विष्णुहरि पाैडेलचञ्चल मन
बिरालो हो ढाडे, नजर यसको दूधतिर छ । छुचुन्द्रो के सुध्रोस्, पिटिन नपरोस् यै जिकिर छ । दशै औँला जोडेँ, सबक किन सिक्थ्यो र नचुटी । मिसी सिस्नो पानी, कति पटक लाएँ रिस उठी ।

विष्णुहरि पौडेल :
कहाँ होला बूढो, मन छ तरुनो, शैशवपन ॥
ठिटोमा झिल्के हो, अति चुलबुले चञ्चल मन ।
छ कस्तो के जान्ने ? तन वदन देखिन्न हुलिया ।
फसायो पासोमा, युवक, युवती, वृद्ध, बलिया ।१।
लियो स्वादे जिब्रो, दिनहुँ मह, घ्यू, खोज्छ मखन ।
पिरो, तीतो, टर्रो, चुक, जलन सक्तैन सहन ।
विलासी यो भक्तिप्रति विमुख पर्दैन शरण ।
विना बाजा नाच्ने, धुन उधुम हेर्दैन लगन ?।२।
फिरन्ता जोगीको, लत छ, कहिले बस्छ र घर ?
छिमेकीको बारीतिर छ मनको दिव्य नजर ।
लिसो, घाँडो पन्छा-उन नसकिने दुच्छर हरो ।
नयाँ नौलो ताक्ने, तिहुन चखुवा यो नकचरो ।३।
कुरा काट्ने बानी ,अति छ अरुको दुश्मन मन ।
गरे ज्यू ज्यू मेरो, हजुर ! यसले गर्छ नमन ।
भलाद्मीको पाएपछि त पगरी बढ्छ वजन ।
बडा द्यौता देखे हतपत यसो गर्छ भजन ।४।
बिरालो हो ढाडे, नजर यसको दूधतिर छ ।
छुचुन्द्रो के सुध्रोस्, पिटिन नपरोस् यै जिकिर छ ।
दशै औँला जोडेँ, सबक किन सिक्थ्यो र नचुटी ।
मिसी सिस्नो पानी, कति पटक लाएँ रिस उठी ।५।
मनैका घोडा हुन्, दश किसिमका इन्द्रिय गण ।
बनायो गोठालो, अपहरण भो शान्ति अमन ।
खसी पारौँ पापी, मन अनि अहङ्कार दमन ।
सुने गीता तर्छाैँ, मनन गर, श्रीकृष्ण वचन ।६।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































