साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धूपको धुवाँ र चुरोटको धुवाँ

लाग्यो, यो चुरोटबाट निस्किएको धुवाले उनको फोक्सोलाई पर्याप्त शक्ति दिन्छ, उनको फोक्सो सुरक्षित रहन्छ । फोक्सोमा टि बि र क्यान्सर बनाउने त यदाकदा सल्काउने गरेको सिन्के धुपले पो रहेछ !

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

हाम्रो गाउँमा उपदेश कुमार काकाजति विद्वान कोही पनि छैन भन्छन् । गाउँमा मात्र होइन,वरपर पनि उनको नाम निकै चर्चित छ । हुनेखाने परिवारमा जन्मिएको नाताले बाबु चाहिँले वनारसमा पढ्न पठाएको भन्ने सुनेको हो, उनी संस्कृतको विद्वान बने । उताबाट फर्किएर नेपाल आएपछि अङ्ग्रेजी पनि पढेका थिए रे, उनी अङ्ग्रेजीको पनि विद्वान बने । वास्तविकता के हो हामीले जान्न पाएनौँ तर गाउँमा चलेको हल्ला यही हो ।

साँच्चिनै उनी विद्वान हुन् अथवा होइनन्, न त्यो अनुसन्धानको विषय हो न कसैलाई टाउको दुखाइको विषय ! जेहोस्, गाउँमा कसैका बाबुको रोकिएको श्राद्ध कहिले गर्ने उनैसँग सोध्ने गरिन्छ । टाइफाइडको बिरामीलाई के औषधि दिने उनैले लेखिदिन्छन् । बाख्रा बिरामी पर्दा उपचार गर्ने उनै हुन् । दलको गाउँझगडा मिलाइदिन उनैले पर्छ । विहे गर्दा नाता केलाइदिने देखि गाउँका किशोर किशोरीहरूलाई कसरत पुग्नेगरी खेल खेलाइदिने पनि उनै हुन् । जे भए पनि उनी गाउँमा हरेक कुराको सरसल्लाह दिने मान्छे हुन् । लाग्छ, उनको सरसल्लाह बेगर गाउँका भुस्याहा कुकुर पनि भुक्न सक्दैनन् ।

भनिन्छ, विजया दशमीको भोलिपल्ट पर्ने एकादशी, गिद्धे एकादशी हो, अघिपछिको एकादशीको दिनमा जस्तो यो एकादशीमा माछा मासु बार्नु पर्दैन, मजाले खान मिल्छ भन्ने सिद्धान्तको प्रतिपादन गर्ने पनि उनै उपदेश कुमार काका हुन् । जे होस् गाउँमा परेका हरेक अड्कोपड्को फुकाउने भएर गाउँमा उनको हाँकोडाँको निकै चल्छ । लाग्छ, उनी नभए यो गाउँका सबै गतिविधि ठप्प हुन्छन् ।

यति मात्र होइन, गाउँमा सबैभन्दा ठूलो परालको टौवा उनेको देखिन्छ । सबैकोभन्दा धेरै जग्गा जमिन पनि उनैको छ । यो चाहिँ प्रत्यक्ष देखिएको कुरा हो । त्यसैले उनले नाम इज्जत सबै पाएका छन् । नामको साथमा दाम कति पाउने गर्छन् त्यो कि त उनैलाई थाहा छ कि उपदेश लिए वापत दस्तुर बुझाउनेहरूलाई नै थाहा होला । उनकै भनाइअनुसार गत स्थानीय चुनावमा सबैको अनुरोध हार्न नसकेपछि उनी स्वतन्त्र उमेद्वारका रूपमा चुनावमा खडा भए । मैँ हुँ भन्ने दलका उमेद्वारहरूलाई धुलो चटाउँदै उपदेश कुमार काकाले जब चुनावमा बाजी मारे, त्यसपछि त झन् उनको मानमर्यादा र घमण्ड पनि अझै ह्वात्तै बढ्यो । अन्य काममा खासै ध्यान नदिए पनि उपदेश कुमार काका सबैलाई अर्ती र उपदेश दिएर समय बिताउन लागे ।

जब दसैं प्रारम्भ हुन्छ, यी काका मासुले हुने बेफाइदा र बलि प्रथाको बिरुद्धको चर्चा सुरु गर्छन् । तिहार लागेपछि सेल रोटी र मिठाइको अवगुणहरू बताउन थाल्छन् । तिजमा खालिपेट व्रत बस्दा हुने शारीरिक हानीका विषयमा प्रवचन दिन सुरु गर्छन् । यसबाट के अनुमान गर्न सकिन्छ भने साँच्चै यिनलाई सबैको स्वास्थ्यका विषयमा निकै चिन्ता लाग्छ !

कार्तिक महिनाको एकदिन बिहान म तुलसीको मोठमा होम गर्दै थिएँ । उनी टुप्लुक्क आइपुगे । धुप दीप गर्नलाई मैले लाइटर उठाएको मात्र थिएँ उनले “एकछिन” भन्दै मलाई रोके, म रोकिएँ, त्यति विधि गन्यमान्य व्यक्तिको आदेश कसरी नमान्नु ! उनले सधैँ जस्तै उपदेश दिन सुरु गरे । भन्दै थिए- “यो धुप बाल्नु हुँदैन । यसबाट निस्केको धुवाँले फोक्सोलाई ठाडै असर गर्छ । फोक्सोमा क्यान्सर र टि बी हुनसक्छ । यसको विशाक्त धुवाँले निमोनिया बनाउँछ । अबदेखि यस्तो पूजाआजामा धूप बाल्ने काम चटक्कै छोडिदिनुहोस् बल्ल सुरक्षित भइन्छ । यसरी धुपको धुवाँ घरभरि फैलाउनु हुँदैन । काकाको यो थप विशेषता बारे म स्पष्ट भएँ, उनलाई सारा गाउँलेको स्वास्थ्यको चिन्ता लाग्ने नै रहेछ । उनी फोक्सो प्रेमी पनि रहेछन् मैले त्यसैदिन थाहा पाएँ । यिनलाई अर्काको फोक्सोको बारेमा यति विधि चिन्ता लागेको देखेर मनमा असाध्यै खुशी लाग्यो ।

उनले जब प्रवचन दिन लागे म मात्र होइन, होम गर्दै गरेका पण्डितजी पनि निकै ध्यान दिएर सुन्न लागे ।‌ उनका कुरा पण्डितजीले पनि प्रतिवाद गर्न नसकेपछि मैले नाइनास्ती गर्ने कुरै भएन । मलाई पनि धुप सल्काउने हिम्मत आएन, हातको लाइटर थपक्क भुइँमा खस्यो । त्यसदिनको होमको काम निकै बेर रोकियो । पण्डितजीले, यस अघि नै सल्काएको सिन्के धुपको ठूटोलाई निकै घोरिएर हेरे । उनको मुहार कच्याककुचुक भएको देखियो । पर कुनामा सल्किरहेको धुपको धुवाँ मसिनो धर्सो जस्तै आकार बनाएर निकै माथि आकाशमा उँडिरहरेको थियो । पण्डितजीले जब राम्रैसँग धुपको बेफाइदा र गम्भीर हानीका विषयको प्रवचन सुने, गोबरको थास माथिको धुप एक्कासि थुतेर फाल्नलाई हात अगाडि बढाए ।

मैले पण्डितलाई बीचैमा रोकेर भनेँ, “पख्नुस्” ! पण्डितजीले हात ताने, उनी रोकिए । मैले पण्डितलाई उपदेश कुमार काका भएतिर नजर लगाउन सङ्केत गरेँ । उपदेश कुमार काका, हातको चुरोटको ठुटो फालेर पुन: अर्को चुरोट सल्काउँदै थिए । लाग्यो, यो चुरोटबाट निस्किएको धुवाले उनको फोक्सोलाई पर्याप्त शक्ति दिन्छ, उनको फोक्सो सुरक्षित रहन्छ । फोक्सोमा टि बि र क्यान्सर बनाउने त यदाकदा सल्काउने गरेको सिन्के धुपले पो रहेछ ! चुरोटको धुवाँ त मुखबाट घाँटीको नली हुँदै फोक्सोतिर नलागि आन्द्राको बाटो हुँदै ग्याँसमा परिणत भएर सिधै गुदद्वारबाट निस्कन्छ । धुपको धुवाँ भने उँडेर आकाशमा जान्छ, स्वर्गलोकमा पुगेर महत्त्वपूर्ण सरसल्लाह गर्छ र पुनः पृथ्वीमा ओर्लिएर धुप सल्काउनेको मुखबाट पसेर आन्द्रा तिर नलागि सोझै फोक्सो भए ठाउँमा पुग्छ अनि फोक्सो छियाछिया बनाइदिन्छ ।

उपदेश कुमार काकाको उपदेश सुनिसकेपछि मैले बल्ल बुझेँ, धूपको धुवाँ र चुरोटको धुवाँ बीचको अन्तर यही रहेछ ।

०००
कालिका- ६, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x