साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्षरको छहारी : नगेन्द्रराज सरलाई चिठ्ठी

तपाईंको त्यो अविस्मरणीय गुन र स्नेही इमेलका पीडीएफहरू मेरो स्मृतिमा सदैव सुरक्षित रहनेछन् । ​अलविदा शर्मा सर, अलविदा !!!

Nepal Telecom ad

नन्दलाल आचार्य :

श्रद्धास्पद एवं दिव्यधामवासी सम्पादक अग्रज नगेन्द्रराज शर्मा सर,
सादर साहित्यिक श्रद्धा-स्मरण !

आज मिति २०८३ असार ३१ गतेदेखि तपाईं भौतिक रूपमा यो मर्त्यलोकमा हुनुहुन्न र सायद स्वर्गको कुनै कुनामा बसेर देवगणहरूका काँचा कविता र कथाहरूलाई परिमार्जन गर्दै ‘अभिव्यक्ति’ को कुनै नयाँ अलौकिक अङ्क निकाल्ने धुनमा हुनुहुन्छ होला । पृथ्वीलोकमा आज बिहानैदेखि एउटा अनौठो सन्नाटा छाएको छ । हुन त यहाँ मृत्यु रोजगारीको विज्ञापन खुलाए जस्तै नियमित र सामान्य भइसकेको छ, तर तपाईंको प्रस्थानले नेपाली साहित्यको एउटा सिङ्गो मियो नै उखालिदिएको अनुभूति गराएको छ । ८९ वर्षको बैँसालु उमेरमा तपाईंले यो धर्तीलाई ‘अलविदा’ भनिरहँदा म यहाँ मोफसलको एउटा कुनामा बसेर, आँखामा अलिकति आँसु र ओठमा एउटा तितो मुस्कान सजाउँदै यो चिठ्ठी कोर्दै छु ।

तपाईं त जानुभयो सर, तर यहाँको बजार भने अचम्मको छ । यहाँ आजभोलि साहित्य लेखिँदैन, साहित्यको व्यापार गरिन्छ । फेसबुकका भित्ताहरूमा ‘लाइक’ र ‘कमेन्ट’ को खेती गरेर रातारात महाकवि बन्नेहरूको ताँती लागेको बेला तपाईंको त्यो पचास वर्ष लामो निष्ठा र आफ्नै खल्ती रित्याउने ‘पागलपन’ लाई सम्झिँदा मलाई यो आधुनिक साहित्यिक समाजदेखि अचम्म लागेर आउँछ । आजको कर्पोरेट युगमा कसैले कसैलाई एक कप चिया सित्तैमा पिलाउँदैन, तर तपाईंले आधा शताब्दीसम्म अक्षरात्मक क्रान्तिको भोक मेटाउन आफ्नो घरकै अन्न भण्डार रित्याइरहनुभयो । यो कस्तो अचम्मको निःस्वार्थता हो सर ? आजको नाफाखोर दुनियाँले त तपाईंलाई पक्कै पनि ‘एक अव्यावहारिक र बहुलाहा सम्पादक’ को दर्जा दिनेछ, किनकि तपाईंले साहित्यमा कहिल्यै ‘बिजनेस प्लान’ खोज्नुभएन । तपाईंले त केवल प्रतिभा खोज्नुभयो, त्यो पनि मोफसलको त्यो दुर्गम र ओझेल परेको भुङ्ग्रोबाट, जहाँबाट काठमाडौँको सत्ता धमिलो देखिन्छ ।

म सम्झिन्छु सर, लेखनको मेरो त्यो उषाकाल, जहाँ व्याकरणका नियमहरू कुनै अनकन्टार जङ्गलका बाङ्गाटिङ्गा बाटाहरू जस्ता थिए । भावनाका भेलहरू त थिए, तर तिनलाई कुन धारमा बगाउने भन्ने कुराको ज्ञान पटक्कै थिएन । अभिव्यक्तिको तिर्खाले छटपटिएको बेला मोफसलका हामी जस्ता सिकारु लेखकहरूका लागि काठमाडौँका ठुला भनिने पत्रिकाहरूका ढोकाहरू सधैँ बन्द हुन्थे । त्यहाँ त पहुँच, नातावाद र चाकडीको ठुलो पर्खाल थियो । तर, त्यो पर्खाललाई भत्काउँदै तपाईंको ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाले हामीलाई जुन न्यानो छहारी दियो, त्यसले हाम्रो साहित्यिक पुनर्जन्म गरायो । नगेन्द्रराज शर्मा र ‘अभिव्यक्ति’ यी दुई नाम होइनन्, बरु एउटै सिक्काका दुईवटा पाटा हुन् । जसरी मुटु बिनाको शरीरको परिकल्पना गर्न सकिँदैन, त्यसरी नै तपाईंबिनाको ‘अभिव्यक्ति’ र ‘अभिव्यक्ति’ बिनाको तपाईंको अस्तित्व सोच्न पनि सकिँदैनथ्यो ।

आज म एउटा तितो तर हँसाउने यथार्थ यहाँ पोख्न चाहन्छु । सर, तपाईंको त्यो प्रविधिप्रतिको मोह र डिजिटल सक्रियता देख्दा आजका नामधारी युवा ‘टेक-गुरु’ हरू पनि लजाउँछन् होला । ८० वर्ष कटिसकेको एउटा वृद्ध सम्पादक, जसले आफ्नो जीवनको आधाभन्दा बढी समय कागज, मसी र छापाखानाको सिसाका अक्षरहरू खेल्दै बितायो, ऊ इमेल र पीडीएफको दुनियाँमा यसरी भिज्न सक्छ भन्ने कुरा कसले सोच्न सक्थ्यो र ? मोफसलमा बस्ने मेरो रचना जब ‘अभिव्यक्ति’ मा छापिन्थ्यो, तब तपाईं आफैँले सक्रियता देखाएर इमेलमा त्यसको पीडीएफ प्रति पठाइदिनुहुन्थ्यो। आजभोलिका प्रकाशकहरू लेखकको रोयल्टी पचाउन लागिपरेका हुन्छन्, तर तपाईं भने लेखकको रचना छापिएको खुसीयालीमा आफ्नै खर्च र समय लगाएर डिजिटल प्रति उपहार पठाइदिनुहुन्थ्यो । त्यो केवल एउटा डिजिटल फाइल थिएन सर, त्यो त तपाईंले म जस्तो एक अज्ञात र कुनामा परेको साधकलाई दिनुभएको आदर, सम्मान र स्नेहको जीवित दस्तावेज थियो ।

​तपाईंको उदारताको अर्को एउटा रमाइलो र अलिकति व्यङ्ग्यात्मक प्रसङ्ग मलाई सधैँ सम्झना भइरहन्छ । नेपाली साहित्यमा कसैको अभिनन्दन हुनु भनेको जिउँदै स्वर्ग जानु जत्तिको ठुलो कुरा मानिन्छ । तपाईंको त्यो विराट व्यक्तित्व र योगदानप्रति नतमस्तक हुँदै मैले पनि तपाईंको बारेमा एउटा संस्मरण लेखेको थिएँ, जुन तपाईंको भव्य ‘अभिनन्दन ग्रन्थ’ मा ससम्मान छापियो । तर विडम्बना र यो नेपाली प्रवृत्तिको एउटा रमाइलो पाटो भनौँ, त्यो अभिनन्दन ग्रन्थको भौतिक किताब त मैले अहिलेसम्म मेरो हातमा पार्न सकेको छैन ! सायद त्यो किताब काठमाडौँको कुनै कुनामा, कुनै साहित्यिक भण्डारमा वा कसैको दराजमा थन्किएर बसेको होला, वा हुलाकको बाटोमा हरायो होला ।

तर मलाई त्यसको कुनै गुनासो वा खिन्नता कहिल्यै भएन । किनभने, त्यो भौतिक किताब मेरो हातमा नपुग्दै, तपाईं स्वयंले त्यसको पीडीएफ बनाएर मलाई इमेलमा पठाइदिनुभएको थियो । हेर्नुस् त सर, कस्तो अचम्म ! जसको अभिनन्दन भइरहेको छ, उही मान्छे अभिनन्दन ग्रन्थको डिजिटल प्रति बोकेर लेखकहरूलाई बाँड्दै हिँडिरहेको छ । मैले पनि हजुरसँग नै मागेको कारणले होला । यो नेपाली साहित्यिक वृत्तको व्यवस्थापनमाथिको कति ठुलो व्यङ्ग्य हो ? आयोजकहरू माला र खादा पहिराउन व्यस्त थिए होलान्, तर तपाईंलाई भने आफ्ना लेखकहरूसम्म त्यो सामग्री पुग्यो कि पुगेन भन्ने चिन्ता थियो। सम्पादक स्वयंले लेखकको रचनाको यति धेरै ख्याल राखेर, त्यसलाई डिजिटल रूपमै भए पनि लेखकसम्म पुर्‍याउने जुन तत्परता देखाउनुभयो, त्यसले मेरो छाती गर्वले ढक्क फुलेको थियो । भौतिक पुस्तकको अभावलाई तपाईंको त्यो आत्मीयता र सम्मानले कहिल्यै खड्किन दिएन । त्यो पीडीएफ मेरा लागि संसारको सबैभन्दा बहुमूल्य पुरस्कार जस्तै बनेर आज पनि मेरो कम्प्युटरको एउटा सुरक्षित फोल्डरमा मुस्कुराइरहेको छ ।

आदरणीय सर, आज तपाईं संसारमा हुनुहुन्न भन्दा मभित्रको लेखक एक्लो भएको महसुस गरिरहेको छ । हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ मानिसहरू थोरै लेख्छन् र धेरै हल्ला गर्छन् । एउटा सामान्य कथासङ्ग्रह निकालेर आफूलाई ‘युगप्रवर्तक’ घोषणा गर्ने उरन्ठेउला लेखकहरूको भीडभाड भएको यो समयमा, पचास वर्षसम्म मौन साधक बनेर अरूलाई स्थापित गराउने तपाईं जस्तो मार्गदर्शकको कति अभाव खड्किनेछ, त्यो त समयले नै बताउला । तपाईं हुनुहुन्थ्यो र त हामी निर्धक्क भएर काँचा र हतारका अक्षरहरू कोर्न सक्थ्यौँ, किनकि हामीलाई एउटा दरिलो भरोसा थियो- काठमाडौँको कुनै कुनामा हाम्रा गल्तीहरूलाई सुधारेर, तिनको रूप रङ शृङ्गारिदिएर पाठकका अगाडि पस्कने एउटा सहृदयी र निःस्वार्थ अभिभावक जीवितै हुनुहुन्छ । आज त्यो छहारी भत्किएको छ, त्यो भरोसाको स्तम्भ ढलेको छ ।

नेपाली साहित्यको इतिहास पल्टाएर हेर्ने हो भने कति सम्पादकहरू आए, कति गए । कतिले साहित्यलाई राजनीतिको भर्‍याङ बनाए, कतिले यसलाई आफ्नो दुनो सोझ्याउने माध्यम बनाए । तर, आफ्नै खल्ती रित्तो बनाएर, आफ्नै पसिना बगाएर अक्षरको भण्डार भर्ने र नयाँ पुस्तालाई बिनाकुनै सर्त मञ्च प्रदान गर्ने नगेन्द्रराज शर्मा जस्तो निःस्वार्थ साधक अब सायदै यो धर्तीले दोबारा पाउनेछ । यो नेपाली साहित्यिक पत्रकारिताको एउटा स्वर्ण युगको अन्त्य हो ।

मृत्यु त शाश्वत सत्य हो, यसलाई कसैले टार्न सक्दैन । ८९ वर्षको यो लामो जीवन यात्रामा तपाईंले नेपाली साहित्यलाई जे दिनुभयो, त्यसको मूल्य कुनै पनि पुरस्कार वा पदकले चुकाउन सक्दैन । राज्यले त तपाईंलाई सायद चिन्न सकेन, किनकि यहाँ पदक र पुरस्कारहरू पनि चाकडीको तराजुमा जोखेर बाँडिन्छन् । तर, मोफसलका सयौँ लेखकहरूको हृदयमा तपाईंले जुन स्थान बनाउनुभएको छ, त्यो नै तपाईंको सबैभन्दा ठुलो र अमर अभिनन्दन हो ।

​तपाईंको भौतिक अनुपस्थितिले सिर्जना गरेको यो रिक्तता कहिल्यै पुरिने छैन । तर, तपाईंले बाल्नुभएको ‘अभिव्यक्ति’ को त्यो साहित्यिक मसाल हामी निभ्न दिने छैनौँ । तपाईंका ती स्नेही इमेलहरू, तिनका साथमा आउने पीडीएफ फाइलहरू र फोनमा सुनिने त्यो ऊर्जाशील र गम्भीर आवाज मेरा लागि सधैँभरि एउटा मार्गदर्शक सिद्धान्त बनेर रहनेछन् ।

​शर्मा सर, तपाईं भौतिक रूपमा हामीबाट टाढा भए पनि हाम्रा प्रत्येक अक्षरहरूमा, हाम्रा अभिव्यक्तिका प्रत्येक झिल्काहरूमा र मोफसलका प्रत्येक सिकारु लेखकका कलमहरूमा सधैँभरि बाँचिरहनुहुनेछ । स्वर्गको त्यो नयाँ साहित्यिक यात्राका लागि तपाईंलाई हार्दिक शुभकामना र भावपूर्ण श्रद्धाञ्जली ! तपाईंको त्यो अविस्मरणीय गुन र स्नेही इमेलका पीडीएफहरू मेरो स्मृतिमा सदैव सुरक्षित रहनेछन् ।
​अलविदा शर्मा सर, अलविदा !!!

​-तपाईंको स्नेहको ऋणी,
मोफसलको एउटा कुनाबाट नन्दलाल आचार्य

०००
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।
२०८३ असार ३१ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
भ्रम

भ्रम

नन्दलाल आचार्य
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x