्कँदै ।

चिरञ्जीवी दाहाल :
तँ पापको मुहान होस्, तँ युद्ध सूत्रपात होस्
लुटेर खान खोज्दछस्,अगस्तिको तँ हात होस्
मिठासमा रमाउने, महान खञ्चुवा बनिस्
नदी र रामसारको, अजङ्ग जीव नै बनिस्
शरीरको तँ शत्रु होस्, बसेर मुख्य द्वारमा
अभक्ष्य भक्ष्य निल्दछस्, सँधै शरीर मारमा
तँ ढाँट्न छल्न जान्दछस्,असभ्य बन्न सक्दछस्
फटाहको तँ नाइके, न सत्य बोल्न सक्दछस्
छुरा सरी तँ बन्दछस्, प्रहार हुन्न भन्दछस्
अनन्त जीभ घाइते, स्वयं तँ फेरि गन्दछस्
इमानदार दन्तको, बलिष्ठ साथ पाउँछस्
तँ सन्किएर तन्किँदै र नाक तर्फ धाउँछस्
निकै वरिष्ठ सम्झदै, तँ मुख्य अङ्ग मान्दछस्
महत्त्वपूर्ण अन्य छन्, तँ श्रेष्ठ मैँ हुँ ठान्दछस्
तँ पेटको हली न होस्, नखोक्नु चम्कदै अझै
हुँदैन गर्नु जीभले, घमण्ड बेसरी सधैँ
पचास ग्रामको छुसी, सयौँ किलो भए सरी
नहिँड्नु धाक लाउँदै, म नाइके हुँ झैँ गरी
नगर्नु काइते कुरा, निकै चलाक सम्झदै
थुतेर फ्याँकिदिन्छु बुझ्, कुरा नकाट्नु रन्कँदै ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































