सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पोइटिङ्ग्री

जोई र पोइको ढिलो चाँडो मात्रै हो । अनुभव गरि ल्याउँदा जोइको पोथी ग्रन्थी सुकेपछि पोइले पौरुषत्व देखाएर जोइलाई पोथी बनाउनु भनेको कुम्भिपाकमा जाकिनु जस्तै हो ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

जोई (स्वास्नी) ले जे भन्यो त्यही मान्ने, अर्थात कुशुलेको औँलामा नाच्ने पुतली जस्तै जोइको इशारामा नाच्ने पोइलाई जोइटिङ्ग्रे भन्ने चलन छ हाम्रो समाजमा । जाँड धोकेर जोइलाई भकुर्ने पोइहरूका लागि त जोइको कुरामा चल्ने पोइ नामर्द कहलिन्छ । जोइले पोइको कुटाइ, चुटाइ, गाली, ताली सबै सहेर बस्ने जोइहरू पोइटिङ्ग्री हुन् । पोथी बासे धुरी कटाउनु पर्छ भन्ने नेपाली उखानको बखान गर्नेहरूले भाले बासे किमा बनाउनु पर्छ भन्ने उखान बनाएनन् । जानी जानी आफ्नै खुट्टामा बन्चरो किन हान्थे पोइहरूले । यसरी हेर्दा पोइको मात्र हालीमुहाली भएको समाजमा जोइको दाल गल्दैन भन्ने नै हो ।

साँच्चै भन्दा त जोई र पोइ एक साइकलका दुई पाङ्ग्रा हुन । एउटा टायरबाट हावा खुस्काएर छुस्स पार्‍यो भने साइकल सवार महाशयले पुल्टुङ बाजी खान्छ नै । त्यसैले यो जोई टिङ्ग्रे, पोइ टिङ्ग्री भन्ने शब्द नै फ्याक्नु पर्ने हो । फेरि यी शब्द जोई र पोइ बाहेक अन्त प्रयोग भएका पनि छैनन अर्थात यो शब्द जोई र पोइले जन्माएका एकल सन्तान हुन् ।

समाजमा जोईटिङ्ग्रेको अस्तित्व जति कमसल छ, त्यतिकै मजबुत लठारो पोइटिङ्ग्रेको छ । तर यो कहाँ कहाँ लागू हुन्छ भने घरमा पाहुना आएको बेला, मन्चमा भाषण ठोकेको बेला, चिया गफमा देश बनाउनेहरूका लागि आदि । घरमा कोही नभएको बेला र राती ओछ्यान छिरे पछि त जस्तै बहादुर दाह्रा सिहं पनि जोईटिङ्ग्रे नबनी सुखै छैन । नत्र टिङ्ग्रेले टुप्पीलाई हातो बनाएर जाँतो घुमाए जस्तो टिङ्ग्रेको टाउको घुमाइ दिन्छिन् नै ।

सत्य युगको थोरै कुरा गर्ने हो भने- जटाधारी शिव र श्वेत सुन्दरी पार्वतिको अनौठो कहानी छ । घाँटीमा हलाहल विष रोक्ने बुता नहुँदो हो त शिवजीले उहिल्यै जिब्रो टोकेर परमधाम भइसक्थे होला । यस्ता शक्तिशाली शिव पनि पार्वतिको सामु जोईटिङ्ग्रे नै ठहरिन्छन् । शिव लिङ्ग भने पछि तीन त्रिलोक चौध भुवनमा नाम चलेको अस्त्र हो । त्यस्तो नामुद अस्त्रको बयान गर्न वेद त हारेका छन् । म के सकुँला र प्रभु ! तर पार्वतिले गणेश जन्माउन भुँडी माडेर मयलका लुँडा निकाल्नु पर्ने ? पत्याउनै गाह्रो । जे होस् अरु बेला पोइटिङ्ग्री पार्वती सन्तान जन्माउने मामिलामा शिवलाइ नै जोईटिङ्ग्रे बनाइ दिन सफल छिन् । उता त्रेताका रामचन्द्र भने गतिलो पोइटिङ्ग्रे साबित हुन सीतालाई नै आगोमा होमिदिन्छन् ।

कलिको कुरा त कोट्याउनै नपरे हुन्थ्यो । तर मनुवा जो कलिमै काल काट्नु परेको छ । पोइटिङ्ग्रे हुनु कतिपय अवस्थामा दर्दनाक हुन्छ । गतिला जोइहरू त पोइको ज्यादती खप्न नसकेर पोइटिङ्ग्रे हुनु मात्र के जिन्दगी भनेर अदालतको कठघरामा उभिएर तरतरी आँसु झार्दै पोइको कर्तुत फलाकेर फुत्कन्छन् । फेरि के हुन्छ कुन्नी ? अर्को पोइ पट्याउन थाली हाल्छन् पनि ।

प्रकृतिको नियम नै हो । उम्रे देखि खुम्रेसम्मको बिचमा एउटा उमेर आउँछ । जोइहरूको ओस्ट्रोजिन, प्रोजेस्टेरोन र पोइहरूको टेस्टेस्टोरेन हर्मन (रस) सक्रिय हुने । यो बेला भने टिङ्ग्रे टिङ्ग्री सबै हराएर एउटै मालामा उनिन्छन् नै । बोलवालाको हिसाबले टिङ्ग्रे टिङ्ग्री खुट्याउनै गाह्रो । दुवै म्वाइँ टिङ्ग्रे बन्छन् अनि निस्कन्छन् निस्किन्छन् भविष्यका टिङ्ग्रे टिङ्ग्री कणर्धारहरू ।

जीवन घुम्दैन, समय घुम्छ त्यही समयको घुमाइले उम्रेहरूलाई जुम्रे, लुम्रे, झुम्रे बनाउँदै खुम्रे बनाउँछ । ती रस निकाल्ने ग्रन्थिहरू पनि रस निचोरेको नाइटे ज्यामिर जस्ता बन्छन् । जोई र पोइको ढिलो चाँडो मात्रै हो । अनुभव गरि ल्याउँदा जोइको पोथि ग्रन्थी सुकेपछि पोइले पौरुषत्व देखाएर जोइलाइ पोथी बनाउनु भनेको कुम्भिपाकमा जाकिनु जस्तै हो ।

अरु बेला जोईटिङ्ग्रे पोइ टिङ्ग्री जे भए पनि चोचोमोचो मिलाएर जीवन धान्नु नै छ । तर वास्तविक जोईटिङ्ग्रेको अब्बल परिचय दिने बेला चाउरी परेर दाउरिएकै बेला हो । जोईहरू त सधैँ जसो पोइ टिङ्ग्री बन्छन् नै तर पोइहरूले जोइको मर्म बुझ्नु पर्‍यो नि ।
“घोडा र पोइ कहिल्यै बूढो हुँदैन” भन्ने उखानलाई उखानमा मात्र सिमित राखेर जोइहरूको भावना बुझेर जाइ लागौँ है !!
जदौ !!!

०००
मैतीदेवी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी : अनेक अनुभूति

जिन्दगी : अनेक अनुभूति

गाेपेन्द्रप्रसाद रिजाल
काखीको गन्ध : सबै बन्द

काखीको गन्ध : सबै...

गाेपेन्द्रप्रसाद रिजाल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
बूढो उमेर

बूढो उमेर

गाेपेन्द्रप्रसाद रिजाल
च्वाँचे र बाहुन

च्वाँचे र बाहुन

गाेपेन्द्रप्रसाद रिजाल
यात्रा

यात्रा

गाेपेन्द्रप्रसाद रिजाल
पुच्छर

पुच्छर

विनाेद खनाल
नयाँ जोगी

नयाँ जोगी

राजु अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
बुढो मन सम्हाल्नु छ

बुढो मन सम्हाल्नु छ

अशोककुमार शिवा
आत्मा

आत्मा

पी पी काेइराला