विष्णुहरि पाैडेलआशाको आत्मदाह
आँखाको खोल पट्टी स्थिति सहज बनोस् राख निःस्वार्थ दृष्टि । थन्क्याऊ कंस चेष्टा फटिचर शकुनी झेलको खेल सृष्टि । देऊ टेवा युवामा परिश्रम चुलियोस् पार सौभाग्यशाली । सत्ता सेवार्थ लागोस् बन हर तहमा राष्ट्र नेतृत्व माली ।
विष्णुहरि पौडेल :
लादे कस्तो व्यवस्था चरम विकृतिका चाङ छन् पत्र-पत्र ।
विद्रोही बन्न पर्ने स्थिति छ हर युवा देशमा यत्र-तत्र ।
अस्तायो रोजगारी विचलित छ युवा भैसक्यो धैर्य स्वाह ।
तन्नेरी प्रेम आचार्य जिउन नसकी गर्दछन् आत्मदाह ।१।
के के मात्रै गरेनन् मिहिनत उनले बोझ बोकेर भारी ।
खेपे कैयौँ चुनौती प्रतिफल तुहियो बन्न थाले भिखारी ।
गर्दा उद्योग धन्दा कर कमिसनको मारले ढाड सेक्यो ॥
सर्कारी भ्रष्ट नीति निम र ऋणको व्याजले आँट रेट्यो ।२।
सत्ता देखिन्छ भत्ता र कमिसन-मुखी छैन सेवा प्रवाह ।
जो साना उद्यमी छन् तिनतिर सुविधा छैन चासो, निगाह ।
भेट्छन् ठूला घराना सहुलिय सधैँ गर्दछन् साँठ गाँठ ।
आफ्ना पोषेर सोस्छन् गरिब र निमुखा पार्दछन् बिल्बाठ ।३।
मर्ने वेला कहेको अपिल छ बिचरा प्रेमको जे यथार्थ ।
सुन्दा पढ्दा असाध्यै द्रवित मन भई भैरहे आँसु खर्च ।
नेता बैरो छ द्यौता पशुपति भगवान् छौ कता न्यायमूर्ति ?
निष्ठाले धर्म छोड्यो अपसगुन बडो गर्छ उत्पात फूर्ती ।४।
जे पीडा प्रेम भोग्थे हुबहु हर युवा त्यै दशामा छ आज ।
हाम्रो राज्यप्रणाली भ्रमित छ कसरी सप्रिएला समाज ?
पारा फेरिन्न जैल्यै प्रतिगमन भयो अग्रगामी छलाङ ।
झोपो हालेर बस्छौ कति युवक बिते जान खोज्छौ मलाम ? ।५।
आँखाको खोल पट्टी स्थिति सहज बनोस् राख निःस्वार्थ दृष्टि ।
थन्क्याऊ कंस चेष्टा फटिचर शकुनी झेलको खेल सृष्टि ।
देऊ टेवा युवामा परिश्रम चुलियोस् पार सौभाग्यशाली ।
सत्ता सेवार्थ लागोस् बन हर तहमा राष्ट्र नेतृत्व माली । ६।
यो प्राणोत्सर्ग सन्तोष कृत छ तगडा राष्ट्रलाई चुनौती ।
नेता दायित्व सम्झी हर घर घर द्यौ रोजगारी र रोटी ।
मुग्लानी फर्किएलान् सहजसित जुटे कर्मले गास वास ।
श्रद्धा अर्पम्छु तिम्रो अपिल सफल होस् दिव्य प्रेमप्रसाद ! ।७।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































