साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्ञानको उल्टी

यसरी उल्टी गर्दै जाँदा एक दिन उल्टी रोक्नु पर्ने भयो र उल्टी रोक्ने औषधिको अभाव भयो भने चाहिँ वित्यास पर्न सक्छ । तर जेसुकै होस् एक थुप्रो उल्टी फेरि गरियो !

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

मेरो एकजना छिमेकी काका, जो आफ्नै गाउँमा सानोतिनो व्यापार व्यवसाय गर्दै थिए, अचानक पसलको सटर बन्द देखियो, उनी हराए । उनी एक हप्तासम्म कतैतिर पनि देखिएनन् । पछि बुझ्दा थाहा भयो यही हप्ताभित्रै उनी “ स्वामी ज्ञान लोकेश्वर करुणामय महाराज ” बनेछन् । एक हप्तामा यति महान ज्ञानी बनेपछि के लागि दु:ख गर्नु पर्यो ? विदेश जानलाई व्यापारिक अनुभव चाहिँदैन, राजनीतिको माथिल्लो तहसम्म पुग्न न पढाइ चाहिन्छ न कुनै अनुभव ! न त फेसबुकमा ज्ञानको उल्टी गर्न अनुभव चाहिन्छ ! आखिर हामी नेपालीले गर्ने भनेकै यिनै तीन कुरा हुन् , कि विदेश छिर्ने कि राजनीतिको तातो झोला भिर्ने ! कि त फेसबुकमा रुमलिने ! तर पनि यी दुई काम गर्न त्यति सहज छैन । विदेश जान रिन पाउनु पर्यो राजनीति गर्न दिन आउनु पर्यो । सबभन्दा सहज भनेकै फेसबुकमा ज्ञानको उल्टी गर्नु हो ।

एक हप्तामा यति सजिलै स्वामी हुन सकिन्छ त्यो मौका कस्ले छोड्छ ! आजभोलि फेसबुकमा काकाका लाखौँ फलोअर छन् ‌ । उनले त्यही फेसबुक मार्फत ज्ञानको उल्टी गर्छन् र समय कटाउँछन् । यसैबीच गाउँका अन्य केही स्वनामधन्य व्यक्तित्वहरू मध्ये कोही फेसबुक चलाएकै भरमा धुरन्धर ज्योतिष बने । माता, पिता बनेर पसल चलाउनेहरू सय मात्र होइन, हजारौँको संख्यामा पुगिसकेका छन् । मेरो विचारमा फेसबुकको सुविधा नहुँदो हो त माता पिताका पसल रातारात मालामाल हुने थिएनन् । समाजमा कति मान्छेहरू हेर्दाहेर्दै समाजशास्त्री बने र समाज उत्थानका लागि रातोदिन आफ्नो महत्वपूर्ण समय खर्च गरिरहेका छन् । कति राजनीतिक विश्लेषक बने, कति त लगभग सबैजसो विषयको विज्ञ बनेर देशको सेवा गरिरहेका छन् । पण्डित, डाक्टर, इन्जिनियर मात्र होइन, वर्तमानमा निकै लोकप्रिय फेसबुकका माध्यमबाट केही दिनको अनुभव पश्चात् नै धेरै मान्छेहरूले सगरमाथाको सफल आरोहण गरेको सुन्न पाइन्छ । समयले स्वीकार गरिसकेको छ, उल्लेख गरिएका सबैको आधार शिविर त्यही फेसबुक हो ।

उसो त आजभोलि फेसबुकलाई साँच्चिकै ज्ञानको उल्टी गर्ने सुरक्षित स्थानमा परिणत गरिएको छ । टन्न खानुस् पिउनुस् बडेमानको भुँडी बनाउनुस् तर चिन्ता फिटिक्कै मान्नुपर्दैन । जसरी हसुरे पनि न पेट खराब हुन्छ , न पखाला लाग्छ । त्यसलाई पचाउने शक्तिशाली माध्यमका रूपमा देखापरेको छ फेसबुके “ज्ञानको उल्टी ” । दिनभरी खायो साँझ एकपटक फेसबुक खोलेर उल्टी गरिदियो पेट सफा भैहाल्छ ।

ज्ञान भन्ने कुरा जति बाँड्न सक्यो उति मन पेट हलुका हुन्छ । ज्ञान बाँड्दा अजीर्ण हुँदैन । चिल्लो, पिरो, तिखो, अपाच्य वस्तु हो भन्ने जान्दाजान्दै पनि मनमा शंसय लिनु पर्दैन । जे जसो भए पनि अन्त्यमा ज्ञानको उल्टी गरिदियो, सब ठिकठाक । यतिमात्र होइन अनेक धर्म शास्त्रका ग्रन्थहरू पढ्न त परै जाओस् ती ग्रन्थहरू छुन पनि पर्दैन, यसै ज्ञाता बन्न सकिने गरी प्रविधिको विकास जो गरिएको छ ।

रामायण, महाभारत, गीता, कुरान, बाइबल, त्रिपिटकलाई पढ्दा पढ्दै चन्दन बनाउनेहरूले बरू ज्ञान बाँड्न नसक्लान् तर फेसबुकको खेती गर्नेले भने यो चलाउन थालेको पहिलो दिनबाट नै ज्ञान बाँड्न सक्ने क्षमता विकास गरिसकेका हुन्छन् । यहाँ फेसबुक चलाउन मात्र जान्नुपर्छ , विज्ञता चाहिँदैन राजनीति शास्त्र, न्याय शास्त्र र कृषि शास्त्र, धर्म शास्त्र, स्वास्थ्य र सामाजिक शास्त्रका विषयमा मजाले उल्टी गर्न सकिन्छ । न कसैले औँला उठाउला भन्ने डर, न कसैले कार्बाही गर्ला भन्ने डर ! जाने बुझेको मात्र होइन र हल्लाको भरमा समेत सबै प्रकारका ज्ञानको उल्टी गर्न मजाले पाइने भएपछि भएन त मजा !

त्यसैले यो महत्वपूर्ण मञ्च निर्माण गरिदिने ती महान व्यक्तित्वलाई म मनमनै नमन गर्छु जसले यो एक्काइसौं शताब्दीमा ज्ञानको उल्टी गर्ने विशाल प्लेटफर्म निर्माण गरिदिएका छन् । हुन त यो प्लेटफर्म निर्माणका क्रममा तिनले एउटा फूलबारीमा जस्तै रङगीचङ्गी फूल फुलाउने उद्येश्यले प्लेटफर्म निर्माण गरेका पनि हुनसक्छन् । कतिले फूल पनि सारेर फुलाएका पनि होलान् र अझै सार्दै फुलाउँदै होलान् तर अधिकांश मान्छेले उल्टी गर्न आरम्भ गरेपछि सारेका ती सुन्दर फूलहरू समेत मान्छेले गरेको उल्टीले ढाकेर फूल त कुन्नि फूलका वोट समेत ढाकिएको देख्न सकिन्छ । हरेकदिन बिहानै फेसबुक खोल्यो त्यहाँ उल्टीका थुप्राहरू मात्र देख्न पाइन्छ । अब त सबैलाई बानी परिसकेको छ । डुङ्डुङ्ती गन्हाएको थुप्रोमा के होला भनेर खोतल्ने बानी सबैलाई परिसकेको छ । बरु उल्टी किन कोट्याउनु भनेर कसैले नकोट्याउने हो भने उल्टी गर्ने सिलसिलामा केही कमी आउन सक्थ्यो !

हुन त एकपटक गरेको उल्टीले धेरै जनाको मन तुरुन्त हलुका हुन्छ, मनमा आनन्द प्राप्त हुन्छ । विश्वास लाग्दैन भने सर्वाधिक उल्टी गर्ने स्थान भनेर ख्याति कमाएको यो युगको सर्वाधिक ठूलो र महत्त्वपूर्ण खाल्टो फेसबुकको ढकनी खोलेर हेर्नुस् त । कतै वान्ता गरेर सुकिसकेका, केही आलै र कतै भर्खर मात्र उल्टी गरिरहेको उल्टीका ताजा थुप्राहरू छरपस्ट देख्न पाइन्छ । खाल्टोमा भएका दुई चारवटा फूलका वोटहरू उल्टीको रागले ऐजेरुले ग्रस्त भए झैँ देखिन्छन् । एउटा विचारणीय कुरा के छ भने यहाँ एकदुई पटक उल्टी गरिसकेको मान्छेले भने यी उल्टीका थुप्राबाट दुर्गन्ध चलेको पत्तै पाउँदैनन् । लाग्छ, जताततै उल्टी गरेको भेटिए पनि यहाँ दुर्गन्ध होइन सुगन्ध फैलिरहेको छ । यहाँ एउटा मान्छेले दिनमा जतिपटक पनि उल्टी गर्न पनि पाइन्छ । उल्टी गरे वापत दस्तुर बुझाउनु पनि पर्दैन । न जरिवाना नै तिर्नुपर्छ ! टन्न खायो मजाले डकार्यो र फेसबुक नाम गरेको खाल्टोमा उल्टी गरिदियो मन शान्त पार्यो !

यसको मुख्य विशेषता नै यही हो । अन्न र कुअन्नबाट बनेका खाद्य पदार्थ र झोल पदार्थको सेवन गरेर उल्टी गरेको स्थानमा जस्तै यहाँ एकाबिहानै उठेर न साबुन पानीले खाटको छेउ सफा गर्नुपर्छ न उल्टी गरेको ठाउँमा सर्फ पानी भिजाएर घोटीघोटी पोछा लगाउनुपर्छ ! यसरी उल्टी गरेको स्थानमा सरसफाई गर्नु नपर्ने भएपछि छैन त यो प्रविधिको महत्त्व ! यहाँ त धित मर्ने गरी उल्टी गर्यो छोड्यो हिँड्यो । केही मान्छेहरू ससर्काउँदै यही उल्टीको ह्रासलाई कोट्याएर छानबिन गर्न थाल्छन्, यसै थुप्रोमाथि अनेकौँ तर्क वितर्क प्रस्तुत गर्छन् । तर त्यो उल्टीको थुप्रो गन्हाएर बसिनसक्नु भएको भने कसैले पनि पत्तो पाउँदैनन् ।

हुन त यसरी पेट खाली हुनेगरी उल्टी गर्न पाउनुलाई मैले पनि महत्त्वपूर्ण अवसरका रूपमा लिएको छु । भनिन्छ एउटै डुङ्गामा यात्रा गरेपछि शत्रुलाई पनि मित्रको व्यवहार गर्नुपर्छ । उसले जसो गर्यो त्यसै गर्नु श्रेयस्कर मानिन्छ । त्यसैले सबैले उल्टी गर्न थालेपछि चुप लागेर बस्न कस्को पो मनले मान्छ र ? यो फेसबुके खाल्टोमा मजाले उल्टी गर्ने गरिएकै छ । मन भारी भैरहेको बेला यहाँ आएर निर्धक्कसँग उल्टी गर्दा त्यही भारी मन एक्कासि हलुका हुन्छ । तर कता कता डर पनि लाग्छ, यसरी उल्टी गर्दै जाँदा एक दिन उल्टी रोक्नु पर्ने भयो र उल्टी रोक्ने औषधिको अभाव भयो भने चाहिँ वित्यास पर्न सक्छ । तर जेसुकै होस् एक थुप्रो उल्टी फेरि गरियो !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाँच्न दिन्नन्

बाँच्न दिन्नन्

चिरञ्जीवी दाहाल
दल कवि

दल कवि

चिरञ्जीवी दाहाल
पालो हराएर हो कि !

पालो हराएर हो कि...

चिरञ्जीवी दाहाल
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मास्टरको चिया

मास्टरको चिया

सुरेशकुमार भट्ट
वाइपास

वाइपास

सुरेशकुमार पाण्डे
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x