साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरोहित बाको टुपी

जजमान, रसवस, मेलापात, हाट बजार आदि गर्दा गर्दै एउटी अप्सरासँग सल्किएको कुराले चैतको डढेलो जस्तै फैलियो । गाउँको पुरोहित बाजे पनि झुक्किएकै हुन् हुन चैँ । जोश थाम्ने होस पनि गुमेछ बबुराको ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

बाहुनका धेरै परिचय मध्ये एउटा खाँटी परिचय टुपी पनि हो । त्यसमा पनि पुरोहित भने पछि त बरू अन्तका सबै भुत्ला खुइलिए पनि टाउको खुइलिनु भएन । टाउको खुइलिए पनि टाउकामा भुँवरी परेको भागको रौँ खुइलिनु भएन । जति लामो टुपी भो उति खरो पुरोहित भन्ने चलन पुरानै हो । टाउकामा गाईको खुर जत्रो आकारको टुपी, काँधमा शिखा परेको जनै, कमरमा कन्दनी नहुनु हो भने बाहुनको अस्तित्व डाइनोसरको जस्तो हुन बेर लाग्दैन । त्यस्मा पनि जजमान गर्ने बाहुन भने पछि त यी माथिका शर्तहरू खयरको चुरो जस्तै भएर रहनु पर्छ नै ।

यी सबै परिचयका धनी हाम्रा पुरोहित बा पनि हुन् । उनी कसरी पुरोहित भए भन्ने खोजी नीति गर्ने काम जजमानको होइन । तर पनि केही कुरा त पुरोहितीनी बज्यैबाट पँधेरामा पानी लिन जाँदाको गफ गाफबाट खुलेको हो । हो त्यही कुरो आज खोल्ने आँट गरेको हुँ । कसैले पनि पुरोहित बालाई पोल नलाइ दिनु होला है !

वहाँका बाजे नाम चलेका पुरोहित र जोतिषी पनि हुन् रे । कर्मकाण्डका धुरन्धर, जोतिषका विद्वान रहेछन उनी । उनका पालामा कस्को गर्भ कहिले बस्छ सम्म पनि देख्दा रहेछन् उनी अरुको त कुरै छाडौँ । अग्नीस्थापना सबै कण्ठ, बिबाहको किताबै नचाहिने, मृत्यु संस्कारमा सबै काम एक्लै फत्ते गर्ने बाहुन पाउनु त ठुलो संयोगको कुरा हो । उनका छोरा अहिलेका हाम्रा पुरोहित बा का बा उ भन्दा अलिक कम जान्ने रहेछन् तर पनि ठुलै साख जमाएर बसेका रहेछन् गाउँमा । यी हाम्रा पुरोहित चैँ बाजेको पालादेखिकै हिङ्ग बाँधेको टालो हुन् रे । किताब पल्टाउने कष्ट गर्ने तर पढ्ने कष्ट नगर्ने ।

उनको स्वरले पनि उनलाई साथ दिएको छ । नाके स्वर भएकोले त्यति पढिरहनु पनि नपर्ने ।
आठ वर्षसम्म बोलि नफुटेकोले उनका बाले माया गरेर पढ्नु भन्दा आफैँसँग हिँडाएर शुरो चरु चलाउँदा चलाउँदै अनुभवले खारिएका भएका रहेछन् । बाजेका पालाका पुस्तक कति हो कति छन् उनीसँग । तर कुन कार्जेका कुन किताबको काम आउँछ उनी त्यति चासो पनि राख्दैनन् । एउटा किताब भने बोक्छन् सधैँ । पात्रो त साथमा हुने भै हाल्यो । उनको पढाइ सुनेर मान्छेहरू छक्क पर्छन पनि । ओम् मनमनमनमनमनमनमनमनमन भन्यो अनि फूल चढाउनु भन्यो । यस्तै तरिकाले उनले जजमान गरेको चालिस वर्ष बितेछ । खानदानी नै पुरोहित भएकोले उनको सान सौकतमा कुनै कमी छैन र उनको कार्जे गराइमा कसैले पनि दोष लगाउँदैन । दोष लाउने हो भने गाउँमा जन्मदा चरु पोलेर नाम राख्ने र मर्ने बेलामा दश दान थाप्ने मान्छे पाउन सक्दैनन् पनि ।

शिव जीको जटाको गुजुल्टा भन्दा कम थिएन बाजेको टुपी । साबन लाएर नुहाउँदा पाप लाग्छ भनेर उनी साबन स्याम्पुको प्रयोग नै गर्दैनन् त्यसैले टाउकामा टुपी बाहेकको कपाल सधैँ सफाचट हुन्छ उनको । टुपी भने मलखाडीमा फस्टाएको रायोको साग जस्तै हलक्क बढेको छ । शिखा पारेर गुजुल्टो बनाएर टोपी लाउँदा पनि गाँडले गलबन्दी उछिट्याए जस्तो टोपी नै टुपीको लागिमात्र भएको छ बाजेको । साँच्चै भन्नुपर्दा उनको टुपी नै मन्त्रीको गाडीमा फहराएको झण्डा जस्तै भएको छ परिचयको लागि ।

दशा बाजा बजाएर आउँदैन भन्छन् । भगवानले दिए जति हात थाप्नु पर्छ भन्ने कुराको विश्वासमा परेका उनका सात वटी छोरी र चार भाइ छोरा गरि एघार जना त सन्तान मात्र छन् । उहिले जस्तो जमाना रहेन अब । पर नसरी छोरीको बिबाह गरि दिए स्वर्गको ढोका खुल्छ भन्ने कुरा उखान भयो अचेल । एकाइस वर्ष नपुगी बिहे गरिदियो भने त स्वर्गको होइन कानुनको ढोेका खुल्छ अचेल । साउँ अक्षर नचिनाए कुटुम्ब पाउन पनि गाह्रो हुने ठानेर सकि नसकि स्कुल पठाएका छोरी मध्ये तीन वटीले सोह्र वर्षको उमेर मै अरु जातिसँग सुँइकुच्चा ठोके । उनको टुपी आधाउधि झर्यो । बाहुनको संख्या दिनानुदिन ओरालो झर्दै छ त्यसैले उनका दुइटा छोराले पनि बुहारी अर्कै जातका घरमा हुले उनको टुपी सकिनै लाग्यो अब । बुढो विदेश बुढी घर हुने त सरकारको उपहार नै हो । त्यही घानमा त्यो गाउँ पनि नपर्ने कुरै भएन । जजमान, रसवस, मेलापात, हाट बजार आदि गर्दा गर्दै एउटी अप्सरासँग सल्किएको कुराले चैतको डढेलो जस्तै फैलियो । गाउँको पुरोहित बाजे पनि झुक्किएकै हुन् हुन चैँ । जोश थाम्ने होस पनि गुमेछ बबुराको । अहिले उनको टुपी पुरै ताक्लामा परिणत भयो । गाउँलेहरूले विकल्पमा अर्कौ बाहुन ल्याए गाउँमा ।

टुपी काट्नु भनेको त इज्जग गोलखाडीमा जाकिनु पो रहेछ । हेर्नु त देश र जनताका ठेकेदार हुँ भन्नेहरूको गति । मान्छे व्यापार होस् कि, रक्त चन्दन । जग्गा नापी होस् कि, सुन जोखाइ । उमेदवारी दर्ता होस कि, राजदुत छाप । बिस्तारै बिस्तारै नेता गणको पनि टुपी झर्दै छ । यस्तै टुपी झरि रहने काम नेता, अभिनेता, कर्मचारी, व्यापारी धर्मका ठेकेदारहरूले गरिरहने हो भने नेपालमा एक दिन टुपी नहुनेहरूको देश बन्ने पक्का छ । अनि त आ आफ्नु टुपी आफुले जोगाउँ । इज्जतदार समाजको विकाश गरौँ ।
जदौ !

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x