गाेपेन्द्रप्रसाद रिजालचटनी
पोथीको खोर साहुको । कुबेरमान साहु मन्त्री । छोराछोरी विदेशको जेलमा । पोथी पाल्ने मान्छे छैन । अहिले त्यही पोथी बेचेर जोइपोइ दमको दबाइ तान्दैछौँ स्वार... स्वार...।

गाेपेन्द्रप्रसाद रिजाल :
पोथी पाल्नुस् कम्रेड पोथी ! मलको भारी घोप्ट्याउँदै मैले सोधेँ- किन र कमरेड ? कमरेडको सरल उत्तर थियो- लेवी तिर्न । पोथीले त नि बतासे भए पनि अण्डा पार्छ ओथारो नदिनु । महिनामा तीस वटामा दशवटा बेचेर लेवी तिर्नु, बाँकी बिसले घरखर्च चलाउनु । खेतबारीको काममा भर अभर हामी सघाउँछौँ ।
पछि हाम्रो सरकार बनेपछि त के को चिन्ता ? तपाईं हामी सबै देशका सम्पत्ती । दुइटा बच्चा जन्माउनु पर्छ सबै खर्च सरकारले ब्यहोर्छ । मलाइ कुरा धेरै मन पर्यो । सोधेँ- त्यो कुबेरमान धनी हामी गरिब किन ? यस्को उत्तर पनि सहजै दिनु भयो- कमाउँदै गरोस् न त्यो पनि पछि हाम्रै हो । राष्ट्रियकरण गर्यो, सकिएन त कुरा ! मैले होमा टाउको हल्लाएँ ।
सिद्धान्तको कुरा बुझाउनुस् काम्रेड गाउँका गरिब दुखीलाइ । भुटेका मकै र खयरका चोइटा उमालेको पानी पिउँदै कम्रेड्ले सुझाउनु भयो । मैले पनि यस्तो राम्रो कुरा जस्ले नि मानी हाल्छ नि काम्रेड भने । उहाँले थप्नु भयो- हामी भूमिगत हो काम्रेड, पुलिसले सुइँको पायो भने जाक्छ खोरमा । गोप्य तरिकाले चल्नु पर्छ । मैले हुन्छ भने।
दुई चार वटा रुसी किताब थमाउँदै ल अब अर्को भेटमा भन्दै हत्केलाको हाड दोब्रिने गरि हात मिलाएर कमरेड कता जानू भो पत्तै पाइनँ ।
अर्को पटक आउँदा ल सामन्तवादको अन्त्य गरेरै छाड्यौँ अब हाम्रो पालो आयो भन्नु भयो । बाख्राको दुधे पाठो झैँ एक्लै उफ्रिएकाे पत्तै पाइनँ खुसीले ।
अहिले सत्ता, भत्ता, लत्ता सबै आयो । सिकाउने कम्रेडका महल बने । जिउमा मलको गन्धको ठाउँ अत्तरले लिएछ ।
फेरि चुनाव आयो, काला गाडीहरुले गाउँ नै धुलिमण्डल बनाउँदै कम्रेड वर्लनु भो गाडीबाट । भन्नू भयो – “पोथी पाल्नुस् कम्रेड पोथी, बतासे भए पनि अण्डा पार्छ, लेवी तिर्नु पर्दैन सबै घरखर्चमा चलाउनु । भोट त बिर्सनु भएको छैन नि ?
कम्रेड गएपछि यसो संझेँ- खेतबारी मिटरब्याजीको, पोथीको खोर साहुको । कुबेरमान साहु मन्त्री । छोराछोरी विदेशको जेलमा । पोथी पाल्ने मान्छे छैन । अहिले त्यही पोथी बेचेर जोइपोइ दमको दबाइ तान्दैछौँ स्वार… स्वार…।
जदौ !!!
०००
मैतीदेवी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































