कृष्ण शर्मा सुमुप्याकिङ
भाडा तिर्न एकदिन ढिलो भए साँढे गोरुले जस्तो रातो आँखा पारेर हेर्नेलाई यत्रो सामान किन छोड्नु र ? फेरि लाने कसरी टेन्सनमाथि टेन्सन भयो।
कृष्ण शर्मा सुमु :
लेखक जेरोम के. जेरोमको प्याकिङ आजको युगसँग नमिल्ने भयो। वास्तवमा उनको प्याकिङ गराइ नमिल्ने भएर मात्रै होइन। उनको प्याकिङ अनि झोलामा हाल्ने सामानहरू आजको युगमा नमिल्ने भयो।
आज प्याकिङ कसरी गर्ने भनेर ठूलो झोला झिके… आज झोला प्रायः युज हुँदैन, जस्तो झोला तल राखे मुसाका बच्चाहरू एकाएक मलाई जिस्क्याउँदै भाग्न थाले। कोठाको चारैतिर छरेर मलाई डान्स देखाउँदै थिए।
मैले छेउमा राखेको कुचो उठाएँ। मभन्दा कैयौं गुणा फुर्ती उनीहरूमा थियो। प्राण बचाउनु मात्रै उनीहरू यताउता कुना समातेर कता पुगे, पुगे। म कुचो समातेर घरको चारै कुना हेर्न थालें।
मैले मनमनै सोचें यो छोडेर जाने कोठा त हो, जेसुकै होस् घर मालिकले बुझ्छ भन्दै झोला खोलेको त झोला तारामण्डल देख्ने बनाएको रहेछ।
आहा… झोला हेरेर थचक्क बसें। यताउता हेरें सुटकेस छ नि, सुटकेस निकालें, सुटकेस के खोलेको मात्रै थिएँ मैले चाहिने कागजहरू राखेको थिएँ, तर तोसक बनाएर कहिलेदेखि बच्चाहरूले छिमल छिमलको बनाएको रहेछ। त्यहाँ पनि नाच्दै भाग्न थाले। एउटा बच्चा हातमा परेको थियो, पुच्छर समातेर पछार्नुपर्यो भनेको त हातबाट माछा उम्केजस्तै कता उफ्रियो, उफ्रियो… सुटकेसको कुनाबाट यत्रो दुलो पारेको रहेछ।
दसैंमा घर जाने खुसीभन्दा पनि मुसाले दिएको टेन्सन कैयौं गुणा ठुलो थियो। बजार जानू कि झोला लिनु मनमनै सोचें।
होस् अनलाइन झोला मगाउँछु भनेर बसें… दस मिनेट समय दियो। म अनलाइन सामान ल्याउने मान्छेलाई पर्खेर बसें।
यताउता गर्दा चिया खान मन लागेर म चुल्हा छेउमा पुगें। भाँडा चुल्हामा बसाएर दूध निकाल्न थालें यसो दूध हेरेको त दूधमा मुसा कहिले आएर मरेको रहेछ। रिस यति उठ्यो कि जानू त राम्ररी दिनस् कमसेकम खानू त राम्ररी दिन्थिस्। दूधलाई त्यही बेसिनमा हालेर मुसालाई बाहिर फालिदिएँ।
गेटको बेल बज्यो। म खुसी हुँदै गेटतिर कुदें। गेटमा झोला लिएर एउटा केटा उभिएको थियो। अनलाइन पेमेन्ट गरेर मभित्र पसें।
रुममा झोला खोलें, बाहिरबाट हेर्दा त दामी थियो। मैले बिस्तारै मेरा सामानहरू भेला पारें। भेला भएको सामान पहाडको थुप्रोभन्दा कम थिएन।
यो फाल्छु त्यो फाल्छु भन्दै प्याकिङ गर्न बसें। जुन सामान उठाए पनि लोभ लाग्ने फाल्न कुनै मन परेन। एकाएक सामान झोलामा हाल्न थालें, खाँदिखाँदी हाल्दा पनि सामान एकछेउ पनि झोलाभित्र गएन। जे होस् यो झोला प्याकिङ गरेर अर्को उपायबारे सोच्छु भन्दै सामान खाँद्न थालें। अब यसमा ठाउँ छैन भनेर जोडले झोला उठाएर पछारें झोलाको फेद सामान धेरै भएर च्यातियो। लौ झोलामा हालेको सामानहरू खसीको भुँडी फुटेर लाँदी बाहिर आएजस्तै निस्कियो। हतारमा के के हुन्छ टाउको समाएर बसें। यताउता सेलोटेपले टालेर काम चलाउ बनाए र चेन तानेको चेन मात्रै हातमा आयो। लौ चेन पनि अहिले नै बिग्रिनुपर्ने भन्दै फेरि झोला खोलेर सियो निकालें।
सियो खोज्दा सामानहरू सबै बाहिर भए। यसोउसो गरी झोला सिलाएँ। फेरि सामानहरू बिस्तारै हाल्न थालें चेन लगाउने ठाउँमा सियो धागोले सिलाइदिएँ।
यसो घडी हेरेको त गाडी छुट्ने समय हुँदै थियो। मेरो मुटुले ठाउँ छोड्न थाल्यो।
अब रहल सामान केमा हाल्नु चिन्तामा थिएँ अनलाइन झोला मगाउन थालें अझै लेट हुने भएकोले झोलाहरूमा मुसाले घर बनाएको घटना चलचित्रमाझैं फेरि घुम्यो।
यताउता हेरेको चामलको बोरा भेटें। राम्ररी हेरें। फेरि घर अनि गाउँका साथीभाइ सम्झें। यो हालतमा घर पुगें मेरो इज्जत त माटोमा मिल्छ त? कुनै उपायबारे सोच्ने समय थिएन। घर जाने हप्तामा दुईवटा गाडी मात्रै छ। यदि आज नहिँडे म दसैं सकेर पुग्छु।
जसरी भए पनि सामान सबै लानुपर्ने थियो। घडी हेरें बेलुका गाडी चढ्छु बिहान सात बजे झर्छु कुन मुला साथी सात बजे उठ्छ र? समय मिलाएर मनमनै हिसाब गरें। बोरामा रहल सामानहरू हाल्न थालें। यताउता खाँदै त्यहाँ भएको सामानहरू प्याक भए। ढुक्क भएर चुल्हा कोठामा पुगें चुल्हा कोठामा भाँडा, थाली, कप, मसालाका डब्बा, चिनी, अदुवा, टमाटर, सिलिन्डर सबै त छ प्याक गर्नु। अहिले सम्म त मैले केवल लुगा मात्रै प्याक गरेको थिएँ।
भएन, अब के गरौं टेन्सन आएपछि चारैतिरबाट आउँछ भन्ने कुरा लेखक जेरोम के. जेरोमलाई थाहा थियो।
अब के गर्नु सामान छोडे घर मालिकले भाडा माग्छ। यसो गाउँघर भए पनि एक कुनामा राख्छु भन्नू बजारमा पैसा नभए मुसाले पनि बास पाउँदैन। हो नि बजार, बजार हो। बजारमा केवल सास लिएको मात्रै ट्याक्स लाग्दैन, ल यो सास लिने कुरा पनि सरकारले चाल पाए ट्याक्स लगाउँछ भन्ने डर पो भयो। बिथामा भनेछु तपाईंलाई सास फ्रि छ भन्ने कुरा…
होस् अब चुल्हाका सामानहरू घर मालिकलाई छोडिदिन्छु भनेर सोचें… मालिक सम्झेर रिस पो उठ्यो, भाडा तिर्न एकदिन ढिलो भए साँढे गोरुले जस्तो रातो आँखा पारेर हेर्नेलाई यत्रो सामान किन छोड्नु र ? फेरि लाने कसरी टेन्सनमाथि टेन्सन भयो।
एउटा बोरा त घरबाट चामल ल्याउँदा लिएर आएको थिएँ। अब कता खोज्नु भन्दै गर्दा सिँढीमुनि कार्टुन रहेछ। आहा… के खोज्छस् कानो आँखो भनेजस्तै भयो।
बिस्तारै कार्टुनमा सामानहरू हाल्न थालें। लगभग सबै सामान प्याक भएजस्तो लागेर ताकमा हेरेको टमाटर नै छुटेछ। यसो हेरेको दुईवटा रहेछ एउटा त मुसाले खाएर आधा पारिदिएको रहेछ।
ठिकै गरिस् राख्ने ठाउँ पनि थिएन भन्दै दुईवटा टमाटर झ्यालबाट रिसले फालिदिएको रडमा ठोकिएर मेरो लुगा भरि भयो। लगाएर हिँड्ने लुगा रातो नै रातो भयो। टमाटरका दानाहरू पेन्टभरि भयो।
लौ प्याकिङ भइसक्यो सामानहरू खोल्नु पनि कसरी। फेरि झोला त भएन भएन लुगा पनि यस्तो लगाएर गाउँ पुगें तेरो इज्जत के हुन्छ मनमनै सोचें, पानी लिएर रुमालले पुछ्न थालें। यताउता गर्दा पनि सफा भएन अझै पानीले गर्दा सेतो सर्ट त रातो रातो भाले कलर भयो।
सोच्दासोच्दै बस छुट्ने समय हुँदैछ। जेसुकै होस् भनेर आफ्नो सामान लिएर बाहिर निस्कें। घर मालिकलाई चाबी दिन माथि चढें। घर मालिक र उसको छोरी मेरो हालत हेरेर मुसुमुसु हाँसे… अनि भाइ यस्तो लुगा लगाएर गाउँ पुग्ने त… घरमै नै यो हालत छ भोलिसम्ममा तिम्रो के हालत हुन्छ ?
म मुसुक्क हाँसेर तल झरें। जेसुकै होस् भनेर अटोरिक्सा चढेर बस भएको ठाउँमा पुगें।
जे नहुनुपर्ने त्यही भयो गाउँका दुई भाइ कताबाट बस स्टेन्डमा हल्लिरहेको रहेछ। दुई भाइबाट बचेर निस्कन खोज्ने प्राणी म, आज जसरी मुसाहरू मबाट बचे त्यसरी उनीहरूको नजरबाट भाग्ने हरप्रयत्न गरें। यताउता लुक्दै बससम्म पुगें।
बस हिँड्न लागेको थियो मेरो छेउको सिटमा आएर दुई भाइ बसे, मलाई देखेर छक्क पर्छन् भनेको त उल्टै मलाई हेर्दै मेरो भिडियो बनाएर गाउँको व्हाट्सएप ग्रुपमा हालिदिए।
हल्ला यसरी फैलियो कि मेरो घर पुग्नअघि मेरो हल्ला फेसबुकमा अपलोड भयो।
यताउता गरेर बिहान पाखा गाडीबाट झरें, समस्यामाथि समस्या दुवै मसँग गाउँ जाने भए जे सुकै होस् भनेर कार्टुन, फाटेको झोला अनि बोरा निकालेर गाउँको गाडीतिर लागें, फेरि मेरो भिडियो बनेछ, मलाई थाहा नै थिएन।
गाउँमा जस्तो झरें सबै मलाई अनि मेरो प्याकिङको झोला हेरेर हाँस्दै थिए।
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest









































