गाेपेन्द्रप्रसाद रिजालपुरोहित बाको टुपी
जजमान, रसवस, मेलापात, हाट बजार आदि गर्दा गर्दै एउटी अप्सरासँग सल्किएको कुराले चैतको डढेलो जस्तै फैलियो । गाउँको पुरोहित बाजे पनि झुक्किएकै हुन् हुन चैँ । जोश थाम्ने होस पनि गुमेछ बबुराको ।

गोपेन्द्रप्रसाद रिजाल :
बाहुनका धेरै परिचय मध्ये एउटा खाँटी परिचय टुपी पनि हो । त्यसमा पनि पुरोहित भने पछि त बरू अन्तका सबै भुत्ला खुइलिए पनि टाउको खुइलिनु भएन । टाउको खुइलिए पनि टाउकामा भुँवरी परेको भागको रौँ खुइलिनु भएन । जति लामो टुपी भो उति खरो पुरोहित भन्ने चलन पुरानै हो । टाउकामा गाईको खुर जत्रो आकारको टुपी, काँधमा शिखा परेको जनै, कमरमा कन्दनी नहुनु हो भने बाहुनको अस्तित्व डाइनोसरको जस्तो हुन बेर लाग्दैन । त्यस्मा पनि जजमान गर्ने बाहुन भने पछि त यी माथिका शर्तहरू खयरको चुरो जस्तै भएर रहनु पर्छ नै ।
यी सबै परिचयका धनी हाम्रा पुरोहित बा पनि हुन् । उनी कसरी पुरोहित भए भन्ने खोजी नीति गर्ने काम जजमानको होइन । तर पनि केही कुरा त पुरोहितीनी बज्यैबाट पँधेरामा पानी लिन जाँदाको गफ गाफबाट खुलेको हो । हो त्यही कुरो आज खोल्ने आँट गरेको हुँ । कसैले पनि पुरोहित बालाई पोल नलाइ दिनु होला है !
वहाँका बाजे नाम चलेका पुरोहित र जोतिषी पनि हुन् रे । कर्मकाण्डका धुरन्धर, जोतिषका विद्वान रहेछन उनी । उनका पालामा कस्को गर्भ कहिले बस्छ सम्म पनि देख्दा रहेछन् उनी अरुको त कुरै छाडौँ । अग्नीस्थापना सबै कण्ठ, बिबाहको किताबै नचाहिने, मृत्यु संस्कारमा सबै काम एक्लै फत्ते गर्ने बाहुन पाउनु त ठुलो संयोगको कुरा हो । उनका छोरा अहिलेका हाम्रा पुरोहित बा का बा उ भन्दा अलिक कम जान्ने रहेछन् तर पनि ठुलै साख जमाएर बसेका रहेछन् गाउँमा । यी हाम्रा पुरोहित चैँ बाजेको पालादेखिकै हिङ्ग बाँधेको टालो हुन् रे । किताब पल्टाउने कष्ट गर्ने तर पढ्ने कष्ट नगर्ने ।
उनको स्वरले पनि उनलाई साथ दिएको छ । नाके स्वर भएकोले त्यति पढिरहनु पनि नपर्ने ।
आठ वर्षसम्म बोलि नफुटेकोले उनका बाले माया गरेर पढ्नु भन्दा आफैँसँग हिँडाएर शुरो चरु चलाउँदा चलाउँदै अनुभवले खारिएका भएका रहेछन् । बाजेका पालाका पुस्तक कति हो कति छन् उनीसँग । तर कुन कार्जेका कुन किताबको काम आउँछ उनी त्यति चासो पनि राख्दैनन् । एउटा किताब भने बोक्छन् सधैँ । पात्रो त साथमा हुने भै हाल्यो । उनको पढाइ सुनेर मान्छेहरू छक्क पर्छन पनि । ओम् मनमनमनमनमनमनमनमनमन भन्यो अनि फूल चढाउनु भन्यो । यस्तै तरिकाले उनले जजमान गरेको चालिस वर्ष बितेछ । खानदानी नै पुरोहित भएकोले उनको सान सौकतमा कुनै कमी छैन र उनको कार्जे गराइमा कसैले पनि दोष लगाउँदैन । दोष लाउने हो भने गाउँमा जन्मदा चरु पोलेर नाम राख्ने र मर्ने बेलामा दश दान थाप्ने मान्छे पाउन सक्दैनन् पनि ।
शिव जीको जटाको गुजुल्टा भन्दा कम थिएन बाजेको टुपी । साबन लाएर नुहाउँदा पाप लाग्छ भनेर उनी साबन स्याम्पुको प्रयोग नै गर्दैनन् त्यसैले टाउकामा टुपी बाहेकको कपाल सधैँ सफाचट हुन्छ उनको । टुपी भने मलखाडीमा फस्टाएको रायोको साग जस्तै हलक्क बढेको छ । शिखा पारेर गुजुल्टो बनाएर टोपी लाउँदा पनि गाँडले गलबन्दी उछिट्याए जस्तो टोपी नै टुपीको लागिमात्र भएको छ बाजेको । साँच्चै भन्नुपर्दा उनको टुपी नै मन्त्रीको गाडीमा फहराएको झण्डा जस्तै भएको छ परिचयको लागि ।
दशा बाजा बजाएर आउँदैन भन्छन् । भगवानले दिए जति हात थाप्नु पर्छ भन्ने कुराको विश्वासमा परेका उनका सात वटी छोरी र चार भाइ छोरा गरि एघार जना त सन्तान मात्र छन् । उहिले जस्तो जमाना रहेन अब । पर नसरी छोरीको बिबाह गरि दिए स्वर्गको ढोका खुल्छ भन्ने कुरा उखान भयो अचेल । एकाइस वर्ष नपुगी बिहे गरिदियो भने त स्वर्गको होइन कानुनको ढोेका खुल्छ अचेल । साउँ अक्षर नचिनाए कुटुम्ब पाउन पनि गाह्रो हुने ठानेर सकि नसकि स्कुल पठाएका छोरी मध्ये तीन वटीले सोह्र वर्षको उमेर मै अरु जातिसँग सुँइकुच्चा ठोके । उनको टुपी आधाउधि झर्यो । बाहुनको संख्या दिनानुदिन ओरालो झर्दै छ त्यसैले उनका दुइटा छोराले पनि बुहारी अर्कै जातका घरमा हुले उनको टुपी सकिनै लाग्यो अब । बुढो विदेश बुढी घर हुने त सरकारको उपहार नै हो । त्यही घानमा त्यो गाउँ पनि नपर्ने कुरै भएन । जजमान, रसवस, मेलापात, हाट बजार आदि गर्दा गर्दै एउटी अप्सरासँग सल्किएको कुराले चैतको डढेलो जस्तै फैलियो । गाउँको पुरोहित बाजे पनि झुक्किएकै हुन् हुन चैँ । जोश थाम्ने होस पनि गुमेछ बबुराको । अहिले उनको टुपी पुरै ताक्लामा परिणत भयो । गाउँलेहरूले विकल्पमा अर्कौ बाहुन ल्याए गाउँमा ।
टुपी काट्नु भनेको त इज्जग गोलखाडीमा जाकिनु पो रहेछ । हेर्नु त देश र जनताका ठेकेदार हुँ भन्नेहरूको गति । मान्छे व्यापार होस् कि, रक्त चन्दन । जग्गा नापी होस् कि, सुन जोखाइ । उमेदवारी दर्ता होस कि, राजदुत छाप । बिस्तारै बिस्तारै नेता गणको पनि टुपी झर्दै छ । यस्तै टुपी झरि रहने काम नेता, अभिनेता, कर्मचारी, व्यापारी धर्मका ठेकेदारहरूले गरिरहने हो भने नेपालमा एक दिन टुपी नहुनेहरूको देश बन्ने पक्का छ । अनि त आ आफ्नु टुपी आफुले जोगाउँ । इज्जतदार समाजको विकाश गरौँ ।
जदौ !
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































