Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिन्ती बिसाएको सम्बन्धमा

माथिका मागपत्रहरूको पोको होलोराडो सम्मेलनको घोषणापत्र लेख्न कम्मर कसेका ‘तन्नेरी’ डाक्टर बाबुमार्फत सम्बन्धित स्थानहरूमा पुर्याउने सर्तमा हस्तान्तरण गर्दछु ।

Nepal Telecom ad

डा. शरद पराशर मरहट्टा :

(होलोराडो विश्व साहित्य सम्मेलनमा सहभागी भएपछि)

विषय: जो–जससँग सम्बन्धित छ ।

हालसालै अमेरिकाको होलोराडोमा विश्व साहित्य सम्मेलन सम्पन्न भयो । सो सम्मेलनमा घर–घरमा नाति–नातिनीसँग दोभासेको सहयोगमार्फत आक्कलझुक्कल कुराकानी गर्दै ‘भाषा’ तथा ‘साहित्य’को सेवा गर्दै आएका देशदेशावरका बडाबडा साहित्यकारहरूले दोभासेको सहयोगबिना तीन–चार दिनसम्म निर्धक्क आफूले गरेका साहित्यिक सेवाका विवरणहरू राख्न पाए । यो निकै राम्रो भयो । यसको साथै, आफ्नो कम्प्युटर वा मोबाइल फोनको सेटिङ परिवर्तन गर्नेदेखि लिएर अन्य प्राविधिक कामका लागि छोराछोरी वा नातिनातिनीसँग निरन्तर संवाद गर्दै नयाँ पुस्तासँग सुमधुर सम्बन्ध कायम राखेका ‘ई–साहित्य’ क्षेत्रका अत्यन्त व्यस्त साहित्यकारहरूले सम्मेलन अवधिका चार दिनसम्म दिनरात नभनी सामाजिक सञ्जालमा सम्मेलनका स्थिर तस्बिरहरू प्रसारण गर्दै आफूले आर्जन गरेको सीपको भरपूर प्रयोग गरी ई–साहित्यको थप सेवा गरे । यो झन् राम्रो भयो ।

यो सम्मेलन आफैँमा उत्कृष्ट भएको र सम्मेलनका गतिविधिहरूको औपचारिक रूपमा टिपोट गरिएको भए तापनि सो टिपोटमा सम्मेलनमा उजागर भएका केही कुराहरू छुट्न पुगेका छन् । विशेष गरी विभिन्न सत्रमा मञ्चमा आसीन भई वा मञ्चअगाडि नै बसी समयसमयमा कानेखुसी गर्दै वा मोबाइल फोनका ‘टेक्स्ट बक्स’मार्फत छ्वास्स–छुस्स प्रसारण गरिएका अमूल्य साहित्यिक विचारहरू वा वैचारिक अभिव्यक्तिहरू सो औपचारिक टिपोटमा समेटिएका छैनन् ।

अतः यसरी छुट्न पुगेका अनमोल ‘साहित्यिक रत्न’हरू र उक्त सम्मेलनमा औपचारिक वा अनौपचारिक छलफलका क्रममा उब्जिएका अन्य विषयवस्तु वा घटनाक्रमहरूले उठाएका विचारहरू सङ्कलन गरी ‘घोषणापत्र’ लेख्ने जिम्मेवारी पाउनुभएका तन्नेरी साहित्यकारमार्फत सम्बन्धित निकायमा यी सुझावहरूको पोको हस्तान्तरण गर्दछु । निज तन्नेरी साहित्यकारले सम्मेलनले पारित गरेका ९ वटा बुँदाका यथोचित स्थानमा तलका थप १० बुँदा पनि समावेश गरिदिनुहुन तथा सम्बन्धित साहित्यकारहरूले र आगामी विश्व साहित्य सम्मेलनका आयोजकहरूले मेरा सुझावहरूको यथोचित मूल्याङ्कन गरी आवश्यक निर्णय गर्नुहुन अनुरोध गर्दछु ।

(द्रष्टव्य: विषयवस्तुको उठानका क्रममा घोषणापत्र लेख्ने जिम्मेवारी पाउनुभएका साहित्यकारलाई तन्नेरी भनेर फुर्काए पनि उहाँ आफैँ भने तन्नेरी भन्न मिल्ने उमेरका चाहिँ हुनुहुन्न । खुसुक्क तपाईं पाठकहरूलाई मात्र के जानकारी दिऊँ भने, नागरिकतामा जे उल्लेख गरिएको भए पनि उहाँको खास उमेर अहिलेको नेपालको मन्त्रिमण्डलमा रहेका प्रधानमन्त्रीको भन्दा कम्तीमा दुई दशक र सबैभन्दा वृद्ध मन्त्रीको भन्दा झन्डै आधा दशक बढी छ ।)

१) ठूला साहित्यकारहरूको मानक्रमको सूची निर्माण गरी सार्वजनिक गरियोस्
सम्मेलनमा सहभागी तेत्तिस कोटी देवी–देवताजस्तै विभिन्न कद, रूप, लवज आदि बोकेर विभिन्न देश–महादेशबाट आएका साहित्यकारहरूलाई देखेर सोही सम्मेलनका ‘भारेभुरे’ सहभागीहरू खुसीले आल्हादित भएका थिए । त्यसमा पनि विशेष गरी सम्मेलन हलभित्र मुस्किलले छिर्न पाएका होचा कदका साहित्यका ‘आक्कलझुक्कल’ छापका पाठकहरूमा दृश्यमा देखिएका साहित्यकारहरूमध्ये सबैभन्दा ठूलो को होला भन्ने कौतूहल जागेको देखिन्थ्यो ।

साहित्यका पाठकहरूका अलावा, हस्याङफस्याङ गर्दै सुरु हुन लागेको कार्यक्रमको सभाकक्षको ढोकाभित्र आउँदै र बाहिर जाँदै गरेका अन्य सहभागीहरू तथा साहित्यका ‘ब्रह्मा, विष्णु र महेश्वर’लाई एकैसाथ देख्दा पहिला कसलाई आदर–सत्कार गरौँ भनेर मञ्चमा असिनपसिन भएका आयोजकहरूमा समेत ‘ठूलो को ?’ भन्ने प्रश्नले घोचेको जस्तो देखिन्थ्यो ।

खासमा, ठूलो को हो ? नेपालमा बसेर विद्यालयहरूमा ‘नेपाली बोल्न प्रतिबन्ध’ गरिएको अवस्था झेल्दै गरेकाहरूका बीचमा रही सगर्व साहित्यिक कृति बाँड्ने ठूलो कि प्रवासमा बसेर आक्कलझुक्कल नेपालीमा संवाद गर्न पाएकोमा गर्व गर्ने ठूलो ? प्रश्न त छ ।
नेपालकै साहित्यकार ठूलो हो भने पनि राजधानीमा बसेर हैकम जमाउने ठूलो कि जिल्ला–जिल्लामा बसेर ‘दुर्गम रस’मा साहित्य साधना गर्ने ठूलो ? प्रश्न फेरि पनि छ ।

जिल्लाहरूकै कुरा गर्ने हो भने, उदाहरणका रूपमा सही, धादिङको साहित्यकार ठूलो कि पाल्पाको साहित्यकार ठूलो ? प्रश्न उस्तै छ ।
पुरस्कार पाएकाहरू ठूला भन्ने हो भने, कुन पुरस्कार पाएको ठूलो ? पुरस्कारको हकमा ‘मदन पुरस्कार’लाई नै ठूलो मान्ने हो भने पनि अगाडि पाएको ठूलो कि पछाडि पाएको ठूलो ?

यसरी ‘ठूलो’ साहित्यकारका बारेमा उक्त साहित्यिक प्राणीको उचाइभन्दा पनि अग्लो प्रश्न तेर्सिएको छ । यो प्रश्नले यसपटक निधारमा चिट्–चिट् पसिना बगाउँदै गरेका कार्यक्रमका आयोजकहरूलाई समेत गिजोलेको जस्तो देखिएकाले आगामी विश्व साहित्य सम्मेलनका बेला ‘ठूलो को ?’ भन्ने प्रश्नको उत्तर आउने गरी ठूला साहित्यकारहरूको मानक्रम सूची निर्माण गरेर सबै पाठकहरूले देख्ने गरी सार्वजनिक गरियोस् ।

२) ‘करुण रस पदक’को व्यवस्था गरियोस्
यस पटकको विश्व साहित्य सम्मेलनका दौरान सम्मेलनमा सहभागी भएका र नभएका दुवै वर्गका साहित्यकारहरूले आआफ्ना धारणाहरू साहित्यका विविध रसहरूको प्रयोग गर्दै सञ्चारका माध्यमद्वारा प्रकाशन वा प्रसारण गरेर, सम्मेलनमा मन्तव्य, गीत, कविता आदि प्रस्तुत गरेर वा सामाजिक सञ्जालमा छास्स–छुस्स लेखेर व्यक्त गरे । सम्मेलनमा सहभागी सबै साहित्यकारहरूलाई ‘मायाको चिनो’ तथा कतिपयलाई थप फुर्क्याइ, बधाई, विमोचन, आसन–ग्रहण (गर्नै पर्ने वा नपर्ने बेलामा) आदिद्वारा यथोचित सम्मान पनि गरियो ।
यस क्रममा केही बबुराहरू भने छुट्न पुगे, जस्तै—विविध कारणले सम्मेलनमा सहभागी हुन नसकेका साहित्यकारहरू । अतः त्यसरी सम्मेलनमा सहभागी हुन नसकेका साहित्यकारहरूमध्ये होलोराडोको यस पटकको सम्मेलनको आयोजनासम्बन्धी सूचनाहरूको अध्ययनमा समय खर्चिएका, साहित्यिक कार्यक्रमका एकएक सत्रको जानकारी राख्ने र साहित्य सम्मेलन सुरु भएको पर्सिपल्ट ‘मैले सम्मेलनको निम्तो पाइनँ’ भनी सामाजिक सञ्जालमा ‘मनको बह’ पोख्ने दिग्गज ‘साहित्यप्रेमी’हरूलाई सान्त्वनास्वरूप ‘करुण रस पदक’को व्यवस्था गरी आगामी विश्व साहित्य सम्मेलनका अवसरमा उक्त पदकद्वारा सम्मानित गरियोस् ।

३) ‘निरन्तर सेवा पदक’को व्यवस्था गरियोस्
कविता वाचनको सत्रमा रातिको १० बजे नाघिसक्दा पनि खानुपर्ने नियमित औषधिसमेत नखाई निरन्तर कार्यक्रम सञ्चालन गर्ने सञ्चालक–सञ्चालिका तथा काव्यमोहले प्रेरित भई आधा रातसम्म आफूले वाचन गर्ने भनिएको कविताको पालो कुर्दै बसेका कविहरूको साहित्यिक लगावको उच्च मूल्याङ्कन गर्दै उहाँहरू सबैलाई आगामी सम्मेलनमा ‘निरन्तर साहित्य सेवा पदक’ दिइयोस् । यो पदक वितरण गरिँदा कविता वाचनकै समय पारेर अहिलेको परम्परालाई निरन्तरता दिँदै मध्यरातमै गरिँदा बढी प्राकृतिक हुने र इतिहासको सम्मान पनि हुने हुँदा यो कुराको विशेष हेक्का राखियोस् ।

४) ‘गहन शब्दावली पदक’को व्यवस्था गरियोस्
साहित्य सम्मेलनको परिचय कार्यक्रमका दौरानमा एकजना ८४ वर्ष पुग्नुभएका साहित्यकारले मूर्धन्य पत्रकारले प्रयोग गर्ने साहित्यिक शब्दावलीहरूको प्रशंसा गर्दै अबउप्रान्त कठिन शब्दावलीहरूको प्रयोग नगर्नका लागि गर्नुभएको आग्रहको प्रत्युत्तरमा उक्त पत्रकारले नेपाली जिब्रोले उच्चारण गर्नसमेत बिर्सिसकेका पुराना, गहन र ओजपूर्ण शब्दावलीहरूको धाराप्रवाह प्रयोग गर्दै निज पाका साहित्यकारको प्रशंसा गर्ने क्रममा उहाँको शब्दावलीबाट आफू “पल्लवित” भएको कुरा उजागर गर्नुभयो ।

पत्रकार महोदयले प्रयोग गरेका संस्कृत साहित्यका महान् कवि कालिदासको समयका कुलीन शब्दहरू सुनेर सम्मेलन कक्षमा गुन्जिएको सामूहिक हाँसोले ती पत्रकारको सम्मान त गर्योस नै । यसको अतिरिक्त, पत्रकार महोदयको विशेष शब्दहरूप्रतिको मोहलाई उच्च मूल्याङ्कन गर्दै निज पत्रकारलाई ‘गहन शब्दावली पदक’ दिइयोस् ।

५) लोकगीतका लागि विशेष मञ्चको व्यवस्था गरियोस्
यसपटकको सम्मेलनमा सहभागी भएका पश्चिम नेपालका मूर्धन्य लोकगीत गायकले कार्यक्रम हलमा रहेको प्रस्तुतिका लागि तयार गरिएको मञ्चतर्फ औँल्याउँदै लोकगीत प्रस्तुतिका क्रममा दर्शकहरू अगाडि आई नाच्न चाहने भएकाले सो मञ्च सानो भएको भन्दै त्यसलाई विस्तार गर्न आग्रह गरे । आग्रह गरिएको भए पनि उक्त मञ्चको आकार बढाउन सम्भव भएन र बढाइएन ।
पछि नजिकका स्थलहरूको भ्रमण गर्ने क्रममा निज गायकले खुला स्थानमा गीत प्रस्तुत गरेको छायाचित्र सामाजिक सञ्जालमा निकै रुचाइयो । यी घटनाहरूबाट शिक्षा लिँदै आगामी सम्मेलनहरूमा ठूलो मञ्च चाहिने वा कार्यक्रम प्रस्तुत गर्दा उफ्रिएर अति उत्तेजित भई मञ्चले थेग्न सक्ने भारभन्दा उफ्राइको दबाब ज्यादा पार्ने खाले कलाकारहरूलाई फिल्ड भ्रमणका क्रममा खुला स्थानमा कार्यक्रम प्रस्तुत गर्ने प्रबन्ध मिलाइयोस् । यसो गरिएमा होटलको हलमा नअटाउने पाराको मञ्च बनाउने आग्रह पनि नआउने र गायकहरूले प्रस्तुति दिन पनि पाउनेछन् । साहित्यकारहरूले साहित्यिक कार्यक्रममा भाग लिएर पशुपतिको दर्शन पनि गर्नेछन् र फिल्ड भ्रमणमा गीत सुनेर सिद्राको व्यापार पनि भ्याउनेछन् ।

यससँगै नेपाली भाषालगायत नेपालको सीमा जोडिएका मुलुकका भाषामा पनि अभिरुचि राख्ने साहित्यकारहरूले “आम के आम, गुठलियों के दाम” ठान्दै फिल्ड भ्रमणको मजा पनि लिनेछन् र सुने पनि रमाइलो, नसुने पनि रमाइलो पाराको लोकगीतको आनन्द पनि उठाउनेछन् । सबैभन्दा ठूलो कुरो, यसो गरिएमा मञ्च भाँचिने हदसम्मको जोखिमलाई ‘फर्मुला समाधान’द्वारा हल गर्न सकिन्छ ।

६) एकमुष्ट विमोचनको कार्यक्रम सुरु गरियोस्
यसपटकको सम्मेलनमा भएको पुस्तक विमोचनको महामेलामा कार्यक्रम सञ्चालकले अमुक स्थानबाट आएका सम्पूर्ण सहभागीहरूलाई एकएक गरी नाम बोलाउने झन्झट नगरी एकैपटक सामूहिक रूपमा मञ्चमा आउनका लागि गरेको आग्रहपछि केही अलमल भएको भए तापनि यो ‘होलसेल’ पाराको सम्बोधनले आगामी सम्मेलनमा प्रयोग गर्न सकिने पुस्तक विमोचनको विधिलाई सङ्केत गरेको छ ।
अबबाट पुस्तक विमोचन पनि सामूहिक विवाह, व्रतबन्ध वा बेलविवाहजस्तै किन नगर्ने ? मञ्चबाट कार्यक्रम सञ्चालकले मन्त्ररूपी टेम्प्लेटमा लेखिएका अक्षरहरूको वाचन गरून् । सोही समयमा पुस्तकका लेखकहरूले यथास्थानमा बसी आआफ्ना पुस्तक समाएर “म–म” भनून् । मन्त्रोच्चारणको समापनपछि “स्वाहा” भन्दै चरु हवन गरिएझैँ सबै लेखकहरूले “विमोचन” भन्दै आआफ्ना पुस्तकका गाता अनावरण गरून् । यसो गर्दा छिटोमा छिटो हुने; विमोचनमा विमोचन पनि हुने । विमोचनपछाडिको कार्यक्रमको समय पनि नमिचिने र कविहरूलाई औषधि खाने समयसँग सम्झौता गर्न पनि नपर्ने । ल, हेर्नुस्—फाइदा नै फाइदा । बरु प्रस्तावित टेम्प्लेटका अक्षरहरूलाई आगामी सम्मेलनले पारित गर्ने गरी अबउप्रान्त वेदका ‘ऋचा’सरह मान्यता दिइयोस् ।

७) पुस्तक विमोचनको नयाँ ‘होलोराडो’ मोडल लागू गरियोस्
पुस्तक विमोचनका क्रममा धेरैजसो भर्खर प्रकाशित र कतिपय त प्रकाशनको पूर्वसन्ध्यामा रहेका पुस्तकहरूले विमोचित हुने मौका पाए । साह्रै राम्रो भयो । भीडभाडमा चार वर्षअघि प्रकाशित अमुक त्रैमासिक पत्रिकाको अमुक अङ्क, जसका पुस्तकाकार एक–दुई प्रति पनि मुस्किलले भेटिन्थे, त्यसले पनि विमोचित हुने र भीडभाडमा उचालिने मौका पायो । यो झन् राम्रो भयो । यो ‘होलोराडो मोडल’को जति नै प्रशंसा गरे पनि कम हुन्छ ।

नयाँका हारमा बसेर पुराना धुलो जमेका पुस्तक–पत्रिकाहरूले पनि भीडभाडमा उचालिने र अरूका सामु आफ्ना धुलो जमेकै सही, अनुहार देखाउने मौका पाए । विमोचनको कुम्भमेलामा एकजना अङ्ग्रेजी भाषाले मोहित साहित्यकारले त भर्खरै अङ्ग्रेजीमा अनूदित भएको आफ्नो कृतिलाई “आइ एम विमोचिङ्ग” समेत भन्न भ्याए । यसले ‘होलोराडो मोडल’मा सुनमाथि सुगन्ध थप्यो ।

यो मोडललाई थप विकसित गर्दै यस पटकका माथि उल्लिखित लगायत विविध अनुभवहरूबाट सिकेर आगामी विश्व साहित्य सम्मेलनमा दसौँ–बिसौँ वर्षअघि कक्षामा पढ्दाका टर्म पेपर, थेसिस, डिसर्टेसन, पत्रपत्रिका तथा जर्नलहरूमा प्रकाशित लेखहरूको सङ्गालो, सम्मेलनमा प्रस्तुत गरिएका पोस्टर आदि सबैलाई विमोचन गर्न सकिने प्रावधान राखियोस् । यसमा जेन–जी पुस्ताको सहभागिता बढाउनका लागि सामाजिक सञ्जाल तथा फोनमार्फत गरिएका टेक्स्टहरूको सङ्गालो, नेपालका बस–ट्रकहरूमा लेखिएका साहित्यहरूको सङ्गालो, स्कुल–कलेजका बाथरुमका भित्ताहरूमा लेखिएका ‘शौचालय साहित्य’को सङ्गालो आदिलाई पनि विशेष प्रोत्साहनका साथ विमोचन गर्न सकिने कुराको अग्रिम जानकारी दिई यो कार्य सम्पन्न गरियोस् ।

सारमा भन्नुपर्दा, विमोचनको नियमलाई खुकुलो बनाई सकेसम्म धेरै कृति वा कृतिका छेउछाउका सङ्कलित सामग्रीहरूलाई जनमानसमा ल्याई नेपाली साहित्यको सेवा गर्ने परिपाटीलाई साहित्यिक संस्थाहरूको रणनीति नै बनाइयोस् । भलै ती नेपाली साहित्यको नाममा जुनसुकै भाषामा लेखिएका कृतिहरू नै किन नहून् !

८) पुस्तक लेख्ने गुरुमन्त्र अपनाइयोस्
यसपटकको विश्व साहित्य सम्मेलनका शीर्ष पुरुषको मुखबाट दुई वर्षमा बाह्र–बाह्रवटा किताब लेख्ने गजबको तरिका सुनेर नवलेखक र स्वनामधन्य लेखकहरू प्रफुल्लित भए । विश्व साहित्य समाजका विभिन्न पदहरूमा हुन लागेको निर्वाचनतिर उम्मेदवार बन्ने इच्छा राखेकाहरूले सो इच्छालाई त्यागी लेखन कार्यमा निरन्तरता दिने हो भने यसो गर्न सकिन्छ भन्ने कुरा अर्का एक साहित्यकारले प्रमाणित नै गरिसकेका रहेछन् । साहित्यका अनुरागीहरूले यो काइदाको फाइदा लिँदै चुनावतिर लागेर उम्मेदवार बन्ने, चुनाव जित्ने र तत्पश्चात् पदीय जिम्मेवारी लिएर समय ‘बर्बाद’ गर्ने गर्नुको साटो यसरी किताब लेख्ने तरिकालाई गुरुमन्त्रका रूपमा ग्रहण गरून् । यो मन्त्रलाई नेपालको भर्खरै सम्पन्न चुनावमा पराजित भएका र अब आउने चुनावद्वारा नेतृत्व लिन हौसिएका सबै–सबैका बीचमा प्रचार–प्रसार गरी पुस्तक लेख्ने कार्यमा प्रेरित गरियोस् ।

९) महत्त्वपूर्ण घटनाको अभिलेखीकरण गरी प्रतियोगिताको आयोजना गरियोस्
अमेरिकाको फ्लोरिडाबाट सम्मेलनमा सहभागी हुन आउनुभएका एकजना दिग्गज शिवभक्त साहित्यकारले खाना खान लाइनमा उभिएको समयमा समय कटाउने मेसोमा नजिकै उभिएका अन्य सहभागीहरूलाई प्रश्न तेर्स्याउँदै सोधे, “२०१० सालमा एउटा महत्त्वपूर्ण घटना घटेको छ नि, त्यो के हो तपाईंहरूलाई थाहा छ ?”

उहाँको प्रश्न सुनेर नजिकै उभिएका अन्य सहभागीहरू एकआपसमा मुखामुख गरे। तर कुरोको चुरो कसैले पनि ठम्याउन सकेनन् । प्रश्न आयो; उत्तर आएन । अन्तमा प्रश्नको गर्भमा रहेको रहस्य खोल्दै शिवभक्त साहित्यकारले भने, “कस्तो थाहा नपाउनुभएको ? २०१० सालमा म जन्मिएको हुँ नि त ! अब त्यो मेरा लागि महत्त्वपूर्ण घटना भएन त ?”

शिवभक्तको यस्तो विनोदपूर्ण उत्तर सुनेपछि खाना खाने लाइनमा उभिएका अन्य साहित्यकारहरूमाझ हाँसोको फोहोरा चल्यो । सो घटनाबाट प्रेरणा लिँदै शिवभक्त साहित्यकारले उल्लेख गरेको जस्तै खाले महत्त्वपूर्ण घटनाहरूको सङ्कलन गरी ती घटनाहरू समावेश गरेर आगामी दशौँ साहित्य सम्मेलनमा एउटा अलग्गै हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरियोस् ।

१०) सद्भावना–दूतको व्यवस्था गरियोस्
यसपटकको विश्व साहित्य सम्मेलनमा सहभागी हुनुभएका पत्रकारहरूलाई उहाँहरूकै स्थानमा ससम्मान राखेर साहित्यकारहरूको मात्र गणना गर्ने हो भने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको वर्तमान नेपालबाट भन्दा नेपालसँग सीमा जोडिएका नेपालीभाषी बस्तीहरूबाट सहभागी हुने साहित्यकारहरूको सङ्ख्या बढी थियो । नेपालका भौगोलिक सीमाभन्दा बाहिर रहेका नेपालीभाषी समुदायमा देखिएको नेपाली साहित्यप्रतिको उत्साहलाई थप मलजल गर्न र ‘सद्भावना–दूत’का रूपमा कार्य गर्नका लागि नेपालका ‘घुम्ने कुर्सीमा विराजमान’ एक साहित्यकारलाई आगामी विश्व साहित्य सम्मेलनमा विशेष निमन्त्रणा गरियोस् ।

आगामी विश्व साहित्य सम्मेलनअघि नेपालबाट निम्त्याइने विशेष अतिथिलाई नेपालबाहिरका नेपालीभाषीहरू रहेका स्थानहरूमा प्रचलित शब्दहरू, जस्तै ‘अन्त’, ‘औँ’, ‘तँहरू’, ‘डल्लै’ आदि, प्रयोग गर्ने तौरतरिका सिकाउने तथा तिनको उच्चारण गर्ने विधिसमेत बुझाउने व्यवस्था गरियोस् ।

साहित्य सम्मेलनमा विशेष अतिथि हुने सौभाग्य पाउने व्यक्तिले ‘अकबर–बीरबल’ र ‘आवन्ती’ वा ‘आफन्ती’का कथाहरू त पक्कै पढेकै होलान् । निज अतिथिलाई केही ‘हमजाएगा’का ‘जोक’हरू पनि सुनाएर, ती ‘जोक’हरूको मर्मसमेत राम्ररी बुझाएर मात्र ल्याइयोस् ।
यति गरिसकेपछि आगामी सम्मेलनका क्रममा निज अतिथिले पटक–पटक नेपालबाहिरका नेपालीभाषीहरूसँग औपचारिक वा अनौपचारिक छलफल गरून् र छलफलका क्रममा बेलाबेलामा माथि उल्लेखित शब्दहरू तथा ‘हमजाएगा’का ‘जोक’हरू सुनाउने गरून् । यसो गरिएमा नेपालको भूगोलभन्दा बाहिर तर सीमासँग जोडिएर रहेका नेपालीभाषीहरूले पनि आफ्नोपन महसुस गर्नेछन् । नेपाली भाषा तथा साहित्यको ‘क्रस–बोर्डर विस्तार अभियान’मा समेत उल्लेखनीय टेवा पुग्नेछ ।

अन्तमा,
अरूले तपाईं भने पनि नभने पनि आफूले मपाईं गर्न नछाड्ने, लेखरचनाका नाममा स्कुल–कलेजमा पढ्दा प्रेमपत्रसमेत नलेखेको, स्वनामधन्य यो ‘नव साहित्यकार’ अर्थात् म स्वयंले राखेका माथिका मागपत्रहरूको पोको होलोराडो सम्मेलनको घोषणापत्र लेख्न कम्मर कसेका ‘तन्नेरी’ डाक्टर बाबुमार्फत सम्बन्धित स्थानहरूमा पुर्याउने सर्तमा हस्तान्तरण गर्दछु ।
धन्यवाद ।

भवदीय,
सम्मेलनको दोस्रो दिनमै ‘हाजिर गरेर टाप कस्ने’ ‘सो-कल्ड’ नवलेखक
०००
नर्थ क्याराेलाइना, अमेरिका
मङ्सिर ५ गते २०८३ मा लाेकार्पित समकालीन नेपाली हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह सम्मार्जन बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रामायणदेखि बासी वाइनसम्म

रामायणदेखि बासी वाइनसम्म

डा. शरद परासर मरहट्टा
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
झ्यालबाहिरको रौनक

झ्यालबाहिरको रौनक

डा. शरद परासर मरहट्टा
ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

ऊसँगका हाँसो, खुसी र...

डा. शरद परासर मरहट्टा
‘निरो’का बाँसुरी सुन्नेहरू

‘निरो’का बाँसुरी सुन्नेहरू

डा. शरद परासर मरहट्टा
अपानवायु : परिभाषा र प्रकार

अपानवायु : परिभाषा र...

शेषराज भट्टराई
प्याकिङ

प्याकिङ

कृष्ण शर्मा सुमु
दोषी चस्मा २.०

दोषी चस्मा २.०

संप्रस पाैडेल
विज्ञापन

विज्ञापन

भोलानाथ सुबेदी
नक्कल

नक्कल

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x