
खुकुरीः अहिंसा र टोपी
हामी नेपालीहरू बुद्धका सन्तान हौँ । हिंसा मन पर्दैन । तर पनि खुकुरी भिर्छाैँ किन भने यो हाम्रो असली पहिचान हो । कमरमा साँच्चै इस्पातको सिरुपाते वा बुदुने खुकुरी भिर्न नपाए पनि मनमा खुकुरी छ ।

गोपेन्द्रप्रसाद रिजाल :
विश्वमा छुट्टै किसिमले तयार गरिएको सादा वा बुट्टे कपडाको टाउकामा लाउने कपडालाई टोपी भनिन्छ । यो व्याख्या गर्ने कुरा त होइन सबैलाई थाहा भएकै कुरा हो । तर त्यही टोपीमा ठ्याक्क अगाडि पट्टि सजिएका जोर खुकुरी पनि क्रस पारेर लाए पछि मान्छेलाई एक किसिमको उर्जा मिल्दो हो ।
खुकुरी भनेको फलाम भन्ने धातुबाट पिटेर बनाएको अरु हतियार भन्दा छुट्टै देखिने एउटा हतियार हो । जस्को काम काटकुट, काटमार आदिमा आउँछ । तरवार, खुँडा, खुर्पा, चुप्पी, छुरा, कर्द, चकमक, चुलेँसी, कुटो, कोदालो, कोदाली, हँसिया, आँसी, बसिला, राँवो, फाली, करुवा आदि हतियारहरू एउटै आरनमा तयार हुने छुट्टा छुट्टै अस्तित्व बोकेका र फरक फरक काममा प्रयोग हुने हतियारहरू हुन् । यिनीहरू मध्ये कति वटाको त अस्तित्व नै अर्को हतियारले खोसी सक्यो जस्तै छुराको ठाउँ ब्लेडले लियो । चुलेँसीको पनि अस्तित्व सङ्कटमा छ । चकमकको त कतिपयले नाम नै सुनेको छैन होला । यस्तै यस्तै अरु पनि ।
युग अनुसार खुकुरीको काम र शान मान पनि फरक हँुदो रहेछ । पहिला पहिला हाम्रा पुर्खाहरू भोटो र लगौँटी, शिरमा टोपी, कमरमा पटुकी र पटुकीमा छड्के पारेर खुकुरीका सन्तान नै भनुँ कर्द, चकमक र खिसामा पहाडे कागज वा केराको दाम्चालाई दाँत भएको हँसियाले छ्याक छ्याक पार्दै हँसियाको दाँतमा अड्किएको रेशादार वस्तुलाई राम्रो खरानीमा मुछेर घाममा सुकाएर तयार पारेको झुलो हुन्थ्यो । त्यही खिसामा एउटा सानो दर्शन ढुङ्गो पनि हुन्थ्यो । यी सबै कुरा खुकुरी राख्ने दाबमा अटाएका हुन्थे ।
यति भए पछि मान्छे अभरमा पर्ने कुरैै थिएन । कतै टाढा बाटो हिँड्ने पर्ने भयो भने यी सामानका साथमा एउटा झोला, झोला भित्र सातु सामल, झोलो उझिण्डो भन्दा तल झोला ढाक्ने गरि एउटा बुर्कासन र एउटा रेडिको खास्टो या धुसा पट्याएर, एउटा डोरीले कसेर हिँडे पछि बास बस्ने घर खोज्नै नपर्ने । कसरी भन्नु होला ? बुढापाकालाई त थाहा नहुने कुरै भएन तर अहिलेका ठिटा ठिटीलाइ त यो कहानी नै बन्छ ।
बाटोमा जाँदै गर्दा रात पर्यो वा रात काट्नु पर्यो भने । बाटो छेउको झाडी तिर पस्यो र दापबाट खुकुरी झिक्यो । त्यो बेला बाँसघारी त जताततै हुने नै भयो । बाँसका खाँबा काट्यो । सुरिला सुरिला घोचा काट्यो । कटेरो बनि हाल्ने । छानामा सेउला र बारबेरलाई पनि सेउला चलायो । बाँधबुध गर्न बाँसका हाँगाका चोया बनायो । यस्को लागि भने कर्द चलायो । सुकेका पात भेला पारेर ओछ्याए पछि त्यस माथि बुर्कासन फिँजायो, एक छिन पल्टेर थकाइ मार्यो । अनि उठेर सुकेका झिँजामिजा भेला पारेर झुलो, चकमक र दर्शन ढुङ्गाको प्रयोग गरेर आगो बाल्यो पकायो खायो सुत्यो । के मा पकाउने भन्ने लागि राखेको होला ? भालु बाँसको फेद काटेर भाँडो बनाउन सकिन्छ त । चुङ्गे बनाएर पानी ल्यायो । ख्याल आनन्द होला त ? यी सबैको आधार भनेको त्यही खकुरी नै हो ।
वास्तवमा खुकुरी हिंसाको प्रतीक हो तर सही प्रयोगले यो हाम्रो नजिकको साथी पनि हो । अनि त बुद्धको देशमा खुकुरी उपहार दिन हामी नेपालीलाई कति पनि हिचकिचाहट लाग्दैन । हिंसा हत्या गर्न त यो युग मिसाइलको युग हो । एउटा कोठामा बसेर कम्प्युटरमा दिशा र दुरी मिलाएर क्लिक्क गर्दा संसार ध्वस्त गर्ने अणु बनाए अरे विकाशबादी ठान्ने विनाशकहरूले । कुन बेला कस्लाइ सनक चढ्छ अनि सखाप पार्छ ।
तर हामी नेपालीहरू बुद्धका सन्तान हौँ । हिंसा मन पर्दैन । तर पनि खुकुरी भिर्छाैँ किन भने यो हाम्रो असली पहिचान हो । कमरमा साँच्चै इस्पातको सिरुपाते वा बुदुने खुकुरी भिर्न नपाए पनि मनमा खुकुरी छ । दिलमा खुकुरी छ । चित्रैमा किन नहोस् कोटको कलरमा खुकुरी छ । कुममा खुकुरी छ । टोपीमा खकुरी छ । समग्रमा नेपाली भन्नु नै खुकुरी हो र खुकुरी भन्नु नै नेपाली हो । खुकुरी हाम्रो शान हो मान हो अहिंसाको प्रतीक हो । सही प्रयोगले खकुरी बुद्धको पुजा हो । जय खुकुरी !
जदौ !
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest